क्यानेडियन नेवाः गुठि द्वारा टोरोण्टोमा म्हपुजा तथा नेपाल सम्बत ११४५ भब्यरुपमा सम्पन्न

इनेप्लिज २०८१ कार्तिक २० गते ११:४७ मा प्रकाशित

टोरोण्टो (क्यानडा), क्यानेडियन नेवाः गुठिले प्रत्येक बर्ष मनाउन्दै आएको म्हपुजा तथा यसबर्षको नयाँ बर्ष नेपाल सम्बत ११४५ भब्यरुपमा सम्पन्न गरेको छ । टोरोण्टोको स्कारबोरो स्थित हिमगिरी बान्क्वेट हालमा आयोजित उक्त कार्यक्रमको सुरुमा सहभागिहरु” न्हूदँया भिन्तुना ” भन्दै कार्यक्रम स्थल वरिपरी परिक्रमा गरेका थिए भने परिक्रमामा धिमेबाजा सहित महिलाहरुले पुजाकोथाली, पुरुषहरुले भिन्तुनाको प्लेकार्ड बोकेका थिए।

भिन्तुना परिक्रमा पछि उपस्थित सबैलाई स्वागत गर्नु हुन्दै गुठि का प्रथम उपाध्यक्ष बिमल मान श्रेष्ठले गुठिले स्थापना काल देखिनै म्हपुजा गर्दै आएको जानकारी दिनु हुदै नेवाः सस्कृतिको जगेर्नाको लागि सबैको सहयोग आबश्यक भएको बताउनु भयो। स्वागत मन्तब्य पछि गुठिका सल्ल्लाहकार लक्ष्मण मुनि श्रेष्ठले स्वन्ति नखः र नेपाल सम्बत ११४५को उपलक्षमा सबैमा हार्दिक मंगलमय कामना ब्यक्त गर्नु भयो।त्यस्तै गरि ब्रोक बिस्वबिद्यालयका प्रा.डा. टम ओ नीलल क्यानडामा नेवाः सस्कृति प्रबर्द्दनको लागि गुठिले गर्दै आएको कार्यक्रमको प्रशंसा गर्नु हुन्दै ब्रोक बिस्वबिद्यालय र गुथिको संयुक्त आयोजनामा केहि बर्ष अगाडी गरिएको अनुसन्धान कार्य स्मरण गर्नु भयो।

कार्यक्रममा बोल्नु हुदै गुठिका अध्यक्ष उत्तम माकःजुले नेवाः समुदायका सबै पर्बहरु जीबनोपयोगि तथा मौलिक रहेको बताउनु हुदै त्यसमध्य पनि म्हपुजाले आफ्नो आत्मा भित्र रहेको चेतनारुपि देबलाई पुजागरि आफूमा स्वस्थता तथा समृद्दि ल्याउने पर्ब नेवाः सस्कृतिमामा मात्र रहेको बताउनु भयो। साथै उहाँले यसपालिको म्हपुजा कार्यक्रममा युबा समुदायको सहभागिता उल्लेखनिय रहेकोमा खुशी ब्यक्त गर्नु भयो।

कार्यक्रमको महत्वबारे प्रकाश पार्नु हुदै गुठिका महा सचिब डा. प्रज्वल लाल प्रधानले म्हपुजा एउटा सास्कृतिक पर्ब मात्रै नभै सामाजिक, सामुदायिक, पारिवारिक अनुशासन तथा एकताको प्रतिकको रुपमा रहेको बताउनु भयो। तत्पश्चात कार्यक्रमका संयोजक प्रतिमा प्रधान श्रेष्ठले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण महानुभाबको साथै कार्यक्रमका सहभागिहरुलाई हार्दिक धन्यबाद ब्यक्त गर्नु भयो।औपचारिक कार्यक्रम पश्चात प्रत्यक सहभागि तथा मण्डलामा बिधिपुर्बक पुजा गरि सगुन खानु भन्दा अगाडी तीन पटक सबैले “न्हूदँया भिन्तुना” भनी एकआपसमा शुभकामना ब्यक्त गरेका थिए ।

म्हपुजामा शान्ति माकःजु, डा. शर्मिला प्रधान, गीता पन्त श्रेष्ठ, गायत्री कायष्ठ श्रेष्ठ, सबिना शाक्य, श्रीजा माथेमा श्रेष्ठ, अणु श्रेष्ठ, मौसमि ताम्राकार, प्रतिमा प्रधान श्रेष्ठ,, बीणा कायष्ठ, प्रेरणा प्रधान, डा. सुजा श्रेष्ठ, चन्दा श्रेष्ठ, समिता श्रेष्ठ, सुजिता मल्ल, करिश्मा श्रेष्ठ, श्रीजना श्रेष्ठ, रमा राजभण्डारी, शान्ति शाक्य, मिलि राजभण्डारीले नकिंको रुपमा सहजिकरण गरेका थिए ।

पुजा कर्यक्रम पछि गरिएको सास्कृतिक कार्यक्रममा धिमे बाजाको प्रस्तुति, दिप्सा र सुलेक्षनाको ” सिरि सिरि फसं जित” बोलको गीतमा मनमोहक नृत्य प्रस्तुत गरेका थिए भने बिमल मान श्रेष्ठ, सबिना शाक्य, प्रतिक प्रधान, सुरेन्द्र लाल श्रेष्ठ, डा. उद्दब श्रेष्ठ, श्याम श्रेष्ठ, नरेश ताम्राकार, किशोर राजभण्डारी लगायतले नेपालभाषा तथा नेपाली गीतहरु प्रस्तुत गरिएका थिए। उक्त म्हपुजा कार्यक्रममा दुइसय भन्दा बढि महानुभाबहरुको सहभागिता थियो।

प्रतिक्रिया