रौतहट
रौतहटको कटहरिया नगरपालिका ९ डुमरियामा रहेको बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्टस्ट्रिज संचालनमा आएको छ । एक समारोहबिच चिनी मिल प्रशासनले विधिवत् रुपमा डोंगा पूजा गरी चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि क्रसिङ सिजन आरम्भ भएको जनाएको छ ।
उद्योगमा उखु बोकेर आएको पहिलो टायरगाडाको गोरुलाई पनि मिल प्रशासनले विधिवत् स्वागत गरेको छ । सोमवार उद्योगले किसान, कर्मचारी तथा स्थानीयवासी डोंगा पूजामा सहभागिता जनाउँदै उद्योग संचालनमा आएकोमा खुसी व्यक्त गरेका छन् ।
अन्य वर्षको भन्दा यो वर्ष चिनी मिल धेरै पहिले संचालनमा आएको छ । विगतका वर्षहरुमा पुसदेखि संचालनमा आउने चिनी मिल बढी उखु क्रसिङ गर्ने लक्ष्यसहित कात्तिकदेखि नै संचालनमा आएको हो । चालु आर्थिक वर्षको क्रसिङ सिजनका लागि उद्योगले २० लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको उद्योगपति बैजु बाबराले जानकारी गराएका छन् । गत वर्ष उद्योगले १२ लाख क्वीन्टल उखु क्रसिङ गरेको थियो ।
चिनीमिल छिटो संचालनमा आउँदा किसानहरुलाई दोहोरो लाभ हुने उद्योगपति बाबराको भनाइ छ । किसानले खुँटी उँखु बेचेर त्यसमा तत्कालै दलहन तथा तेलहन बाली लगाएर कम्तीमा एक बालीको लाभ लिन सकिने र मंसिरभित्रमा खुँटी उखु बेच्ने किसानले गहुँबाली पनि लगाउन पाउने उद्योगपति बाबराको दाबी छ ।
बारा र सर्लाही जिल्लामा रहेका चिनी उद्योगहरु संचालनमा नआउँदै रौतहटको चिनी उद्योग संचालनमा आएपछि रौतहटका किसानहरु हर्षित भएको मनोज यादवले जानकारी गराएका छन् । अहिले खुटी उखुको तौल राम्रो हुने भएकोले किसानलाई फाइदा पुग्ने पनि यादवको भनाइ छ ।
गत वर्षसम्म उद्योगले किनेको उखुको पैसा पहिले नै भुक्तानी भइसकेकोले र यस वर्ष छठ पर्वभन्दा पहिले नै चिनी मिल संचालनमा आएपछि किसानलाई नै सबैभन्दा बढी फाइदा हुने बाबराको भनाइ छ ।
चिनीमिल छिट्टै संचालनमा आएपछि किसानहरुमा खुसीको संचार हुनु स्वाभाविक भएको किसानहरुको भनाइ छ ।
प्रतिक्रिया