त्यो दशैँपो दशैं अहिलेको दशैँ खोइ कस्तो दशै

बेद प्रसाद घिमिरे २०८१ असोज २२ गते २१:२५ मा प्रकाशित

बारीका कान्लामा तेर्सिएका मसिना-मसिना काँक्रा टिप्दै खाँदै… बढ्नै नदिने ! दशैँलाई भनेर जोगाएर पाकेको काँक्राको आमाले बनाउनुभएको त्यो खल्पी (अचार) कति मिठो !

दशैँबजारमा चुरा लगाउन जाने चलन सम्झनामा ताजै छ । पानी परोस् कि सुख्खा बढोस्, पर्वको मुखमा हाट जानैपर्ने । घरको बाहिरी श्रृङ्गार चुना कमेरो के लगाउने ? निर्णय गरेर ल्याइहाल्नुपर्ने । बाहिरी सरसफाइ सकेर भित्र कुनाकानीसमेत लिपपोत, झ्याढोकामा रङ्ग, बाटो सफासुग्घरदेखि पिङ हाल्ने हल्लाखल्ला गाउँकै वातावरण रमाइलो ! त्यो बेलाको सुकिलो घाम खेतमा लहलह धान, बारीका डिलमा कोपिला फक्रिन थालेको मखमली र सयपत्री फूल अनि दशैँलाई भनेर वस्तुभाउका लागि घाँस साँच्ने चलन जति सम्झ्यो उति याद बढ्छ ।

रमाइलो पर्व दशैँमा मिठो खान छुट्टै (बासमती धान) को चामल तुल्याउने चलन थियो । खेती नहुनेले ऋण लिएर भए पनि खाना नाना जुटाउँथे । यो रीति पुरानो भएको छैन । मिल नजन्मिएको त्यस जमानामा ढिकीमा कुटेका चिउरा आहा ! कति सम्झना छ, छ । आमाले धान भिजाउनु देख्दै, कहिले भोलि हुन्छ ? भन्ने लाग्थ्यो, मलाई । हाँडीमा धान भुट्दै ढिँकीमा घान हालेर कुट्दा केटाकेटी बुद्धि न हो चिउराको लट्टा अर्थात् लट्टे चिउरा कतिबेला खान पाइन्छ ? त्यो दाउमा हुन्थ्यौँ । नवदुर्गा लाई चढाइसकेपछि चिउरा नयाँ कमिजको खल्तीमा खल्तीभरि राखेर लिङ्गे पिङ रोगटेपिङ खेल्न जाँदाको महत्त्व अहिले कल्पना गर्न पनि सकिन्न। कहिलेकाहीँ पिङ खेल्ने क्रममा साथीभाइसँग पालो मिच्ने क्रममा तानातान हुँदा कयौं चोटी चिउरा पोखिएको ताजा अनुभव पनि याद आइरहन्छ पिङ खेल्ने ठाउँमै साथीहरु मिलेर लङ्गुर पुर्जा खेल्ने चलन पनि थियो। झन्डी त्रिबल बुर्जाबाद चिडी डबल भनेर खेल्ने गरिन्थ्यो त्यो खेलको मजा अहिले आएका विभिन्न खेलहरूमा कहाँ पाइन्छ र।

हाम्रो पालाको दशैँलाई राम्रो लाउने मिठो खाने पर्व पनि भनिन्थ्यो । काँधमा कल (लुगा सिलाउने मेसिन) बोकेर दर्जीदाइ घर-घर आउने/धाउने चलन खास लाग्थ्यो । अहिले जस्तो त्योबेला रोजिछाडि कपडा किन्न कहाँ पाउनु ?घरमा आवश्यक सर्जाम जुटाउन खसीबोका बेच्ने चलन थियो । अनि, दशैँकै लागि भनेर पालेको खसीलाई चाहिँ पोषिलो खाना-दाना खुवाएर बलियो बनाउनुपर्ने हुन्थ्यो । भनाइ नै छ, दशैँको खसी पोसेजस्तो । मेरो मनसाय आफैंले माया गरेर पालेको त्यो खसीको मासु कसरी खानू ? ‘नखाउँ दिनभरिको शिकार, खाउँ त कान्छाबाको अनुहार अलि खल्लो हुन्थियो ।खाना-नानाको व्यवस्थापछि भकारामा उभिएको केराको बोट गऱ्याम्म ढालेर काइँया नछुट्याइ बुवाले पकाउन हाल्नुहुन्थ्यो । के के का पातले छोपछाप त्यो घरीकेरालाई केही दिन बोरामा हालेर कुनामा राखी गुम्स्याएपछि खोलेर हेर्दा पँहेलपुर कोसा तुरुन्तै दही चिउरा केरा मुछेर खाइहाल्नु जस्तो । त्यो बास्ना अहिले पनि नाकमा छँदैछ र सम्झँदा मुख रसाउँछ । साँच्चै, घरको बुइँगलमा डोरी टाँगेर वारपार केराकाकाइयाँ झुण्ड्याएको त्यो दिन हिजो जस्तो लाग्छ । भनिन्छ, जिन्दगी सुखदुःखको मिलन हो । आवश्यकता, रहर र खुसी जीवनका फरक-फरक आयाम हुन् । समयको कारण रहर जन्मन्छ । त्यसको परिणाम आवश्यकता घर-घरमा दशैँ आउँदैछ । हाम्रो माटोमा जुन खुसी फैलिएको छ, यो लहर हाम्रा सन्तान दर सन्तानका लागि गतिलो खम्बा बनोस् । सांस्कृतिक पर्व दशैँको अर्थ मिलाप पनि हो । तडकभडकविहीन किसिमबाट दशैँ मनाऔँ।

यतिखेर गाउँमा मानिस छैनन् । शहरबजारमा खचाखच बढ्दो छ । दयामाया र प्रेमभाव गाउँमा कति थियो, मूल्य चुकाउँदा पनि शहर चिन्न गाह्रो छ । बिना पैसा केही पाइँदैन शहरमा, तैपनि भिड बढ्दो छ । अघि-अघि पैदल हिँड्ने बाटो गाडी गुड्न थालिसकेपछि त्यो गोरेटोको नामनिसान छैन, हरायो ।
तर हराएको छैन तिथिमिति । कुमालेको चक्र जसरी समय आफ्नो रफ्तारमा चलिरहेको छ, अघि बढिरहेको छ । जसरी हरेक वर्ष दशैँ आउँथ्यो, परम्परा त्यो आज पनि छ, तोडिएको छैन, तर यहाँ धेरै कुरा बदलिएका छन् । हिजो आफ्ना पोल्टामा पर्ने सुख अब सन्तानका लागि उनीहरूको उज्वल भविष्यको कामना गर्दै प्रदान गर्नुपर्ने भएको छ । मेरो मनको ठहर- अभिभावकका अगाडि आफू सानै छु जस्तो लाग्छ । यही रुप सन्तानसमक्ष बढो सम्पन्नशाली आकाश जत्रो मन र त्यस्तै मुटु भएको हुनुपर्ने रहेछ । हामीलाई यो शक्ति कसले प्रदान गर्छ ? नव दुर्गा भवानीले प्रदान गर्नुहोस् भन्ने कामना गर्दछु।

प्रतिक्रिया