दुर्गा प्रसाईको प्रधानमन्त्रीमाथिको आरोप: अभिव्यक्तिको स्वतन्त्रता कि अराजकताको पराकाष्ठा ? 

मदन बस्नेत २०८१ मंसिर ५ गते २२:४४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले कान्तिपुर कन्क्लेभको मंचबाट भ्रस्टाचार पनि गर्दिन, गर्नेलाई पनि छाड्दिन भनेको केही दिन बित्न नपाउँदै उनै प्रधानमन्त्री ओलीमाथि कम्बोडियाको टेलिकम कम्पनीमा साढे ३२ अर्ब लगानी गरेको आरोप बिबादास्पद ब्यबसायी दुर्गा प्रसाईले लगाएपछी नेपाली जनमानसमा ठुलै हल्लिखल्ली मच्चिएको छ्।

प्रसाईको उक्त दाबी भ्रामक, झुठो र कपोलकल्पित मात्र हैन किर्ते र जालसाजपूर्ण रहेको भन्दै केन्द्रीय अनुसन्धान व्युरो सीआईबी ले उनलाई सामाजिक सन्जालमार्फत् अफवाह फैलाएको आरोपमा छानबीन को लागि पक्राउ गरिसकेको छ तर प्रधानमन्त्री ओली र उनको दल एमालेलाई सामाजिक संजालहरुमा गाली गर्नेहरुको ओईरो भने थामिनसक्नु लागेको छ्। सामाजिक संजालमा देखिएको गाली र नकारात्मक टिप्पणी लाई आधार मान्ने हो भने हाम्रो समाज यथार्थवाद भन्दा अफवाहवादमा रमाउँदो रहेछ भन्ने प्रमाणित हुन्छ्।

माओबादी छाडेर एमालेमा आएका दुर्गा प्रसाईले प्रचण्ड र उनको माओबादी पार्टीको बिरोधमा भए नभएका अनर्गल आरोप लगाउँदा एमालेले त्यस्तो अवान्छित कृयाकलापलाई रोक्न कहिल्यै आवश्यक ठानेन, माओबादीलाई खुचिंग गरेर बस्यो। चितवन महाधिबेशन पछी त दुर्गा प्रसाईँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्दृय सदस्य नै मनोनित गरे। पार्टीमा लामो समयदेखि लागेका, संगठनमा नीरन्तर काम गरेका, सक्षम, योग्य, खाँटी एमाले कार्यकर्तालाई पाखा तिर पन्छाएर दुर्गा प्रसाईलाई काँधम बोक्ने डरलाग्दो प्रवृत्ति ओली आफैले हुर्काएका थिए। त्यसरी आफ्ना कार्यकर्तालाई तिरस्कार गरेर पैसा भएका जोसुकैलाई पद दिने, निर्वाचनको टिकट बाँड्ने ओलीको मनोमानी रवैया कै परिणाम हो, दुर्गा प्रसाई को मैमत्ता र उनको अराजक प्रबृती।

दुर्गाप्रसाईको पछिल्लो हर्कतले कुकुरलाई धेरै माया गरे आफ्नै अनुहार चाट्छ भन्ने लोक उक्त्तीलाई चरितार्थ गरेको छ्। तिनै प्रसाईले यतिखेर कम्बोडिया काण्डको बबन्डर मच्चाएर सिंगो एमालेजनलाई ‘थाल खाऊँ न भात खाऊँ’को अवस्थामा पुर्याईदिएको छ्। हिजोका दिनमा माओबादीका बिरुद बोल्दा अ्मिलो मन बनाएर बसेका माओबादीहरु यतिखेर दुर्गा प्रसाई कै कारण एमालेको यस्तो स्थिति देखेर काखि बजाईरहेका छ्न्।

फेक न्युज फैलाउने, अनर्गल आरोप प्रत्यारोप गर्ने, अरुको बदनाम गर्ने, छवि बिगार्ने, मानमर्दन गर्ने, अराजक , उदण्ड र अतिवादी ब्यक्ति वा समुह जो कोही भएतापनि तिनलाई निस्तेज गर्नै पर्थ्यो, । एउटा अराजक र भ्रामक खबर उत्पादन गर्ने फ्याक्ट्री नै बनिसकेका प्रसाई माथि नियन्त्रण गरेर सरकारले त्यसको राम्रो सुरुवात गरेको छ, सरकारले जे गर्यो, एकदम ठिक गर्यो।

प्रधानमन्त्रीकै विरुद्धमा कपोलकल्पित, हावादारी र आपराधिक अफवाह फैलाउनेलाई राज्यले छुट दिने कुरा हुन्न तर त्यसरी सार्बजनिक रुपमा औला ठड्याई सकेपछी त्यसको छिनोफानो भने बिधि सम्मत ढंगले गर्नै पर्ने हुन्छ्। विश्वसनीय छानबीन र अनुसन्धान गरेर दुधको दुध पानीको पानी छुट्याउनै पर्ने हुन्छ्। प्रसाईले आफुले बोलेका दाबी गरेका कुरा कि त प्रमाणित गरेर देखाउनु पर्छ नत्र भने कानून बमोजिम सजायको भागिदार हुनै पर्छ्। आलटाल गर्ने, सामान्य माफिनामा लेखाउने र दुनियाँ छ्क्याउने प्रबृती अब सदाकालागि बन्द हुनुपर्छ्।

कुनैपनि लोकतन्त्रवादी, न्यायप्रेमी, व्यक्तिले फेक न्युजलाई समर्थन गर्दैन्। झूट र भ्रम फैलाउने, जालसाजी गर्ने, बिनाकारण गाली बेइज्जती गर्ने र साइबर बुलिङ गर्ने तत्वहरूलाई कुनै किसिमको छुट दिनु हुँदैन्। त्यस्ता अराजक तत्वलाई बेलैमा चिनेर नियन्त्रित नगरे समाज त खाल्डामा पर्छ नै, सिंगो समाज नै मनपरितन्त्रको दलदलमा फस्न पनि पुग्छ्। दुर्गा प्रसाईले जे गरे त्यो अभिब्यक्तिको स्वतन्त्रता होइन, अराअकताको पराकाष्ठा हो।

दुर्गा प्रसाईका यो पछिल्लो प्रधानमन्त्री केन्दृत अभिव्यक्ति मात्र हैन उनका यस अघिका सबै अभिब्यत्तिहरु स्तरहिन, अमर्यादित र अराजक मात्र छैनन्, असन्तुलित र समाजलाई दिग्भ्रमित पार्ने खालका नै छन् । तर उनै प्रसाईलाई सरकारी निकाय, कतिपय मिडिया, प्रमुख विपक्षी दल र नेताहरुले चाहिने भन्दा धेरै महत्व र प्रश्रय दिएकै कारण र आफ्नो स्वार्थ अनुकुल उपयोग गरेकै कारण उनी अनावश्यक रुपमा होसिएर आजको अराजक र उशृंखल अबस्थामा आईपुगेका हुन्।

के अब उनलाई यही साईबर अपराध र किर्ते मुद्दामा मात्र छानबीन हुन्छ कि उनले गरेका सारा वित्तिय अपराधको कसुरमा पनि छानबीन हुन्छ ? एमालेको मंसिर ७ को प्रदर्शन सकिए लगत्तै उनी कतै रिहा हुने त हैनन ? प्रसाई लाई सरकारले राजनितिक रुपमा मात्र डिल गर्छ कि उनको बित्तिय अराजकतालाई पनि किल गर्छ ?

कथमकदाचित किर्ते र साईबर अपराधमा मात्र उनलाई कारवाही चलाउने निर्णयमा सरकार पुग्यो भने त्यो उनलाई कारवाही हैन बित्तिय अपराधबाट उन्मुक्ति दिएको ठहरिनेछ्। सरकारले के गर्छ, उनलाई कसरी डिल गर्छ, यी सबै प्रश्नहरुको उत्तर पाउन अलि दिन कुर्नै पर्ने भएको छ्।

दुर्गा प्रसाई अरु सामान्य टोले गुन्डा वा युट्युबमा बर्बराउने भाईरल पात्र हैनन, उनी मुलुकको दुई ठुला कम्युनिस्ट पार्टीका शिर्स नेता ओली र दहाललाई मार्सीको भात खुवाउने हैसियतका उपल्लो तहका विवादास्पद छविका कुख्यात व्यवसायी हुन् ।

मनपरी बोल्नु, युवाका अगाडि उत्तजनात्मक कुरा गर्नु तथा उद्दण्ड र अनैतिक बन्नु उनको खास विशेषता हो भन केही पत्रकार र युट्युबरलाई खल्तीमा राखेर हिँड्ने अनि जुनबेला जहाँसुकै जे मनलाग्छ, त्यही बोलिहाल्ने उनको बानि नै हो।

सुरुमा माओबादी र पछी एमाले र त्यसपछि राजाबादी बनेर सत्ता, शक्ति र सम्पत्तिको बलमा झापाको बिर्तामोडमा रहेको आफ्नो स्वामित्वको बी एन्ड सी अस्पताललाई शिक्षण अस्पतालको अनुमति दिलाउन उनी दिलोज्यान दिएर लागेका थिए । तर, चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीका कारण उनको अस्पतालले अनुमति पाएन । हालाकी अदालतको आदेशले अहिले उनले अनुमति पाईसकेको अबस्था छ्।

मेडिकल क्षेत्रमा मात्र हैन, उनको होटलदेखि मिडिया क्षेत्रसम्म ठूलो लगानी छ । उनीमाथि हुन्डी कारोबारमा पनि संलग्न रहेको आरोप छ । जग्गा धनीपुर्जा किर्ते गरेको आरोप पनि छ ।

हाल सम्मको उनको ऋण को कुरा गर्ने हो भने त त्यो ऋण साढे ५ अर्ब भन्दा बढी कटिसकेको छ्। यति धेरै ऋण लिएका उनी आफुले मात्र हैन अरु सर्वसाधरण जनतालाई समेत बैंकको सावा ऋण ब्याज नतिर्न आन्दोलन नै गरिरहेका हुन्छ्न्।

दुर्गा प्रसाईले आठ करोडको जग्गालाई देखाएर एक अर्ब ७४ करोड रीन लिएको तत्य उजागर भएको बर्सौ भैसक्यो तर त्यस उपर कहिल्यै अनुसन्धान हुन सकेन्। के यो सरकार त्यो पुरानो फाईल पल्टाउने मुडमा छ ?

भूमिसुधार तथा मालपोत कार्यालय, भद्रपुरमा २०७७ साउन २ गते प्रसाईंले अनारमनी-३ (बिर्तामोड) को १८ आना जग्गा आठ करोड रुपैयाँ थैली रकम कायम गरेर दुर्गा प्रसाईले बिक्री गरेको जग्गा दुर्गा प्रसाईंकै स्वामित्वको बीएन्डसी अस्पतालले किन्दा त्यतिखे ठुलै घोटाला र बेईमानी गरेको तथ्य भेटिन्छ्।

अचम्म त के भने त्यसरी किनबेच भएको दुई दिनपछि २०७७ साउन ४ गते सोही जग्गा चार वटा ब्यांक तथा वित्तीय संस्थामा धितो राखी अस्पतालले एक अर्ब ७४ करोड रुपैयाँ ऋण लियो। अर्थात्, दुई दिनको फरकमा जग्गाको मूल्य रजिस्ट्रेशन गर्दाको भन्दा २२ गुणा बढी मूल्याङ्कन गरियो।

के अब उनलाई यही साईबर अपराध र किर्ते मुद्दामा मात्र छानबीन हुन्छ कि उनले गरेका सारा वित्तिय अपराधको कसुरमा पनि छानबीन हुन्छ ? एमालेको मंसिर ७ को प्रदर्शन सकिए लगत्तै उनी कतै रिहा हुने त हैनन ? प्रसाई लाई सरकारले राजनितिक रुपमा मात्र डिल गर्छ कि उनको बित्तिय अराजकतालाई पनि किल गर्छ ?

यस्तो खुलेयाम अनियमितता हुँदा न त मालपोत कार्यालयले चासो देखायो, न त कर कार्यालयले नै कारवाही गर्न आवस्यक ठान्यो। तात्कालिन सरकार कानमा तेल हालेर बस्यो। छ्।के त्यो जग्गा खरिद बिक्रि गर्दाको घोटालाको सत्यतथ्य छानबीन गर्न यो सरकारले हिम्मत देखाउला त ?

राजनीतिक शक्तिको दुरुपयोग मार्फत चर्चामा आएका व्यवसायी दुर्गा प्रसाईंले जग्गा किनबेचमा कर छल्ने र ऋण लिंदा ब्यांकिङ कसूर हुने चलखेल गरेको भए पनि उनीमाथि अहिलेसम्म कुनै किसिमको छानबिन गरिएको छैन्। बरु उल्टै उनले ब्यांक तथा वित्तीय संस्थाको ऋण नतिर्ने अभियानको नेतृत्व गरेका व्यवसायी प्रसाईंले वित्तीय क्षेत्रमा अस्थिरता निम्त्याउने आराजकताबादी कृयाकलाप खुलेयाम रुपमा गर्दै आएको जगजाहेर नै छ्।

उनले वित्तीय प्रणालीलाई ललकारेर आतंकित मात्रै पारेका छैनन्, ऋण उठाउन आउने ब्यांकरलाई मोसो दल्न उक्साएर समग्र बित्तिय क्षेत्रमा सिधा सिधा धावा बोल्ने हर्कत पनि गरेकै हुन्। ब्यांकरहरू मात्रै होइन, वित्तीय प्रणालीको नियामक नेपाल राष्ट्र ब्यांकका अधिकारीहरूलाई धम्क्याउने र तर्साउने काम पनि खुलेयाम गरेकै हुन्। त्यसरी बित्तिय आतंक मच्याउँदा पनि उनलाई नियन्त्रण गर्ने कोही भएन, बरु उल्टै हौसाउनेहरु नै धेरै भेटिए।

बर्सौं अगाडी प्रसाईंले जग्गा धितो राखेर ऋण लिंदा कर छली गरेको हुन सक्ने अथवा ब्यांक तथा वित्तीय संस्थासँग मिलेर धितोको अधिक मूल्याङ्कन गराई निक्षेपकर्ताको रकम दुरुपयोग गरेको हुन सक्ने महालेखा परीक्षकको कार्यालयले औंल्याएको हो तर उनीमाथि न त कसैले छानबीन गर्यो न त कारवाही गर्ने कसैले आँट नै गर्यो। बरु उल्टै उनले राजा ल्याउने र यो ब्यबस्था नै उल्ट्याउने र सबै दलका नेताहरुलाई जेलमा कोच्ने भनेर राजनितिक अभियान र देशब्यापी प्रदर्शनमा उत्रीए। बिडम्बना रातारात उनी राजनितिक अभियन्ता बन्न पुगे।

योजनाबद्ध ढंगले अराजकता सिर्जना गरेर धमिलो पानीमा माछा मार्न खोज्ने अवसरवादी सोच उनमा त्यही कारण उब्जिएको हो र राज्यको अकर्मण्यता कै परिणाम उनमा आज राजनीतिक स्वार्थका लागि फर्जी कागजपत्रमा झुटा विवरण लेखेर देशको प्रधानमन्त्रीको अपमान गर्ने आँट आएको हो।

त्यसैले यस्तो गलत प्रवृत्ति लाई कसैले पनि कहिं कतैबाट पनि प्रोत्साहन दिनु हुन्न, कानून अनुरुप कारवाही गर्नै पर्छ्। हेरौं सरकारले उनलाई कारवाही गर्ने हिम्मत जुटाउँछ कि, सामान्य तारेख थमाएर मुद्दा डिसमिस पार्छ ?

वित्तीय अपराधको मुद्दामा प्रसाईंलाई पक्राउ गरेमा उनले लिएको अर्बौँ रुपैयाँको ऋण उठाउन सबै बैंकहरुलाई मुस्किल पर्छ भन्ने बुझाई भएर पो हो कि वा उनको धितो कब्जा गरेर अर्बौँ रुपैयाँ बराबरको ऋण उठन नसक्ने भएर पो हो कि? सबैको मुखमा दही जमेको स्थिति छ्। के सरकारले यो स्थितिलाई तोड्ने हिम्मत देखाउला ? प्रसाईँ बिरुद्द सरकारले किर्तेसहित साईबर अपराधको मुद्दा मात्र लगाउला कि बित्तिय अपराध र सम्पत्ति शुद्दीकरणको कसुरमा पनि अनुसन्धान गर्ला ?

मदन बस्नेत ।

प्रतिक्रिया