दोलखा समाजको बनभोज सम्पन्न,दशैंमा चियापान

इनेप्लिज २०८१ असोज १६ गते २१:३७ मा प्रकाशित

समर अर्थात गर्मी मौसमको अन्त्यसंगै शरद क्रृतुको शुरुवात पनि भइसकेको छ । तर अझैपनि गर्मीको असर भने सकिसकेको छैन् । समरमा अमेरिकामा सबैजना घुमफिर तथा पिकनिकमा रमाउने गर्छन, नेपाली समुदाय पनि यसबाट अछुतो रहने कुरै भएन ।

दोलखा समाज अमेरिकाले पनि गत अगष्टको सप्ताहन्तमा बनभोज गरी यसबर्षको समरलाई विदाई गरेको छ । जिल्लाबासी तथा नेपालीहरुविच भेटघाट, चिनजान तथा आपसी सदभाव र भाइचारा अभिवृद्दिको उद्देश्यले यसै वर्षमात्र स्थापित समाजले स्थापनाको पहिलो बर्षमै बनभोज गरेको हो । न्यूयोर्कको क्विन्सस्थित क्विन्सब्रिज पार्कका गरिएको कार्यक्रममा करिव सत्तरी जनाको सहभागिता थियो ।

‘बनभोजको मज्जा अझै बिर्सिएको छैन्’ दोलखा शैलुङका यादव कार्कीले भन्नुभयो ‘खानु पिउनु त आफेनो ठाउँमा छदैछ जिल्लावासीहरुसंग चिनजान गर्न पाइयो त्यो नै ठुलो कुरा हो । ’ सामन्यतः पिकनिक या पार्टी मनाइनु सामान्य कुरा हो तर प्रवासमा सधै काममा व्यस्त हुनुपर्ने हुदा खासै यस्ता गतिबिधिमा संलग्न हुने अवसर कमै हुन्छ त्यसैले पनि यस्ता कार्यक्रमले खास अर्थ राख्ने बताउनुहुन्छ समाजका सदस्य तथा कराते प्रशिक्षक शान्त थोकर । इष्ट रिभरको छेउमै रहेको पार्कमा जमघट गर्न पाउदा नेपालबाट केही समयका लागी घुम्नका लागी आउनुभएका बाआमाहरु पनि दंग देखिनुहुन्थ्यो ।

बनभोज कार्यक्रममा जिल्लाबासीका अतिरिक्त संघीय संसद नेपालकी पूर्व सांसद शान्तीमाया जिरेल,प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटिका अध्यक्ष संजय थापा, नेपाल जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट, एनआरएन न्युयोर्क च्याप्टरकी उपाध्यक्ष लक्ष्मी थापा लगायत विभिन्न जिल्ला समाजका अध्यक्षहरुको उपस्थिति थियो ।

सामाजिक, सांस्कृतिक र मनोबैज्ञानिक रुपमा यस्ता कार्यक्रमहरुको ठुलो अर्थ रहने भएकाले सन्निकट रहेको नेपालीहरुको महान पर्व दशैंतिहारको अवसरमा पनि चियापान कार्यक्रम गरिने दोलखा समाज अमेरिकाका अध्यक्ष भोजराज थोकरले बताउनुभयो ।

प्रतिक्रिया