प्राकृतिक सौन्दर्यको घर – कोलोराडो स्मरण

इनेप्लिज २०८१ असोज ७ गते २३:१४ मा प्रकाशित

बिनोद पोख्रेल । यात्राहरू रोमाञ्चित हुन्छन्, आनन्ददायी हुन्छन् र स्मरण योग्य ऐतिहासिक पनि हुन्छन्। जीवन यस्तै यात्रै यात्राले भरिएको एउटा गन्तव्यहीन यात्रा हो। यात्राका कुनै गन्तव्य देखिन्छन्, कुनै छेकिन्छन् र कुनै लेखिन्छन्। तिनै देखिने र छेकिने गन्तव्यलाई लेखिने बनाएर मैले स्मरण योग्य बनाउने प्रयास गर्दछु। यसै सन्दर्भमा यात्रा भित्रको यात्रामा अर्को एउटा छोटो स्मरण थप्ने प्रयास गरिरहेछु।मैले यात्रालाई आफ्नो स्मरण मात्र होइन केही जानकारी मूलक पनि बनाउने कोसिस गर्ने गर्छु। यसै सन्दर्भमा हाल सालै हामीले अमेरिकाको कोलोराडो राज्यको छोटो तथा अविस्मरणीय यात्रा गरेका थियौ। हाम्रो यात्रा सन् २०२४, अगस्त १७ शुक्रवार देखि अगस्त २० मङ्गलवार सम्मको ४ दिने यात्रा थियो। जम्मा हामी ७ जनाको सहयात्रीहरूले गन्तव्य खोज्दै र रोज्दै अघाडी बढेका थियौ। मौसमको अनुकूलता अनुसार यात्राको प्लान म नेपाल रहँदा नै छोराहरूका साथीहरू बिच बनेको थियो। म त त्यसको सहभागी पात्र मात्र थिए र उत्साही हुदै भ्रमणमा सहभागी भएको थिए।

कोलोराडो राज्य अमेरिकाको मध्य तथा दक्षिण पश्चिम क्षेत्रमा पर्दछ। सन् २०२० जनगणना को रेकर्ड अनुसार १०४, ०६७ स्वाएर माईल क्षेत्रफल रहेको कोलोराडो राज्यको जनसङ्ख्या ५७ लाख ७३ हजार ७१४ रहेको छ। क्षेत्रफलको हिसाबले अमेरिका को ८ औ ठुलो राज्य हो भने जनसङ्ख्या को हिसाबले २१ औ राज्य पर्दछ। क्षेत्रफलको हिसाबले नेपाल भन्दा थोरै सानो यो राज्य जनसङ्ख्या को हिसाबले नेपालको जनसंख्याको करिव २०% जनसंख्या यहाँ रहेको छ। सन १८७६ मा कोलोराडो अमेरिका सँग जोडिएको थियो भने अमेरिका मा रहेका ५० वटा राज्य मध्ये यो ३८ औ राज्य पर्दछ। डेनभर यहाँको सबै भन्दा ठुलो सहर हो र यो सहर नै कोलोराडो राज्यको राजधानी पनि हो। यो समुद्र सतह देखी एक माईल उच्च दूरीमा रहेको कारण यसलाई “माइल- हाई सिटी” पनि भनिने रहेछ। यस राज्यको विशेषता प्राकृतिक सौन्दर्यता नै हो। यहाँ रकी माउन्टेन जस्ता पर्वतीय क्षेत्रहरू, तातो पानीका मुहानहरू, झरनाहरू, राष्ट्रिय निकुञ्जहरू लगायत धेरै उच्च हिमाली शृङ्खलाहरू पाइन्छन्। यो क्षेत्र हाइकिङ, स्कीइङ् र क्याम्पिङको लागि लोकप्रिय रहेको छ।

डाँडा काँडा पहाड पत्थरहरूले घेरिएको यस राज्यका धेरै स्थानहरू घुम्दा नेपाल जस्तो भू बनोट देखिन्छ भने दक्षिण पश्चिम भाग मरुभूमि जस्तो वस्तिहरू कम, उजाड, प्रशस्त खाली भूभाग देखिन्छ। यस राज्यमा एक परिवारको वार्षिक मेडियन आम्दानी सन २०२३ को रेकर्ड अनुसार ९२,९११ अमेरिकी डलर रहेको छ भने जहाँ सिङ्गो अमेरिकाको वार्षिक मेडियन आम्दानी ८०,६१० रहेको छ। कोलोराडो राज्यको आम्दानी अमेरिका का विभिन्न राज्यहरू मद्ये टप दश स्थान भित्र पर्दछ। अमेरिका भरमा राम्रो आम्दानी हुने राज्य (क्षेत्र) डिसी हो जहाँ परिवारको वार्षिक मेडियन आम्दानी १,१९,००० अमेरिकी डलर रहेको छ भने सब भन्दा कम आम्दानी हुने मिसिसिपि राज्यमा परिवारको वार्षिक मेडियन आम्दानी ५५,०६० अमेरिकी डलर मात्र रहेको छ। कोलोराडो राज्यमा पर्यटन, खनिज, ऊर्जा तथा कृषि उत्पादन यहाँ को आम्दानीका प्रमुख श्रोतहरू हुन्। कृषि उत्पादनहरूमा गाईबस्तु, गहुँ, कोदो आदि पर्ने गर्दछन्। अहिले डेनभर र यस आसपास का क्षेत्रहरूमा प्रविधि सफ्टवेयरको र बायोटेक्नोलोजीका कम्पनीहरू को उल्लेखनीय विकास भैरहेको छ, जसबाट प्रविधिको उत्पादन तथा विकासमा कोलोराडो पनि अघाडी बढेको देखिन्छ। राज्य श्रोतको समुचित उपयोग तथा दिगो विकासको अवधारणा नै यस क्षेत्रको विकासको आधार मानिन्छ।

चार दिने यात्राको दौरान पहिलो दिन हामी टेक्सास बाट कोलोराडोको राजधानी डेनभर सम्मको हवाई यात्रा गरी त्यहाँबाट एउटा गाडी भाडामा लिई कोलोराडोमा आउने पर्यटकका लागी आकर्षक गन्तव्य मद्येको एउटा र डेनभरबाट करिब १६-१७ माईल टाढा र त्यहाँ बाट २०-२२ मिनेट मै पुग्न सकिने आजको पहिलो गन्तव्य “रेड रक पार्क” मा बिहानको करिब ११ बजे पुगेका थियौ। रातो ढुङ्गाहरूको पहाड करिब ६४५० फिटको उचाइमा अवस्थित सङ्गीतमय रङ्गशाला त्यहाँको एउटा आकर्षण थियो। केही बेर हाइकिङ, केही बेर अवलोकन तथा विश्राम गर्दै नेपालमा रहेका यस्ता कयौँ पहाडहरूको स्मरण गर्दै हामी आजको अन्तिम गन्तव्य त्यहाँबाट करिब दुई घण्टामा पुगिने ६६-७० माईल टाढा रहेको यस स्टेटको अर्को आकर्षक प्राकृतिक मनोरम दृश्यावलोकन गर्न सकिने “रक्की माउन्टेन” तर्फ लागेका थियौ। यसै बिच बाटैमा पर्ने र त्यहाँबाट २८-३० माईल टाढा तथा करिब ४०-४५ मिनेटमा पुग्न सकिने कोलोराडो राज्यको एउटा आकर्षक सानो तथा सुन्दर “बोल्डर” सहर पर्ने रहेछ जुन सहर बस्नको लागि अमेरिकाको सबैभन्दा स्वस्थ स्थानहरू मध्ये एक रहेछ। हामी त्यहाँ २ बजे तिर दिउसोको खाना खाएर केही बेर विश्राम, प्राकृतिक सुन्दरताको अवलोकन गरी करिब ४: ३० तिर हामी रक्की माउन्टेन भिजिटर सेन्टरमा पुगेका थियौ।

रक्की माउन्टेनमा प्रवेश गर्न पहिले नै टिकट लिनु पर्ने रहेछ। हामीले मान्छेको सङ्ख्या सहित प्रवेश शुल्क तिरेर आजको दिनको लागी पहिले नै बुक गरी सकेका थियौ। हामी उक्त दिनको उज्यालोको करिब ३ घण्टाको समयमा पहाडको अति आकर्षक सुन्दर उकाली ओराली सडकमा रमाउँदै, ठाउँ ठाउँका दृश्यावलोकन गर्ने स्थानमा रोकिँदै तस्बिर लिँदै करिब १२ हजार ५-६ सय फिट माथि रहेको पहाडको टाकुरोमा पुगेर त्यहाँ बाट केही मिनेट हाईकिङ् समेत गरेका थियौ। तत्पश्यात केही तल झरी फरेस्ट क्यानियोन भ्यु प्वाइन्ट वाट दृश्यावलोकन गर्दै पहाडको बेसमा रहेको बियर लेक समेत अवलोकन गरेका थियौ। सिमसिमे पानी केही चिसोको अनुभव लिँदै आजको विश्राम स्थल रक्कि माउन्टेन स्टेट पार्क नजिकै रहेको भाडाको आवास एयर बिएनबि मा विश्राम लिएका थियौ। पहाडहरू तथा प्राकृतिक सौन्दर्यता हामी कहाँ धेरै छन् तर व्यवस्थित कहीँ पनि गरिएको छैन। यहाँ हरेक पर्यटकीय स्थानहरूमा व्यवस्थित सडक, सचेतनाका सङ्केत चिन्हहरू, ठाउँ ठाउँमा रेष्ट एरिया, दृश्यावलोकन गर्ने स्थान, त्यस स्थान बारे संक्षिप्त सूचना, पैदल हिडने ट्रेलहरूले पर्यटकहरूलाई सहजता बनाएको थियो भने त्यहाँबाट देखिने सिनिक भ्युको दृश्यावलोकन पर्यटकहरूलाई मनमोहक बनाउने रहेछ। जस्तो सुकै टेन्सनमा काम गर्ने मान्छे होस् त्यहाँ पुगेर २-४ घंन्टा बिताउँदा सबै कुरा बिर्सने र फ्रेस हुन सकिने रहेछ भन्ने हामीले अनुभूति गर्‍यौ।

दोस्रो दिनको हाम्रो गन्तव्यहरू तिन वटा थिए पहिलो जर्ज टाउन, ब्रेकेनरिच र तेस्रो थियो कोलोराडो स्प्रिङ। जर्ज टाउन अघिल्लो हामी बसेको रक्कि माउन्टेन स्टेट पार्क वाट दक्षिण तर्फ करिब दुई घण्टामा पुग्न सकिने ८५ माईल टाढा थियो। त्यहाँ हामीले पहाडमा पर्यटकीय उद्देश्यको लागी चलाइएको पुरानो ऐतिहासिक ट्रेन चढ्ने र पुरानो माईन्सको टुर गर्नु थियो, जुन हामीले पहिले नै बिहानको १० बजेको लागी बुक गरेका थियौ। विश्राम भन्दा हेर्ने र रमाउने हाम्रो उद्देश्य थियो। जस अनुसार हामी बिहानै ७:३० बजे हल्का ब्रेकफास्ट लिई त्यसतर्फ प्रस्थान गरेका थियौ। पहाडै पहाडको बाटो बाटोमा कहीँ कतै साना गाँउहरु, घरहरू हेर्दै अघाडी बढ्दै जादा जर्ज टाउन नजिक दुवै जोडिएको ब्ल्याक हक र सेन्ट्रल सिटी पर्दो रहेछ। एउटा ऐतिहासिक सहर जुन १८७० को दशक तिर कोलोराडो को सबैभन्दा ठुलो तथा सुन चाँदिको खानी भएको कारण धनी सहर मानिन्थ्यो। त्यहाँ अहिले दर्जन भन्दा बढी क्यासिनोहरु पनि सञ्चालन रहेछन्। यात्राको क्रममा पहाडको खोचमा रङी चङ्गी घरहरू हेर्दै आकर्षक तथा लोभ लाग्दा देखिन्थ्यो।

निर्धारित समय मै करिब १० बजे हामी जर्ज टाउन पुगेका थियौ। ब्ल्याक हक , सेन्ट्रल सिटी जर्ज टाउन नजिक नजिक नै थिए यो एरिया पुरानो माईन्सको लागि प्रसिद्ध रहेछ। सन १८८० को दशकमा यहाँ बाट करिब ५२ माईल डेनभर सम्म माईन्स बाट निस्केको सुन चाँदी ओसार पसार को लागी ट्रेन नै चल्ने रहेछ। सो अवस्थाको ट्रेनलाई (स्टिम इन्जिन) अहिले सम्म पर्यटकीय प्रयोजनको लागी करिब एक घण्टाको टुर गराइने रहेछ र त्यस बिचमा पर्ने एउटा पुरानो चाँदीको माईन्स (लेबनान टनेल माईन्सको) टुर समेत गरेका थियौ। गाइडबाट माईन्सको कहानी सुन्दा त्यहाँ तत्कालीन अवस्थामा बालबालिकाको प्रयोग र माईन्सका मजदुरको अवस्था कहाली लाग्दो नै लाग्यो। माईन्स टुर समाप्त पश्चात् पुनः ट्रेन चढेर जर्ज टाउन तर्फ फर्केका थियौ। मनोरञ्जनको लागी ट्रेनमा तत्कालीन अवस्थामा बन्दुक पट्काएर ट्रेनमा लुटेन डकैत गर्ने प्रहसन पनि गरिएको थियो। करिब २ घण्टाको जर्ज टाउन टुरपछि हामी नजिकै भियतनामी रेस्टुरेन्टमा स्वादिष्ठ लन्च गरी आजको दोस्रो गन्तव्य “ब्रेकेनरिच” सहर तर्फ प्रस्थान गरेका थियौl करिब एक घण्टामा पुगिने ३७ किमी टाढा रहेको अमेरिकाकै सुन्दर सहरहरू मद्येको एक सुन्दर सहर ब्रेकेनरिचमा हामी एक घण्टामा पुगेका थियौ।

चारै तर्फ पहाडले घेरिएको स्विट्जरल्यान्ड जस्तो झझल्को आउने, फुलै फुलले सिङारिएको, नजिकमा कलकल बग्ने खोला, नजिक बाट हिमाल समेत देखिने सुन्दर सहरमा पाइला टेक्दा नै रोमाञ्चित भएका थियौ। थोरै बेर त्यहाँ को सौन्दर्यता क्यामेरामा कैद गर्दै हल्का चिसो तातो लिएर करिब एक घण्टा को समय निकै कम भएको महसुस गर्दै हामी आजको अन्तिम गन्तव्य डनेभर देखि सिधा दक्षिणमा पर्ने “कोलोराडो स्प्रिङ” सहर तर्फ प्रस्थान गरेका थियौ। ब्रेकेनरिचवाट १०६ माईल टाढा रहेको उक्त सहर त्यहाँ वाट सवा घण्टामा पुगिने रहेछ। यो यहाँको प्रसिद्ध पाईक पिक नेशनल फरेस्टको फेदीमा अवस्थित रहेको छ। यहाँको “गार्डेन अफ गड” पार्कमा रहेको रातो माटो, बालुवा तथा ढुङ्गाको संरचना र दृश्यहरू ले यहाँ आउने पर्यटकहरूलाई लोभ्याउने रहेछ। हामीले हाम्रो देशमा यस्तो रातो माटो, बालुवा तथा ढुङ्गाहरू नदेखेको त होइन तर यहाँ यस्ता प्राकृतिक सौन्दर्यहरूलाई गरिएको संरक्षण तथा व्यवस्थापनले भने जो कोही लाई पनि आकर्षित गर्ने रहेछ। यहाँ रातो माटोको पहाडका आकर्षक थुम्काहरु अलावा एउटा “ब्यालेन्स रक” अर्थात् एउटा अलि सानो ढुङ्गा माथि अर्को ठुलो ढुङ्गा अडेर बसेकोलाई हेर्न र तस्बिर खिच्न मानिसको भिड नै लाग्ने रहेछ। हामी पनि त्यही भिडमा रमाउँदै तस्बिरहरू खिच्दै नेपालको सुन्दरतालाई सम्झँदै त्यो दिनको घुम घामको विट मारेका थियौ। समय अलि ढिला भए पनि बेलुकाको खानाको लागी नेपाली रेस्टुरेन्ट खोज्दै जाँदा नेपाली नाममा पूर्ण भारतीय स्वाद रहेको रेस्टुरेन्टमा भोक मात्र भए पनि मेटाई आजको वासस्थान तर्फ फर्केका थियौ।

तेस्रो दिनको प्रमुख गन्तव्य थियो कोलोराडो राज्यको दक्षिणी तर्फ रहेको आलमोसा तथा सम्वाच काउन्टीमा अवस्थित ग्रेट स्यान्ड ड्युन्स राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र “स्यान ड्युनस्” मा गएर बालुवाको पहाड चढ्ने कार्यक्रम रहेको थियो। यस अघि कोलोराडो स्प्रिङमा हामी बसेको स्थानबाट आधा घंन्टामा पुगिने “सेभेन फल्स” पनि यहाँको पर्यटकीय आकर्षक स्थल रहेको जानकारी पाए पछि हामी बिहानको ब्रेक फास्ट पश्चात् सेभेन फल्सको अवलोकन गर्न करिब ११ बजे त्यहाँ पुगेका थियौ। नाम र प्रचार हेर्दा निकै आकर्षक भए पनि झरना खासै आकर्षक देखिएन। झरना सात स्टेपबाट तल झरेकोले सेभेन फल्स भनिएको रहेछ। तर झरमामा माथि जानको लागी एलिभेटर, सिडीहरू तथा माथि बनाइएको भ्यु प्वाइन्टको व्यवस्थापन भने निकै आकर्षक नै थियो। गाडी बाट झरे पछि झरना सम्म पुग्न करिब १५-२० हिंडनु पर्ने रहेछ। बाटोको सौन्दर्यता दायाँ बायाँ लगाइएका फुलहरू पनि त्यहाँको आकर्षक रहेको थियो। त्यहाँ स्काई ड्राइभ पनि गरिने रहेछ। ती सबै दृश्यहरू क्यामेरामा र मस्तिष्कमा कैद गरी त्यहाँबाट करिब १२ः३० बजे तिर हामी आजको मुख्य आकर्षण स्यान्ड ड्युनस तिर प्रस्थान गरेका थियौ। कोलोराडो स्प्रिङ बाट १८७ माईल टाढा रहेको उक्त स्थान हामी बाटोमा रहेको कोलोराडोको एउटा सहर “पोयब्लो” सहरमा खाना खाएर ४ घण्टामा त्यहाँ पुगेका थियौ।

कोलोराडो स्प्रिङ्गवाट दक्षिण तर्फको बाटो हुदै जाँदा बाटोमा दायाँ बायाँ सबै उजाड मरुभूमि जस्तो देखिन्थ्यो। खेतीपाती पशुपालन पनि कहीँ कतै देखिएन जमिन सबै खालि खालि देखिन्थ्यो। पहिले त हामीले बालुवामा खेल्न जाने भनेर म चाहिँ धेरै उत्साहित थिएन तर गत वर्ष न्यू मेक्सिकोमा एक पटक देखि सकेको सेतो बालुवा जस्तै यहाँ पनि त्यस्तै होला भन्ने ठानेको थिए तर त्यहाँ पुग्दा त्यो बालुवाको पहाड देख्दा चाहिँ आश्चर्य चकित नै परियो। कहीँ कतैबाट बोकेर थुपारेको पहाड बनाए जस्तो हेर्दा नै अनौठो लाग्ने। यो नेशनलपार्क पुरा क्षेत्रफल करिब १६८ स्क्वायर माईल मा फैलिएको रहेछ जुन हाम्रो काठमाडौँ जिल्ला भन्दा ठुलो हो भने बालुवाको पर्वतले मात्र ३० स्क्वायर माईल क्षेत्रफल ओगटेको रहेछ। वालुका ड्यूनहरु को हाइट भने ७-८ सय फिटको रहेछ। हामी करिब २ घण्टा बालुवाको पहाडको एउटा छेउमा माथि सम्म चढेर खेल्दै लड्दै रमाएका थियौ र स्मरणहरू समेत कैद गरेका थियौ। तत्पश्चात् हामी स्यान्ड ड्युनस बाट ११० माईल टाढा रहेको र करिब २ घण्टमा पुगिने आजको विश्राम स्थल तथा सुन्दर सहर “बुयना भिस्टा” तर्फ अघाडी बढेका थियौ। आजको रात्रि भोजन चाहिँ समय अलि ढिला भएकोले खोज्दै खोज्दै बाटै पर्ने “सलिदा” भन्ने सानो सहरमा स्पेनिस मिठो स्वादका साथ गरेका थियौ।

आज भ्रमणको चौथो तथा अन्तिम, अस्टिन फर्कने दिन बुयना भिस्टा मा १० बजे बिहानको ब्रेकफास्ट गरी १०ः१५ बजे तिर यहाँको एउटा सुन्दर सहर “आस्पेन” तर्फ लागेका थियौ। बुयना भिष्टा सहरको सौन्दर्य गाडी वाट नियाल्दै आर्कान्सास् नदिको तिर हुदै त्यहाँको सुन्दर दृश्यावलोकन गर्दै दुई वटा ताल जोडिएको टुईन लेक हुँदै १२,०९५ फिटमा रहेको ईन्डिपिडेन्ट पासमा केही बेर रोकिएका थियौ। यो एउटा दुई पहाड बिचको भन्ज्याङ रहेछ त्यहाँबाट चारै तिरका पहाड हिमालको निकै सुन्दर दृश्यावलोकन गर्न सकिने रहेछ। यहाँ दृश्यावलोकनका लागी पर्यटकहरू निकै आउने रहेछन् त्यही भिडमा हामी पनि थियौ। ईन्डिपिडेन्ट पासमा सुन्दर सुन्दर तस्बिरहरू लिँदै अस्पेन सहरमा करिब दिउसोको १२ बजे पुगेका थियौ।

कोलोराडो को पिट्किन काउन्टीमा रहेको यो आस्पेन सहरको क्षेत्रफल ३.८५८ स्वायर माईल रहेको छ भने जनसङ्ख्या करिब ७००० रहेको छ। सहरको चारैतिर पहाड हिमालले घेरेको देखिन्छ। यहाँ मान्छे हिउँ परेको समयमा स्की तथा स्नो बोर्ड खेल्न र गर्मीमा हाईकिङ्, बाईकिङ्ग र क्याम्पिङ का लागी आउने गर्दछन्। यहाँ चारै तिर डाँडाहरूमा केवल कारहरू दौडी रहेको देख्न सकिन्छ। कला, सङ्गीत तथा प्राकृतिक सोन्दर्यता यहाँको विशेषता रहेछ। यहाँ लक्जरी होटेल, रिपोर्ट, रेस्टुरेन्टहरू रहेको कारण यस सहरलाई लक्जरी पर्यटन केन्द्र पनि भनिने रहेछ। सन् १८७० -८० को दशकमा कोलोराडोको सुनचाँदी को उत्खनन बुम रहेको अवस्था व्यावसायीहरु बस्नको लागि यो सहरको विकास भएको मानिने रहेछ।त्यसैले आस्पेन सहर अमेरिका कै एउटा सुन्दर सहर तथा महँगो सहरको रूपमा समेत परिचत रहेको छ। केही घण्टा हामीले त्यहाँको प्राकृतिक सौन्दर्यता को अनुभूति लिँदै त्यहाँबाट नजिकै रहेको ग्लेनउड स्प्रिङमा करिब २ बजे तिर स्वादिष्ट जापनिज लन्च समेत लिई डेनभर तर्फ लागेका थियौ। पहाडै पहाडको बाटो र बाटोमा पर्ने कोलोराडो रिभरको दृश्यावलोकन गर्दै तत्कालीन अवस्थामा विश्वकै अग्लो स्थानमा बनेको करिब १.७ माईल लामो आईजनआवर- जोनसन टनेल पार गरी पुनः जर्ज टाउनको बाटो हुदै डेनभर पुगेका थियौ। डेनभर बाट चार दिने यात्रा सम्पन्न गरी बेलुकाको फ्लाइटमा अस्टिन पुगेका थियौ।

कोलोराडो राज्यको अधिकांश भाग नेपाल जस्तै हिमाल, पहाड, ढुङ्गा, माटो,नदी नाला ताल,पोखरीले भरिएको र अमेरिकाको एउटा प्राकृतिक सुन्दरताको घर नै रहेछ। यो यात्राका क्रममा जहाँ जुन देखियो घुमियो ती प्राकृतिक सम्पदा हाम्रो नेपालमा नभएका पनि होइनन् तर त्यहाँ सम्म पुग्नको लागी सहज सुरक्षित यातायात, बास, खान पिनको व्यवस्था तथा सम्पदाको समग्र व्यवस्थापन नै महत्त्वपूर्ण पक्ष हो। यस्तो बनाउन नसक्नु हाम्रो देश निर्माताहरू नेता मात्र नभनौँ उच्च पदस्थ कर्मचारी तथा विज्ञहरू नै जिम्मेवार छन्। पटक पटक सरकार फेरिनु, दिगो पूर्वाधार विकास तर्फ ध्यान नदिनु, एउटा सरकारले केही गर्न खोजेको योजना अर्को सरकारले निरन्तरता नदिनु र हरेक विकास योजनामा राजनैतिक स्वार्थ हेरिनु नै विकास नहुनुको प्रमुख कारण हो भने भ्रष्टाचार शुसासन पनि एउटा कारक तत्व हो। यस तर्फ सबै जिम्मेवार पक्ष सचेत हुनै पर्छ। अमेरिकामा कतिपय ठाउँहरू कृत्रिम रूपमा निर्माण गरेर पनि प्राकृतिक सुन्दरता जस्तो देखाइन्छ तर हाम्रो देशमा प्राकृतिक रूपमै रहेका भौगोलिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूलाई संरक्षण तथा व्यवस्थित गरे हाम्रो देश विश्वकै पर्यटकीय गन्तव्य बन्नेछ। अन्तमा हाम्रो भ्रमणमा साथ तथा समय दिँदै भ्रमणका सुन्दर स्थानहरू छनौट गरेर त्यहाँको बारेमा महत्त्वपूर्ण जानकारी समेत दिँदै जिम्मेवारी पूर्वक भ्रमणको सम्पूर्ण व्यवस्थापन सहयोग गर्दै यो भ्रमणलाई आनन्ददायी बनाउन सहयोग गर्ने भाइ सुजन थापा, भ्रमणमा वासस्थान, खानपिन तथा ड्राइभिङ मा विशेष चासो राखेर यात्रा अवधिमा धेरै जसो ड्राइभ गरेर सघाउने छोरा बैभव, यात्रा अवधि भर सबै कुरामा साथ सहयोग दिँदै हौसला बढाउने भाइ सुभाष चापागाँई तथा भ्रमण लाई रमाइलो, रोमाञ्चित तथा अविस्मरणीय बनाउन सहयोग गर्ने बहिनीहरू निकिता निरौला र प्रकृति सापकोटा तथा हाम्री सृष्टि शर्मा नानीलाई धन्यवाद तथा आभार व्यक्त गर्दछु।

(यसमा उल्लेखित तत्थ्यहरु विभिन्न वेबसाइटहरू वाट खोजेर लिइएका हुन)

बिनोद पोख्रेल
तुलसीपुर १८, बिजौरी दाङ
हाल अमेरिका
मिति : सेप्टेम्बर १८

प्रतिक्रिया