लक्ष्मी श्रेष्ठ ,हाल न्यूयोर्क,अमेरिका
हाम्रो सिंहको सिंहासन अझै भत्केको छैन
हाम्रा बलिया दरबारहरु अझै डुबेको छैन
ति निर्धा झुप्रा छाप्राहरु नै डुबेका त हुन् नि
छाप्राका तिनै गरीबहरु नै मरेका त हुन् नि!
हामीलाई के को पीर?
हामीलाई बजारको महंगीले छुन नि सक्दैन
संधै भान्छामा खसीको मासुभात पाकीहाल्छ
भोकै पर्ने त तिमी सोझा जनताहरु त हौ नि!
मरे मरन भोक- भोकै हामीलाई के को पीर?
छैंठीमा निधारमा लेखेर नि ल्याउनु पर्यो नि
तिमी विचराहरुले हाम्रो रीस गरेर हुन्छ र ?
नपढेनी विद्वानहरु हाम्रो औंलामा नाचेका छँदैछन्
कसैले पिएचडी नै गरे गर न हामीलाई के को पीर?
चार पाँच पटक प्र म आरामले हत्याईहाल्यौ
अब फेरी दुई तिन पटक प्र म निलीहाल्छौं
हामी दुई चार वटा पुराना बोटलहरु बाहेक
सत्ता दोस्रो पुस्तामा जान त असम्भव छँदैछ!
हामीलाई के को पीर?
चुनाबकै कुरा उठाउँछौ भने,
चुनाबमा नोट ओछ्याएपछि भोटको के पीर?
हामीले चाहे के हुँदैन र हाम्रो प्यारो देशमा
सत्ता उल्टिन सक्छ,बाग्मती नि उल्टो बग्न सक्छ!!
होशियार! सत्ता उल्टिन सक्छ, बाग्मती नि उल्टो बग्न सक्छ!!
प्रतिक्रिया