कृषि उपज बढाउन किसानलाई निशुल्क बिजुली

इनेप्लिज २०८१ कार्तिक ४ गते २०:०४ मा प्रकाशित

रौतहट÷रौतहटको फतुवा विजयपुर नगरपालिकाले किसानलाई विद्युत मिटरको उपयोगमा लाग्ने शुल्क बेहोर्ने भएको छ । नगरका किसानको आम्दानी बढाउन तथा कृषि उपजमा वृद्धि ल्याउन नगरपालिकाले कृषि मिटरमा हुने विद्युत खपतको सम्पूर्ण महसुल बेहोर्ने भएको हो । नगरपालिकाको आठौँ नगरसभाले किसानलाई सुविधा दिने निर्णय गरेको हो ।

यसै गरीनगरपालिकाले सर्पको टोकाइमा लगाइने एन्टि भेनम निशुल्क उपलब्ध गराउने भएको छ । नगरभित्रका नागरिकलाई सर्पले टोकेको खण्डमा एन्टि भेनम निशुल्क उपलब्ध गराउने प्रस्ताव पेश पारित भएको छ ।

कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले चालु आर्थिक वर्षका लागि ६० करोड ७७ लाख ७९८ रुपैयाको आयव्यय प्रस्तुत गरेकी छन् । शिक्षा, स्वास्थ्य र कृषिका साथै भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको बजेटमध्ये पूजीगततर्फ २६ करोड ४६ लाख ४६ हजार तथा चालुतर्फ ३४ करोड ३० लाख ५४ हजार रुपैया विनियोजन भएको नगरपालिकाका लेखा शाखा प्रमुख कामेश्वर सहनीले जानकारी गराएका छन् ।

आन्तरिक विवादका कारणले असारमा हुनुपर्ने नगरसभा कात्तिकमा भएको हो । नगरसभाको उद्घाटन गर्दै मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार (जितेन्द्र) यादवले नगरपालिकाले साथ दिएमा खानेपानीको लागि व्यवस्था प्रदेश सरकारले सबै किसिमले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री यादवले जनप्रतिनिधि र तिन तहको सरकार मिलेर नगरको विकास गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री यादवले फतुवा विजयपुर नगरपालिका, मधेश प्रदेश तथा संघमा गरी तिन तहमा नेपाली काँग्रेसको सरकार रहेकाले सबै तहको सरकार मिलेर विकासका साथै सेवा र सुविधाको गुणस्तमा पनि वृद्धि गर्न सकिने बताएका छन् ।

नगरका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साहले ढिलो भए पनि सबैको सहयोगले नगरसभा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन् ।

नगरसभाका वक्ताहरुले आन्तरिक विवादका कारण गत वर्षको बजेट कार्यान्वयनमा आउन नसकेको बताउँदै चालू आर्थिक वर्षको बजेट अन्य सालको तुलनामा केही छिटो नै प्रस्तुत भएको बताए पनि कार्यान्वयनमा भने सबै जना चनाखो हुनुपर्ने मन्तव्य व्यक्त गरेका छन् ।

गत वर्षको बजेट कार्यान्वयनमा आउन नसक्दा फतुवा विजयपुर नगरपालिकाको विकास, निर्माण ठप्प हुनुका साथै अन्य क्षेत्र पनि प्रभावित बनेको स्थानीय बुद्धिजीवी विद्यानन्द यादवले जानकारी गराएका छन् ।

प्रतिक्रिया