टेकराज भट्टराई निर्बिरोध निर्वाचित

बेद प्रसाद घिमिरे २०८१ मंसिर ३ गते ०:४२ मा प्रकाशित

जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आइतबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा जिल्ला समन्वय समितिको प्रमुखका लागि भट्टराईको मात्रै उम्मेदवारी परेको थियो । जिल्ला सभामा कांग्रेसको एकलौटी बहुमत रहेको कारण अन्य दलहरूले उम्मेदवारी नै दिएनन् ।

जसकारण भट्टराई निर्विरोध निर्वाचित भए । कांग्रेस उम्मेदवार भट्टराईलाई निर्विरोध निर्वाचित गर्न सहयोग पुर्‍याएको भन्दै कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अन्य दलहरूप्रति धन्यवाद ज्ञापन गरेका छन् भट्टराई पार्टीको जिल्ला कार्यसमितिका पूर्वसचिव तथा महाधिवेशन प्रतिनिधि हुन् । यसअघि जिल्ला समन्वय समितिको प्रमुख रहेका डिल्लीराम खनालको क्यान्सरका कारण उपचारका क्रममा ०८० असोज १३ गते निधन भएको थियो । खनाल पनि कांग्रेसबाटै निर्वाचित थिए।

प्रतिक्रिया