पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई अहिल्यै गलहत्याउने पक्षमा

बेद प्रसाद घिमिरे २०८१ कार्तिक १० गते १२:३६ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई अहिल्यै गलहत्याउने पक्षमा आफूहरू नरहेको बताएका छन्। प्रचण्डले सरकारलाई तत्काल हटाउन आफूहरूले खबरदारी सभा नगरेको पनि दावी गरे। शनिवार काठमाडौंमा पार्टीद्वारा आयोजित खबरदारी सभामा बोल्दै उनले सडकबाट सरकार फेर्ने भन्ने काँग्रेस-एमाले नेतृत्वको सरकारलाई परेको भए त्यो भ्रममात्रै हुने पनि बताए। ढुक्कसँग सरकार चलाए हुने प्रचण्डको भनाइ थियो। उनले काँग्रेस–एमालेलाई बेइमान, भ्रष्ट, बिचौलियाहरूको पार्टी भएको आरोप लगाउँदै अब प्रधानमन्त्री, मन्त्री बनाउनका लागि फकाउन आउने पक्षमा नरहेको पनि बताए।

सरकारलाई बेथिति बढाउन नदिन, भ्रष्टाचारीलाई संरक्षण गर्न नदिन, संविधानको रक्षा गर्दै समृद्धिको पक्षमा काम गराउन आफूहरूले सरकारलाई खबरदारी गरेको जिकिर गर्दै अध्यक्ष प्रचण्डले त्यसमा तलमाथि भए सह्य नहुने बताए। प्रचण्डले भने, ‘सरकार हटाउन यो खबरदारी सभा गरिएको होइन। हामीले यो खबरदारी सभा घोषणा गर्नेबित्तिकै सत्ता पक्षमा जुन आतंक देखा पर्‍यो। सरकार आजै ढल्छ, भोलि ढल्छ हामीले भनेका छैनौं। उहाँहरूले भन्नुभएको छ। खबरदार तपाईंहरू सरकार ढल्छ भन्ने डरले अझ बढी बेथितितिर नजानु होला। अझ बढी भ्रष्टाचारीहरूको संरक्षणतिर नजानु होला। तपाईंहरू यो देशका दलाल, पुँजीपति र बिचौलिया, भ्रष्टहरूको प्रतिनिधिको रूपमा रहनुभएको छ।’ अध्यक्ष दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने घोषणा पनि गरे। काँग्रेस र एमाले जस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने उनको भनाइ थियो। अध्यक्ष दाहालले आफ्नो पार्टीले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर काँग्रेस र एमालेलाई जनस्तरबाट सजाय दिन चाहेको पनि बताए।

प्रतिक्रिया