गैरआवासीय नेपालीहरुमा हार्दिक अपिल

इनेप्लिज २०८१ कार्तिक १० गते २१:२८ मा प्रकाशित

गैरआवासीय नेपाली दिवसको अवसरमा आयोजना गर्न लागिएको विशेष समारोह, रूपान्तरण र एकताः श्रमलगानीर नागरिकताको निरन्तरता” भन्ने मुख्य विषयमा केन्द्रित रहेर एनआरएन ग्लोबल कन्क्लेभ-२०२४ र प्रत्येक वर्ष अनिवार्य हुनु पर्ने वार्षिक साधारण सभा २०२४ यही अक्टोबर २७-२८, २०२४ (११ र १२ कार्तिक २०८१) गते होटल द सोल्टी काठमाण्डौमा आयोजना हुने विषय यसअघि नै अवगत गराई सकिएको छ ।

गैरआवासीय नेपाली संघको विधानको दफा १४ अनुसार प्रत्येक वर्ष गर्नु पर्ने अनिवार्य व्यवस्था भएको हुँदा कार्य समितिबाट वार्षिक साधारण सभा गर्ने निर्णय भएको सबैमा जानकारी गराउँदछौं । साधारण सभामा सहभागि हुनका लागि विभिन्न देशबाट प्रतिनिधिहरु नेपाल आईसक्नु भएको र सोका लागि आवश्यक सम्पूर्ण तयार समेत पूरा भई सकेको जानकारी गराउँदछौं ।

संघ परराष्ट्र मन्त्रालय तथा नेपाल सरकारको सरोकारवाला निकायसँग गैरआवासीय नेपालीहरुको सरोकारका विषयमा सहकार्य गर्न सदैव तयार रहेको छ । साथै एकता र भाईचाराको भावनलाई मूर्त रुप दिन सधै खुल्ला तथा प्रतिबद्ध छौं । सम्मानित सर्वोच्च अदालतका आदेश सम्मान गर्दै सोही बमोजिम कार्य गर्न संघ तत्पर रहेको छ ।

आगामी २७ र २८ गते आयोजना हुन लागेको विशेष समारोहमा गैरआवासीय नेपालीहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसहितको एनआरएन नागरिताको पूर्ण कार्यान्वयन; नेपालमा आर्थिक रुपान्तर तथा लगानीको वातावरण; मताधिकार र गोर्खा; नेपाली मूलका विदेशी नागरिक (पीएनओ); जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव; प्रवासी युवाहरूको सशक्तिकरण; सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता; सामाजिक सुरक्षा; नेपाल पर्यटन र एनआरएनएको भूमिका लगायतका विषयमा पनि छलफल हुनेछ । 

नेपाल र नेपालीहरुले गैरआवासीय नेपाली माथि ठूलो अपेक्षा राखेका छन् । हामी एक आपसमा रहेको मतभिन्नता र मतभेदलाई संवादले नै चिरेर अघि बढ्नुको विकल्प छैन । गैरआवासीय नेपाली संघ सबै विदेशमा बस्ने नेपालीहरुको आवाज बुलन्द बनाउने हामी सबैको संयुक्त जिम्मेवारी हो । यसर्थ गैरआवासीय नेपाली दिवसको कार्यक्रममा एकताकै लागि छलफल गर्न तथा आआफ्नो विचार राखी योगदान गर्न सम्पूर्ण गैरआवासीय नेपाली अभियन्ताहरुमा सविनय अनुरोध गर्दछौँ । हाल आयोजना गरिने कार्यक्रम एकताको अवरोधको रुपमा नभई सहयोगीकै रुपमा बुझिदिन हुन अनुरोध गर्दछौं ।

गौरी राज जोशी

महासचिव

गैरआवासीय नेपाली संघ

मिति २०८१/०७/१० (सन् २०२४ अक्टोबर २६)

शनिवार, बेलुका ७:३० बजे ।  

प्रतिक्रिया