भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

बेद प्रसाद घिमिरे २०८१ पुष १२ गते १:०५ मा प्रकाशित

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । उहाँ ९२ वर्षको हुनुहुन्थ्यो । सिंह आफ्नो घरमा अचानक बेहोस भएपछि उहाँलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो।

उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उहाँको लामौ समयदेखि उपचार भइरहेको थियो र बिहीबार घरमा अचानक बेहोस भएका उहाँलाई तुरुन्तै घरमा सामान्य उपचारपछि राति ८ बजे नयाँ दिल्लीस्थित एम्समा मेडिकल इमर्जेन्सीमा लगिएको थियो ।

“सबै प्रयासका बावजुद उहाँलाई बचाउन सकिएन र राति ९:५१ बजे उहाँलाई मृत घोषित गरियो, “ एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ। सिंहले ३३ वर्ष सेवा गरेपछि यसै वर्षको सुरुमा अवकाश विश्राम लिनुभएको थियो ।

सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनोमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गर्नुभएको थियो । सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उहाँले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिनुभएको थियो ।

उहाँले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हाल्नुभएको थियो । उहाँले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिनुभएको थियो ।

यसैबीच, भारतीय प्रधानमन्त्री मोदी,लगायतका सत्ताधारी दल र विपक्षी दलका नेताहरूले उहाँलाई एक असल एवं कर्तव्यनिष्ठ प्रधानमन्त्रीका रूपमा स्मरण गरेका छन् ।

प्रतिक्रिया