“पौराणिक आदर्श नारीहरू”: पौराणिक आख्यान

–रामकृष्ण शर्मा २०८१ कार्तिक २८ गते २२:४० मा प्रकाशित

पुस्तक समीक्षा

“पौराणिक आदर्श नारीहरू” पुस्तकका लेखक शोभाकार बराल पोखरा महानगरपालिका निवासी हुन् । उमेरले ७८ वर्ष पुगिसकेका बरालको २०७९ मा “मैले टेकेको धरती” नामका पुस्तक प्रकाशन भैसकेको छ । प्राथमिक विद्यालयको शिक्षक तथा प्रधानाध्यापकका रूपमा ३७ वर्ष आफ्नै गाउँमा बिताएका बराल जीवनको उत्तराद्र्धमा धार्मिक पुस्तकको अध्ययन गर्ने र अध्ययनका क्रममा प्राप्त ज्ञानलाई लिपिबद्‍‌‌ध गर्दै जाँदा यो कृति तयार भएको लेखकीय भनाइले पुष्टि गर्दछ ।

“पौराणिक आदर्श नारीहरू” पुस्तकले नेपाली समाजमा धार्मिक र सांस्कृतिक रूपमा आदर्श मानिएका नौ पौराणिक पात्रहरूको कथा र व्यक्तित्वलाई उजागर गरेको छ । लेखक शोभाकार बरालले हिन्दु धर्मग्रन्थ रामायण तथा महाभारत जस्ता महाकाव्यमा आधारित अनुसूया, उर्मिला, गान्धारी, दमयन्ती, मन्दोदरी, शकुन्तला, सावित्री, सीता र सुलोचना जस्ता नारी पात्रहरूको गहिरो र सूक्ष्म अध्ययन प्रस्तुत गर्नुभएको छ ।

अनुसूया अत्रि ऋषिकी धर्मपत्नी हुन् । पतिव्रता धर्मकी प्रतीक पात्र हुन् । उनको तपस्या र साधनाले रामायणकी सीताजीलाई पनि प्रेरणा मिलेको छ ।

पुस्तकमा अर्की पात्र उर्मिलाको कथा प्रस्तुत छ । रामायणमा लक्ष्मणकी धर्मपत्नी भइकन पनि उपेक्षित पात्र उर्मिलाको बलिदान र त्यागको कथा गहिरो रूपमा प्रस्तुत छ । आफूहरूसँगै वनवास जान आफ्नो हठ नछोडेकी सीताको कारणले जसरी वनवासमा रामलक्ष्मणले भुक्तमान व्यहोर्नुपर्‍यो, त्यसको दाँजोमा कता हो कता उर्मिलाको योगदान प्रशंसनीय रहेको छ, जसको त्यागले पाठकलाई भावुक बनाउँछ एवम् धैर्यता र त्यागको प्रेरणा पनि दिन्छ ।

त्यसैगरी, पुस्तकमा गान्धारीको कथा अघि बढ्छ आदर्श नारीको रूपमा । महाभारतमा दृष्टिविहीन राजा धृतराष्ट्रकी महारानी यी गान्धारीले आफ्नो जीवनभर आँखामा पट्टी बाँधेर आफ्ना पतिको भावनालाई आत्मसात गर्दै पतिव्रता धर्मको पालना गरिन् । उनकै यो नमुना र आदर्श चरित्रले नारी सहनशीलताको उत्कृष्टता दर्शाउँछ ।

पुस्तकमा अर्की नारी दमयन्तीको चर्चा आउँछ, नल राजाकी रानीका रूपमा । दमयन्ती र नलको प्रेमकथा चखेवा चखेवीको जस्तो मार्मिक छ । दमयन्तीका क्रियाकलापहरूले समग्रमा नारीको आत्मसम्मान र प्रतिकूल अवस्थामा पनि आफ्नो निर्णयप्रतिको दृढतालाई उजागर गर्छन् । साथै, उनी जस्तोसुकै प्रलोभनमा पनि आफ्ना पतिप्रतिको आस्था र विश्वासमा अटल रहन्छिन् ।

पुस्तकमा पाँचौ नारी पात्रका रूपमा मन्दोदरीको नाम आउँछ । रामायणमा लङ्काका राजा रावणकी महारानीको रूपमा रहेकी छिन् मन्दोदरी । उनी बुद्धिमान् र धर्मपरायण पनि थिइन् । उनको चरित्रले गलत मार्गमा लागेका श्रीमान् एवम् परिवारजनलाई सही मार्गमा ल्याउने प्रयासको कथा बताउँछ । साथै, सीताप्रति सहानुभूति र रामप्रति श्रद्धा प्रकट गरिरहन्छिन् ।

यही पुस्तकमा छैठौं पात्रका रूपमा शकुन्तला अगाडि आउँछिन् । विश्वामित्र ऋषि र मेनकाको सुपुत्रीका रूपमा शकुन्तलाको जन्म भएको हो । रूप, लावण्य र शील स्वभावले युक्त शकुन्तलाको सुन्दरताबाट बसीभूत भएर दुष्यन्त राजाले गान्धर्व विवाह गरेका थिए । तर पछि आफ्नो दरबारमा गएर सबै कुरा बिर्सिए । उनीप्रतिको पातिव्रत्र्य धर्म र निष्ठा कायम राख्दै राजकुमार भरतलाई साथमै लिएर उनलाई खोज्दै दरबारमा जान्छिन् । दरबारमा उनलाई चिनेर पनि नचिनेझैं गर्ने राजालाई ठूलो स्वरमा दृढतासाथ बोल्दै विगत सम्झाउँछिन् । अन्ततोगत्वा लाचारीसाथ दुष्यन्तले उनलाई रानी स्वीकार्दछन् ।

यसैगरी, पुस्तकको सातौं पात्रका रूपमा सावित्रीको वर्णन पाइन्छ । महाभारतमा वर्णित कथाअनुसार सत्यवान्संँग सावित्रीको प्रेमसम्बन्ध हुन पुग्दछ । देवर्षि नारदका अनुसार सत्यवान्को आयु ज्यादै छोटो भएकाले उनीसंँगको दाम्पत्य जीवन सुखमय हुन नसक्ने बताइन्छ । तर एकपटक निर्णय गरिसकेपछि आफ्नो निर्णय नबदल्ने सावित्रीको सतित्व, प्रतिज्ञा, सम्वाद शैली एवम् भगीरथ प्रयत्नबाट आफ्ना पतिलाई यमराजको पञ्जाबाट छुटाइ पुनर्जीवन दिनसक्नु नै उनको आदर्श परिचय तथा सबैभन्दा प्रेरणादायक कथा रहेको छ ।

यसपछि आठौं पात्रका रूपमा रामायणकी सीताको बर्णन् गरिएको छ । सीताको जन्म, बाल्यकाल, संस्कार, विवाह, वनवास, रावणबाट सीताहरण, राम रावण युद्ध र सीताको पतिव्रता धर्म र अनुशासनको कथा समेटिएको छ । यसमा सीताको जीवनले नारीका गुणहरू धैर्य, साहस र सत्यको पक्षमा उदाहरण प्रस्तुत गरेको छ ।

सुलोचना यस पुस्तकमा नवौं तथा अन्तिम पात्रको रूपमा उभिएकी छिन् । रामायणमा रावणका छोरा इन्द्रजीतका नाममा परिचित मेघनादकी पत्नीका रूपमा सुलोचना पतिव्रता धर्मको प्रतीक भई उभिन्छिन् । राम र रावणको युद्धमा पति मरेपछि पनि उनले पतिव्रता धर्मको पालन हमेसा गरिरहिन् ।

लेखक शोभाकार बरालले प्रत्येक पात्रको पौराणिक महत्वलाई सरल र प्रभावकारी भाषामा प्रस्तुत गरेका छन् । पात्रहरूको गहिराइ र समाजमा उनीहरूको प्रभावलाई पुस्तकले राम्रोसँग उजागर गरेको छ । पौराणिक आदर्शहरूलाई आधुनिक दृष्टिकोणबाट पुनव्र्याख्या गर्दै यस पुस्तकले पाठकलाई नारीहरूको शक्ति, धैर्यता, र मूल्यबोधको महत्त्व बुझ्न प्रेरित गरेको छ । पुस्तकले पौराणिक कथा र वर्तमान सामाजिक सन्दर्भबिच एक सम्बन्धसेतु निर्माण गरेको छ । आदर्श नारी पात्रहरूको सङ्घर्ष, त्याग र बलिदानलाई मनन गर्दै पाठकलाई सोच्न बाध्य बनाउने खालको सामग्री रहेको छ ।

जे होस्, वैदिक सनातन धर्मका पुराण, रामायण, महाभारतमा वर्णित नारी पात्रको आदर्श भूमिकालाई एउटै पुस्तकमा पढ्न मिल्ने गरी पाठकका सामु ल्याउनुहुने बरालको कार्य अनुकरणीय र स्तुत्य छ । पौराणिक आदर्श नारीहरू नाम सुनेका तर अध्ययन नगरेका पुराना पुस्ता र बिल्कुलै जानकारी नभएका वा नलिएका नयाँ पुस्ता दुवैका लागि ती पात्रहरूको विस्तृत जानकारी यस पुस्तकले दिएको छ ।

“पौराणिक आदर्श नारीहरू” पौराणिक कथामा रुचि राख्ने सबैका लागि पढ्नैपर्ने पुस्तक हो । यस पुस्तकले पौराणिक कथाहरूको उत्खनन मात्र गरेको छैन, नेपाली समाजका लागि आदर्श नारी पात्रहरूको चित्रणबाट प्रेरणा र शिक्षा पनि प्रदान गरेको छ । पुस्तक सङ्ग्रह गर्न योग्य छ । पुस्तक वयस्क उमेरका नागरिकलाई पढ्नका लागि उपहार दिन पनि उपयोगी देखिन्छ ।

पुस्तकको प्रस्तुतीकरण व्यास शैलीमा छ । लेखन शैली सरल र बोधगम्य छ । कथाहरूमा तथ्य प्रस्तुत गर्ने क्रममा केही पाठहरू अपेक्षाकृत लामा हुनपुगेका पाइन्छन् । यसैले दृष्टान्तलाई छोटा र मिठा बनाउन सकेमा सुनमा सुगन्ध थपिने थियो । यस्तो मिठो र सान्दर्भिक ग्रन्थका लागि लेखकलाई हार्दिक साधुवाद । यस्तै, प्रकृतिका रोचक पुस्तक लेखकबाट आऊन् । पेसागत जीवनमा प्राप्त गर्नुभएका अनुभव झल्किने कृति पनि पस्किँदै जानुभो भने जीवन सार्थक हुने देख्दछु ।

–रामकृष्ण शर्मा


अस्तु !

कृतिः “पौराणिक आदर्श नारीहरू”
विधाः पौराणिक आख्यान
लेखकः शोभाकर बराल
प्रकाशकः लेखक स्वयम्
संस्करणः पहिलो (२०८१)
पृष्ठः १७९
मूल्यः रु.३५०/-

प्रतिक्रिया