नियात्रा दिल्ली एअरपोर्टमा रातभर जाग्राम

सञ्जय साह मित्र २०८१ कार्तिक १० गते १३:०१ मा प्रकाशित

३० जुलाई २०२४ को साँझ २०ः३५ पटनाबाट दिल्ली उडान थियो । पटनाको जय प्रकाश नारायण एअरपोर्ट मेरो लागि नयाँ होइन । कैयौँपटक यहाँसम्म आएको छु । एकचोटि भित्र पसेर उडेको छु अनि उडेर आई यहाँ ओर्लेको पनि छु । एअरपोर्टसम्म कैयौँपटक आएको छु छोड्न र रिसिभ गर्न । छोरी तमिलनाडुको कोयम्बटुर पढ्न थालेपछि आवतजावतको माध्यम हवाइजहाज हुन गएको हो । रेलयात्रामा एक्लो छोरी मान्छेलाई त्यत्ति सजिलो नहोला भन्ने विचार गरी हवाईयात्रा नै रोजिएको हो ।

अहिले भने छोरी छैन । छोरी त्यहीँ तमिलनाडुमै छे । आमालाई एकचोटि दक्षिण भारतका केही महत्वपूर्ण ठाउँहरु डुलाउनु पर्छ भन्ने छोरीको चाहनामा म पनि सहमत भई केवल डुल्न जानको लागि निस्केका छौँ म, श्रीमती रेणु गुप्ता र सालो बन्टी गुप्ता । पहिले सपत्नी साहित्यकार किशनदयाल श्रीकृष्ण तयार थिए तर टिकट लिने बेलामा भने कुनै कारणवश श्रीकृष्ण असमर्थ भएपछि हामी तीन जनाको संयोग जुरेको हो ।

भारत बिहारको राजधानी पटनास्थित पाटलीपुत्र रेलवे स्टेशनमा आर्लिँदा साढे १२ बजेको थियो दिउँसोको । त्यहीँ नजिकको एउटा साकाहारी होटलमा खाना खाएपछि समय बिताउन गान्धी मैदानतिर लाग्छौँ । समय बिताउन निकै सजिलो छ पटनाको मुटुमा रहेको गान्धी मैदान । कम्तीमा साढे पाँच बजे एअरपोर्ट पुग्नु राम्रो हो भन्ने लाग्छ । पटनाका हेर्नुपर्ने जति सबै प्रमुख पर्यटकीय र धार्मिक स्थानहरु हेरिसकेका छौँ । अनि फुर्सदले समय बिताउन गान्धी मैदानमा पस्दछौँ । समय बिताउन चाहने सयौँ मानिसहरु भित्र बसिरहेका छन्, सुतिरहेका छन्, पल्टिरहेका छन् । शीतल छहारीमा बनाइएका सिमेन्टका आराम बे्न्चहरु र अन्य बस्ने ठाउँहरु भने भरिभराउ छन् । घरि गमछा बिछ्याएर पल्टिनु, निदाउनु, घुम्नु, मोबाइल चलाउनु र जिस्कनुको आनन्द नै बेग्लै हुन्छ । कोही कोही केही केही बेच्न आइरहँदा किनेर खाँदा पनि समय बित्छ । कैयौँ घन्टा केवल समय बिताउनका लागि यसरी बस्न पाउन पनि एउटा विशिष्ट दिन नै चाहिन्छ । अरु बेला जति सुकै छुटी भनिए पनि कहाँ छुटी पाइन्छ र यसरी ?

रातिको खानाको कुनै ठेगान नहुने भएकोले साढे चार बजेतिर गान्धी मैदानकै छेउमा रहेको एउटा साकाहारी होटलमा खाना खान्छौ । हामीलाई परिसकेको बानी अनुसारको खाना त हुँदैन । पिरोबाट जिब्रोलाई जोगाउँदै खाना खानुपर्छ । मुख्यतः चित्त बुझेको आफैँलाई देखाउनु छ । पसले सम्भव भएसम्मको सहानुभूति बेच्ने प्रयासमा छन् । सौहार्दताको सेवा किन्छौँ र सन्तुष्ट भएको भ्रम एकअर्कालाई बाँड्दछौँ । अब राति भोकोछैनौ भन्ने भ्रम आफैँलाई पनि रहने पक्का हुन्छ । पत्नीजीलाई थाहा छ, मलाई राति अलिकति भए पनि खानाको नाममा केही चाहिन्छ । एउटा अटोमा बस्दछौँ । पाटलीपुत्र रेलवे स्टेशनबाट एअरपोर्ट पुग्न जति भाडा छ त्यसभन्दा पचास रुपैया बढी नै भाडा रहेको छ गान्धी मैदानबाट एअरपोर्ट पुग्न ।

हामीसित सामान अलिक बढी छ । यद्यपि हवाईजहाजले एउटा यात्रीलाई दिने सुविधाभन्दा कम नै छ । एअरपोर्ट भन्दा केही मिटर पहिले नै रहेको पार्किङसम्म पुगेर ओर्लिन्छौँ किनभने चार चक्के गाडीबाहेकलाई एअरपोर्टसम्म जान पाउने सुविधा नरहेको अटोचालकको भनाइ छ । अरु अटोलाई पनि यसरी नै रोकिएको तथा यात्रुहरू ओर्लिरहेको, चढिरहेको देख्छौँ ।

साँझको साढे पाँच बज्नै लागेको भए पनि गर्मी धेरै छ । गर्मीले भित्रभित्रै पसिना चलेर निथ्रुक्क भइसकेका छौँ । एक छिन अलमल गरेर भित्र पस्छौँ आवश्यक प्रक्रियाहरू पूरा गर्दै । अनलाइन टिकट बुक गरिदिएकी चाहिँ छोरी रियाले नै हो । पहिले टिकट प्रिन्ट गराउँछौँ विस्तरा एअरको काउन्टरमा । नौ थान टिकट थमाइदिन्छन् कर्मचारीले । हामी तीन जना छौँ र एक जनाको तीन टिकट । पटनाबाट दिल्ली, दिल्लीबाट मुम्बई र मुम्बईबाट कोयम्बटुर । विस्तरा एअरबाट मेरो पहिलो यात्रा हो ।

मुख्य सुरक्षा जाँचमा मेरो टिकटमा मेरो नाममा गल्ती रहेको फेला पार्छन् सुरक्षा अधिकारीले । पत्नी र सालोको सबै ठिक तर मेरो नामको अंग्रेजी हिज्जेमा मेरो पासपोर्टमा रहेको हिज्जेसित मेल खाँदैन । एउटा अल्फाबेट कम छ टिकटमा । मेरो नामको एक शब्दमा हिज्जे नमिलेपछि मेरो टिकट जाँच गरिरहेका सुरक्षा अधिकारीले सँगै रहेर अरुको टिकट चेक गरिरहेका सुरक्षा अधिकारीसित सल्लाह गर्छन् । अलिकति गल्ती रहेको तर बाँकी सबै कुरा मेल खाएको बताउँछन्, सल्लाह गर्छन् । करिब डेढ दुई मिनेटमा निर्णय दिन्छन् हिन्दीमा – जानुस्, यहाँबाट त हामी जान दिन्छौँ तर अन्य एअरपोर्टमा भने समस्या हुन सक्छ । समस्या हुन सक्छ होइन, हुन्छ नै ।

हवाईजहाजको टिकट आफूले बुक गर्दा वा अरु कसैलाई गर्न लगाउँदा आफूले बोक्ने आफ्नो नागरिकताको प्रमाणपत्र वा पासपोर्ट (राहदानी) अनुसार पूर्णतः शुद्ध नाम नै टिकटमा उल्लेख गर्नु जाती । सम्भव भएसम्म आफैँले गरेको झन् राम्रो तर टिकटमा नामको कुनै पनि हिज्जे गल्ती नहोओस् भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने रहेछ । आजभोलि अनलाइन बुक गर्ने जमाना आइसकेकोले त्यसमा जे लेखिएको हुन्छ, त्यहीँ मान्य हुने रहेछ । आफूले नै टिकट बुक गरेको भए यस्तो नहुने थियो भन्ने मनमा लागिरहेको छ ।

मनमा व्यापक डर उत्पन्न हुन्छ । अब के हुन्छ – म जान पाउँछु कि पाउँदिनँ । डिउटीमा रहेका सुरक्षा अधिकारीले जान दिएपछि एअरपोर्टमा पूरा गर्नुपर्ने अन्य औपचारिकताहरू मनभित्र डरको ठुलो पोका बोकेर गर्न थाल्दछु । अब पत्नी र सालोलाई अगाडि बढाएर आफू पछाडि बसी काम गर्नुपरेको छ । दुवै जना अन्जान छन् तर मेरो सल्लाहलाई हप्काइबाट चुप लगाउने काम गर्दछन् । लाइनमा बसेर पूरा गर्नुपर्ने काम लाइन सकिएपछि फेरि पहिलेकै ठाउँमा पुग्नुपर्ने हुन्छ । झोला बुझाउने ठाउँमा झोला बुझाउने, आफूले बोक्नुपर्ने झोलाको चेकिङ गर्ने आदि सबै काम भएपछि बोर्डिङको प्रतीक्षामा प्रतीक्षालयमा बस्दछौँ । अनुहारमा पूरा अँध्यारो छ । भित्र एअरपोर्ट प्रतीक्षालय भने आहा, झलमल्ल छ । मेरो मनको आँखाले त्यत्ति रमाइलो देखिरहेको छैन । मन पीडामा हुँदा रमाइलोको सुखद अनुभूति नहुने रहेछ ।

मन अमिलो छ तर छोरीसित भेट्न पाउने उत्साह पनि छ । एक वर्षभन्दा बढी भइसक्यो छोरीलाई नभेटेको । अनि, छोरीको यो इच्छा पनि पूरा भइरहेको छ कि आमालाई दक्षिण भारत डुलाइदिऊँ । म सम्पर्क गर्छु र टिकटमा देखिएको समस्या सुनाउँछु । छोरीले पहिलोचोटि अनलाइनबाट आफैँले टिकट बुक गर्दा टाइप गर्ने बेलामा हतारमा अलिकति हिज्जे गल्ती भएको रहेछ । मेरोभन्दा धेरै उदास र हतास छोरी भएकी छे, सुँक्कसुक्कबाट थाहा पाउँछु । अनि सान्त्वना दिन्छु – केही गरी म दिल्लीबाट मुम्बई जान पाइनँ भने मामा र ममीलाई पठाउँछु र अर्को टिकट लिएर म दिल्लीबाट सोझै कोयम्बटुर आउँछु । एकअर्कालाई आश्वस्त पार्ने काम मात्र हो । न म पूर्ण विश्वस्त छु र न त छोरी नै । छोरीले विभिन्न माध्यमसित सम्पर्क गरेर, गुगल सर्च गरेर र ग्राहक सेवामा सम्पर्क गरेर केही समयपछि निष्कर्ष सुनाउँछे – तीन अक्षर वा शब्दमा गल्ती भेटिएछ भने पनि यात्रा गर्न दिने रहेछ, आतिनु पर्दैन । गल्तीको सीमाभित्र नै मेरो गल्ती रहेको छ ।

निर्धारित समयभन्दा अलिकति ढिलो बोर्डिङ हुन्छ । हाम्रो बोर्डिङको समयमा झन्डै सम्पूर्ण प्रतीक्षालय नै खाली हुन पुग्छ । रेणु अचम्भित हुन्छिन् । यति धेरै मानिस एकैचोटि ! बोर्डिङ लाइनमा बसेर अगाडि बढिरहेका छौँ । एक सुरक्षाकर्मी उभिएका छन् गेटमा । एअरका कर्मचारीहरुले धमाधम आफ्नो काम गरिरहेका छन् । टिकट देखाउँदै गेटबाट एअरपोर्टमा छिर्छु । बसमा चढेर हवाईजहाजनेर पुग्छौँ, सबै जना । अहिले पूरा विश्वास भयो कि अब दिल्लीसम्म पुग्छु । लाइनमा बसेका छौँ । हामीलाई पछाडिको ढोकाबाट हवाईजहाजमा चढ्नु पर्ने हो । म यहीँ कुरो भन्छु । रेणु मान्दिन । म पुनः भन्छु, हाम्रो टिकट पछाडिको हो, मान्दिन । जब टिकटको फाइनल चेक गर्ने कर्मचारीको नजिक पुग्छौँ तब उनी एकोनोमी टिकट भएको भन्दै पछाडि देखाउँछन् । अनि उतै जान्छौँ । पछाडिको ढोकाबाट हवाईजहाजमा प्रवेश गर्दछौँ ।

मेरो सिट २१ सी हो । म जहिले पनि झ्यालछेउ बस्न रुचाउँछु । रेणु र बन्टी अचम्भित हुन्छ भित्रको विशालता देखेर । हामी एउटै लहरमा छौँ सबै जना । टिकटमा डिपार्चर लेखिएको छ २०३५ । हातको घडी सेक्युरिटी चेकजाँचको समयमा थुतेर ब्यागमा हालिसकेको छ । समय हेर्नलाई मोबाइल निकाल्नु परिरहेको छ । मोबाइलको समयअनुसार ८ः५२ अर्थात् २०५२ मा हवाईजहाज गुड्न सुरु गर्छ र ८ः५७ (२०५२) मा टेक अफ गर्छ । जब टेक अफ हुन्छ हवाईजहाज तब केही दिन पहिले काठमाडौँमा भएको भयंकर ठुलो हवाई दुर्घटनाले मस्तिष्कमा एक धक्का दिन्छ । भगवानको नाम लिन्छु । विस्तारै आकाशगामी हुँदैछ विस्तारा एअर ।

इकोनोमी टिकट हुनेलाई पहिलो, दोस्रो उडान तथा अवतरणको समयमा केही समस्या हुने जस्तो हुन्छ तल्लो पेटमा तर यो लामो उडान भएकोले खासै त्यस्तो बुझिँदैन । म राम्ररी सतर्क छु – कतै डराउँछिन् रेणु । किनभने लामो दुरीको हवाईयात्रामा डर लाग्ने बताउँदै आएकी थिइन् । उसो त काठमाडौँ–सिमरा उडान दशकौँदेखि गर्दै आएकी छन् । गत असारमा पनि एउटा फ्लाइट भएको थियो ।

अति सामान्य प्रभाव मात्र देख्छु । तल तल धरतीका झिलीमिली उज्यालाहरू नचिनिने गरी मधुरो हुँदै विस्तारै हराउन थालेका छन् । करिब बिस मिनेटपछि खानाको लागि तयारी हुन थाल्छ । पहिले त असमञ्जसमा हुन्छु कि हामीलाई खाना दिइन्छ कि दिइँदैन । एअर रुट कन्फर्म गर्नुभन्दा पहिले मैले पनि विभिन्न रुट हेरेको थिएँ । विस्तरामा अंग्रेजीमा लेखिएको थियो – फ्रि मिल ।

एक एअरहोस्टेजले प्रशिक्षित नम्र अंगे्रजीमा भाषामा सोध्छिन् – भेज कि ननभेज ? सबैले भेज नै रोज्छौँ । अन्यथा अर्थ नलागोस् – सारै मिठो खाना । सामान्य भोको मानिसलाई पनि पुग्ने । खानाले उत्कर्षको सन्तुष्टि दिएको छ । र, आकाशमा पहिलो भोजन पनि छ यो । यसअघि एकपटक चेन्नईबाट पटना आउँदा असाध्यै भोक लागेर प्लेनमै खाना माग्दा अढाई सयमा एक गिलास चाउचाउ दिइएको थियो । खानाको गुणवताको विषयमा हामीलाई जानकारी भएन तर ताजा र तातो साकाहारी खानाले बिहान र दिउँसो दुईपटक पटनामा खाएको खानालाई निकै उछिनेको छ । एकै छिनमा चिया कि कफी ? भन्ने प्रश्न आइपुग्छ । म प्रायः कफी खान्न, चियाको पक्षमा दुई तिहाई बहुमत पुग्छ हाम्रो । चियाको तृप्ति अविस्मरणीय छ । मिठो भोजन, अत्यन्तै मिठो चिया, यात्रा आनन्दमयी छ । पत्नीसितको यो अहिलेसम्मको सबैभन्दा लामो यात्रा हो, निकै उत्साहित छु ।

बात मार्दै, खाना खाँदै, चिया पिउँदै यात्रा गर्ने हो भने समय बितेको पत्तो हुँदैन भने दुरी पनि निकै छोटिने अनुभूति हुन्छ । एकै छिनमा नयाँ दिल्ली पुग्ने सूचना आउँछ । १० बजेर ९ मिनेटमा हवाइजहाजले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको भुइँ छुन्छ । सम्पूर्ण आकाशीय डर समाप्त भएको छ । बिहार प्रान्तको राजधानीबाट भारतको राजधानी आइपुगेका छौँ । धरतीलाई छोए पनि हवाईजहाजले धेरै गुड्नु परेको छ । टिकटमा एराइभल समय २२२५ लेखिएको भए पनि १०ः५७ मा मात्र गुडिएको रोकिन्छ । ओर्लिनको लागि अझै केही समय लाग्छ । करिब साढे छ सय किलोमिटरको बाटो आकाशमा बितेको पत्तो नहुने गरी यात्रा टुङ्गििएको छ अहिलेलाई । नयाँ दिल्लीको भुइँमा पहिलोपटक पाइला टेक्दा रातिको एघार नाघिसकेको छ ।

अब फेरि उही प्रक्रिया पूरा गर्नुपर्छ । एअरपोर्टको भित्रभित्रै एराइभल भएर सुरक्षा चेकजाँच गराउँछौँ । अहिले सामानहरू खासै छैनन् । सबै ठुला झोलाहरू एकैपटक कोयम्बटुरमा लिने गरी पटनामा नै छाडेका छौँ । चेकजाँचमा लाइनमा बसेर अभ्यस्त तरिकाले सबै प्रक्रिया पूरा गर्छौँ । दिल्ली एअरपोर्टको सुरक्षा अत्यन्त कडा रहेको छ । सबै प्रक्रिया पूरा गरेपछि लिफ्ट सिंढीको सहाराले दोस्रो हो कि तेस्रो तल्लामा उक्लन्छौँ । हामी मधेशतिर भन्ने तेस्रो तल्लाको जति हुनुपर्छ । माथि चढ्दछौँ, विशालता देखेर अचम्भित, विस्मित छौँ । कति फराकिलो ? कति सफा ? कति मान्छेहरू ?

भोलि बिहान ५ः५० बजे मुम्बईको लागि फ्लाइट छ । ठाउँ ठाउँमा टाँगिएका डिजिटल बोर्डले हाम्रो टिकटमा उल्लेख गरिएको फ्लाइट नम्बरको हवाईजहाजलाई सुरक्षा जाँच बताइरहेको छ । कति धेरै फ्लाइट हुने रहेछ दिल्लीबाट, बाफ रे ! देश विदेश जाने हजारौँ यात्रीहरू यताउता गरिरहेका छन् । बस्ने ठाउँ पर्याप्त छ । ठाउँठाउँमा आराम गर्ने गरी लहरै जोडिएका कुर्सीहरू राखिएका छन् । ठाउँ ठाउँमा ठुल्ठुला टेलिभिजनहरू पनि छन् । टेलिभिजनहरूले एउटै च्यानल देखाइरहेका छन्, समाचार । मलाई समाचारमा रुचि छ । जब समय बिताउनै छ भने एउटा टेलिभिजनलाई नजिक पारेर धेरै जना मानिस कुर्सीमा बसेका, कतिपय भुइँमै पल्टिरहेका, कोही सुतिरहेका, कोही मोबाइल चलाइरहेका, चार्जमा लगाएका देखिन्छन्, सोही ठाउँमा हामी पनि बस्दछौँ । थोरै समयपछि बन्टीलाई घुम्न मन लाग्छ । ऊ डुल्न निस्कन्छ तर आधा घन्टाभन्दा बढी समय बितिसकेपछि नफर्किँदा भने हामी अलिक आतिन्छौँ । कहाँ गयो ? कतै यत्रो ठुलो ठाउँमा डुल्दाडुल्दै यताउति प¥यो कि ? थोरै यताउति खोज्छौँ पनि तर डर के हुन्छ भने यदि खोज्दै कतै जान्छौँ र ऊ यहाँ आइहाल्यो भने ?

मन्त्रस्नानका विधिहरू पूरा गर्नुपरेको छ । साउन महिना भएकोले स्नान नगरी केही खाने कसरी ? अनि यहाँ स्नान गर्ने वातावरण बिल्कुलै छैन । कपाल पुछ्दै निस्कन्छु । अब मेरो आँखामा निद्राको लेस पनि छैन । पूर्ण तरोताजा भएको छु । अनि तयार भएको छु मुम्बई उडानको लागि ।


धेरै फ्रेस भएर आउँछ बन्टी । बसेको ठाउँभन्दा सोझै अगाडि सौचालय रहेछ । पानी खाने ठाउँ पनि त्यहीँ । मलाई देखाएको ठाउँतिर जान्छु । अरुलाई पानी खाएको तथा बोतलमा थापेको देखेर पानी खान सिक्छु । धारा छुन नपर्ने, हात वा बोतल नजिक लैजाँदा आफैँ पानी चुहिन थाल्ने । यस्तो कहिल्यै देखेको थिइनँ । एकै सासमा एक मिनेटसम्म पानी खाइरहन्छु । अनि, विचार हुन्छ कि भित्र पसेर सौचालय पनि हेरिहालूँ । प्रयोग गर्न जानुँला कि नजानुँला ? सिक्नुपर्छ पनि । यस्तै विचार गर्दै म पुरुष सौचालयमा जान्छु । अति भव्य, आहा, कति सफा ? केही कर्मचारीहरू निरन्तर सहयोग र सफाइमा छन् । वास्तवमा सेवाको गुणस्तर अत्यन्त उच्च रहेको छ ।

अत्यन्त सन्तुष्ट र प्रफुल्ल भई म पहिले बसेको ठाउँमा आउँछु । रेणुलाई पनि सौचालय उपयोग गर्नेबारे सल्लाह गर्छु । रेणुले पनि पानी खाने र घुम्ने इच्छा देखाउँछिन् । वास्तवमा डुल्न आएका छौँ भने डुल्नुपर्छ । बोतल लिएर जान्छौँ । त्यहाँ पुगेर फेरि अलिकति पानी खान्छु, पालो मिलाएर । रेणु पनि खुसी हुन्छिन् । अब अलिकति डुल्न चाहन्छौँ ।

एउटा छावासहित विशाल हात्तीको जीवन्त मूर्ति देखेर अचम्भित हुनु स्वाभाविकै हो । केही फोटाहरू लिन्छौँ । अलिकति अगाडि बढ्छौँ । एउटा निकै अग्लो नरिवलको रुखजस्तो देखिन्छ । सामान्यतया जमिनमा देखिने रुखजत्रै छ यो विशाल रुख । यसको अर्थ यो हो कि हामी उभिएको छत निकै अग्लो छ । रुख नै हो कि जस्तो पनि लाग्छ । तर अन्यत्र पनि रुख तथा वनस्पतिहरू देख्दछौँ । नक्कली त पक्कै नहोलान् किनभने विज्ञानले यत्रो उन्नति गरिसकेको छ । यहाँ मानिसलाई अक्सिजन पनि चाहिन्छ । मानिसलाई ज्ञान पनि दिनुपर्छ । यस्तो ठाउँमा पनि रुख उमार्न सकिन्छ भन्ने देखाउनु पनि हो । जहाँ मानिस त्यहाँ रुख चाहिन्छ । अनेक किसिमले विचार गर्दछौँ । स्वतर्क र निष्कर्ष हो – वास्तविक हो ।

फर्केर आउँछौँ पहिले बसेको ठाउँमा, बन्टी निदाइसकेको छ । आरामले सुतिरहेका छन् दर्जनौँ मानिस । बिहारका मजदुरहरूको एउटा ठुलो समूह पनि रहेको छ त्यहीँ । कुन देश जान लागेका हुन् कुन्नि ? त्यहीँ तीन थान कुर्सी बराबरको ठाउँ ओगटेर रेणु ढल्किन्छिन् कुर्सीमै । अब मेरो दायित्व झन् बढेको छ । आफ्नो सामानको सुरक्षा गर्नुछ र टेलिभिजनमा समाचार हेर्नुछ । हमास समस्याबारे करिब आधा घन्टाको एउटा रिपोर्ट हेर्छु । अनि विज्ञापन तथा अन्य समाचारहरू आइरहेका छन् । भारतमा बाढीको वितण्डा पनि छ ।

उनीहरू मज्जै सुत्दछन्, डेढ दुई घन्टा । अनि मलाई भन्छिन् पल्टिनलाई रेणुले । म भन्छु – यदि म निदाएँ भने तिमी पनि निदाउँछौ । म पल्टिन्छु, निदाउँदिनँ तर रेणु भने निदाउँछिन् फेरि ।

चार बज्न थालेपछि अब तयारी हुनुपर्ने हो । सबैलाई थाहा छ, नित्यकर्म त गर्नैपर्छ । निदाउन नसके पनि जब मनमा रात कटेको र नयाँ दिनको कामको लागि हामी आफूलाई तयारी गर्दछौँ, तब प्रारम्भिक कर्महरू गर्नैपर्छ । रेणु र बन्टी तयार हुन्छन् । अनि लाइनमा लाग्छौँ । हामी दिल्लीतिर उड्ने गेटतिर लाग्छौँ खोज्दै । डिजिटल बोर्डमा सबै देखाएकै छन् । आवश्यक प्रक्रिया पूरा गरेर निर्धारित गेटतिर लम्कन्छौँ । अलिक हतार भएजस्तो हुन्छ । तर यो मनोवैज्ञानिक मात्र छ । निर्धारित ठाउँतिर पुग्छौँ । एकजना निकै फुर्तिली तर आधुनिक पोसाकमा भद्र महिला हुनुहुन्छ । हेर्दा नेपाली नागरिक जस्तो । अलिकति शंका लागेर कन्फर्म हुनलाई सोध्छु – आप मुम्बईके लिए हो ? सज्जन महिलाबाट सहज र उत्सुक जबाफ आउँछ – हजुर ।

मोबाइल चार्जमा लगाउँछौँ । अनि कति टाढासम्म भनेर हेर्न जान मन छ । बन्टीलाई भन्छु – जाऔँ मर्निङ वाकमा । तयार हुन्छ, सिट छाडेर निस्कन्छौँ तर पाँच सात मिनेटजति हिँडेपछि ऊ भन्छ – यस्तै त हो नि, फर्कौँ । त्यो भवन जहाँ अनेक गेट छन्, अन्तिमसम्म जान पनि यसकारण डर लाग्छ कि कतै हराइ नहालूँ । फर्किन्छौँ ।

अझै समय बाँकी छ । तौलिया, ब्रस र टुथपेस्ट निकाल्छु । वासरुमतिर लाग्छु, त्यहीँ नजिकैको । हरेक चार पाँचओटा गेटलाई नजिक पर्ने गरी बनाइएका सौचालयहरू छन् । हातमुख धुन अलिक अलमल गरेको देखेर कर्मचारी आएर सहयोग गरिदिन्छन् । बोलचाल बिल्कुल हुँदैन । अलिकति पानी छम्कन्छु जिउमा । मन्त्रस्नानका विधिहरू पूरा गर्नुपरेको छ । साउन महिना भएकोले स्नान नगरी केही खाने कसरी ? अनि यहाँ स्नान गर्ने वातावरण बिल्कुलै छैन । कपाल पुछ्दै निस्कन्छु । अब मेरो आँखामा निद्राको लेस पनि छैन । पूर्ण तरोताजा भएको छु । अनि तयार भएको छु मुम्बई उडानको लागि ।

दिल्ली एअरपोर्टमा जे जति देखियो, सबै अवर्णनीय छ । मेरो लागि न भूतो छ । एउटा विस्मयकारी विशाल आधुनिक दुनियाँजस्तो लाग्छ । यस एअरपोर्टबाट दैनिक एक हजार पाँच सयको हाराहारीमा उडान वा उडान–अवतरण हुने गरेको छ । यस्तो लाग्छ यहाँ कि हवाईजहाजको बजार छ, मेला छ ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया