काठमाडौ । भारतको नयाँ दिल्लीस्थित फाउन्डेशन अफ सार्क राइटर्स एन्ड लिटरेचर (फोसवाल) को ६५ ओँ वार्षिक महोत्सवमा भाग लिएर नेपाली साहित्यकारहरूको सात सदस्यीय टोली आज नेपाल फर्क्यो । सो टोलीमा नेपाल स्रष्टा समाजका पूर्वअध्यक्ष विधान आचार्य, त्रिवि नेपाली विभागका सहप्राध्यापक डा. नेत्र एटम, गोरखापत्र संस्थानमा आबद्ध लेखकहरू ऋतुराज सुवेदी र अभय श्रेष्ठ, मनमोहन प्राविधिक विश्वविद्यालयकी मुख्य लेक्चरर सविता गौतम दाहाल, कवि चन्द्र गुरूङ तथा डा नाज सिंह संलग्न थिए ।
भारतीय साहित्यकी मूर्धन्य साहित्यकार अजीत कौरले सो महोत्सव गत ६५ वर्षदेखि निरन्तररूपमा वर्षैपिच्छे सञ्चालन गरिआएकी छन् । उमेरले ९० वर्ष पुगिसकेकी अजीत कौर आख्यान साहित्यकी बेजोड प्रतिभा भएकीले भारत सरकारले उनलाई पद्मश्री सम्मानबाट वर्षौँ पहिले नै विभूषित गरिसकेको छ । यसवर्ष गत कार्तिक २५ देखि २८ सम्म आयोजित महोत्सवमा भारत तथा श्रीलङ्काका साहित्यकार र पर्यावरण अभियन्ताहरूका साथमा नेपालका कवि विधान आचार्यलाई पनि सार्क लिटरेचर अवार्डबाट सम्मानित गरियो । सो महोत्सवमा विभिन्न सत्रमध्ये एकमा श्री आचार्यले साहित्य र पर्यावरणबारे एक पत्र प्रस्तुत गरे भने नेपाल र अन्य देशका कविहरूले भाग लिएका कविताका अन्य दुई सत्रहरूमा उनले अध्यक्षता गरे ।
यसै गरी ऋतुराज सुवेदीले आख्यानको एक सत्रमा अभिसुवेदी लिखित बीपीकोइरालाको मोदिआइन आधारित एक पुस्तकमाथि समालोचकीय परिचर्चा र अभय श्रेष्ठले समकालीन आख्यान लेखनमा चर्चा गरे, कविता सुनाए । अन्य सहभागीहरूले अङ्ग्रेजी कविताका सत्रहरूमा आआफ्ना कविता प्रस्तुत गरे । सोही अवसरमा कवि सविता गौतम दाहालको पिरामिडस् अफ लेक्सिकल रिपल्स शीर्षकको कविता सङ्ग्रहको पनि प्रमुख अतिथि प्रसिद्ध पर्यावरण संरक्षणवादी सन्त बलबीसिंह सिचेवाल, अजीत कौर तथा अन्य विशिष्ट अतिथिबाट लोकार्पण गरिएको थियो ।
उदघाटन तथा समापनबाहेक कुल २६ सत्रहरूमा विभाजित सो चार दिने महोत्सवमा प्रख्यात चित्रकार अर्पणा कौरका चित्रहरूको प्रदर्शनी, सांस्कृतिक नृत्यहरू तथा डा कृष्णकान्त का एकल अभिनयहरूको प्रस्तुति पनि गरिएको थियो । साथै एक दिन सहभागीलाई दिल्लीको पुरानो किल्लाको भ्रमणसमेत गराइएको थियो ।
प्रतिक्रिया