अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली शहरमा ल्याय्म्हा अमेरिका गुठीको आयोजनामा योमरी पुन्ही मनाईने भएको छ । आगामी डिसेम्बर १४ शनिबारका दिन कार्यक्रम राखिएको छ ।
आयोजकका अनुसार उक्त दिन साँझ ४:३० बजे देखि ८:३० बजे सम्म कार्यक्रम रहने छ भने उक्त दिन प्रत्यक्ष रुपमा योमरी बनाइने छ । तर कार्यक्रममा सहभागी हुन् नाम दर्ता गराउनु पर्ने छ । दर्ता पुरा भए पछि दर्ता प्रक्रिया बन्द गरिने आयोजकले जनाएका छन् ।
संस्थाका अध्यक्ष पुष्कर प्रजापतिले योमरी पुन्ही समारोह २०२४ मा सबैलाई आमन्त्रण गरेका छन् । उक्त समारोहमा परम्परागत समारोहमा प्रत्यक्ष संगीत प्रस्तुतिको साथै संस्कृतिक नृत्य समेत हुने छ ।
समयबजीको साथै ताजा योमरी समेत वितरण गरिने छ । त्यस्तै बालबालिकाहरुको लागि संस्कृतिक रङ्ग ,बालबालिकालाई योमरी बनाउन सिकाईनुको साथै योमरी पुन्ही प्रशङ्ग गीत समेत प्रस्तुत गरिने छ ।
गुठीले यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई सहभागिताको लागि आह्वान गरेको छ ।
योमरी पुन्हि हेमन्त ऋतुमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत नेवार समुदायले मनाउने गर्दछन । यो दिन विशेष प्रकारको परिकार (योमरी) बनाएर खाने गर्दछन ।
योमरी पुन्ही नेवारहरूको विशेष चाड हो। नेपाल भाषाका यी दुई शब्दले मिठो रोटी खाने पूर्णिमा भन्ने बुझाउँछ। ‘यः’ को अर्थ मनपर्ने, ‘मरि’को अर्थ रोटी र पुन्हीको अर्थ पूर्णिमा हुन्छ। योमरी पुन्हीलाई धान्य पूर्णिमा पनि भनिन्छ। नेवार संस्कृतिमा मार्ग शुक्ल पूर्णिमाको दिनमा नयाँ अन्नलाई पूजा गर्ने गरिन्छ।
नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार यःमरी खाने चलन छ । धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसी, भैलो खेले झैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्त्वपूर्ण सांस्कृतिक पक्ष हो ।
योमरी माग्ने योमरीको सांस्कृतिक महत्व भन्नु नै धानको पूजा वा सम्मान हो। यसमा रमाइलो पक्ष यो छ कि तिहारमा देउसी–भैलो खेलेझैँ नेवारहरूले गीत गाउँदै, नाच्दै योमरी माग्ने गर्छन्।
प्रतिक्रिया