रौतहट
रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कल्वारले नगरका हजारौँ विपन्न तथा दलित समुदायलाई छठ सामग्री प्रदान गर्नु भएको छ । नगर प्रमुख कल्वारले नगरभित्रका दुई हजारभन्दा बढी व्रतालुलाई छठ पर्वको सामग्री वितरण गर्नुभएको छ । नगरका सम्पूर्ण वडाका विपन्न र दलित समुदायका व्रतालुहरुलाई दौरा, सुपली, साडीका साथै चोलो र पेटीकोटको कपडा दिनु भएको हो ।
नवयुवा छठ पूजा उपभोक्ता समितिले चयन गरेको गरिब, दलित तथा असहाय र सामाजिक रुपमा पिछडिएका छठ पर्वका व्रतालुहरुलाई पालैपालो हरेक वडामा छठ सामग्री वितरण गरिएको नगर प्रमुख कल्वारले बताउनु भयो ।
नगर प्रमुखमा निर्वाचित हुनुभन्दा पहिलेदेखि नै कल्वारले जिल्लाका विभिन्न गाउँका साथै नगरका सम्पूर्ण वडामा छठ पर्वको समयमा गरिब तथा दलितलाई छठ सामग्री वितरण गर्दै आउनु भएको थियो । कोरोनाको समयमा पनि कल्वारले चामल, दाल, आलु, प्याज, तेल, नुन, मास्कलगायतका सामग्री वितरण गर्नु भएको थियो । बाढी, आगलागी, कोरोना र छठको समयमा निजी खर्चमा आवश्यकताअनुसारका सामग्री वितरण गर्दै आउनु भएका कल्वार गरुडा नगरपालिकामा निर्वाचित भएपछि पनि निरन्तरता दिइरहनु भएको छ ।
नगर प्रमुख कल्वारले आफूले आजीवन समाजसेवा गरिरहने बताउनु भएको छ । आफू जनप्रतिनिधि नरहँदा पनि सेवा गरेको हुँ र आगामी दिनमा पनि समाजसेवा गरिरहने छु – नगर प्रमुख कल्वारले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आफूले कृषि विकासको लागि नयाँ योजना ल्याएको बताउँदै नगर प्रमुख कल्वारले कृषि उत्पादनमा वृद्धि ल्याउन कृषि मिटरको सम्पूर्ण महसुल नगरपालिकाले बेहोर्ने निर्णय गरिसकेको बताउनु भयो । उहाँले भन्नुभयो – निर्धक्क भएर खेती गर्नुहोस्, सिंचाइमा लाग्ने विद्युतको खर्च नगरपालिकाले बेहोर्ने छ ।
चालू आर्थिक वर्षदेखि कृषि सडकमा पनि जोड दिइएको नगर प्रमुख कल्वारको भनाइ छ ।
छठ पर्वको अवसरमा नगर प्रमुख कल्वारले सम्पूर्ण नगरवासीलाई शुभकामना दिँदै हरेक वडाको छठघाटको निर्माणमा नगरपालिकाले सहयोग गरेको बताउनु भएको छ । वडा कार्यालय र नगरपालिका कार्यालयमार्फत पनि छठघाटको निर्माणमा सहयोग गरिएको उहाँको भनाइ छ ।
गरुडा नगरपालिकाको ९ वडामा गरी कम्तीमा तीन दर्जन ठाउँमा छठघाटको निर्माण गरिएको छ । गरुडा भएर बग्ने लमाहा र चानी नदीको किनारमा सबैभन्दा बढी छठ पर्व हुने गरेको छ । यसै गरी विभिन्न पोखरी र नहरको किनारमा पनि घटपूजाको लागि घाटको निर्माण गरिएको छ ।
यसै बिच नगर प्रमुखले नगरको सम्पूर्ण वडामा पनि शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्नुभएको छ । शुभकामना आदानप्रदान कार्यक्रममा स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि तथा समाजसेवी र सर्वसाधारणको सहभागिता रहेको नगरका योजना शाखा प्रमुख रामानन्द सहनीले जानकारी गराउनु भएको छ ।
प्रतिक्रिया