लन्डन । लन्डनस्थित नेपाली व्यवसायीद्वारा सञ्चालित कम्पनी ‘माया सपोर्टेड लिभिङ लिमिटेडले गाला डिनर तथा अवार्डस् नाइट आयोजना गरेको छ ।
शुक्रबार लन्डनस्थित हन्स्लो वेष्ट ब्याङक्यूटिङ हलमा आयोजित समारोहमा कम्पनीले आफ्ना कर्मचारी तथा क्रिकेट खेलाडीहरुलाई अवार्ड प्रदान गरेको हो ।
वेष्ट फिल्डर अफ द सिजन अवार्ड विशाल बन्जाडे, वेष्ट बलर अफ द सिजन चन्दन रावल, वेष्ट ब्याट्सम्यान अफ द सिजन प्रकाश विष्ट, आउटस्ट्याण्डिङ अफ द सिजन सचिन शर्मा र ट्यालेन्ट अफ द सिजन अवार्ड नवीन तामाङले प्राप्त गरे । ‘सरप्राइज अफ द इयर’ अवार्ड आशिष कुर्मीले पाए ।
सो अवसरमा माया सपोर्टेड लिभिङमा ५ वर्ष काम गरिसकेका कर्मचारीहरुलाई पनि विशेष सम्मान गरियो । सम्मानित हुनेहरुमा लेखनाथ घिमिरे (चिफ अकाउन्टेन्ट तथा मेन्टर), हरि भट्ट (आइटी एण्ड मेन्टर), मार्गरेट थम्पसन, रोजन कार्की, सुदीप ढकाल, सुजिता बजगाईं र सुधा अधिकारी पौडेल छन् ।
प्रमुख अतिथि रोयल बरो अफ ग्रीनवीचका मेयर काउन्सिलर जीत रानाभाटले अवार्ड प्रदान गरे । माया सपोर्टेड लिभिङका प्रवन्ध निर्देशक राज पाण्डेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी, प्रायोजक, अतिथीहरु लगायत सबैप्रति आभार व्यक्त गरेका छन् । उनले ट्रफी डिजाइनमा सहयोग गरेका माया ब्राण्ड एम्बेसडर तथा कर्णाली याक्सका कोचप्रति पनि कृतज्ञता व्यक्त गरे ।
आफ्नो कम्पनी स्थापनाको ६ वर्ष पुरा हुंदा कर्मचारीको पूर्ण साथबाट नै सफलता मिलेको पनि पाण्डेले बताए ।
माया क्रिकेट अवार्डका लागि नेपाल फुड्स, नेपाली बियर, एचटिआर केयर एण्ड रिक्रुटमेन्ट, ह्याम्सटेड इयर क्लिनिक, क्याटलिष्ट आइटी र किया ओभल स्टेडियमले प्रायोजन गरेका हुन् ।
कार्यक्रममा कम्पनीका कर्मचारी, कर्पोरेट व्यक्तित्व र मायाका सरोकारवालाहरु अतिथीका रुपमा सहभागी थिए । मायाले प्रमुख अतिथी र अतिथीहरुलाई ढाका टोपी र दोसल्लाले स्वागत गरेको थियो ।
क्रिसमस र अंग्रेजी नयां वर्ष समेत मनाइएको उक्त इभेन्टमा डिजे हेम विष्टले राती अबेरसम्म नचाए ।
फेबुअरी २०१९, २१ तारिखदेखि सेवा दिन थालेको माया सपोर्टेड लिभिङका अहिले १० वटा शाखा छन् । मायाले लर्निङ डिसेबलिटी, अटिजम, मेन्टल हेल्थ (डिमेन्सिया) जस्ता बिरामीलाई ‘सपोर्ट’ गर्छ ।
प्रतिक्रिया