काठमाडौँ – आरके शर्माले नेतृत्व गरेको गैर आवासीय नेपाली संघ (एनआरएनए) को साधारण सभा भर्चुएल माध्यमबाट सोमबार आयोजना गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व परराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले एनआरएनएले नेपालको विकास र अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ बनाउन सक्नेमा विश्वास व्यक्त गर्दै, विदेशमा रहेका नेपालीहरुको अभियानलाई विचलन आउन नदिन आह्वान गरे।
महतले सहमतिको अधिवेशनको आवश्यकता रहेको पनि बताए। उनले एनआरएनएका सदस्यहरुमा ‘पार्टीभन्दा माथि उठेर देश र जनताको सेवाका लागि योगदान दिने’ मानसिकता विकसित हुनुपर्नेमा जोड दिए। उनले विदेशमा रहेका नेपालीहरुको अभियानलाई बलियो बनाउँदै नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाउन एनआरएनएको भूमिका महत्वपूर्ण हुने बताए। उनले एनआरएनहरु संग रहेको पूँजी, योग्यता, सम्भावना र सृजनालाई नेपालको विकासमा जोड्ने हो भने बाहिरी सहयोगको आवश्यकता नपर्ने विश्वास पनि व्यक्त गरे।
डा. महतले भने, “यो संस्थामा बसेर म कसरी नेपालको विकासमा जोडिन सक्छु भन्ने मानसिकता राखेर काम गर्नु पर्छ। पदमा पुग्नै पर्छ भन्ने सोचाइ गलत हो। यदि हामी एकतामा लाग्यौं भने सफलता अवश्य प्राप्त हुनेछ।” साथै, उनले एनआरएनएको उद्देश्य ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने भावनालाई सार्थक पार्नका लागि नेपाली समाजमा सहमतिमा अगाडि बढ्नुपर्नेमा जोड दिए।
नेकपा माओवादीका उप महासचिव तथा पूर्व गृह मन्त्री शक्ति बस्नेतले सामाजिक तथा सांस्कृतिक विविधता नेपालको पूँजी भएको बताए। उनले भने, “हाम्रो नेपालीपनलाई जोगाइ राख्ने उद्देश्यले गैर आवासीय नेपाली संघ सुरु भएको हो, जसलाई अझै बलियो र एकताबद्ध बनाउनु आवश्यक छ।”
बस्नेतले नेपालको स्थिरता, आर्थिक विकास र समृद्धिको लागि एनआरएनएको भूमिका महत्वपूर्ण रहेको र यसले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सहयोग पुर्याउने धारणा राखे। उनले परराष्ट्र मन्त्रालयको पहलमा हुन गइरहेको बैठक एकताको ढोका खोल्न सार्थक बन्ने विश्वास पनि व्यक्त गरे।
“तपाईंहरु विदेशमा रहनु भएको भए पनि नेपालसँगको सम्बन्ध कहिल्यै टुटेको छैन। गैर आवासीय नेपाली संघले आफ्नो योगदानको माध्यमबाट देशको आर्थिक तथा सामाजिक विकासमा ठूलो परिवर्तन ल्याउन सक्छ। सम्भावनाको अन्तिम बिन्दु सम्म आफ्नो प्रयासलाई निरन्तरता दिनुहोस्,” बस्नेतले भने।
‘एकताबद्ध भएर अघि बढ्न आग्रह’
गैर आवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले हालै एकता र समर्पणको आह्वान गर्दै सबै गैर आवासीय नेपालीलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । उनले सन् २००३ मा संघ स्थापना गर्दा देखेको सपना अझै साकार पार्न बाँकी रहेको बताउँदै संस्थालाई हास्य व्यंग्यको पात्र बन्न नदिन सबैलाई सतर्क रहन सुझाव दिए। “हामी सबैजना एक भएर हाम्रो मन र मस्तिष्कलाई एकै ठाउंमा संगम गराईकन अगाडी बढौं,” उनले भने।
पूर्व अध्यक्ष कुल आचार्यले संस्थाको हितका लागि एकता अपरिहार्य रहेको भन्दै तीन अध्यक्ष मिलेर एनआरएनएको नेतृत्व लिएको स्मरण गरे। उनले भने, “हामी नागरिकता, सामाजिक सुरक्षा, नीति तथा कार्यक्रम, बजेट, र लगानीका क्षेत्रमा एकजुट भएर अघि बढेका थियौं।” एकताबद्ध संस्था मात्रै नेपालको विकासमा सच्चा साझेदार बन्न सक्ने पनि उनले बताए ।
पूर्व अध्यक्ष रबिना थापाले संघलाई बलियो बनाउन एकताबद्ध हुनुको विकल्प नरहेको बताउँदै संविधानले दिएको अधिकार कार्यान्वयन गर्न जरुरी रहेको बताइन्। थापाले एनआरएनएलाई नेपालीहरुलाई जोड्न बनाइएको संस्था रहेको र यो संस्थामा सबैको भूमिका महत्वपूर्ण हुने बताइन्।
एनआरएनए आइसीसीका अध्यक्ष आरके शर्माले ११ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन नसकेको दुख व्यक्त गरे। शर्माले भने, “नेपाल सरकारको सह महान्यायाधिवक्ता नेतृत्वको समिति र सीबीआइले पनि निर्वाचन प्रक्रिया त्रुटिपूर्ण रहेको प्रमाणित गरिसकेको छ।” उनले गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन गर्नु संघको मूल मुद्दा रहेको उल्लेख गरे।
उपाध्यक्ष डा. केशव पौडेलले विदेशमा रहेका नेपालीहरुलाई एकताबद्ध बनाउनु संस्थाको मुख्य उद्देश्य रहेको बताए। उनले सन् २००३ को तुलनामा अहिले संघको औचित्य झन् बढेको बताउंदै संघमा एकता अपरिहार्य बनेको बताए। सल्लाहकार नारायण आचार्यले अनलाइन चुनावको नाममा संस्थालाई कब्जा गर्ने षड्यन्त्र भएको भन्दै कुदृष्टिले हेर्ने व्यक्तिहरुलाई अलग्याएर संस्थालाई सही दिशामा अगाडि बढाउनु जरुरी रहेको बताए ।
संघका पूर्व उपाध्यक्ष तथा सल्लाहकार महेश श्रेष्ठले शेष घले संयोजक रहेको समितिलाई परराष्ट्र मन्त्रालयले बोलाएको कुरालाई सकारात्मक संकेतका रुपमा लिँदै यो अवसरलाई उपयोग गर्नु पर्ने बताए। उनले सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्दै एकता कायम गर्न सुझाव पनि दिए।
संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाले संस्थाभित्र व्यक्तिगत स्वार्थ हावी भएको भन्दै सबैलाई स्वार्थ त्यागेर संस्था बलियो बनाउन आग्रह गरे। थापाले नेपाली भाषा, साहित्य, र संस्कृतिको प्रवर्द्धनमा एनआरएनएको ठूलो भूमिका रहेको भन्दै एकीकृत एनआरएनए बनाउने प्रयासमा जुट्न सबैलाई अनुरोध गरे।
यसै गरी संघका केन्द्रीय उपाध्यक्ष दुर्गा आचार्य, उपाध्यक्ष रोविन्द श्रेष्ठ गोविन्द, उपाध्यक्ष सुनील साह, उपमहासचिव प्रमोद सिटौला, सचिव मनोज गोर्खाली, सल्लाहकार नारायण कडेल, सल्लाहकार नरेन्द्र भाट, सल्लाहकार दिल गुरुङ, आइसीसीका सल्लाहकार तथा नेकपा माओवादीका केन्द्रीय सदस्य डीबी क्षेत्री, सह कोषाध्यक्ष तिलक गैह्रे, अफ्रिकाका क्षेत्रीय संयोजक कृष्ण भट्ट, अमेरिकाज क्षेत्रका उप क्षेत्रीय संयोजक गोविन्द सुवेदी, अमेरिकाजकी महिला संयोजक बिन्दु निरौला, पूर्व सल्लाहकार सुरेन्द्र नेपाल श्रेष्ठ, प्रगतिशील मोर्चा युरोपका बिष्णु भुजेल, जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनका अध्यक्ष डा यादव पण्डित, जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन अन्तर्गत ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदन राज पौडेल, महासचिव नवराज न्यौपाने, नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, नेपाली जनसम्पर्क समिति युएइका सभापति भुवानी प्रसाद तिमिल्सिना, जनसम्पर्क समिति पोर्तुगलका सभापति युवराज पन्थी , जनसम्पर्क समिति अमेरिकाका पूर्व सभापति बिष्णु सुवेदी, अमेरिका क्षेत्रका उप क्षेत्रीय संयोजक संजीव श्रेष्ठ, एनसीसी इटालीका अध्यक्ष भावेश सिंह, एनसीसी पोर्तुगलकी अध्यक्ष दीपा काफ्ले, एनसीसी क्यानाडाका पूर्व अध्यक्ष दीपक गौतम, डेनमार्कका पूर्व अध्यक्ष शैलु अधिकारी, फ्रान्सकी पूर्व अध्यक्ष गीता खनाल, देवराज घिमिरे (पोर्तुगल), लक्जेमवर्गका बालहरि राई, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा, एसोसियसन अफ नेप्लिज इन अमेरिकाका अध्यक्ष खगेन्द्र अधिकारी, मदन दवाडी लगायतले शुभकामना दिएका थिए।
दोश्रो सत्रमा साधारण सभाले महासचिव बुद्धि सुवेदीले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदन तथा कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो । झन्डै चार घण्टा चलेको साधारण सभाले संस्थाको एकताको लागि आवश्यक पहल गर्न कार्य समितिलाई म्यान्डेट पनि दिएको छ।
यस अघि बद्री केसी नेतृत्वको समूहले काठमाडौँमा छुट्टै साधारण सभा गरेको थियो। साधारणसभाको संचालन व्यवस्थापन संयोजक एवम् उपाध्यक्ष गंगाधर गौतम र महासचिव बुद्धि सुवेदीले गरेका थिए ।
प्रतिक्रिया