बिगत बर्षहरुमा झैँ अपार सफलता हासिल गर्दै आएको कलिवुड नाइट- २०२४ अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा आज मिति सेप्टेम्बर २८ शनिबारका दिन हुने भएको छ । आयोजकले सबैमा निमन्त्रणा गर्दै समयमै पुग्न बिशेष अनुरोध समेत गरेको छ ।
ठिक समयमा सुरु हुने यो अद्वितीय कार्यक्रममा प्रारम्भिक चरणमै सबै पुगुन र सबैले मुख्य आकर्षण प्रस्तुति हेर्न पाउन भन्ने उद्धेश्यले केसी डान्स सेन्टर(केसी नृत्य केन्द्र)ले बिशेष बिशेष अनुरोध गरेको छ ।
बिगत बर्षहरुमा ५ मिनेट ढिलो भएका दर्शकहरुले समेत अगाडी प्रस्तुत भएको कार्यक्रम हेर्न नपाएको कारण बिगत ६ महिना देखि अहोरात्र मेहनत गर्दै प्रस्तुत गर्न लागिएको उक्त बिशेष दुर्गा प्रस्तुती यस पटक पनि कोही नछुटुन भन्दै केसी डान्स सेन्टरले सबैलाई आह्वान गरेको छ । अमेरिकामा हुने नेपाली समुदायले गर्ने कार्यक्रम मध्ये कै शीर्ष स्थानमा पर्ने यो कार्यक्रम अमेरिकामा जन्मिएका दोश्रो पुस्ताको बेजोड प्रस्तुति रहने भएकोले उनीहरुलाई हौशला प्रदान गर्न हामी सबैको उपस्थितिले ठूलो महत्व राख्ने हुनाले आयोजकले सबैलाई समेट्दै उपस्थितिको लागि पटक पटक अपिल गरेका छन् ।
आज हुने कलिवुड नाइट २०२४ को लागि समुदायलाई यस्तो अनुरोध गर्दै छापा बिज्ञप्ति जारी गरिएको छ । उक्त बिज्ञप्तिको पूर्ण पाठ जस्ताको तस्तै :
कलिवुड नाइट- २०२४ को निमन्त्रणा
आदरणीय नेपाली समुदाय,
केसी डान्स सेन्टरले हरेक वर्ष आयोजना गर्ने ‘कलिवुड नाइट’ को छैटौं संस्करण यही सेप्टेम्बर २८ तारिक शनिवार साँझ ठिक ५:३० बजे मनाससको हिल्टन परफरमेन्स आर्टस् सेन्टरमा प्रत्यक्ष लोकदोहोरी सहित आयोजना हुन लागेको कुरा पुनः जानकारी गराउछौँ। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि यहाँहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
नेपाली समुदायका कार्यक्रमहरूका साथमा नृत्य मार्फत नेपाली कला र संस्कृतिलाई नेपाली समुदाय बाहिर पनि पुऱ्याउने काम गर्दै आइरहेको, नृत्यका माध्यमबाटै साना बालबालिकाहरूलाई नेपाली संस्कृति र भाषाका बारेमा रुचि जगाउने काममा योगदान दिंदै आइरहेको यस डान्स सेन्टरका बारेमा यहाहरू अवगत नै हुनुहुन्छ । हाम्रा उदाउँदै गरेका तिनै बालबालिकाहरूको व्यावसायिक स्तरका विविध प्रस्तुतीहरूका साथमा हुने प्रत्यक्ष लोकदोहोरी सहितको विशुद्ध नेपाली साँस्कृतिक कार्यक्रममा उपस्थित भएर हौसला बढाइदिनु हुन विशेष अनुरोध गर्दछौँ।
तोकिएको समयमा कार्यक्रम शुरु र अन्त्य हुने, कुनै प्रकारका भाषण, आसन र खादामालाका कार्यक्रम नराखी विशुद्ध साँस्कृतिक कार्यक्रममात्र प्रस्तुत हुने यस कलिवुड नाइट कार्यक्रममा हामी हजुरहरूलाई पूर्ण मनोरञ्जन प्रदान गर्न र स्वागत गर्न पर्खिरहने छौं ।
तपाइँहरूको उपस्थिति, हाम्रो हौसला ।
प्रतिक्रिया