सत्तारुढ प्रमुख दल नेकपा एमालेले आफ्नै दलका अध्यक्ष सरकारको कार्यकारी हैसियतमा भएको अबस्थामा अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस प्रदर्शन गरेर जग हँसाई गरेको छ्।
सरकारको नेतृत्व गरिरहेका एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनताका पक्षमा काम गर्ने हो न कि बिद्रोही पार्टीको नेताले जस्तो सडकमा उत्रिएर कडा, आक्रमक र धम्कीपूर्ण अभिब्यक्ति दिने हो । आफै सरकारको नेतृत्व गर्ने अनि आफैं सडकमा ओर्लिएर प्रदर्शन गर्ने ? यो एउटा जिम्मेवार सरकार प्रमुखलाई सुहाउने काम पटक्कै हैन्।
सडक प्रदर्शन गरेर जसरी सरकारले आफ्ना बिरोधमा बोल्नेहरुलाई सडकबाट काउण्टर गर्न खोजेको छ, त्यसले लोकतन्त्रको उपहास गरेको छ र राजनितिक मर्यादाको खिल्ली उडाएको छ्।
सत्तामा बसेर प्रतिपक्ष जस्तो बन्न खोज्ने एमालेको रहरले न उ सरकार जस्तो देखियो न त प्रतिपक्षी नै ठहरियो। एमालेको यस्तो न हाँसको चाल, न त कुखुराको चालले उसलाई राजनितिक नाफा भन्दा घाटा हुने निश्चित छ्।
बिपक्षी दलहरु सडकमा आएर सरकार बिरुद नाराजुलुस गरे भन्दैमा त्यसको प्रतिकार गर्ने शैलीमा सत्तासिन दल एमाले पनि सडकमै ओर्लेर त्यसरी शक्ती प्रदर्शनको नाममा सत्ताको तुजुक देखाई राख्न जरुरी थिएन्।
सभाबाट एमाले नेताहरुले जे बोले, प्रधानमन्त्री ओलीले जे जस्तो आक्रोश ब्यक्त गरे, त्यतिकालागी पार्टी कार्यकर्ता सडकमा उतार्न जरुरी थिएन्। एउटा पत्रकार सम्मेलन गरेर पार्टी प्रवक्ताले पार्टीको धारणा राख्दा हुन्थ्यो।आफै कार्यकारी प्रधानमन्त्री अनि आफै सडकमा आएर चीन भ्रमण, सहकारी ठगी र कम्बोडियामा लगानीबारे आक्रोशपूर्ण प्रष्टोक्ति दिने कुरा सरकारको नेतृत्व गरेको दललाई गर्न सुहाउने बिषय होईन्। प्रधानमन्त्रीलाई मुखको तीतो पोख्न मन लागेकै थियो भने मुलुकका बिभिन्न क्षेत्रहरुमा हुनलागेको कुनै एउटा निर्वाचन क्षेत्रको चुनावी सभालाई रोजेको भए भैहाल्थ्यो, जनताको दैनिकी नै चौपट पारेर राजधानीको सडक अबरुद्द पारीरहनु जरुरी नै थिएन्।
अहिले मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महंगी, बेरोजगारी, बैदेशिक रोजगारको आदी ईत्यादी समस्या टड्कारो देखिएको छ्। त्यसको समाधान कसरी गर्ने भन्ने बहस र छलफल गाउँदेखि शहरसम्म, चिया दुकानदेखि तारे होटलसम्म, स्कुलदेखि कलेजसम्म र सबै सभा गोष्ठी र सेमिनारमा हुनु पर्थ्यो। सरकारले त्यसकोलागी सबैसंग आव्ह्वान गर्नु पर्थ्यो न कि सडकमा शक्ति प्रदर्शन्।
समाजमा बढ्दो बेथितिविरुद्ध आफ्ना नेता कार्यकर्ता परिचालन गर्नु नराम्रो हैन तर सत्तारुढ दल हुनुको नाताले उनीहरुलाई सडकमा नारा जुलुस गर्न लगाएर हैन, जनताको घरघर र बस्तिबस्तीमा पठाएर गर्नु पर्थ्यो। एमालेको अहिले सम्प्पूर्ण ध्यान सडकबाट बिरोधि दलहरुलाई काउन्टर दिन तिर हैन जनतालाई डेलिभरी दिने, सुशासन दिने र बिकासको कार्यलाई गति दिने तिर हुनुपर्थ्यो।
नागरिकको दैनिकी नै प्रभावित हुने गरी सरकारमा रहेको दलले आफ्नो तागत र शक्ती देखाउन काठमाडौं भक्तपुर र ललितपुरबाट मान्छे ओसारेर सडकमा ताण्डब देखाउनुको सट्टा सरकारको काम कारवाही र कृयाशिलतालाई चुस्त दुरुस्त र प्रभावकारी बनाएर जनमैत्री कामहरु गरेर देखाएको भए त्यसको चौतर्फी तारिफ हुने थियो। आफै सरकारको नेतृत्व गर्ने अनि आफै सडकमा नारा जुलुस गर्दै हिंड्ने यस्तो दोग्ला चरित्र र प्रबृती एउटा जिम्मेवार पार्टीलाई सुहाउने कुरा होईन्। सत्तामा रहेको पार्टीले शक्ति देखाउने होइन, काम देखाउने हो। नसके कुर्सी छोड्ने हो।
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि मंसिर ७ मा प्रदर्शन गर्ने तयारी गरेका थिए। हालाकी उनी पक्राउ परेपछी त्यो प्रदर्शन त्यति प्रभावकारी हुन सकेन तर प्रसाईले प्रदर्शन गर्ने मिति मंसिर ७ तय भएकै दिन एमालेले पनि सभाको गर्नुले कतै एमाले दुर्गा प्रसाईसंग प्रतिस्पर्धा गर्ने तहमा पुगेको हो त भन्ने प्रश्न खडा भएको छ्।
एमालेले यतिबेला मात्र नभएर यसअघि २०८० मंसिर ७ मा पनि प्रसाईंले आन्दोलन गरेकै दिन काठमाडौंमा प्रदर्शन गरेको थियो। र त्यसको प्रतिकारात्मक कार्यक्रम गरेर उनलाई काउन्टर पनि दिएको थियो। यसपटक पनि कतै त्यही नियति त दोहोर्याउन खोजेको त हैन भन्ने प्रश्न खडा भएको छ्।
अराजकता नियन्त्रणमा सरकारको प्रथम भूमिका हुन्छ भन्ने जो कसैलाई पनि थाहा छ्। र एमालेले नै सरकारको नेतृत्व गरिरहेको अबस्थामा त्यो सभा कसलाई देखाउन गरिँदै छ भन्ने प्रश्न उठ्नु स्वाभाविकै नै हो। फेरी एमालेले काठमाडौंमा आयोजना गरेको कार्यक्रमका कमान्डर राजन भट्टराई नै एक्कासी कम्बोडिया हानिएका छन्। कुरा के हो? आशंका झनै बढाएको छ र बलेको आगोमा त्यसले घिउ थपेको छ्।
कार्यक्रमको मूख्य संयोजक नै कार्यक्रमबाट गायब ? रातारात कम्बोडिया ? एमालेमा अरु सक्षम नेता कार्यकर्ता छैनन कम्बोडिया जान ? यता दुर्गा प्रसाई कराउनु र उता राजन भट्टराई आफ्नै संयोजक भएको जनसभालाई छाडेर कम्बोडिया उछिट्ट्नु भनेको बाघ कराउनु र बाख्रा हराउनु भने जस्तै भएको भएन र ? के यो फगत एउटा संयोग मात्र हो त ? यसबाट जनतामा जागरण हैन, थप आशंका उब्जाएको छ्।
यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि त्यस पार्टीका नेताहरू कार्यकर्ताहरू सडक आन्दोलनमा रहेका छन्। नेकपा माओवादी सरकारबाहिर रहेदेखि नै सरकारको नीति तथा नियतमाथि प्रश्न गरेर आन्दोलनको माहोल बनाइरहेको छ। माओवादीले भ्रष्टाचार र बेथितिविरुद्ध १० कात्तिकमा काठमाडौंमा खबरदारी सभा गरेको थियो। राप्रपा जनसभा गर्दै जिल्ला भ्रमण गरिरहेको छ्। सहकारी पिडित बचत फिर्ताको माग गर्दै आन्दोलनरत छ्न्।
यसरी सबैजसो विपक्षी राजनीतिक पार्टीहरूले खास गरी भ्रष्टाचार र सुशासनको मुद्दामा सरकारमाथि सार्वजनिक रूपमै दबाब बढाई रहेको बेला सरकारको नेतृत्व गरिरहेको दल पनि पाखुरा सुर्काउँदै त्यसको काउन्टर सडकमा ओर्लनु कत्तिको जायज हो ?
आफ्नै पार्टी अध्यक्ष प्रधानमन्त्री अनि आफ्नै पार्टीका नेता कार्यकर्ता सडक प्रदर्शनमा ? के यो कहिं नभएको जात्रा हाँडि गाउँमा भने जस्तो भएन र ?
एमालेले आफ्नो सडक प्रदर्शनलाई जनजागरण भनेर जतिसुकै दाबी गरेतापनि प्रतिपक्षी दलका ती सबै खाले आन्दोलन, जनसभा र प्रदर्शनलाई सिधासिधा काउन्टर दिन खोजेको नै हो भन्ने स्पस्ट बुझिन्छ्। यो एमालेको सत्ता र सडक दुबै तिर एकछत्र कब्जा जमाउने रणनीती हो भन्ने प्रमाणित भएको छ्।
एमालेको शुक्रबारको जागरण सभाले जनतामा के कति जागरण जगायो त्यसको हिसाबकिताब हुन नपाउँदै काठमाडौंका मेयर बालेन शाहले भने उक्त सभा र जुलुसका कारण काठमाडौंमा अनावश्यक फोहर थुप्रिएको भन्दै एमालेलाई एक लाख रुपैंया जरिवाना तिर्न काटेको रसिदले राजनितिक माहोललाई एक्कासी गर्माईदिएको छ्।
नेकपा एमालेको सडक प्रदर्शनको औचित्य ‘राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण हो भन्ने दाबीमा अलिकता पनि सत्यता भएको भए उपनिर्वाचनको माहोल तातेको बेला उ सडकमा हैन, जनताको घर दैलोमा पुगेको हुने थियो। तर उ जनताको घरबस्तीमा जागरण गर्न हैन बिपक्षीलाई तह लगाउन सडकमा उर्लिएको छ्। अनि विडम्बना, आफ्नै नेता कार्यकर्ता बटुलेर सडक सभामा प्रधानमन्त्री स्वयमलाई प्रमुख वक्ता बनाईरहेको छ्। सरकारको नेतृत्व लिएको दलले सरकारमा बसेर जनताको पक्षमा काम गरेर देखाउने कि सडकमा उत्रिएर बिपक्षीहरुसंग कि तँ छैन कि म छैन भनेर घम्साघम्सी गर्ने ? गम्भिर प्रश्न खडा भएको छ्।
सडकमा एमालेले उठाएको अराजकता नियन्त्रणको सवालको प्रभावकारी कार्य सम्पादन गर्ने जिम्मा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको हो। समाजमा ब्याप्त अराजकता र बेथितिको जस अपजस अरुको थाप्लामा हाल्न खोजेर हुन्न, सरकारको नेतृत्व गरेकाले एमालेले आफ्नै थाप्लाको जिम्मेवारी हो भन्ने बोध गर्नु पर्छ्।
आफै सरकारको नेतृत्वमा भएको बेला त्यसरी सडकमा ओर्लनु भनेको आफ्नै जिम्मेवारीमा रहेको कार्य कुशलतापूर्वक सम्पादन गर्न नसकेको भन्ने अर्थ लाग्छ । सरकारमा बसेर जे गर्नु पर्ने हो त्यो नगर्ने तर सडकमा भिड जम्मा गरेर तमासा देखाउने एमालेको काम जति हास्यास्पद छ र त्यति नै लज्जास्पद पनि छ्। आफैं सरकार अनि आफै प्रदर्शनकारी ? आफैं बोक्सी अनि आफैं झाँक्री ? यो एमालेको सडक प्रदर्शन हो कि प्रहर्सन ?
देशमा अराजकता छ, अराजकता दिनप्रतिदिन बढी रहेको छ भन्ने चिन्ताले एमालेलाई सताएको हो यदि भने त्यस्तो अराजकताविरुद्ध जनजागरण भनेर सडक प्रदर्शन गर्ने हो कि त्यस्तो अराजकतालाई नियन्त्रण गर्न नसक्ने आफ्नै दलका अध्यक्ष कमरेडलाई घेर्न बालुवाटार जाने, गर्नु पर्ने के हो?
सत्ताधारी राजनीतिक दल जनतामा जाने हो, सडकमा हैन्। एमालेलाई जागरण सभा गर्न रहर लागेकै हो भने सडकमा कार्यकर्ता उतार्ने हैन, जनताको घरदैलोमा जाने हो। जनताको समस्या बुझ्ने हो, टिपोट गर्ने हो।स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार जहाँ जहाँ आफ्नो सत्ता छ, सरकार छ त्यहाँ पुगेर जनताको अहिलेको माग र अबस्था यस्तो छ भनेर बुझाउने र तदानुरुपको बिकासको कार्यक्रम तर्जुमा गर्न दबाब दिने हो। तर यहाँ त सडकमा उत्रिएर पाखुरा सुर्क्याउने काम भएको छ्।
सडक, सदन र सत्ता सबै तिर एकछत्र कब्जा गर्ने ओली रहरलाई एमाले कार्यकर्ता बिना प्रश्न पूरा गर्न किन तछाडमछाड गरिरहेका होलान ? आम जनता एमाले कार्यकर्ताको यो हविगत देखेर तिन छ्क्क परेका छ्न्। एमालेजनको यस्तो उदेक लाग्दो हविगतलाई नेपाली जनताले काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिरको संज्ञा दिएका छ्न्।
एमालेको शुक्रबारको जागरण सभाले जनतामा के कति जागरण जगायो त्यसको हिसाबकिताब हुन नपाउँदै काठमाडौंका मेयर बालेन शाहले भने उक्त सभा र जुलुसका कारण काठमाडौंमा अनावश्यक फोहर थुप्रिएको भन्दै एमालेलाई एक लाख रुपैंया जरिवाना तिर्न काटेको रसिदले राजनितिक माहोललाई एक्कासी गर्माईदिएको छ्।
-मदन बस्नेत।
प्रतिक्रिया