झन्डै दुई साता अधि देखि देशका बिभिन्न ठाँउमा प्रदर्शनमा रहेको नेपाली सिनेमा“पूर्ण बहादुरको सारंगी” ले देश भर मात्र नभएर बिदेशमा समेत अपार मायाँ र साथ पाएको छ ।
स्टारका ट्याग नलागेका कलाकार र कुनै तामझाम बिना नै बिशुद्द नेपाली ग्रामिण परिवेशको कथा तथा ग्रामिण परिवेश कै दृश्य छायांकन मै पनि किन त्यति बिध्न दर्शकको मन जित्न सफल भयो होला ? भन्ने जो कोहीको मनमा कौतुहलता उठ्नु स्वाभाविकै हो।
स्वस्फुर्त रुपमा हल सम्म दर्शक ओइरो लाग्नु , फिल्म हेरेर भाबुक हुँदै अश्रु खसालेको दृश्य सामाजिक संजालमा भाइरल हुँदै गर्दा यस फिल्मले गरिको व्यापारिक रेकर्ड समेत उल्लेखनीय रहेको पाइएको छ । हिन्दी फिल्मले बजार खाइरहेको अबस्थामा नेपाली चलचित्रले यो किसिमको सफलता प्राप्त गर्नु नेपाली सिने क्षेत्रको लागि एक कोशेढुंगा नै हो ।
अब प्रश्न उठ्छ ? के छ त ? पूर्ण बहादुरको सारंगि मा ? किन यति धेरै दर्शक तानी रहेका छन् त् ?
हो , पूर्ण बहादुरको सारंगीको कथा सिनेमामा आज भन्दा ४०-४२ बर्ष अघि कुनै जाति बिशेषको कथा , जो चरम गरिबीमा कसरी बाँची रहेको थियो ? ति समुदायको जीवन जिउने आधार कस्तो थियो भन्ने देखाएको छ ? आफ्ना सन्तानको सुनौलो भविष्यको लागि बा/आमाले कति सम्म त्याग/ बलिदान गर्न सक्छन् भन्ने कुरा देखाईएको छ ।
त्यहिँ प्रसंगले आम सर्बसाधारण दर्शकको मन जितेको छ । गरिबीको दुराचक्रले कसरि मानिस बिबस हुन्छ भन्ने कारुणिक कथाले दर्शकका आखाँ कति खेर रसाउने हो पत्तै हुँदैन ।
कथा बिगतको भनिएता पनि बर्तमान परिबेशमा पनि आम अभिभावकको सोच आफ्नो अन्तिम सास रहेसम्म आफ्ना सन्तानको उज्जल भविष्यका लागि भगिरथ प्रयास गर्न नचुक्ने नेपाली संस्कार ले नै देश होस् या बिदेश नेपाली समुदाय भएका ठाउँमा यो सिनेमाले अपार दर्शक पाएको छ ।
आर्थिक विपन्नता भएका अधिकांश ग्रामिण समुदायका ब्यक्तिहरुमा पनि बद्लिएको चेतना स्तर, कानुनत प्राप्त मौलिक अधिकार,समाबेशी संबिधानबाट अधिकारलाइ प्राप्त गर्न पनि शिक्षामा आफ्ना सन्ततिलाइ गर्ने लगानी दिन प्रतिदिन बढ्दै गएको छ ।
एकातिर राज्यको नियमन नीति गतिलो नहुदाँ निजि शिक्षा क्षेत्र व्यापारिक लगानी जस्तो भनेको छ भने आफू मरेर पनि सन्तान लाइ शिक्षामा पहुँच पुर्याउने चेतना स्तर ह्वात्तै बढेको छ ।
यो अबस्थामा कथामा पूर्ण बहादुरले आफ्नो जिबिकोपार्जनको अन्तिम बिकल्प सारंगी बेचेर भए पनि छोरोको पढाइ खर्च जुटाएको देखाइएको छ । आज नेपाली समाजको दर्पण हेर्ने हो भने हरेक अभिभावकले आफूसँग भएको बेच्न मिल्ने कुरा सबै बेची सन्ततिको देशी वा बैदेशिक शिक्षामा लगानी गरेका छन् । यो परिदृश्य निकै डरलाग्दो छ ।
यहिँ कुराले पूर्ण बहादुर सारंगीको कथा आज आम नेपाली समुदायको आफ्नै कथा भनेको छ । सबैको मन छोएको छ । प्राय:सबैको आफ्नो थाकथलो बिक्रि लिलामी भइ सकेको छ । यसमा कतिले सफल भएका छन् भने धेरैका सन्तान परदेश बेचिएका छन् । आखाँका नानी जस्ता सन्तान आफूबाट टाढा हुँदा आँखा साथमै हुदाँ पनि धेरै अभिभाबकहरु अन्धा भएका छन् । सहारा बिहिन भएका छन्। त्यसैले धेरै जन समुदायको मन छोयो यो सिनेमाले ।
संयोगान्त मै टुङ्गयाउन पनि सकिन्थ्यो । भलै दिएको भूमिकामा प्रकाश सपुतले न्याय नै गरेका छन् तर हाइस्कुल सकेको बिधार्थीको रुपमा प्रकासको प्रवेश भन्दा अन्य अझ युवा उमेर समुहका नाजिर हुसेन जस्ता नब प्रवेशी कलाकार वा सोहि उमेरका युवालाइ लिएको भए अझ बास्तबिक देखिनथ्यो कि ?
महेश दवाडीको लेखन ,सरोज पौडेलको निर्देशनमा बनेको यो सिनेमामा अभिनयको कुरा गर्दा रंगमंचबाट खारिएर आएका कलाकारहरु विजय बराल, मुकुन भुसाल , बुद्धि तामांग , अञ्जना बराइली लगाएतका कलाकारहरुको बेजोड प्रस्तुति रहेको छ । पूर्ण बहादुरको भूमिकामा देखिएका विजय बरालको दमदार अभिनयले दर्शकको मन पगालेको छ । गाँउले सहपाठीको भूमिकामा देखिएका मुकुन/बुद्धि तथा बाटुलिको भूमिकामा देखिएको अञ्जनाकोअभिनयलाई पनि खोट लगाउने ठाउँ देखिदैन् । अझ कथालाई भिजेर हेर्ने हो भने सन्तानको भविष्यका लागि आमाको सोच कति माथिसम्म उठ्न सक्छ भन्ने कुरा देखाइएको छ । भलै श्रीमतीको रुपमा पूर्ण बहादुर माथि अन्याय भो भन्न सकिएला तर मातृ बात्सल्य्मा बहेकी बाटुलीको सोचमा खोट थियो भन्न सकिदैंन।
तथापि केहि कुरालाई अझ मसिनो गरि सिनेमामा उतार्न सकेको भए सिनेमाको स्थर अझै माथि उठ्ने थियो जस्तो लाग्छ । निर्देशक पौडेलले बाटुलि भूमिका अत्यसम्म भए पनि कथामा जोड्न सकेको भए राम्रो हुन्थ्यो । कथालाई बिगोगांतमै टुंग्याउनु पर्ने भन्ने केहि थिएन । संयोगान्त मै टुङ्गयाउन पनि सकिन्थ्यो । भलै दिएको भूमिकामा प्रकाश सपुतले न्याय नै गरेका छन् तर हाइ स्कुल सकेको बिधार्थीको रुपमा प्रकासको प्रवेश भन्दा अन्य अझ युवा उमेर समुहका नाजिर हुसेन जस्ता नब प्रवेशी कलाकार वा सोहि उमेरका युवालाइ लिएको भए अझ बास्तबिक देखिनथ्यो कि ?
संगीतको कुरा गर्दा सिनेमा भरेका संगीत निश्चय नै मर्मस्पर्मी छन् । भलै सारंगीको तालमा गित गाएको वा दोहोरि प्याटर्न गाएको देखिन्छ तर त्यो बास्तबिक गन्धर्व जातिको मौलिक बाजाको सांगीतिक तालमेल देखिदैन् । सारंगीको जुन मौलिक रेइ /रेइ को सांगीतिक धून सिनेमामा कहिँकतै देखिदैन् ।गन्धर्व जातिको कथामा बहेको सिनेमामा कम्तिमा नोटिस एबल सिन सारंगीको मौलिक तालमा हुनु पर्थ्यो । गन्धर्ब जातिको मूल थलो मानिने , लम्जुङ्गको दुधेकुना , वा पोखराको बाटुले चौर वा तनहुँको गिराउन भानु नया बस्ति मध्यबाट केहि मौलिक सांगेतिक गन्धर्ब गित सहित मेला वा पर्व जस्ता सिन हरु जोड्न सकेको भए सिनेमाको कद अझ उचो हुने थियो ।
अन्त्यमा , पूर्ण बहादुरको सारंगी एक सामाजिक यथार्थता बोकेको सामाजिक सिनेमा हो । केहि बर्ष देखि केवल हाँस्य विधाका चलचित्रले मात्र बजार लिई रहेको अबस्थामा यो सामाजिक बिषयको सिनेमाले उभार नै ल्याएको छ । फिल्मले मौलिक शब्द र पारिवारिक बाताबरणमा बसेर हेर्न सकिने सम्बाद अनि दृश्य यो सिनेमाको अर्को सबल पक्ष हो ।
हिजो आज हास्य व्यंग , उच्छिन्ख्ल सम्बाद / दृश्य ,राजनीतिक व्यंग , नेताहरुलाई गालि मान / मर्दन मात्र प्रहसन हुने माहोलमा , नग्नता र भद्दा मजाक अश्लिन दृश्यबिना पनि उत्कृष्ट सिनेमा निर्माण गर्न सकिन्छ भन्ने संदेश समेत यो सिनेमाले बोकेको छ ।
यसरी हेर्दा पुरा नेपाली समाज नै सारंगी मय भएको समयमा राज्यले पनि समाबेशी शिक्षा नीतिमा आमुल परिबर्तन ल्याउन जरुरि देखिन्छ । ताकी आफ्ना मुटुका टुक्रा सन्तानको शिक्षा दीक्षामा सिनेमामा देखाए जस्तै हरेक पूर्ण बहादुरले जिउने आधार “सारंगी” नै बेच्न नपरोस् । साथै यस सिनेमाको अपार सफलतापछि यसका निर्माताले इज्जत धन राशीको समेत ध्यान राख्दै , सिनेमामा देखाइएको लक्षित बर्ग गन्धर्व जातिको शिक्षामा केहि प्रतिशत लगानी गरि एक ऐतिहासिक सत्कर्मको थालनी गरेमा भोलिका दिनमा बन्ने सिनेमा र निर्माताका लागि समेत उत्प्रेरणाको श्रोत हुन सक्छ ।
दीपक पन्त
मिल्वाकी ,अमेरिका
प्रतिक्रिया