चार दशकअघिदेखि साहित्यको साधनामा जोडिएका कवि डा दामोदर पुडासैनी प्रकृति र पर्यावरणबाट अत्यन्तै प्रभावित भएको देखिन्छ । पुडासैनीलेको साहित्य यात्रामा विधाको पनि अनेकता जोडिएको छ। पुडासैनी नियात्राको सारथि हुन भने कविताको सृजनामा यथार्थवादी भएर जोडिएको भेटिन्छ ।
दामोदरका समसामयिक विषय र सन्दर्भ जोडिएका यथार्थवादी कविताहरुभित्र मानवजीवनको स्वार्थ र यथार्ता जोडिएको जिउँदो जीवन भेटिन्छ । आफू बाँचेको समयको,सुख,दुख, उज्यालो–अँध्यारो, आशा निराशा,घात–प्रतिघात, बाध्यता,कल्पना र सङ्घर्षलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नसकेका छन् । उनका कवितामा प्रकृति, पर्यावरणविचको प्रेम, धर्म,संस्कृति र सस्कार आदि सिँचित छ। कविताभित्रको मानवता एवम् ब्राह्मणप्रतिको प्रेमका साथै आलोचनात्मक चेतनाको मिठासले कवितालाई जिवन्त बनाएको भेटिन्छ ।
म कवितालाई हतियार भन्छु
तिमी हतियार नै कविता हो भनिरहेछौ
तिम्रा हतियारले क्षत विक्षत पारेको घाउमा मैले कविता रोपें
त्यही कविताले संसार हल्लाउँदैछ अहिले । (अमेरिका ! ओ अमेरिका !! )
कविले कवितामा जीवन र जगतका विविध पक्षहरूलाई आलोचनात्मक ढङ्गले प्रस्तुत गरेको भेटिन्छ । देश दुनियाँको यात्रा गर्दा,अस्थायी स्थायीरुपले बसाइँ सर्दा पनि देशलाई माया गर्नु, समाज बदलिएको हेर्न चाहनु, मानवीय गरिमा, सौन्दर्य र स्वाभिमानको गीत गाउनु; समस्त विभेद र उत्पीडनको प्रतिवाद गर्नु, जीवनलाई सङ्घर्ष सहितको यात्राका रूपमा बुझ्नु स्वतन्त्रता, समानता र भाइचारालाई महतब दिनु,मानवताका पक्षमा उभिनु आदि जस्ता विषयको प्रभाव र असर कस्तो प्रभाव परेको छ भन्ने काव्यिक विशेषता प्रस्तुत भएको भेटिन्छ । कविमा भएको आलोचनात्मक चेतना र अनुभवको कलात्मक परिणाम सृजनामा प्रस्तुत भएको विवेकले स्पष्ट पार्दछ ।
कविले कवितामा प्रस्तुत गर्ने यथार्थको प्रतिविम्ब सोझो,सरल मात्रै होइन ब्यङ्ग्य ज्ञानात्मक संवेदनासहित यथार्थ साक्षात्कार भएको अनुभुति पनि सृजनामा पाइन्छ ।कवितामा भएको कलात्मक प्रस्तुतिका उपकरणहरूको प्रयोगप्रति कवि सचेत रहेको पाइन्छ ।
म तिमीसँग नानीहरू माँगिरहेको थिएँ
रिटायड सैनिकहरुको यौवन मागिरहेको थिएँ …..(पार्कको प्रवेशद्वार )
मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ पुडासैनीको कविता संग्रहको एघारौं कविता हो । यो कविता संग्रहमा त्रिपन्नवटा कविता छन् । उनको अमेरिका यात्रामा रहँदाका उनका अनुभव, हेराइ र बुझाइलाई कवितामा व्यक्त गरिएको छ । कविता अमेरिका घुमाइमा रहँदाका विविध सम्पर्क र विषयसँग सम्बन्धित छन् । अमेरिका विश्वका अधिकाँस देशका लागि सपना र कल्पनामा अविरल बगेको देश’ हो । मानिसहरू आफ्नो सर्वस्व सकेर अमेरिका जान मरिहत्ते गर्छन् । मरिहत्ते गर्नेहरु मानिसहरु पनि विभिन्न वर्ग, समुदाय, पेशा र अवस्थाका मानिसहरू छन ।अमेरिका पुग्नसके जीवन धन्य हुन्थ्यो भनेर सोच्नेहरू निकै छन् । पुगिसकेकाहरुको आफ्नो देश,भाषा,संस्कृति,रिति स्थिति सम्झेर कल्पने पनि प्रसस्तै भेटिन्छन् ।
सम्बन्धमा पहिरो गइरहेछ
पानीका फोका छन् नयाँ सम्बन्धहरू
भीड नै भीडको माझमा एक्लो छ मान्छे
फराक जमिनमा लम्पसार परेर
एक्लो टापुमा फसेको महसूस गरिरहेछ
(अमेरिका ! ओ अमेरिका !! )
अमेरिका पुग्नेहरूको पृष्ठभूमि र अवस्था समान छैन । कैयौं नेपालीहरूमा देखिने अमेरिका मोह आश्चर्यलाग्दो छ । अमेरिकाको भौतिक सम्पन्नता, त्यहाँ पुगेपछि हुने ,व्यस्तता,आयआर्जन र भौतिक सुविधा नै अमेरिका जानुको मोह देखिन्छ । यो मोहसँग आफ्नो देशको अस्थिरता,राजनीतिक अपराधीकरण,अव्यवस्था ,बेरोजगारी जस्ता विषयको राजनीतिले सम्बोधन गर्न नसक्नु पनि हो । अमेरिका गएर बस्न पाउँदा आफूलाई धन्य सम्झनेहरूको संख्या कम छैन । त्यहाँको यान्त्रिक जीवन, वैभवका बिचमा पाइने गरिबी र वर्गीय अन्तर, पुँजीवादी अश्लील संस्कृति, व्यक्तिवादी, उपभोक्तावादी र सुखवादी जीवन दृष्टि र मूल्य, अमेरिकाको वैश्विक वर्चश्व र त्यसबाट जन्मिएका सङ्कट पिडाप्रति धेरैको ध्यान जाँदैन । धेरैले आलोचनात्मक विवेक गुमाउँछन् र अन्धप्रशंसाको स्तरमा ओर्लन्छन् साथै कविताका विम्ब, प्रतीक र अलङ्कारहरूको अनावश्यक प्रयोगले कविता सुन्दर बन्दैनन् भन्ने कुरामा कविता सचेत छन् । यो सचेतताका विषयलाई तलका हरफहरुले प्रस्टाउँछ ।
फूल रोप्छन् कि एम्बुस
हिजोसम्म चराजस्तै चरा पछाडि दगुरिरहने नानीहरू
अहिले बमको धूवाँसँगै आकाशमा उडेर
माटोमा लडिरहेको खबर छ माटोकै रूपमा
रोक, युद्ध रोक (ब्रेकिङ न्यूज)
कविता जीवन जीउने,सुविधासम्पन्न बन्ने कर्ममा लागेका मानिसहरूको नित्यकर्मसँग जोडिएको छ। नित्यकर्म सगैं देश अनुसारको भेष,नीतिनियमको बन्धनसँग जोडिएको पराइ भुमिलाई आफ्नो र विश्वासिलो बनाएर जीवन चलाउने विषयले मानिसलाई कसरी यान्त्रिक बनाउँछ भन्ने भावनात्मकसँग गहिरो सम्बन्ध राखेको देखिन्छ ।
साँझसम्म ऊ चुपचाप सुतिरहेथ्यो
बिहान घामसँगै छमछम नाचिरहेछ
बतास बनेर ऊसँगै नाचें म
उसको र मेरो नाच हेर्न
फुत्रुक्क ओर्लियो घाम
लहरका पाइलाहरूसँगै (लेक मिसिगन )
पुडासैनी कवितामाथि न्याय गर्ने कविहरूको लहरमा पर्नुहुन्छ । कवितामा कविताको मात्रै भाव,अर्थ झल्केको छैन, प्रसस्तै सांस्कृतिक कर्म झल्किएको भेटिन्छ । अनेकौं कविता कविता जस्ता नभएपछि त्यसको मूल्य स्वत : घट्छ ,घटेको हुन्छ तर पुडासैनीका कविता गम्भीर, आत्मसङ्घर्ष र सृजनाको साधनाको आत्मसङ्घर्षबाट सृजेका हुन भन्ने प्रष्ट छन् ।
गुँडहरु रित्तै छोडेर
भुरुर्र उड्नेहरु
पँखेटा बिसाएका छन् हाँगा र पातमा
उता माउहरु
ललनी गाइरहेछन् बचेराहरुको ( भड्खारो अमेरिका )
आत्मसङ्घर्ष काव्यकर्मका दृष्टिले आफूलाई अझ समृद्ध, परिष्कृत र रूपान्तरित गर्ने कुरासँग सम्बन्धित छ । यो अध्ययन,भ्रमण,भ्रमणका अनुभव,आलोचनात्मक विवेक र स्वमूल्याङ्कनको गम्भीरता बोधसँग जोडिन्छ । आत्मसङ्घर्ष उत्कृष्ट कविता सिर्जनाका अवरोधहरूसँग जुझ्छ र अघिल्तिरको सुन्दर यात्राका निम्ति बन्द ढोकाहरू खोल्छ । पुडासैनीका कवितामा आत्मसङ्घर्ष र साधनाको परिणामलाई नियाल्न सकिन्छ ।
अमेरिकाले गर्दै आएको हातहतियारको निर्माण र व्यापार, युक्रेन, गाजादेखि विभिन्न मुलुकमा चलेका युद्धहरूमा उसको प्रत्यक्ष परोक्ष संलग्नता, युद्धका कारण भएको भौतिक र मानवीय क्षति, त्यसका दुष्प्रभाव आदिप्रति पनि कवितामा गम्भीर सरोकार राखिएको छ ।
मन क्लिन्टनको पनि छ
किन लगायौ उनको मनमा आगो
एउटा प्रश्न गरेँ उनीसँग
किन धुजाधुजा पारेर च्यातियो प्रेमसुत्र
अर्को प्रश्न सोधे बिलसँग
क्षमाकी महानमुर्ति हिलारीलाई ( चक्रवात टिस्यु कलचर )
अमेरिकामा बस्नेहरूले गर्ने डायस्पोरिक अनुभूति, उनीहरूका पीडा र मनोविज्ञान, उनीहरूका स्वप्न र विरोधाभासको चित्रण पनि कवितामा पाइन्छ । सन्तान विदेशमा रहँदा आमाबाबुले खप्नुपरेको गहिरो पीडालाई पनि कवितामा अभिव्यक्ति दिइएको छ । कविले त्यहाँको पर्यावरण, प्रकृति र त्यसलाई लिएर गरिएका अनुभूतिहरूलाई पनि काव्यात्मक अभिव्यक्ति दिनुभएको छ । सुन्दर प्रकृति र पर्यावरणबाट कवि गहिरो गरी प्रभावित हुनुभएको पाइन्छ । प्रकृतिको सौन्दर्यप्रति कविको काव्यिक सरोकार सुन्दर रहेको छ तर कविमा यसको स्थायित्वलाई लिएर चिन्ता पनि छ ।
मेरो अघिल्तिर
कुनै ढोका छैन,
कुनै पर्खाल पनि छैन
मुटुभरि स्वागत गीत गुन्जिरहेछन् ( ताल )
हामी पर्यावरण विनाशको समयमा छौं । हामीलाई भुतापले सताईरहेको छ । अमेरिका जस्ता पूँजीवादी एवम् औद्योगिक राष्ट्रहरू यस्ता विषयमा बढी दोषी छन् तर पनि हामी चुप छौं । विश्व साम्राज्यवादको नेतृत्व गर्ने अमेरिका यो र यस्ता विषयसँग गम्भीर देखिन्न भन्ने विषयलाई यो संग्रहका कवितामा देखाइएको छ । मानवता, मानवीय प्रेम, सद्भाव, सहिष्णुता, समानता, स्वतन्त्रता र सामाजिक न्यायका भावनाहरूले पनि कवितामा प्रसस्तै स्थान पाएका छन् । देशभक्तिको प्रगाढ भावनालाई हरेक कवितामा नियाल्न सकिन्छ । विदेशीनु मानिसको बाध्यता हो,बाध्यताभित्र जीवन जीउनु र जीवन बनाउनु कठिन कुरा विषय हो भनेर कविले कविता मार्फत गहिरो चिन्ता व्यक्त गरेका छन्। पराइदेशभित्रको देशभक्तिको भावना, हातहतियार र युद्धको विरोध, यान्त्रिक जीवन एवम् व्यक्तिवाद तथा उपभोक्तावादको आलोचना गरेर मात्रै जीउन सकिन्न । मानवता तथा स्वतन्त्रता, समानता र सामाजिक न्यायको चाहना, प्रकृति र पर्यावरण प्रेम, भौतिक सम्पन्नता र यान्त्रिकता बीचको तालमेल अहिलेको मानव जीवन हो । अहिलेका मानिसले विस्तारै विस्तारै मानिस हुनुको अर्थ गुमाउँदै छन्। व्यक्ति,परिवार र सामाजिक सम्बन्ध विर्सँदै गरेको गहिरो अभिव्यक्तिको संग्रह पनि भन्न सकिन्छ यो कविता संग्रहलाई ।
सीता ओझा
प्रतिक्रिया