हिजो अमेरिकाको भर्जिनियामा कैयौंदिनको प्रतिक्षापछि हामीले पनि सर्वाधिक रूचाईएको यो नेपाली सिनेमा हेर्ने मौका पायौं । सिनेमा हेरिसकेपछि चाहीं ओहो आज हेर्न नआएको भए त हेर्न छुटेछ भनेर धेरैदिन चुकचुक नै हुने पो रहेछ जस्तो लाग्यो।
फिल्म कस्तो छ ? राम्रो तर रूवाउने ! भो रूने फिल्म हेर्न को जाओस् भन्ने म ! यसपाली रूने फिल्म हेर्न गईयो । साँच्चै रूवायो पनि बेलाबेलामा म लगायत हलमा हेर्न आएका अधिकांश दर्शकलाई !
जसरी अमिलो , पिरो र नुन ठिक्क मिलेपछि अचार चट्ट मिठो हुन्छ । त्यस्तै सबै कोणबाट चट्ट मिलेको रहेछ यो सिनेमा त । एउटा उत्कृष्ट सिनेमा बन्न त्यस्को कथा राम्रो हुनु पर्छ । कथासँग सुहाउने पात्रहरू हुनु पर्छ । गीत संगीत आदी पनि कथा सुहाउँदो नै हुनु पर्छ।त्यति सबै भएर पनि प्रस्तुति राम्रो भएन भने सिनेमा चल्दैन् । यो सिनेमा कथा सँग सँगै सररर बगेको पाँए । शुरूदेखि अन्त्यसम्म एकनासले बहेको रहेछ ।
बसाई पो अमेरिकामा तर हुँ त नेपाली नै । समय जुरेको बेला र ईच्छा लागेको नेपाली फिल्म र नेपाली सांगितिक कार्यक्रम , नेपाली मेला आदी जान र हेर्न छुटाउँदिन आजकल । यो सिनेमाको चर्चा निक्कै भएपछि हेर्ने रहर लाग्नु स्वभाविक नै हो, भलै रूवाउँछ भनिरहँदा पनि ।
साँच्चै भन्नु पर्दा धेरै पछि मौलिक नेपाली गाउँठाउँको भुईंमान्छेहरूको कथा बोकेको उत्कृष्ट सिनेमा हेर्न पाईयो । अझ सुन्दैछु थोरै लगानीमा बनेको यो सिनेमा, सबैभन्दा धेरै पैसा कमाउने नेपाली सिनेमा भएको छ । नहोस पनि किन, यो सिनेमा हेरिरहँदा सबैलाई आफ्नो घरपरिवारको संघर्षको कथा जस्तै लाग्छ।दिल छुने सिनेमा रहेछ । हेरिसक्नेले अति राम्रो भनेको सुनेर अरू पनि हेर्न ओईरी नै हाले नी हलहरूमा जताततै !
अझ विदेशमा जन्मे हुर्केका नानीबाबु सिनेमा हेरेर रोएका छन् । किन रोएको भन्दा “ ड्याडले कस्तो हार्ड वर्क गरेको सनलाई पढाउन “ माया लाग्यो पो भन्छन् ।
अब मलाई सिनेमा कस्तो लाग्यो लेख्छु । म यो लेखमा सिनेमाको अन्त्य कथा लेख्दिन । मुख्य कथा बुझ्न सिनेमा हेर्नु होला । अरूलाई जस्तै मलाई पनि कथा थाहा पाएपछि सिनेमा हेर्ने रूची घट्छ । त्यसैले कदापी मुख्य अंतिम कथा म चाहीं लेख्दिन ।
यो सिनेमालाई मैले ऐतिहासिक नाम दिनुको कारण चाहीं सिनेमाको सुरूआत पंचायतकालबाट भएर , बिचमा दोस्रो प्रजातंन्त्रकाल र अन्त्य गणतंन्त्र नेपाल बनिसकेको अवस्था वरीपरी घुमेको कथाबस्तुले गर्दा नै हो ।
म शहरमा जन्मे , हुर्के, बढेको र स्कुले शिक्षा होस्टेलमा बिताएको , खासमा नेपालमा जातपात , छुवाछुत आदी अनेक भनेर भेदभाव गरिंदो रहेछ भन्ने कुरा एसएलसी सकिएपछि मात्र थाहा पाएको हुँ। स्कुले जीवनमा त सबैलाई बराबर व्यवहार गरिन्थ्यो । तर त्यति हुँदा पनि सिनेमामा देखाईएको सुरूवात कालखण्डको कथाको समयतिर जन्मे, हुर्केको पुस्ता हुनाले आफुले कहिल्यै नभोगेको गाउँले समाज सिनेमामा देखाएको बुझ्न चाहीं गार्हो भएन ।
गन्धर्व समुदायको मुख्य पेसा पुरूषहरूले सारङगी रेटेर पैसा कमाउने रहेछ । हो त्यसैको सेरोफेरोमा सिनेमा छ । गज्जब त गाउँघरतिर गीत गाएर, केटी भगाएर विवाह गर्ने चलन छ भन्थे । सिनेमाले कति मज्जाले त्यो कुरालाई बयान गरिदिएको रहेछ हेर्दै रमाईलो लाग्यो । आजकल पो नेपाली समाज अलिक खुल्ला भयो । अंन्तजातिय साथै अंन्तरदेशिय विवाहहरू पनि धुमधामले हुन थाले । उहिले त केटीहरूले आफुखुसी विवाह गरेमा माईतीको ढोका सदाको लागि बन्द हुन्थ्यो । कति केटीहरूको त “ त्यो हाम्रो लागि मरी” भनेर काजकृयासम्म हुन्थ्यो। ठ्याक्कैत्यही भयो बाटुलीको हकमा र त्यो मार्मिक दृश्य हेर्न कठिन महशुस गरें ।
बाटुली पात्र, एक अनपढ गाउँले महिला तर उनमा चेतना यति व्याप्त रहेको देखाईएको छ जुन साँच्चै भन्नु पर्दा नेपाली समाजका हाम्रा हजुरआमा, आमाहरू पुस्ताहरूमा थियो नै । आमा अनपढ भएर के भो र संतानको उज्जल भविष्यको सपना त देख्छिन नी ।
बाटुलीले आफुले मन पराएर, भागेर विवाह गरेको श्रीमान् , उनको घरलाई आफ्नो संम्झेर सदा दुखसुखमा साथ दिई रहिन् । तर सारङगी रेटेर गाउँदै , नाच्दै हिंडदा पनि चरम गरीवीबाट उम्कन नसक्दा , आफ्नो गर्भमा रहेको संतानले त्यही दुख भोग्नु नपरोस् भनेर सधैं चाही रहिन् । भन्छन् नी गर्भमा संतान हुँदा सदा राम्रो सोच्नु । उनले उज्वल भविष्य सोचेको हुनाले नै उनको छोरोले पढाईमा राम्रो गर्न सक्यो ।
यो सिनेमालाई मैले ऐतिहासिक नाम दिनुको कारण चाहीं सिनेमाको सुरूआत पंचायतकालबाट भएर , बिचमा दोस्रो प्रजातंन्त्रकाल र अन्त्य गणतंन्त्र नेपाल बनिसकेको अवस्था वरीपरी घुमेको कथाबस्तुले गर्दा नै हो ।
स्कुल पढाउने सर भनेका समाजलाई उज्यालो देखाउने पात्र हुन ।हो तिनै पात्रले सिनेमामा पुर्णको छोरालाई गरेको भेदभाव , पुर्णले पढाउन खोज्दा पनि तँ गाईनेहरूका संतान पढेर के हुन्छ, सारंङगी रेट्न सिकाउनु, मागेर त पेट पाल्छ , बेकार समय खेर नगर छोरा पढाउने रहर गरेर भनेर सधैं निरूत्साहित गरिरहेको दृश्य , साथै सर पढाउन भन्दा मुखले चाहीं गरीब दुखीको लागि राजनीति गरेको भन्ने तर व्यवहार अर्कै गर्दै हिंडेको आदी ठ्याक्कै नेपाली गाउँ समाजमा अझै व्यापक भएका कैयौं घटना हुन नै ।
म सधैं भन्ने गर्छु धर्म कर्म , ब्रत र पूजाआजा भजन आदी देखावटी गरेर भगवान कहिले खुशी हुन्नन् । धार्मिक ग्रन्थमा लेखिएका कुराहरू व्यवहारमा उतार्ने गर्नु परछ । ओहो, सिनेमामा ठ्याक्कै मैले भन्ने गरेका कुराहरू देखाईएको रहेछ । गाउँमा सबैजना भेला भएर पूजाआजा भजन गरिरहेका छन तर तेही ठाउँमा पुर्ण बहादुरले सारङगी बजाउँदा उनलाई “यो मागी खाने भाँडो” यँहा नबजा भनेर , कुटपिट गरेर लछार पछार पारिएको छ । कस्तो ढोंगी नेपाली समाज ? अरूबेला घरघरमा बजाउँदा उनको सारङगीको आवाज सुमधुर सुनिने तर भगवानको भजन गाएको ठाउँमा नचल्ने रे ?
सिनेमामा मलाई असाध्यै मन छोएको कथा चाहीं बाटुलीले राम्रो सोच्दासोच्दै भोग्नु परेको पिडा हो । कसरी एक आमाले संतानको उज्वल भविष्यको लागि मौका पाउँदा घर छोडेर हिंडन पनि तयार हुन्छिन र आफु अनपढ , अरूले लेखेको चिठीको कारणले घर न घाटको हुन पुग्छिन् । त्यो बेलाको कट्टर नेपाली समाज, उनले पछि जति सत्य कुरा बताएपनि कस्ले पत्याउँथ्यो होला र ! यो सिनेमा लेख्ने लेखकको त्यो सोचलाई चाहीं मान्नै पर्छ । समाज अनुसारको मिल्ने कथा लेखेको रहेछन् ।
यो सिनेमा धेरैले मन पराउनुको अर्को मुख्य कारण यसमा रहेको गीत संगीत पनि हो । यति मार्मिक गीतहरू छन् । कथा नै भन्छ सबैले गीतहरूले । त्यस्तै पूर्ण र उनका दुई साथिहरूले दुखसुखमा एकआपसमा साथ दिएको कथा पनि कम्ता रोचक छैन र । छोराको बाल्यकाल देखि पढाई सक्दासम्मको दुखसुखको यात्रा पनि रोचक छ ।
सिनेमा हेर्दा गाउँको संस्कृति , रहनसहन, भेषभुषा , बोलाई, लवाई , खवाई , चरम गरीबी , छुवाछुत , भेदभाव , कुरीति , कुप्रथा र मानिसले गरीबलाई हेर्ने दृष्टिकोण र सोच छर्लंग बुझ्न सकिन्छ । पुरै सिनेमाको अनुभव र मनोरंन्जन लिन चाहीं आफै नहेरी हुन्न् ।
अन्त्यमा , यो सिनेमा हेरेपछि मेरो आफ्नो निचोड चाहीं “ आमाले संतान गर्भमा हुँदै सोचेको, संतानको नकोरीएको उज्जल भविष्य बुबाले आफु अन्तिम अवस्थासम्म पुगेर पनि सफल पारेरै छोडे ! संतानको लागि आमाले सपना देख्छिन भने बुबाले सपना पुरा गरिदिन्छन् ! “
अंग्रेजीमा भन्छन नी “ This movie is organic , full package of entertainment “ हो त्यस्तै नै छ “ पूर्ण बहादुरको सारङगी “
शशी के.सी
( तपाईं भर्जिनिया बस्नु हुन्छ र यो सिनेमा हेर्नु भएको छैन भने , यही डिसेम्बर १४ तारीखमा एक सो गेन्सभिलमा छ । हेर्न जानु होला । हामी खाना मौलिक , नेपाली खान खोज्छौं , चाडपर्व नेपाली संस्कृति झल्काउने खोज्छौं । विदेश जन्मे हुर्केका नानीबाबुहरूलाई नेपाल लगेर गाउँबस्ती घुमाउन लग्छौं । आफ्नै घर आँगनमा नेपाली मौलिकता बोकेको सिनेमा लागि रहेको छ । समय निकालेर हेर्न किन नजाने ? https://adhikarillc.stripetickets.com/events/96955
लेखिका
प्रतिक्रिया