धन्यवाद दिवस: ऐतिहासिक, सांस्कृतिक, र सामाजिक पक्ष

डा.नरेन्द्र राज तिवारी २०८१ मंसिर १३ गते १८:५६ मा प्रकाशित

जसरी नेपालमा नागेपंचमीलाई चाडपर्बहरूको शुरुआत मानिन्छ, त्यस्तै अमेरिकामा नोभेम्बर महिनामा मनाइने धन्यवाद दिवसलाई चाडपर्बहरूको  शुरुवातको रूपमा मानिन्छ। बिशेषत: अमेरिकामा चाडपर्व लाई पारिवारिक र सामाजिक भेलाका आधारमा परिभाषीत गरिन्छ। यसरी हेर्दा अक्टूबर महीनाबाट सुरू हुने हालोविनलाई विशेषत: नोभेम्बर र डिसेम्बरका मुख्य चाडहरूको पूर्व संध्याका रूपमा लिइन्छ । अमेरिकामा धन्यवाद दिवसको महत्व  केवल चाडपर्वको रूपमा मात्र नभएर ऐतिहासिक, सांस्कृतिक र सामाजिक आधारमा पनि धेरै गहिरो छ।

अमेरिकामा धन्यवाद दिवसको प्रचलन सन् १६२१ को घटनासंग संबन्धित छ  । जब पहिलो यूरोपेली आप्रवासीहरू —पिल्ग्रिमहरू— ले नयाँ संसार (आजको अमेरिका) मा पहिलो फसल जोहो  गर्न सफल भए ,सोही अवसरमा—उनीहरूले आफ्नो कष्टपूर्ण यात्रा र चुनौतीपूर्ण जीवनको बाबजुद, स्थानीय नेटिभ अमेरिकन (वानपानोआग समुदाय) को सहयोगको सम्मान गर्दै एकसाथ भोज आयोजना गरे। तर, यो इतिहास केवल सहयोग र सामुदायिक भावनासँग मात्र सम्बन्धित छैन। यो घटनाले, अर्कोतर्फ, अमेरिकामा उपनिवेशवादको अध्यायलाई पनि  उजागर गर्दछ, जसका कारण धेरै नेटिभ समुदायहरू विस्थापित र पीडित भए।

अमेरिकामा धन्यवाद दिवस आज परिवार र समाजलाई नजिक ल्याउने माध्यम बनेको छ। मानिसहरू आफ्नो परिवारसँग समय बिताउने, परम्परागत खानेकुरा जस्तै टर्की, कद्दू पाइ, र अन्य परिकार तयार गर्ने, र कृतज्ञता व्यक्त गर्ने, विगतलाई मूल्यांकन गर्दै भविष्यलाई सुन्दर बनाउने अबसरका रूपमा यसलाई मनाउँछन्।

अमेरिकामा धन्यवाद दिवसमा प्रायः परम्परागत रूपमा खाने खानेकुराहरूमा टर्की (Turkey), म्यास्ड पोटाटो (Mashed Potatoes) – उमालेको आलु लाई म्यास (छिलेर) गरी तयार पारिएको परिकार, ग्रेवी (Gravy) – टर्कीको रसबाट बनेको तरल परिकार, म्यास्ड पोटाटो र टर्कीमा हालेर खाने, स्टफिङ (Stuffing) – टर्कीको भित्र वा अलग पकाइने मसालेदार ब्रेड मिश्रण, क्र्यानबेरी सस (Cranberry Sauce) – अमिलो र गुलियो स्वादको चटनी, कद्दूको पाई (Pumpkin Pie) – मिष्ठान्नको रूपमा तयार पारिने परिकार, मकै (Corn) – पकाइएको वा ग्रिल गरिएको मकै, हरियो सिमीको परिकार (Green Bean Casserole) – हरियो सिमी, फ्राइड अनियन र क्रिमयुक्त सूपबाट बनेको परिकार, बटर रोल (Butter Rolls) – मक्खनयुक्त नरम रोटी, सखरखंड (Sweet Potato Casserole) – सखरखंड र मार्शमेलो राखेर तयार गरिने परिकार, पर्छन्। यी परिकारहरू धन्यवाद दिवसमा धेरै लोकप्रिय छन् र विशेषत: परिवारसँग बसेर भोजन  गरिन्छ।

तत्कालीन राष्ट्रपति अब्राहम लिंकनले गृहयुद्धको बीचमा राष्ट्रलाई एकताबद्ध राख्नका लागि यस दिवसलाई राष्ट्रिय चाडका रूपमा घोषणा गरेका थिए। यसपछि, सन् १९४१ मा अमेरिकी कांग्रेसले औपचारिक रूपमा हरेक वर्ष  नोभेम्बर महिनाको चौथो बिहीबार धन्यवाद दिवस मनाउने निर्णय गर्दै यसलाई राष्ट्रिय बिदा बनायो

धन्यवाद दिवसको ऐतिहासिक कथा सधैं सकारात्मक मात्र पनि छैन। नेटिभ अमेरिकन समुदायहरूले विगतको ऐतिहासिक अन्याय र पीडाको कारण यस दिनलाई “राष्ट्रीय शोकको दिन” भनेर पनि हेर्छन्।वास्तवमा , यो दिन उनीहरूलाई युरोपियन आप्रवासीहरूले उनीहरूको भूमिमा कब्जा गरेपछि भएको सांस्कृतिक विनाश, नरसंहार, र उत्पीडन सम्झाउने दिनका रूपमा पनि चित्रित छ । उदाहरणका लागी जब पहिलो धन्यवाद दिवस १६२१ मनाइयो , भनिन्छ त्यसपछि केही दशकभित्र नै नेटिभ अमेरिकनहरूको भूमिलाई जबरजस्ती कब्जा गरियो, र उनीहरूको जनसंख्यामा ठूलो गिरावट आयो। त्यसैगरी, “पिलग्रिम्स” भनिने आप्रवासीहरूले नेटिभ अमेरिकनहरूसँग प्रारम्भिक समयमा शान्तिपूर्ण सहकार्य गरे पनि, विस्तारै तिनीहरूको भूमिमा कब्जा गर्न थालेपछी नेटिभ अमेरिकनहरूको परम्परा, जीवनशैली, र संस्कृतिमा ठूलो क्षति पुर्‍यायो। त्यसैले, धन्यवाद दिवस नेटिभ अमेरिकनहरूका लागि उत्सव मनाउने होइन, बरु उनीहरूको दुःख र अन्याय सम्झिने दिन हो। उनीहरूले यसलाई आफ्नो हराएको भूमि, स्वतन्त्रता, र परम्पराको प्रतीकको रूपमा “राष्ट्रीय शोकको दिन” को रूपमा लिने गरेका छन्। यसरी, यो सन्दर्भले अमेरिकाको इतिहासको अर्को महत्वपूर्ण पक्षलाई पनि उजागर गर्छ।

यस चाडको आर्थिक पक्ष पनि महत्त्वपूर्ण छ। यो चाड क्रिसमसको किनमेलको सुरुवातको रूपमा पनि मानिन्छ। तर, पछिल्लो समयमा यो चाडले धेरै उपभोक्तावादलाई प्रश्रय दिएको भनेर पनि आलोचना गरिएको छ।परम्परागत कृतज्ञता भावनाको सट्टा, मानिसहरू ब्ल्याक फ्राइडे र साइबर सोमबारको खरीद तथा व्यापारमा आकर्षित भएका छन्। तसर्थ, धन्यवाद दिवस केवल खाने र मनाउने चाड मात्र नभई, यो परोपकार, साझेदारी र सहिष्णुताको प्रतीक को रूपमा हेरिनु पर्छ भनेर एक थरीले वकालत गर्छन । । टिप्पणी सकारात्मक, नकारात्मक जून तरीक़ाले गरेपनि  यो दिनले मानवजाति विशेषगरी अमेरिकनहरूलाई विगतबाट पाठ सिक्न र भविष्यका लागि एकताको भावनालाई प्राथमिकता दिन प्रेरित गर्दछ। अमेरिकामा धन्यवाद दिवसमा सार्वजनिक बिदा दिने परम्परा आधिकारिक रूपमा सन् १८६३ मा शुरू भयको थियो । तत्कालीन राष्ट्रपति अब्राहम लिंकनले गृहयुद्धको बीचमा राष्ट्रलाई एकताबद्ध राख्नका लागि यस दिवसलाई राष्ट्रिय चाडका रूपमा घोषणा गरेका थिए। यसपछि, सन् १९४१ मा अमेरिकी कांग्रेसले औपचारिक रूपमा हरेक वर्ष  नोभेम्बर महिनाको चौथो बिहीबार धन्यवाद दिवस मनाउने निर्णय गर्दै यसलाई राष्ट्रिय बिदा बनायो। त्यही समयदेखि अमेरिका भरि धन्यवाद दिवसमा सार्वजनिक बिदा दिइन्छ।


संयुक्त राज्य अमेरिका, क्यानडा, ब्राजिल, जर्मनी, जापान, दक्षिण कोरिया, लाइबेरिया, नेदरल्याण्ड्स, र घानाजस्ता देशहरूले धन्यवाद दिवस आफ्ना परम्परा, संस्कृति, र इतिहास अनुसार मनाउँछन्। सबै देशमा यो चाड कृतज्ञता व्यक्त गर्ने, परिवार र समुदायलाई एकजुट बनाउने, र प्राकृतिक स्रोतहरूको सम्मान गर्ने अवसरको रूपमा मनाइन्छ। यसले सम्पूर्ण मानवजातिलाई एकता, आभार, र साझेदारीको भावना जगाउन प्रेरित गर्दछ।

अमेरिकामा धन्यवाद दिवसको कथा इतिहासमा सधैं दुईतर्फी छ। एकातर्फ, यो सहयोग र कृतज्ञताको चाड हो भने अर्कोतर्फ, यसले इतिहासको गहिरो चोटलाई पनि झल्काउँछ। यस चाडको मर्म भनेको इतिहासलाई बुझेर, बर्तमान  एवं भविष्यलाई सकारात्मक बनाउँदै र समुदायलाई सशक्त पार्दै अघि बढ्नु पर्छ भन्ने हो । यस दिनले सम्पूर्ण समाजलाई आफ्नो कृतज्ञता व्यक्त गर्न, चुनौतीहरूलाई सामूहिक रूपमा सामना गर्न, र भविष्यप्रति सकारात्मक आशा गर्न प्रेरणा दिन्छ।  सन् २०२४ मा यो पर्व नोभेम्बर २८ तारिखमा मनाइनेछ। आशा गरौँ, सन २०२४ को धन्यवाद दिवसले सम्पूर्ण विश्वमा शान्ति, आत्मीयता, र एक सकारात्मक वातावरणको सिर्जना गरिदियोस्। यो पर्वले मानवता, एकता, र आभारको भावना बढाउँदै संसारलाई अझ राम्रो ठाउँ बनाउन प्रेरणा देओस्।

धन्यवाद दिवसको शूभकामना!

लेखकको टिप्पणी:

यस आलेखमा व्यक्त विचारहरू लेखकका व्यक्तिगत धारणा हुन्, जुन विभिन्न स्रोतहरूमा आधारित छन्, तर तिनले लेखक कार्यरत संस्थाको आधिकारिक विचारलाई प्रतिनिधित्व गर्दैनन्।

Dr. Narendra Raj Tiwari ([email protected])
Economics Faculty at Texas A & M University–Commerce

प्रतिक्रिया