भर्जिनियाको स्टर्लिङमा गुडिरहेको गाडीमा गोली चलाएको आरोपमा कागजातविहीन २ जना आप्रवासीहरु पक्राउ

इनेप्लिज २०८१ मंसिर २१ गते २३:५३ मा प्रकाशित

भर्जिनियाको स्टर्लिङमा गुडिरहेको गाडीमा गोली चलाएको आरोपमा कागजातविहीन २ जना आप्रवासीहरुलाई पक्राउ गरिएको छ ।

गत मङ्गलबार भएको गोलीकाण्डमा ३४ वर्षीय एल्डो बेटानकोर्थ रिभेरा र २९ वर्षीय जिमी परेडेस म्याड्रिडलाई पक्राउ गरी अभियोग लगाइएको छ ।

लाउडन काउन्टी शेरिफको कार्यालयको अनुसार संदिग्धहरूले पूर्वी मेपल एभिन्यू र साउथ लिंकन एभिन्यू क्षेत्र( मार्ग)मा राति ९ः३० बजे एक सवारी साधन(कार) मा बन्दुक चलाएका थिए ।

उनीहरुले गोली हानेको कारमा क्षति पुगेको तर चालक र यात्रुलाई कुनै चोटपटक नलागेको शेरिफको कार्यालयले जनाएको छ । गोली प्रहार के कारणले भयो भन्ने खुल्न सकेको छैन ।

प्रहरी सहायकहरुले गत बुधबार संदिग्धहरूको सवारी साधन(कार)लाई पत्ता लगाएर उनीहरूलाई पक्राउ गरेका थिए। उनीहरु दुवैलाई धरौटी बिना कारागारमा राखिएको छ ।

शेरिफको कार्यालयका अनुसार म्याड्रिड र रिवेरा दुबै स्टर्लिङमा बस्छन् र अवैध रूपमा अमेरिकामा रहेको प्रहरीले जनाएको छ । रिवेरालाई गाडीबाट गोली हानेकोमा दोश्रो श्रेणीको आरोप लगाइएको छ । उनले मानिसहरु भएको अर्को गाडीमा गोली चलाएका थिए ।

शेरिफको कार्यालयले संदिग्धहरू दोषी प्रमाणित भएमा उनीहरूलाई देश निकाला गर्ने वा नगर्ने बारेमा नबताएको एनबिसीवाशिंगटनले जनाएको छ ।

प्रतिक्रिया