आदर्श र नैतिकताको सन्देशः ‘पौराणिक आदर्श नारीहरू’

–प्रशान्त भट्टराई सभापोखरी–१, धुपू, संखुवासभा हाल–बुढानीलकण्ठ न.पा.–१०, कपन, काठमाडौँ २०८१ असोज १६ गते ११:०२ मा प्रकाशित

पुस्तक समीक्षा

‘पौराणिक आदर्श नारीहरू’ पुस्तकका लेखक शोभाकर बराल वि.सं. २००३ चैत ८ गते ठूलिविणी, पुम्दीभुम्दी, पोखरा महानगरपालिका २२, कास्कीमा जन्मिएका हुन् । एसएलसी (प्रवेशिका) सम्मको शिक्षा हासिल गरी शिक्षण पेसामा ३७ वर्ष रहँदा श्री लक्ष्मी आधारभूत विद्यालयको प्रधानाध्यापकको रूपमा लामो समय कार्यरत रहेका र वि.सं. २०६३ सालदेखि प्राथमिक द्वितीय श्रेणीको पदबाट सेवा निवृत बरालले निवृत्त जीवनमा सिर्जनात्मक काम गरिहेका र यसभन्दा अगाडि “मैले टेकेको धरती” (२०७९) नामको गैह्रआख्यान प्रबन्ध लेखी प्रकाशन समेत गरिसकेका छन् । लेखक बरालको ‘पौराणिक आदर्श नारीहरू’ (२०८१) सङ्कलित तथा लिखित दोस्रो कृति हो ।

पौराणिक आदर्श नारीहरूको चरित्रलाई एउटै पुस्तकबाट प्रकाश पार्ने प्रयत्न गरिएको कृति हो यो ‘पौराणिक आदर्श नारीहरू’ । रामायण, महाभारत, गीतालगायत विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लिखित आदर्श नारी पात्रहरूले तिनका जीवनकालमा खेलेका महत्त्वपूर्ण र आदर्शवान् भूमिकाहरूको पुनर्व्याख्या गर्नु र ती कथा पढेर नयाँ पुस्तामा संस्कारी चरित्र विकास गराउन भूमिका खेल्नु नै यस कृतिको विशिष्ट चिनारी रहेको छ ।

लेखक बरालको ‘पौराणिक आदर्श नारीहरू’ पुस्तक १७९ पृष्ठमा संरचित छ । लेखक स्वयंले प्रकाशन गरेको यस कृतिका पृष्ठ १ भन्दा अघिल्ला पृष्ठहरू शुभकामना, भूमिका, लेखकका तर्फबाट र विषयसूचीले भरिएका छन् भने पछिल्ला १६४ पृष्ठसम्म पुस्तकको मूल कथावस्तु वा लेखकको मूल सारतत्त्वको उपस्थिति देखिन्छ भने पृष्ठ १६५ देखि १७९ सम्म बरालद्वारा रचित केही कविताहरू उल्लेख गरिएका छन् । यस पुस्तकको मूल्य रु.३५०/–राखिएको छ । पुस्तकको सुरुमा नै ‘शुभकामना’ शीर्षकमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान सेवा आयोगका अध्यक्ष डा. खगराज बरालद्वारा दिइएको शुभकामना राखिएको छ । डा. बरालले लेखक मेरो पिता भएको र उहाँमा उमेरको सातौं दशकको उत्तरार्द्धमा पुग्दा पनि पुस्तक पढ्ने र लेख्ने हुटहुटी झनै बढ्नु नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत हुन सक्छ भन्ने कुरालाई जोड दिँदै आगामी दिनमा नयाँ पुस्तक प्रकाशनको समेत शुभकामना व्यक्त गरेका छन् । शुभकामनापछि ‘पौराणिक आदर्श नारीहरू’ मा ‘भूमिका’ शीर्षकमा चिरञ्जीवी बरालको सारगर्भित भूमिका छ भने लेखक स्वयंको ‘लेखकतर्फ’ बाट रहेको छ । यसपछि सुरु भएको पुस्तकको मूल कथावस्तुलाई विभिन्न शीर्षकमा विभाजन गरिएको छ । प्रस्तुत पुस्तक मूल रूपमा दुईवटा खण्डबाट हेर्न सकिन्छ; पौराणिक आख्यान खण्ड र कविता खण्ड ।

यस पुस्तकमा लेखकले आख्यान खण्डमा अनुसूया, उर्मिला, गान्धारी, मन्दोदरी, दमयन्ती, शकुन्तला, सावित्री, सुलोचना, सीता जस्ता पौराणिक नारी पात्रहरूका सुकर्म र प्राप्त सकारात्मक प्रतिफलको चर्चा र नारीहरूले आफ्ना पतिप्रति गरेको माया, प्रेम, समर्पणको चित्रण गरेको पाइन्छ ।

पौराणिक पात्र अनुसूयाले पति महर्षि अत्रिको ध्यान तपस्याबाट बाहिर आई ‘पानी ल्याऊ देवी’ भन्दा पतिलाई जसरी पनि पानी पिलाउने दृढताका साथ अनुसूयाले आँखा बन्द गरेर गङ्गामाताको ध्यान गर्छिन् र पानी प्राप्त गर्छिन्, जसले गर्दा उनले पतिलाई पानी पियाउन सफल हुन्छिन् ।

त्यसै गरी, अर्की पात्र उर्मिला दरबारको सुसंस्कृत वातावरणमा हुर्किएकी नारी जसमा राजा जनकको दरबारमा
विभिन्न देशका विद्वान्‌हरूले गर्ने गरेको शास्त्रसम्बन्धी विचार विमर्शको प्रभाव पर्छ । यसबाट उनले पारिवारिक आचरण
सिक्छिन् । राम र सीतासँगै उनका पति लक्ष्मण पनि वनवास गएका बेला सासुससुराको स्याहार सुसार गरेर बस्छिन् र
पतिव्रता धर्म निर्वाह गर्छिन् ।

अर्की पौराणिक पात्र गान्धारीले आफ्ना पति आँखा नदेख्ने भएकोले पतिको मर्म र भावना अनुकूल हुन आफूले पनि आँखामा पट्टी बाँधेर आफ्नो व्यक्तिगत मान अपमान भन्दा कुलको संरक्षण हुनुपर्नेमा सधैँ महत्त्व दिएको कुरा पुस्तकमा उल्लेख छ ।

त्यस्तै, रानी दमयन्तीले अति विपत पर्दा पनि कुनै हालतमा आफ्ना पति नल राजालाई छोडिनन् । बरू धेरै दुःख, यातनाहरू सहेर भए पनि माइतमा गई छोराछोरी पालेर बसिन् । जङ्गलमा आफ्नो आधा वस्त्र च्यातेर त्यही बेरेर लुसुक्क भागेर हिँडेका पतिलाई समेत दमयन्तीले कुरेर बसिरहिन् । उनको यो कर्मका कारण नल राजाले जुवामा हारेको राज्य र सारा सम्पत्ति पुनः फिर्ता गर्न सफल भएको र उनीहरूको जीवन सुखमय हुन पुगेको कुरा लेखकले प्रस्तुत गरेका छन् ।

पुस्तकमा पौराणिक पात्र मन्दोदरीको उदार भावना र सत्य प्रतिको निष्ठाको चर्चा गरिएको छ । आफ्ना घमण्डी पति रावणलाई मन्दोदरीले भनेकी छिन् “हे पतिदेव ! सीतालाई छुने आँट नगर्नू । रामसँग युद्ध पनि नगर्नू । सीतालाई स–सम्मान साथ रामको पासमा पठाइदिनू ।” रावणले मन्दोदरीलाई भन्छन्, “हे मन्दोदरी ! म युद्धमा मरेँ भने कि सती जानू कि अर्को पति लिएर बस्नू ।” यसबाट के बुझिन्छ भने रावणले मन्दोदरीलाई अर्को विवाह गर्ने छुट दिएका थिए ।

तर, मन्दोदरीले भने यदि रामसँगको युद्धमा रावणको हार भएमा आफू सती जाने निर्णय रावणलाई सुनाइन् । मन्दोदरीले आफ्नो विवेक, शालिनता, पतिव्रता धर्म र सत्य कुरालाई कहिल्यै नत्यागेको कुरा पुस्तकमा वर्णन गरिएको छ । मेनका र विश्वामित्र ऋषिकी सुपुत्री शकुन्तलाले पतिव्रताधर्म पालना गरी वर्षौंसम्म आफ्ना पति राजा दुष्यन्तलाई कुरेर बसेकी र पछि छोरा भरत ठूलो भएपछि राजा दुष्यन्तको दरबारमा गई सबै कुराको भेद खोलेपछि राजाले उनीलाई रानी स्वीकारेको र भरतलाई राजकाज सुम्पेको दृष्टान्त शकुन्तला शीर्षकअन्तर्गत प्रस्तुत गरिएको छ ।

भरतले राज्य गरेको हुनाले भारतवर्ष रहन गएको यथार्थ समेत पुस्तकमा उल्लेख गरिएको छ । सावित्रीको जीवनगाथा भने अलि पृथक छ । सावित्रीले राजकुमार सत्यवान्‌सँग विवाह गर्ने अठोट गर्छिन् । तर, महर्षि नारदले “हे राजपुत्री सावित्री मैयाँ ! तिमीले आज जुन युवकलाई पतिको रूपमा वरण गर्‍यौ, ती युवक अल्पायु छन् । तिमीले जुन दिन वरण गर्‍यौ नि त्यही दिनदेखि गन्ती गर्दै जानू । यसको वर्ष दिनमा उसले मर्नुपर्छ,” भने । उनका बाबुआमालाई पनि अर्कै वर खोज्न र ती राजकुमारलाई मनबाट हटाइदिन सल्लाह दिए । तर, उनी अडिग रहिन् । वर्ष दिन पुग्न तीन दिन बाँकी छँदा निर्जल व्रत बसिन् । पति सत्यवान्‌को मृत्यु भई यमराजले लिएर गएपछि पनि उनी यमराजको पछिपछि लागिरहिन् र अनुनय विनय गरिरहिन् । यमराजसँग विन्ति गरीगरी उनले ससुराका गुमेका आँखाका ज्योति फिर्ता गराइछाडिन्, राज्य फिर्ता गराइछाडिन् । अन्त्यमा, यमराजबाट सत्यवान्‌लाई समेत कालपासबाट मुक्तगराइछाडिन् ।

त्यसै गरी, रामायणमा वर्णित सीतालाई रावणले हरेर लङ्कामा पुर्‍याइएकी सीताले भगवान् श्रीरामकै नाम जपेर बसिरहेकी हुन्छिन् । उनले पतिव्रता भई छोराहरू लव र कुशलाई कुटीमा हुर्काएकी हुन्छिन् । उनको त्याग र तपस्या एवम् पतिव्रता धर्म देखेर लङ्काका रानी समेतले उनको प्रशंसा गर्छन् ।


सुलोचना रावणका छोरा इन्द्रजित्‌की धर्मपत्नी हुन् । भगवान् श्री रामका भाइ लक्ष्मणले युद्धमा इन्द्रजित्‌की टाउको काट्दा टाउको रामका अगाडि गएर खस्छ भने पाखुरा श्रीमती सुलोचनाका अगाडि खस्छन् । आफ्ना पतिमारिएको देखेपछि पतिविना संसार निरर्थक भन्दै सुलोचनाले आफ्नो सबै सम्पत्ति दान दिन्छिन् र पतिको शीरसँगै सती जान तयार हुन्छिन् ।

पुस्तकको अर्को खण्ड बरालद्वारा लिखित कविताको सङ्कलन हो । यस खण्डलाई ‘शोभाकर बरालद्वारा रचित केही कविताहरू’ शीर्षक दिइएको छ । कविता मूलतः भावना वा अनुभूतिकै उपज हो तापनि त्यसमा तार्किक मस्तिष्क र विश्लेषणात्मक जीवनदृष्टिले प्रवेश पाउन सक्नुपर्दछ । यसै गरी, लेखक बरालद्वारा रचित केही कविताहरू समेत यस पुस्तकको दोस्रो खण्डमा प्रस्तुत गरिएको छ । उनका कविताहरू ‘असार महिना’, ‘फर्क फर्क हे नेपाली दाजुभाइ !’ र, ‘पुम्दीकोट’ शीर्षकमा वास्तविक यथार्थ धरातललाई टेकेर रचिएका पाइन्छन् ।

यस पुस्तकको सबल पक्ष भनेको पौराणिक आदर्श नारी पात्रहरूले खेल्नु भएको भूमिकाबाट आजको आधुनिकतातर्फ ढल्कदै गरेको समाजमा आदर्श र नैतिकताको सञ्चार गराउनु नै हो । लेखक शोभाकर बरालको ‘पौराणिक आदर्श नारीहरू’ पुस्तक भाव, विचार र सङ्कलनका दृष्टिले निकै सफल र उत्कृष्ट पुस्तक हो भनी सगर्व भन्न सकिन्छ । यसको विषयवस्तु, पात्र र परिवेश पौराणिक भए पनि यहाँ प्रस्तुत विचार र प्रस्तुतिको शैली पूर्णतः मौलिक देखिन्छ ।

‘पौराणिक आदर्श नारीहरू’ मानवीय आदर्शको एउटा मूर्त बिम्ब बनेर यहाँ देखापरेका छन् । यसैगरी, लेखकको विषयवस्तु प्रस्तुतिलाई हेर्दा लेखनका लागि गहिरो अध्ययन रहेको कुरा पुष्टि हुन्छ । आधुनिक युगको दृष्टिकोणबाट लाग्ने आरोपबाट आफूलाई बचाउन लेखकले सबै लेखका स्रोत सामग्री उल्लेख गरेका छन् । पुस्तक पढ्ने कतिपय पाठकहरूका मनमा नारीको स्वतन्त्र अस्तित्व स्वीकार्न नसकेको एवम् पुरातनवादी पितृसत्तात्मक सोचको बढावा दिएको भन्ने भान पनि पर्न सक्छ तर यी लेखहरूलाई पौराणिक कालखण्डमा उभिएर पढे मात्रै यिनको वास्तविक रसास्वादन गर्न सकिन्छ । पौराणिक ग्रन्थबाट लिइएका सामग्री भएका हुनाले शब्द छनोट र वाक्य संरचना पनि सोहीअनुरूप समय सान्दर्भिक बनाउन प्रयास गरिएको छ ।

पुस्तकको भाषा अत्यन्त सरल र सहज छ । भाषिक प्रयोगमा परम्परागत प्रयोगका अवशेषहरू ‘क्वै’, ‘नही’, ‘अरे’ जस्ता परम्परित प्रयोगका अवशेषहरू नभेटिनु सबल पक्ष छ भने अत्याशित (अप्रत्याशित), दुर्गोधन (दुर्योधन), अहल्या(अहिल्या) जस्ता अशुद्ध रूपहरू अझै बाँकी नै रहनु कृतिको दुर्बल पक्ष हो । यस पुस्तकको आख्यानको पाटो बलियो देखिन्छ तर पछाडिको पृष्ठ १६५ देखि १७९ सम्म केही कविताहरू राखिएका छन् जसलाई छुट्टै प्रकाशनमा ल्याउन सकेको भए सुनमा सुगन्ध नै हुने थियो कि !

अन्त्यमा, पौराणिक आदर्श नारी पात्रहरूले खेल्नु भएको भूमिकाबाट आजको आधुनिकतातर्फ ढल्कदै गरेको समाजमा आदर्श र नैतिकताको सञ्चार गराउनु नै यस कृतिको प्रमुख सन्देश हो ।

प्रशान्त भट्टराई

प्रतिक्रिया