बज्जिका राष्ट्रिय प्रतियोगितामा वाचनका लागि दश कविको नाम चयन

इनेप्लिज २०८१ कार्तिक २९ गते ०:५८ मा प्रकाशित

रौतहट

बज्जिका साहित्य समाज सर्लाहीले छठ पर्वको अवसरमा आयोजना गरेको पहिलो राष्ट्रिय बज्जिका कविता प्रतियोगिताका लागि दश उत्कृष्ट कविता चयन गरिएको छ । नेपालको विभिन्न जिल्लाबाट प्रतियोगिताका लागि प्राप्त २८ कवितामध्ये तीन जनाको मूल्यांकन समितिद्वारा कविताको मापदण्डका आधारमा प्रतियोगितामा वाचनका लागि उत्कृष्ट दश कविताका कविको नाम चयन गरिएको आयोजक संस्थाका अध्यक्ष रामचन्द्र महतो कुशवाहाले जानकारी गराउनु भयो ।


मंसिर १ गते शनिवारका दिन सदरमुकाम मलंगवामा रहेको मलंगवा नगरपालिकाको सभाकक्षमा हुने प्रतियोगितामा वाचनका लागि अभिजित राम (सिमरौनगढ, बारा), मनमोहन सिंह मनोहर (बलरा, सर्लाही), ममता यादव (गरुडा, रौतहट), महेश्वर पाण्डे (रामनगर, सर्लाही), विमलेशकुमार झा (मौलापुर, रौतहट), रघुनाथ सिंह राजपुत (बलरा, सर्लाही), रुपेश पटेल रोदन (बलरा, सर्लाही), शिवचन्द्र चौधरी (बसबरिया, सर्लाही), संगीता सहनी (यमुनामाई, रौतहट) र सरोजकुमार पटेल (मौलापुर, रौतहट) को नाम चयन भएको हो । प्रतियोगितामा वाचनका लागि उत्कृष्ट दश कविको नाम वर्णनानुक्रमानुसार सार्वजनिक गरिएको अध्यक्ष
कुशवाहाले जानकारी गराउनु भयो ।

बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण, कवि राजेन्द्र ठाकुर र आयोजक संस्थाको तर्फबाट विनिताकुमार साहको संयुक्त निर्णयअनुसार प्रतियोगितामा वाचन गरिने कविताका कविको नाम चयन गरिएको हो ।

गत कात्तिक ९ गते समाजले सर्लाही सदरमुकाम मलंगवामा रहेको लक्ष्मी इन्टरप्राइजेज एन्ड जेनर सप्लायर्सको सहयोगमा पहिलोपटक राष्ट्रिय बज्जिका कविता प्रतियोगिताका लागि विभिन्न सर्तसहित रचना आह्वान गरेको थियो । छठको अघिल्लो दिनसम्मको तिथि राखेर आह्वान गरिएको प्रतियोगिताका लागि विदेशबाट समेत रचना प्राप्त भएको भए पनि स्वदेशकै रचनालाई मात्र प्रतियोगिताको प्रणालीमा समावेश गरिएको अध्यक्ष कुशवाहाको भनाइ छ । प्रतियोगितामा कविता वाचनपछि प्रथम हुनेले ११ हजार, द्वितीय हुनेले ७ हजार तथा तृतीय हुनेले ४ हजार एक सय रुपैया र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया