टोरोन्टो, क्यानेडियन नेवाः गुठि द्वारा बिगतका बर्षहरुमा झै यसबर्ष पनि “यःमरी पुन्हि” र नारायण गोपाल सांगितिक साँझ बिबिध कार्यक्रम सहित सम्पन्न गरेको छ। कार्यक्रमको शुरुमा कार्यक्रम संयोजक बिनोद श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्नु हुदै संस्कृतिको जगेर्नाको लागि गरिएको यो कार्यक्रममा उपस्थित भै सहयोग गरिदिनु भएकोमा आभार ब्यक्त गर्नु भयो। तत्पस्चात गुठिका सस्थापक अध्यक्ष प्रकाश लाल प्रधानले कलात्मक पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गर्नु भयो।
कार्यक्रमको औचित्यबारे प्रकाश पार्नु हुदै गुठिका अध्यक्ष उत्तम माकःजुले नेवाःसस्कृतिको संरक्षण र प्रबर्द्दनको उद्देश्यले सन २००५ मा स्थापना भएको यस संस्थाले स्थापना काल देखि बिभिन्न कार्यक्रम गर्दै आएको बताउदै नेवाः पर्ब र परिकारहरु प्रकृति, स्वास्थ्य र संस्कृतिको निकट सामिप्यतामा भएको हुन्छ भन्नु भयो। साथै उहाँले अहिले चलन चल्तीमा आएको हिपहप तथा र्याप संगीत नेवाः समूदायले यःमरी पुन्हिमा यःमरी माग्ने बेलामा प्रयोग भै सकेको बताउनु हुन्दै नेवाः संस्कृतिको जगेर्नाको लागि ज्ञान र शीप युबाबर्गमा हस्तान्तरण गर्न अत्याबश्यक रहेको जनाउनु भयो।
कार्यक्रमको महत्व बारे बोल्दै गुठिका महासचिब डा. प्रज्वल लाल प्रधानले “यःमरी पुन्हि” एउटा पर्ब मात्र नभै यसले सामाजिक, प्राक्र्तिक तथा सास्कृतिक महत्व बोकेको पर्ब हो भन्नु भयो। उहाँले यःमरी पुन्हि संगै जोडिएर आएको पर्ब “मतिना पारु” जसलाई पक्षिमा मुलुक हरुले प्रणय दिबसको रुपमा मनाउन्दै आएको छ, सो पर्ब नेवाः समुदायले धेरै पहिलानै शुरु गरिसकेको बताउनु भयो।
त्यस्तै गुठिको युबा समितिको तर्फ बाट प्रतिक प्रधानले बोल्दै सस्कृति संरक्षणमा युबा बर्गलाई जोडन समितिले बिबिध कार्यक्रमको साथै यु ट्युब च्यानल पनि संचालन गरिरहेको जानकारि दिनु भयो। कार्यक्रममा कार्यसमितिका सदस्य डा. कृष्ण कायस्थको यःमरी पुन्हि र नेवाः संस्कृतिबारेको सशक्त कबिता पनि बाचन गरिएको थियो।
सोहि अबसरमा गुठि का महिला समूह सदस्यहरु शान्ति माकःजु, डा. शर्मिला प्रधान, अणु श्रेष्ठ लगायतले यःमरी बनाउने बिधि प्रदर्शन गरेका थिए भने यःमरी पुन्हि सम्बन्धि गीत ” त्योछिं त्यो, बकछिं त्यो” सामुहिक रुप प्रस्तुत गरिएको थियो। सो कार्यक्रममा यःमरी पुन्हि र नेवाः संस्कृत सम्बन्धि हाजिरिजवाफ कार्यक्रम पाहुनाहरुका बिचमा संचालन गरिएको र सहि उत्तर दिने महानुभाबहरुलाई यःमरि पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमको दोश्रो चरण स्वर सम्राट स्व. नारायण गोपाल सांगितिक साँझको सुरुमा नाटककार/ साहित्यकार डा. गोबिन्द सिं रावतले स्वर सम्राट नारायण गोपालको ब्यक्तित्व बारे प्रकाश पार्नुको साथै उहां` संगको आफ्नो स्मरण सुनाउनु भयो। कार्यक्रममा स्वर सम्राट नारायण गोपालका कालजयी नेपाली गीतहरु प्रकाश प्रधान, प्रतिक प्रधान, रबिन प्रधान, डा. हरि गुरुङ, गोबिन्द घिमिरे, मिङमार लामा, जलेन्द्र तथा सबिना शाक्य, अमृत श्रेष्ठ, गीता पन्त, नरेश ताम्राकार, सुशिल अणु लगायतले प्रस्तुत गर्नु भएको थियो भने उत्तम माकःजु र डा. प्रज्वल प्रधानले नारायण गोपाल द्वारा गाएका नेपाल भाषाका गीतहरु क्रमश ” दकले साःगु ऐला या नां” र “जीबने गबले” प्रस्तुत गरेका थिए। कार्यक्रम नरेश ताम्राकार तथा जलेन्द्र शाक्यले संचालन गरिएको थियो भने अन्त्यमा कार्यक्रम उप संयोजक जलेन्द्र शाक्यले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सबै प्रति धन्यबाद ब्यक्त गर्नु भएको थियो। सो कार्यक्रम जर्ज टाउन स्थित तन्दूरी टिका लन्जमा भएको थियो।
प्रतिक्रिया