रौतहट÷रौतहटको प्रसिद्ध धार्मिकस्थल शिवनगरमा योग शिविर संचालन गरिएको छ
। गरुडा नगरपालिका वडा नम्बर ५ को कार्यालयको व्यवस्थापनमा शिवनगरस्थित कानु समाज कल्याण धर्मशालामा आइतवारदेखि ऊर्जाध्यान योग शिविर संचालन गरिएको हो ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले आइतवार बिहान योग शिविरको उद्घाटन गरेका हुन् । हरेक दिन आफैँ योग र ध्यान गर्ने गरेका नगर प्रमुख कलवारले योग र ध्यानलाई शारीरिक तथा मानसिक विकासका लागि आवश्यक रहेको बताएका छन् । नगर प्रमुख कलवारले यसका लागि नगरपालिकाले विभिन्न किसिमको कार्यक्रम संचालन गर्दै आइरहेकोले थप व्यवस्थित बनाइने बताएका छन् ।
हरेक दिन बिहान ५ बजेदेखि साढे ६ बजेसम्म डेढ घन्टा संचालन हुने योग शिविरको व्यवस्थापन गरेका वडाध्यक्ष राम विनोद साहले सर्वसाधारणको चाहना र स्वास्थ्यको सुविधालाई ध्यानमा राखेर योग शिविरको व्यवस्थापन गरिएको बताएका छन् । योग शिविरले वडाको शिवनगर गाउँ, चोक र बजारका वासिन्दाका साथै ठेठरहिया, गेडही, जयनगर र पोठियाहीका पनि केही इच्छुकलाई सहयोग पुग्ने विश्वास आफूले लिएको वडाध्यक्ष साहले बताएका छन् ।
योग शिविरमा पहिलो तिन तिस जनाको सहभागिता रहेको बताइएको छ ।
‘सर्वाङ्गीण विकासका लागि योग, गरौँ योग रहौँ निरोग’ मुख्य नारासहित सुरु भएको योगलाई सुख, शान्ति र समृतिको ‘जीवन विज्ञान’ पनि भनिएको छ । कार्यक्रम जीवन विज्ञान ध्यान योग प्रयोगशाला चन्दपुर ५ को प्राविधिक सहयोगमा रमेश नेपाल र एलपिभानु शर्माले संचालन गर्ने वडाध्यक्ष साहले जानकारी गराएका छन् । वडा कार्यालयको व्यवस्थापनमा महम्मदपुरस्थित यादव सेवा समितिको सभाहलमा केही महिनादेखि योग शिविर संचालन भइरहेको छ । सर्वसाधारणको पहुँचको आधारमा एउटा वडामा अर्को पनि योग शिविर संचालन गर्नु परेको वडाध्यक्ष साहको भनाइ छ ।
गरुडा नगरपालिकाको विभिन्न ठाउँमा योग शिविर निरन्तर संचालन भइरहँदा सर्वसाधारणमा योग र ध्यानप्रति जनचेतनाको विस्तार भएको मानिएको छ ।
प्रतिक्रिया