यो एक वर्ष अगाडिको कुरा हो । २०८० साल साउन ६ गते नेपाल प्रज्ञाप्रतिष्ठानको सिद्धिचरण हलमा एउटा भव्य कार्यक्रम भयो । त्यस कार्यक्रममा नेपालका कानून विद्धहरू प्राध्यापकहरू जानेमानेका सामाजिक अभियन्ताहरू नेपालका विशिष्ट बुद्धिजीवीहरूको उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथिमा सर्वोच्च अदालतका पूर्व न्यायाधीस माननीय टोपबहादुर सिँह रहनु भएको थियो । कार्यक्रमको अध्यक्षता भने नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति प्राध्यापक माननीय गङ्गाप्रसाद उप्रेतीको रहेको थियो । नेपाल सरकारका पूर्व सचिव एवं कानुनवेत्ता डाक्टर त्रिलोचन उप्रेती कार्यक्रमको नायक हुनुहुन्थ्यो । त्यो कार्यक्रमबाट मैले देखेको नेपाल ( २०३५- २०८० ) हामी कहाँ चुक्यौ ? लोकार्पण भयो । बिभिन्न विषयका विद्वान, समालोचक र विचारकहरू द्वारा पुस्तकमाथि चर्चा परिचर्चा भयो । पुस्तकमा लेखकले निडरता पूर्वक बिना कुनै आग्रह र पूर्वाग्रहमा लेख्नु भएको छ । कुनै वाद र विचारको घेराभन्दा बाहिर निस्केर नितान्त मातृभूमि र राष्ट्रप्रति संवेदनशिल भएर लेख्नु भएको छ । पुस्तकमा राष्ट्रको तितो यथार्थ स्थितिलाई अङ्गीकार गर्न सक्नु र त्यसमा आवाज उठाउन सक्नु । त्यो पनि नेपाल सरकारको पूर्व उच्चआहोदाका कर्मचारीले भन्दै प्रशंसाका आवाजहरू उर्लिए । नेपालका राष्ट्रिय मिडियाहरूमा कार्यक्रमका तस्विर र समाचारहरूले पर्याप्त स्थान पाए । अनलाइन मिडिया र सामाजिकता सन्जालहरूले ती समाचारहरूलाई विश्वभरि फैलाई दियो ।
त्यो समाचार उत्तर अमेरिकामा पनि आइपुग्यो । समाचार देखे पछि मनलाई नेपालमा राखेर तनमात्रै लिएर प्रवासमा बस्नेलाई के चाहियो र ? पुस्तक कस्तो होला ? कसरी प्राप्त गर्ने होला ? जस्ता छटपटाईले सतायो । लेखकसँग प्रत्यक्ष परिचय नभएका कारण पुस्तक पाइएला भन्ने लागेको पनि थिएन । फेसबुकमा साथी बन्ने अनुरोध पठाएँ । नभन्दै मेरो अनुरोध स्वीकार भयो र साथी बन्यौँ । म्यासेन्जरमा कुराहरू हुन थाले । पुस्तक पठाइ दिन्छु ठेगाना पठाइ दिनु भन्नु भयो । उहाँ उत्तर अमेरिकाको न्यूयोर्क क्षेत्रमा आउनु भएको रहेछ । मलाई “के खोज्छस् कानो आँखा” भनेझैँ भयो । हतार हतार ठेगाना पठाएँ । केही दिन पछि एउटा झण्डै एक केजी तौल भएको पार्सल आइ पुग्यो । क्षणभरमै चिठी खोलेर पुस्तक हरेँ । पुस्तकको आकार र परदेशको समय सम्झिएर एकपटक रन्थनिएँ । कसरी पुस्तक पढी सक्ने होला भन्दै अलिअलि गर्दै छेउबाट कोट्याउन थालेँ । कहाँ
खुरूखुरू पढ्न पाइन्छ र ! के के लेख्ने र पढ्ने कुराहरू विचबिचमा आइ रहन्छन् । ती खुद्रा लेखन र पठनले थोक पढाइलाई मलवासले दशैँलाई परसारे जस्तै गर्दो रहेछ । मेलो नै नसर्ने । यो मैले देखेको नेपाल पढ्दा चलचित्र हेरे जस्तै आँखा अगाडि स्थान र पात्रहरू आए । तर पनि पटक पटक चलचित्र रोकेर निस्कनु पर्ने परिस्थितिले आयो । धेरै पटक निस्कँदै र पुस्तकमा पस्तै गरेर पुस्तकलाई पढेर पर्गेलेँ । पुस्तकको आयतन ठूलो भएको हुँदा कती सार तत्वहरू भुलिन्छ भन्दै नोट टिप्दै गएँ । कतीपय घटना र परिघटनाहरूमा आफैँ पनि साँची बसेको र प्रत्यक्ष सहभागी भएको अवस्था पनि भेटियो ।
राजनीतिलाई सबै नीतिहरूमध्यको राजा मानिन्छ । राज्यका सबै अंगहरूलाई राजनीतिले नै निर्देशित गर्दछ । दुरदृष्ट्री भएका कुशल राजनीतिज्ञहरू भए भने त्यो देशका जनताहरू सुखी हुन्छन् । विकाश निर्माणले आकाश चुम्छ । देशले सम्बृद्धिको फड्को मार्दछ । तर लोभीपापी र स्वार्थी नेतृत्वको हातमा राज्यको बागडोर पर्यो भने देश कंगाल बन्न कती पनि समय लाग्दैन ।त्यसै पनि नेपालमा राणाहरूको जहाँनिया शासनको लँडाइ र काटमारले कुनै विकाश निर्माण हुन सकेको थिएन ।
२००७सालको क्रान्तिबाट राणा शासनको अन्त्य भयो । त्यस पछीको एकदशक पनि अन्योल पुर्ण नै रह्यो । २०१७ साल देखि पँचायत ब्यबस्थाको शुरूवात भयो । राजा महेन्द्रका समयमा केही विकाश निर्माणको थालनी मात्र भएका थियो । तर राजनैतिक दमन थियो । जनताका अधिकारहरू सबै खोसिएको अवस्था थियो । यस पुस्तकमा २०३५ साल देखि २०८० सम्मको राजनीतिक अवस्थालाई प्रस्तुत गरिएको छ । व्यवस्थाले जनतामा पारेको प्रत्यक्ष प्रभावलाई शब्द चित्रमा उतारिएको छ । २०३६सालको जनमत संग्रहको पृष्ठभूमि र निर्वाचनमा बहुदल र निर्दलका पक्षमा भएका गतिविधीहरूको बारेमा चर्चा गरिएको छ ।परिवर्तनकारी दलहरू एक हुन सकेनन् । परिवर्तनकारी हरूकै केही समुहले निर्दलियतामै मतदान गरे कित बहिष्कार गरे । प्रधानमन्त्री सुर्यबहादुर थापाले मतपेटिका साँटफेर गरेर निर्दलिय व्यवस्थाले जितेको घोषणा गराएका कुराहरू आएका छन् ।
२०३७ साल बैशाख १ गते राजबन्दीहरूलाई आममाफी दिएर जेल मुक्त गरियो । प्रवासमा रहेका पंचायती व्यवस्था भन्दा पृथक बिचार राख्नेहरू पनि नेपाल फर्किए । बैशाख २० । २०३७मा जनमतसंग्रह भयो । जनमत संग्रहको परिणाम घोषणा भएपछि राजाले बहुमत पक्षको विचारलाई लागू गरिए पनि अल्पमतलाई कदर गर्ने घोषणा गरे । राजनैतिक परिस्थिति खुकुलो भयो । विश्वेश्वर कोइरालाको नेतृत्वमा नेपाली काङ्ग्रेसले २०४२ मा सत्याग्रहको शुरू । त्यसमा देशभर धरपकड हुनु राजदरबार नजिकै र भैरहवामा बमविष्फोट हुनु र रापंस डम्वरजंग गुरूङ सहित ६ जनाको मृत्युहुनु जस्ता कुराहरूलाई बिस्तृतरूपमा व्याख्या गरिएको छ । पँचायती ब्यवस्थामा भएका दमन धरपकड नेतृत्वको अदुरदृष्ट्रीको पराकाष्टा थियो । बेरोजगारीले यूवाहरूलाई भयावह बनाएको थियो । जनताको जीउधनको सुरक्षा थिएन । राष्ट्रको सबभन्दा ठूलो बजेट कर्मचारीलाई पाल्नमा खर्च हुन्थ्यो । २०४५मा भारतले नेपालमाथि लगाएको नाकबन्दीले केही आत्म निर्भर हुन प्रेरित गर्यो ।
इन्धन भण्डार बनाउने । उधोगहरू स्थापना गर्ने र कृषिमा आत्म निर्भर हुन केही प्रयासरू भए । नेपाली काँग्रेसका सर्वोच्च नेता गणेशमान सिँहको अध्यक्षतामा प्रजातान्त्रिक बाममोर्चा गठन भयो । यसले संयुक्त रूपमा आन्दोलन शुरू गर्यो । ४९ दिन सम्मको निरन्तर आन्दोलन पश्चात २०४६साल चैत्र २६ गते राती बहुदलिय ब्यवस्थाको घोषणा भयो । नेपालमा बहुदलिय ब्यवस्था लागु त भयो तर शासकहरूको अदुरदर्सिता र सत्ता उन्मादले देशलाई झन गरिबी तर्फ धकेल्यो । बेरोजगारी गुणात्मक भएर बढ्यो । भ्रष्टाचार मौलाएर संस्थागत र नीतिगतमा रूपान्तरण भयो । देशमा भएका उधोगधन्दा कलकारखाना सबै प्राइभेट कम्पनीलाई कौडीको मूल्यमा बिक्रि भए । यूवाहरू बार कक्षा उतिर्ण हुन नपाउँदै बिदेश पढ्न जाने क्रम बढ्यो । कलेज र यूनिभर्सिटीहरूमा व्यवहारिक शिक्षाको अभावले शैक्षिक बेरोजगारी झनै बढ्यो । धनी र गरिवका बिचको खाडल झनझन फराकिलो बन्दै गयो । धनाड्यहरू र नवधनाड्यहरूको सँख्या बढ्दै गयो । मध्यमबर्गका मानिसरहरू गरिबमा परिणत हुँदै गए । राजनीतिले कर्मचारीतन्त्रलाई पार्टिको पृष्ठपोसक बनायो । बिधालय र कलेजका शिक्षक कर्मचारीहरू प्रत्यक्ष्य राजनितिमा लागेर आफ्नो कर्तव्य विर्सिए । पठनपाठनको गुणस्तर झरेर पढ्ने संस्कृतिकै अन्त्य भयो । सरकारी बिधालय र कलेजहरूको पढाइ राम्रो नहुने र प्राइभेट कलेज र स्कुलहरूमा ठूलो धनरासी खर्चेर पढाउने परिपाटी बन्यो । शैक्षिक माफियाहरूले शिक्षण संस्थाहरूलाई चलाउन थाले ।
मेडिकल माफियाहरूले स्वास्थक्षेत्रलाई तहसनहस बनायो । न्यायालयमा समेत पार्टीका मानिस प्रवेश गराउनाले प्रचलन ल्याएर न्याय किनबेच हुने र आफ्नो अनुकूलको फैसला गर्ने संस्कृतिको थालनी भयो । यस्तै अनेक विकृति र विसंगतिले देशको दुर्दशा भएकोमा गहिरो चिन्ता छ । त्यसमा के नगरेको भए अथवा के के कमी कमजोरीहरू भए, कसका कारणबाट भए, भन्ने कुरा निडरता र कठोरता पूर्वक यथार्थलाई प्रकाश पारिएको छ ।
खार गरेर २०४६ साल पछि अलग अलग पार्टिले बहुमतका तीन सरकारहरू बनाएका थिए । तर ती सरकारहरूको असफलताले नेपाली जनता र नेपालको सम्बृद्धिलाई कयौँ वर्ष पछाडी धकेली दियो । नेपाली काङ्ग्रेसले बहुमत प्राप्त गरी सरकार बनायो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नु भयो । यो सरकारले चाहेको र गरेको भए नेपाली जनताको जीवनस्तर उठने र सुशासनका कुरा हुन सक्थे । ठूलाठूला विकाश निर्माणका थालनीहरू हुन सक्थे । उधोग धन्दा र रोजकारीका अवशरहरू प्राप्त हुन सक्थे। तर त्यसो भएन । आफुसँग मत नमिल्लेहरूलाई तहलगाउन लागीपरे । पार्टिका सिर्ष नेताहरूलाई मानमर्दन गराउने र किनारा लगाउने र आफुमा शक्तिको बागडोर लिने दौडमा समय वित्यो । आफ्ना आसेपासेलाईमात्र काखी च्यापे पछि ७४ र ३६ भएर काँग्रेस विभाजित भयो । सांसद किनबेचका अभ्यास भए ।
सरकारले संसद विगठन गर्यो र जनताको भविष्यमाथि बज्रपात गराइयो । २०५२ माघ २१ गते ४० सूत्रिय मागहरू राखेर माओवादीहरू सरकारसँग आए । तात्कालिन अवस्थामा नेपाली कांग्रेशका शेरबहादुर देउवा प्रधानमन्त्री थिए । माओवादीले ससस्त्रयुद्धको तयारी नौवटा जिल्लाहरूमा गरी सकेको थियो । बिभिन्न जिल्ला र ठाउँहरूमा आमसभाहरू सन्चालन गरीसकेका थिए । सरकारले उनीहरूका मागलाई वेवास्ता गर्नाले देश दशबर्षे जनयुद्धको चपेटामा पर्यो । हजारौँ मानिसहरूले ज्यान गुमाउनु पर्यो । देशका हजारौँ भौतिक संरचनाहरू ध्वस्त भए । हजारौँ मानिसहरूले घर र गाउँबाट विस्तापित हुनु पर्यो । चन्दाआतंकले शिक्षक ,कर्मचारी र व्यवारीहरूलाई भयवित बनायो ।
माओवादीहरू शान्ति प्रकृयमा आए पछी सबै पार्टीहरूसँग मिलेर गणतन्त्रका लागि आन्दोलन भयो । र शान्ति पूर्ण तवरबाट गणतन्त्र स्थापना भयो । जनताले देखेका सपनाहरू पुराहुने भए भनेर आशाका किरणहरू पलाए । माओवादीले चुनावमा बहुमत प्राप्त गर्यो । देशमा परिवर्तन हुने भयो भनेर सबैले लामो सास फेरे । तर माओवादी कार्यकर्ताको उदण्डताले सरकारमा पुगे पछि पराकाष्टा नै नाघ्यो । नेतृत्वले अन्यपार्टीहरूसँग सहकार्य ,गर्ने राजनैतिक विश्लेशकहरू र बुद्धिजिविहरूसँग सरसल्लाह गर्ने । कर्मचारीतन्त्र प्रहरी प्रशासनसँग सरसल्लाह गरी बेथितिहरू सुधार गर्दै जानु पर्नेमा सो भएन । सेना समायोजन र शान्ति सम्झौतालाई टुँगोमा पुर्याउनु प्राथमिकताका बिषय थिए । परराष्ट्र र छिमेकी मुलुकहरूसँग सम्बन्ध सुधार गर्दै बढ्नु पर्ने स्थिति थियो । तर पशुपतिको भट्ट फेर्ने र क्रान्तिकारी छलाङ मार्ने सोच ल्याउनु जसले गर्दा सयौँबर्ष देखिको छिमेकिसँगको सम्बन्धमा आँच आयो । जीवित देवीका रूपमा परंपरा देखि पूजा गरिँदै आएकी कुमारीका बिषयमा पनि बिवादहरू निस्किए । अझ जनसेना र सरकारी सेनाका विचमा प्रतिष्पर्धात्मक खेलकुदका बिषयलाई लिएर बिवादहरू बाहिर आए । खेलकुद बहिष्कार भए । सेनाका उपल्लो दर्जाका पदाधिकारीहरूलाई अवकाश दिएर जनसेनाहरूलाई त्यहाँ लैजाने खेल भए । अवकाश पाएका सहायक रथीहरूले सर्वोच्चमा रिट दिए । सर्वोच्चले म्यादथप र सेवा निरन्तरताका लागि आदेश दियो । अब सेनाका गतिविधिले सरकारको आदेश पालना नगरेको, चेन अफ कमाण्डमा नरहेको ठान्यो । र प्रधान सेनापतिलाई अवकास गरी आफ्नो अनुकुलको जर्नेललाई प्रधान सेनापति बनाउने चाल चाल्यो । माओवादीलाई सेनालाई लिए पछि देशलाई
कब्जामा लिन सकिन्छ भन्ने बिश्वास थियो । ठाउँठाउँमा भएका भाषणले त्योकुराको पुष्टी गरेको थियो । अन्य विपक्षि पार्टीहरूका मनमा चिसो पसिसकेको थियो । त्यो कुरालाई भारतले पनि चाहाँदैन थियो । सेनामाहातनहाल्न बिभिन्न संयन्त्रहरू मार्फत भारतले सम्झाइ सकेको थियो । तर सो हुन सकेन । अन्ततोगत्वा माओवादीले पाएको देश बनाउने सुवर्णअवशर गुमाउनु पर्यो । नेपालका लागि यो अर्को दुर्भाग्य थियो ।
तेश्रो महत्वपूर्ण अवसर एमाले माओवादी मिलेर बनाएको नेकपाको बहुमतको सरकारले पाएको थियो । यो सरकारको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका थिए । नेकपाको अध्यक्षता दुई शिर्षनेताले गर्ने र सरकारको नेतृत्व आधाआधा कार्यकाल गर्ने सहमति भएको भनिन्थ्यो । नेताहरू सबै त्यसै भन्ने गर्दथे । मुलुकमा झण्डै साठी प्रतिशत जनताहरू बामपन्थी विचार भएका र प्रभावित भएका छन् भनिन्थ्यो । यस्तो अवस्थामा देशमा बामपन्थीहरुको बहुमतको सरकार थियो । अब विकाश निर्माण हुने भए । देशले काँचुली फेर्ने भयो । भ्रष्टाचारबाट मुलुकले मुक्ती पाउने भयो । अब कम्यूनिष्टहरूले तीसचालिस बर्ष शासन गर्ने छन् भनेर मानिसहरू कुरा गर्दथे । तर जनताले सोचे भन्दा बिपरित भयो । प्रधानमन्त्रीलाई अदुरदर्सि र असक्षम् व्यक्तीहरूले घेरामा राखे । सही सल्लाह र सुझाव दिनु भन्दा कसरी आफूभन्दा भिन्न विचार राख्नेलाई तहलगाउनु भन्ने मात्रै सल्लाह दिए । गुणगान र भक्ती भजन गाउने भन्दा केही नयाँ सल्लाह पाएनन् । प्रधानमन्त्रीले राष्ट्रप्रमुखको ओहोदाको ख्याल नगरी जनता हँसाउने प्रकृतिका टुक्का र कथा र छुद्र व्यग्यबाणले मर्माहत गर्नेमात्र काम गरे । सहकर्मीहरूलाई खुइल्याउने पखाल्ने र नङ्ग्याउने काम मात्र भए । आफ्नै भजनमण्डलीका सदस्यहरूलाई काखा र अन्यसबैलाई पाखा लगाउने काम भयो । कुनै पनि एकजना व्यक्ती सर्बज्ञान सम्पन्न हुँदैन । सबैलाई सबैकुराको ज्ञान हुँदैन । तर सबैकुरा ओलीमा दम्भ अहंकार र सर्वज्ञान सम्पन्नताको भूत चढेर आफ्नैदलका नेताहरूलाई पनि तुच्छ देख्न थाले ।
आफ्नै गुटभन्दा फरककाहरूलाई तहलगाउने र बचनका बाँणले हान्नेकाम मात्र भयो । दिनभरी राष्ट्रबादका कुरा गर्ने र राती भारतिय राजदूतलाई भेट गर्ने । रातको दुई बजे भारतिय जासुसलाई क्वाटरमै भेट दिनु जस्ता गतिविधीले राष्ट्रवादको नकावलाई ध्वुजा पारिदियो । यसरी पार्टीले टुक्रिने परिस्थित आयो । संविधान कानून र संसदिय परंपरा र मर्यादामाथी उपहास गर्दै संसद भंग गर्ने जस्ता कार्यहरू भए । जसले गर्दा जनताको सुन्दर भविष्यमा फेरी तुषारापात भयो । सपनाले जनताको चुलोमा आगो बलेन । मिठा तुक्का र गफले जनताका पेट भरिएनन् । यूवाजति परिवार पाल्नका लागि प्रवासिन बाध्य भै रहे । अनेक काण्ड र भ्रष्टचारमा देश चुर्लुम्म डुवी रह्यो । रोम जल्दै गर्दा निरोले बाँसुरी बजाएर बसे जस्तै ।
डाक्टर त्रिलोचन उप्रेती नेपाल सरकारका पूर्व सचिव तथा कानुनका बेत्ता हुनु हुन्छ । उहाँका आठवटा कृतिहरू प्रकाशित भै सकेका छन् । यो मैले देखेको नेपाल (विसं २०३५ -२०८० )हामी कहाँ चुक्यौ ? पुस्तक दोश्रो संस्करण प्रकाशनको तयारीमा छ । पहिलो संस्करण २०८०मा १२०० प्रति प्रकाशित भएको थियो । वाटर एसिया जावलाखेल प्रकाशक रहेको यो पुस्तकको वितरकमा मकालु प्रकाशन गृह रहेको छ । कम्प्यूटर सज्जा रञ्जन घिमिरे र आवरण सज्जा भीम राई रहेको यो पुस्तकमा ७०४ पृष्ठ रहेका छन् । पुस्तकको मूल्य रू ७०१ रहेको छ । यो पुस्तक पढ्दा नेपालका पैँतालिस बर्षमा भएका हरेक राजनैतिक परिवर्तन र बदलावहरू राजतन्त्र ,पंचायत ,बहुदल प्राप्ती, जनयुद्ध , लोकतन्त्र प्राप्ती र त्यसपछी नेपालले भोगेका परिस्थितिहरूका यथार्थ चित्रण गरिएको छ । पुस्तकमा बिभिन्न दृष्ट्रिकोणले सप्रमाण सहित प्रस्तुत गरिएको छ । समग्रमा भन्नु पर्दा यो सामाजिक ,राजनैतिक, र आर्थिक ऐतिहाँसको दस्तावेज हो भन्दा अत्युक्ती नहोला । बधाई छ लेखकलाई ।
सुरेन उप्रेती
प्रतिक्रिया