अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा पूजा गर्नको लागि यस बर्ष पनि गाई नै ल्याई गाईको पूजा गरि तिहार मनाइएको भएको छ । गत बर्ष समुदायले धुमधामसँग अमेरिकामा पनि नेपाल जस्तै गरि गाई पूजा गरेका थिए ।
गत बर्ष अमेरिकामा सम्भवत गाई नै ल्याई पहिलो पटक गाईलाई भौतिक रुपमा पूजा अर्चना गर्दै गाई तिहार मनाईएको थियो । गत बर्ष त्यहाँ आएका धेरै नेपाली समुदायले नेपाल छोडेको कैयौ बर्ष पछि गाई पूजा गर्दै गाई तिहार मनाउन पाउँदा खुसी हुँदै आयोजकलाई धन्यबाद दिएका थिए ।
प्रत्यक्ष गाई पूजा गर्दा दोश्रो पुस्ता बालबालिका आश्चर्यमा भएका थिए । बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरको प्राङ्गणमा गङ्गा र जमुना नामका दुई वटा बाछी ल्याइएको र गाई पूजा गराउने जिम्मा हिन्दु बुद्ध मन्दिर तथा सन् २०१२ मा स्थापित पर्वत समाज अमेरिकाले गरेका थिए । यस बर्ष पनि पर्वत समाजले नै गाई ल्याउने भएको छ ।
यस वर्ष २०२४ मा गाई पूजा नोभेम्बर २ शनिबारका दिन गरिने छ । गाई पूजा बिहान ८ बजे देखि दिउँसो ४ बजेसम्म हुनेछ। हिन्दु बुद्ध मन्दिरका तर्फबाट स्वयम सेवक तरुण पौडेलले समुदायको चाहना अनुसार यस बर्ष पनि गाई ल्याइने भएको बताए ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । नेपालमा घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गई गाईको पूजाआजा गर्ने गरिन्छ । गाईको पूजा गरी गाईलाई मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत छ ।
गाई हिन्दु धर्मावलम्वीहरूका लागि पवित्र र महत्त्वपूर्ण प्राणी हो । गाईबाट प्राप्त हुने दूध, दही, घ्यु, गहुँत, गोबर आदि वस्तु प्राचीन कालदेखि नै मानिसले प्रयोग गर्दै आएका छन् ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । नेपालमा गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ।
प्रतिक्रिया