बडादशै २०८१ को अवसरमा भर्जिनियाको राजधानी रिचमन्डमा बस्ने नेपालीहरुले खेलकुद सप्ताहको आयोजना सम्पन्न गरे !

इनेप्लिज २०८१ असोज १० गते २१:५१ मा प्रकाशित

नेपाली कम्यूनिटी अफ ग्रेटर रिचमन्ड भर्जिनिया (NCRVA) को आयोजनामा यही सेप्टेम्बर ४ देखि २२ सम्म चलेको रिचमाण्ड फुटबल क्लब दशै कप यसै हप्ता समापन भएको NCRVA का अध्यक्ष चन्द्र मल्लले बताए ।

सो दशैं लिगमा रिचमन्ड क्षेत्रकै ४ टिम सहभागी थिए ।

रिचमान्डर्स र मोमो वारियर्सका वीच भएको फाइनल खेलमा १ का विरूद्ध २ गोलले मोमो वारियर्स विजयी भएको खेल संयोजक अमित ज्वारचनले बताए ।

फ़ाइनल खेलमा पुरूषोत्तम अधिकारी म्यान अप द म्याच घोषित भए भने लिग खेलभरिमा बेस्ट डिफ़ेन्डर असीम राजभण्डारी,टप गोल स्कोरर आदित्य निरौला र बेस्ट प्लेयर कृषबोल्ड अधिकारी घोषित भएको NCRVA का सचिव सुमन कंडेलले बताए ।विजेता टिमले $३५० र ट्रफी प्राप्त गर्यो ।

NCRVA को भगिनी संस्था रिचमन्ड नेपाली पाठशालाले पनि गत हप्ता आफ्ना विद्यार्थीहरू वीच खेल दिवस (sports day) को आयोजना गर्यो ।क़रीब ३० नेपाली परिवारका ३ दर्जन भन्दा बढी बालबालिकाहरू सहभागी सो खेल दिवसमा १००/२०० मिटर दौड,चेस , कोर्न होल, रविक्स क्यूब, रिले दौड लगायत खेलमा बालबालिकाले प्रतिस्पर्धा गरेका थिए ।यी खेलहरूमा विजयी विद्यार्थीहरूलाई NCRVA ले यही अक्टूबर ६ मा आयोजना गर्ने दशैं महोत्सवमा पुरस्कार वितरण गरिने पाठशाला संयोजक पूर्ण दाहालले बताए ।

रिचमन्ड क्षेत्रमा बस्ने नेपाली महिलाहरूका लागि यही सेप्टेम्बर २८ र २९ तारिकमा महिला व्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको संयोजक आरती केसीले बताइन् ।

नेपाली कम्यूनिटी अफ ग्रेटर रिचमन्ड भर्जिनिया (NCRVA) ले यसरी बडादशैंको पूर्व सन्ध्यामा यस्ता विभिन्न कार्यक्रमको आयोजना गरेर नेपाली भाषा,संस्कृति र चाडपर्व जगेर्नामा टेवा पुर्याएको रिचमन्डका नेपाली पत्रकार एवं साहित्यकार पशुपति घिमिरेले बताए ।।

प्रतिक्रिया