हिलारी स्कुलमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

इनेप्लिज २०८१ मंसिर २१ गते २२:०० मा प्रकाशित

विष्णुप्रसाद तिमल्सिना

काठमाडौँ, मङ्सिर २१ गते । काठमाडौँ महानगरपालिका वडा नंं. ७ गौरीनगरमा अवस्थित हिलारी इङ्लिश हाईस्कुलले आफ्नै प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । काठमाडौँ मेडिकल कलेज सिनामङ्गलको प्राविधिक सहयोग तथा नवजागरुक युवा क्लब, गौरीनगर सुधार समिति, लाइफलाइन हेल्थ होम केयर प्रा.लि.,पुल्चोक ललितपुर र लियो क्लब अफ काठमार्डौँले सहयोगी भूमिका निर्वाह गरेका थिए ।

शिविरमा सामान्य चिकित्सा, हाडजोर्नी तथा नसा, सामान्य शल्यक्रिया, आँखा परीक्षण तथा उपचार, नाक, कान, घाँटी, प्रसुति तथा स्त्री रोग, बाल रोग, छाला रोग, दन्त सेवा, भिडियो एक्स–रे र ल्याबटेष्टलगायतका सेवाहरू प्रदान गरिएको थियो ।

विद्यालयका विद्यार्थी– अभिभावक, स्थानीय समुदायलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको हिलारी स्कुलका प्रधानाध्यापक लालकुमार राईले बताए ।

हिलारी इङ्लिश हाई स्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक शर्माको सभापतित्व तथा बागमती प्रदेश सभासद् माननीय श्रीराम लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं. ८ का महिला वडा सदस्य सरस्वती राजभण्डारी, काठमाडौँ महानगरपालिका वडा नंं. ७ शहरी स्वाथ्य प्रबद्र्धन केन्द्रकी स्वास्थ्य प्रमुख सुभाशिनी कर्माचार्य,नव जागरुक युवा क्लबका अध्यक्ष, गौरीनगर सुधार समितिका अध्यक्ष, लाइफलाइन हेल्थ होम केयर प्रा.लि.का निर्देशक समिर जोशीलगायतको आतिथ्यता रहेको उक्त स्वास्थ्य शिविरको संयोजन जीवनरेखा समाज ललितपुरका सदस्य श्री हरिभक्त महर्जनले गरेका थिए । शिविरबाट ४५३ जनाले विभिन्न प्रकारका स्वास्थ्य सेवा लिएका संयोजक महर्जनले बताए ।

प्रतिक्रिया