नेपाल आईडल करण परियारको गायन र अभिनयमा निर्मित पहिलो म्यूजिक भिडियो उनकै यूट्यूब च्यानलबाट रिलिज, हेर्ने हैन?

इनेप्लिज २०८१ असोज १७ गते ०:३४ मा प्रकाशित

न्यू योर्क/काठमाण्डू- चर्चित युवा गायक, नेपाल आईडल सिजन-५ विजेता करण परियारले पहिलो पटक म्यूजिक भिडियोमा मुख्य पात्र मोडल बनेर अभिनय गरेकाछन्। सो म्यूजिक भिडियोको अमेरिका संयोजक शशी सिंहकाअनुसार करणले गायनकासाथै पहिलो पटक अभिनय गरेको म्यूजिक भिडियो अमेरिकामा रहेका करणका सुभचिन्तकहरूले प्रायोजन गरी करणकै सर्वाधिकार रहने गरी करण परियार यूट्यूब च्यानलबाट अक्टोवर १ तारिख सार्वजनिक गरिएको हो।

प्रसिद्ध संगीतकार, संगीतरत्न शम्भूजित बास्कोटाले “तिम्रो आँखाबाट संसार हेर्न मन छ” गीतमा सुमधुर संगित भरेकाछन् भने प्रदीप परियार थापाको रचना रहेकोछ।

म्यूजिक भिडियोमा करण परियार र सोह्र वर्षीय किशोरी गायिका जारा रीत प्रसाईको युगल स्वर रहेको छ। जारा संगीतरत्न बास्कोटाकी नातिनी हुन्।

म्यूजिक भिडियोमा गायक करणकासाथ चर्चित बहिरा कलाकार मोडल, नायिका सुजल बम, गायिका जारा रीत प्रसाई र गायिका, मोडल एवं अन्तर्राष्ट्रीय स्वर्ण पदक विजेता तेक्वाण्डो खेलाडी नन्दा बस्यालको अभिनय रहेकोछ। म्यूजिक भिडियोको निर्देशन चर्चित कोरियोग्राफर मौसम हिमालीको रहेको छ।

कोरियोग्राफर मौसम हिमालीले हालसम्म पन्ध्र सयभन्दा बढी म्यूजिक भिडियोहरूमा निर्देशन र नृत्य कोरियोग्राफी गरीसकेका छन् भने उनका केही बहुचर्चित म्यूजिक भिडियोहरूमा कश्मिरे पछ्यौरी, आईन आमा ओई, रिमै, डाँडा घरे साँईली, कहाँको साईनो, जाम भो माईली, घर कता हो बैनीको, झरनाको चिसो पानी, ए हो र माया, ए आमा जाम भन्यो मलाई लगायत छन्।

त्यसैगरी, प्रसिद्ध संगीतकार संगीतरत्न शम्भूजित बास्कोटाले ३५० भन्दा बढी नेपाली चलचित्रहरूको गीतमा संगित भरेकाछन् भने अठार सयभन्दा बढी गीतहरूको म्यूजिक कम्पोज गरेकाछन्। उनी नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको पूर्व उपकूलपति र नेपाल आईडल सुजन ४ का निर्णायक हुन्। सांगितिक क्षेत्रमा उनलाई प्रेम र सम्मानपूर्वक मेलोडी किंग, गोल्डन टच, पारशमणि र संगीतरत्न भनेर सम्वोधन गरिन्छ।

प्रतिक्रिया