यसबाहेकका क्षेत्र विधामा त हामीहरु गल्लीका भुस्याहा, खिच्चा, लावारिस र खाते कुकुर हौं । हाम्रो नामै पनि काले, पाङ्ग्रे, खैरे, भोटे आदि एकलख भिरेको न छ ।
भवानी बराल :
एका देशमा एउटा बुढो पाङ्ग्रे कुकुर थियो । जीवनका धेरै हिँउद बर्खा बिताएकोले अरु कुकुरभन्दा पाङ्ग्रे अनुभवी र लोकप्रिय थियो । एक दिनको कुरा हो, कोदो टिपेर नल काटिसकेको बारीको कान्लामा पारिलो घाममा पाङ्ग्रे मस्तसँग निदाइ रहेको थियो । घमाइलो दिनमा कुकुर आफ्नै मलद्वारमा मुख जोडेर गुँडुल्किएर सुत्छ । यसरी घमाइलो दिनमा सुतिरहेको बखत मलद्वारबाट फुसपुस छारो उडाउँदा उसले पाकेको कटहरको जस्तो बास्ना आइरहेको सम्झिन्छ रे । पाङ्ग्रे पनि यस्तै कटहरको बास्ना सुँग्दै आनन्दित भएर सुतेको थियो ।
यत्तिकैमा खिच्चा कुकुरका एक हुल छाउरा-छाउरी पनि त्यहीँ आइपुगे । भुतभुते खेलेर बारी, पाङ्ग्रेले धुलाम्मे पारेर सम्याएको थियो । छाउरा-छाउरीले उछलकुद गरेर पाङ्ग्रेको पातलो निद्रा भङ्ग गरिदिए । पाङ्ग्रेको पुच्छर टोकेर खेलकुदमा सक्रिय बनाउने सांकेतिक निम्तो गरे । स-साना खिच्चा कुकुरसंग पाङ्ग्रेको खेल्ने उमेर त छँदै थिएन । छाउरा-छाउरी माथि बर्चस्व स्थापना गर्न खिच्चा कुकुरसम्बद्ध नसुल्झिएको ऐतिहासिक सन्दर्भ सुनाउने मेलो पाङ्ग्रेले सोच्यो । नभन्दै सबै छाउरा-छाउरी पाङ्ग्रेको प्रवचन सुन्न लालायित भए । र, पाङ्ग्रेले कथा हाल्न शुरु गर्यो :
हेर, संसारमा हामी सबैभन्दा बढी शोषण, दमन र उत्पीडनमा परेका प्राणी हौं । हुनलाई हामी घरपालुवा जनावर भनेर नै परिचित छौं । तर अन्य घरपालुवा जनावरको तुलनामा हामी धेरै उपेक्षित र उत्पीडित छौं । गाई, गोरु, भैंसी, भेडा, बाख्रा, हात्ती, घोडाको तुलनामा हाम्रो हैसियत छँदैछैन । गधासँग पनि हाम्रो तुलना हुन सक्तैन । सत्ययुग, त्रेतायुग, द्वापरयुग बितेर कलीयुग लागि सक्यो हाम्रो कुनै थातथलो ठेगान छैन । कुनै ऐतिहासिक सामुदायिक पहिचान नै छैन । स्वायत्तता, स्वशासन र आत्मनिर्णयकाे अधिकार त हुने कुरै भएन । हाम्रो काम भुक्ने र सडकमा सुत्ने बाहेक केहि हुन सकेको हैन । कहिलेकाँही त लाग्छ हामी पनि स्वाँठ पार्टीको ल्वाँठ कार्जेकर्ता हौं ।
कुकुरको परिचय
पाङग्रेले प्राग-ऐतिहासिक परिचयबाट कुकुर गाथा सुनाउँदै गयो । प्राचिन इजिप्ट र पश्चिम एसियाबाट हाम्रो आधुनिक सभ्यता शुरु भयो । रोमन साम्राज्यको उदयसँगै हाम्रो सभ्यता शुरु भएको १२ हजार वर्ष पहिलेको हो । विश्वमा हामी विविध जातिका छौं । मान्छेहरु ‘होमोसेफियन’ नश्लबाट विकसित भए । हामी ‘ग्रे-ब्वाँसो’ नश्लीय परिवारबाट विकसित भयौं । यसरी उत्पत्तिको हिसावले हाम्रो पनि ऐतिहासिक महत्व छ । आजभन्दा २७ हजार वर्षदेखि ४० हजार वर्ष पहिले ब्वाँसोको परिवारबाट विकसित भएका हामी प्राणी हौं ।
तर, हाम्रै सदस्यहरुबीच पनि अनेक नश्ल सुधार गरेर एक थरीलाइ उपल्लो वर्गमा विराजमान गराइएको छ । कतिपय अपराधी पकड्ने पुलिस दर्जामा छन । ‘फुटाउ र राज गर’ भने जस्तै एकथरी नश्ल सुधार गरिएका छन् । ती विकासे बोइलर कुकुरहरु हाम्रै दाजुभाइ हुन् । तर ती अट्टालिका महलमा बस्छन । तिनका नाम पनि उन्नत छन् । टाइगर, रोज, टाइसन अनेक छ । हाम्रो भने काले, भुसे, लुती, भोटे, आदि हेपायती नाम राखिन्छ । यस्ता बेलायती विकासे बोइलर कुकुरका छाउराको सानो छँदा तिनलाइ मायालु प्रकारले डगी, पप्पी भनेर बोलाइन्छ । यस्ता डगीज र पप्पीजहरुसँग आधुनिक पाप्पाज, मम्मीजहरु गाला जोडेर सुत्छन । तिनका लागि सोफा र गद्धा हुन्छ । पौष्टिक खान्की खान पाउँछन । हामीलाई मान्छेहरु ‘ग’ कुकुर भन्छन अर्थात गल्लीको कुकुर । उनीहरु चैं ‘घ’ कुकुर रे अर्थात घरपालुवा । उनीहरु बस्ने महलको पर्खालमा ‘कुकुरदेखि होसियार’, ‘टोक्ने कुकुरदेखि सावधान’ लेखेर तिनको हैसियत बढाइन्छ । तीनीहरु गाडीमा घुम्छन र मालिक मालिक्नीको गालामा चुम्माचाटी गर्न पाउँछन् । अर्थात कुकुरमा पनि वर्गीय र नश्लीय विवेध छ ।
नैसर्गिक अधिकारमा उत्पीडन
यसरी हामी माथि भएका उत्पीडनको कैरन गरेर साध्य छैन । हाम्रो भूमिका त मान्छेले नभने पनि गरेकै छौं । तर, तीनले हाम्रो भूमिकाको कुनै कदर गरेका छैनन् । समाजमा भएका नकारात्मक कुराको सबै भारी हामीले बोक्नै पर्छ । यति धेरै काममा तल्लिन हुँदासम्म गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा जस्ता आधारभूत अधिकारबाट बेदखल छौं । अन्तर्राष्ट्रिय अनुबन्धहरुमा जनावरहरुको हकमा ‘फाइब फ्रिडम’ स्वास्थ्य पानी, खाना, बास, रोग उपचार र व्यवहारमा स्वतन्त्रता हुनुपर्छ भनिकन उल्लेख गरिएको छ । तर हाम्रा हकमा यी अनुबन्धहरु किताबका भाण्टा सरह भएका छन् ।
हामी सफाई कर्मचारी पनि हौं । सिनो खाएर सफा गर्छौ । मान्छेका मलमुत्र तात्तातै खाएर सफा गरिदिन्छौं । मान्छेको मल (गु) खाने हाम्रो प्राकृतिक नैसर्गिक अधिकार हो । यतिखेर हाम्रो परम्परागत खान्की ‘गु’ खान नपाओस् भनेर खुल्ला दिशामुक्त क्षेत्र अभियान चलाएका छन् । हाम्रो खान्की कंक्रिटको बक्साभित्र हालेका छन् । यसले गर्दा हामी घुमन्तु कुकुरमा अनिकाल छाएको सर्बविधितै छ ।
हुर्मत लिने उखान
यतिमात्र हो र ? हामीलाई होलोहोचो देखाउन अनेक उखान रचिएका छन् । उहिले नै रचिएको र आजसम्म चलेको यी उखान संशोधन, परिमार्जनसम्म भएका छैनन् । यस्तै एउटा उखान हो, ‘सबै कुकुर काँशी गए ‘गु’ के ले खाने ?’ खुल्ला दिशामुक्त क्षेत्र अभियान अन्तर्गत पक्की पाइखाना बनेपछि यो उखानको के मतलब ? ‘कुकुरलाई घिउ पच्दैन’, यो अर्को कुकुर विरोधी उखान हो । कुकुरलाई घिउ नपच्ने थाहा हुँदाहुँदै घिउ खुवाएर हामीलाई खुइल्याउँछन । अनि भन्छन, कुकुरलाई घिउ पच्दैन । हामीलाई धर्म-सांस्कृतिक मुन्धुमबाट अलग गर्न ‘काम छाडी कैफत, कुकुरलाई नैवेद’ रचित उखान पनि छ ।
हाम्रा जनाना कुकुर्नीलाई हुर्मत काढ्ने अनेक उखान छ । जस्तैः ‘कुकुर्नीका सातवटा पोइ मर्ने बेलामा कोही न कोही ।’ पशु जगतमा एकनिष्ठ विहे भन्ने नै हुँदैन । तर मान्छे जगतको एक पत्निक र एक पतिकको व्यवस्थालाई नमानेर बहु-पत्निक वा बहु-पतिक व्यवहार गर्नेलाई पनि कुकुर, कुकुर्नीको संज्ञा दिन्छन । बर्ख दिनमा एक पटक कात्तिकमा मात्र हामी सम्भोग क्रिया गर्छौं । तर हामीलाई कात्तिके कुकुर भनेर होलोहोचो गर्छन । मान्छे जगतका लागि कोक नामक आचार्यले रतिविज्ञान कामकलासम्बन्धि ग्रन्थ लेखिदिए । जसलाई कामशुत्र वा कोकशास्त्र भनिन्छ । यो कामशास्त्र अर्थात कोकशास्त्रमा रतिरागका चौरासी आसन छ भनिन्छ । हामीले हाम्रै कामशास्त्रको विधान बनाएका छौं । त्यो बर्खको एक महिना कात्तिकमा सम्पन्न गर्ने गरेका छौं । हामी एकै आसनमा कामकला निप्टारा गर्छौ । मान्छेको जस्तो हस्त मैथुन, मुख मैथुन, चौरासी आसनमा समागम गर्ने हाम्रो रतिराग हुन्न । तैपनि हाम्रै नाम विग्रहमा छ ।
अरु पशु जगतमा नश्ल सुधारका नाममा छानीछानी साँढे, बर, वीर, भाले लगाइन्छ । तिनीहरुको उदाहरण आउँदैन । तर कुरो चैं हाम्रै काडिन्छ । मान्छेहरु बाह्रैमास, बाह्रै महिना, चौविसै घण्टा, चौबिसै प्रहर कामसूत्रको ध्याउन्नमा हुन्छन् । समय कु-समय रासलीला मच्चाउँछन । अनी तिनका स्वास्नी मान्छे ब्याइ भने भन्छन, ‘कस्ती कुकुर्नी जस्तो ब्याउन सके कि ?’
मान्छेहरु आफ्नो आनीबानी सुधार्दैनन् । अनि हाम्रै पुच्छरलाई मिथक बनाएर भन्छन, ‘बाह्र बर्ख कुकुरको पुच्छर ढुंग्रोमा हाल्यो बाङ्गाको बाङ्गै ।’ अझ यो उखान संशोधन गरेर ‘बाह्र बर्ख कुकुरको पुच्छर ढुंग्रोमा हाल्यो ढुंग्रो नै बाङ्गै ।’ बनाएका छन् ।
हामी दिनरात रखबारी गर्छौं । स्याल, ब्वाँसो, चिल खेद्छौं । त्यसको हेक्का नराखी हाम्रो विपक्षमा उखान बन्यो, ‘कुकुरको काम पनि छैन, फुर्सद पनि छैन ।’ हामीलाई डरछेरुवा, काँतरको रुपमा प्रस्तुत गर्दै उखान बनेको छ, ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ’, ‘भुक्ने कुकुरले टोक्दैन’, कुकुर भुक्दै गर्छ हात्ती लम्किरहन्छ’, ‘बोकेको कुकुरले मृग मार्दैन’ यस्तै यस्तै । सामाजिक रुपले होच्याउने उखानहरु रचिएका छन्, ‘कुकुर जस्तो भतुवा लाग्ने’, ‘कुकुरलाई मासु पैंचो’, ‘कुकुर बिरालो’, धोवीको कुकुर घरको न घाटको’, ‘घामपानी घामपानी स्यालको विहे कुकुर जन्ती बिरालो बाहुन आदि इत्यादि ।
एकजना कताका हुन कुन्नी युवराज घलेभाइ नामका लेखकले हाम्रा बारेमा भनिएका एक सय २० वटा उखान संकलन गरेर प्रकाशित गरेका रहेछन् । यी उखान सुन्ने पढ्ने हो भने हाम्रो बाँकी इज्जत कहाँ रहला ? यी उखान मध्ये धेरै जसो नकारात्मक भावका छन । केही उखानलेमात्र हाम्रो इज्जत इमान राखेको छ । जुन यसप्रकार छन् :
१. भुइँमा न भाँडा कुकुरलाई टाँडा । २.सबै कुकुर काशी गए ‘गु’ केले खाला । ३.कति धोक्न सकेको कुकुरको मुत । ४.अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ । ५.कुकुरलाई घिउ पच्दैन । ६. कुकुर्नीका दशवटा पोई मर्ने बेला कोइ न कोइ । ७. कुकुरको जस्तो जहाँ पायो त्यही मुत्दै नहिँड । ८. कुकुरजस्तो कति भतुवा लाग्न गको । ९. कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा राखे पनि बाङ्गाको बाङ्गै । १०. भुक्ने कुकुरले टोक्दैन । ११.बोकेको कुकुरले मृग मार्दैन । १२. कस्तो कुकुरको जस्तो सोमत नभाको । १३. कुकुरजस्तो कति लखरलखर हिँड्छस् ए । १४. कुकुरको मुतजस्तो कति चुहिएको । १५. कुकुर्नी जस्ती कति व्याउन सकेकी । १६. कुकुरको जस्तै जाकिएला होस गरेस् । १७. कति मिलिक मिलिक गर्या कुकुर जस्तो । १८. द्वारे लाग्यो बोलाउन कुकुर पुच्छर डोलाउन । १९. काम छोडी कैफेद कुकुरलाई नैवेद । २०. लात्तीले हानेको कुकुर बैठकमाथि ।
२१. जहाँ हड्डी, त्यही बस्छ कुकुर अड्डी । २२. कति कुकुरजस्तो लिप्रिक लिप्रिक गरिराको । २३. सोझाको मुखमा कुकुरले नि मुत्छ । २४. के कुकुरलेजस्तो चाटीचाटी खाको । २५. कुकुर अज्ञानी हुन्छ र बोलाउनुपर्छ, मानिस त ज्ञानी हुँदा त्यसै पनि जानुपर्छ । २६. कुकुर एक गाँस खान पायो भने त्यसैमा रमाएर बस्छ, ढुकुर चौरासी व्यन्जन खान पाए पनि एकै ठाउँमा बसिरहन सक्दैन । २७.कुकुरको पुच्छर लौरो न हतियार । २८. कुकुर कुटी पाहुना, तर्साउनु । २९. कुकुर कुटी वर, ज्वाँइ कुटी पर । ३०. कुकुरको काम छैन, बस्न मान्दैन । ३१. कुकुरको काम छैन, सुस्त हिँड्न जान्दैन । ३२. कुकुरको काम न खाजा । ३३. कुकुरको काम पनि छैन, खाने बेलामा माम पनि छैन । ३४. कुकुरको काम पनि छैन, फुर्सद पनि छैन । ३५. कुकुरको घरमा मासुको जिलो खोजेर कहाँ पाइएला । ३६. कुकुरको जिब्रो जति राल चुहाए पनि मुखैभित्र । ३७. कुकुरको निउँ पारी चम्चेको दाउ । ३८. कुकुरको पनि आफ्नो घरमा ठूलो स्वर । ३९. कुकुरको पुच्छर बाँगो देख्दा पनि हाँस्ने ।
४०. कुकुर पनि हरायो, घाँडो पनि हरायो । ४१. कुकुर पाली, आफैँ भुक्ने । ४२. कुकुर बिरालाको जात हतपत मर्दैन । ४३. कुकुर भुके हजार हात्ती चले बजार । ४४.कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ । ४५. कुकुर जहाँ खान पाउँछ, त्यहीँ भतुवा लाग्छ । ४६. कुकुर तर्संदा नडराउनु, भैंसी तर्संदा डराउनु । ४७. कुकुर मरेझैं मरेको । ४८. कुकुर र बिरालो जस्तै । ४९. कुकुरलाई काम्लो र कुखुरालाई दाम्लो कहिले होस् । ५०. कुकुरलाई घीउ नपचेको । ५१. कुकुरलाई घीउ र भुटेको बीउ । ५२. कुकुरलाई जुठो भातले र बुढाबुढीलाई रोग व्याधले कहिल्यै छोड्दैन । ५३. कुकुरलाई पनि च्यै नभनी आउँदैन । ५४. कुकुरलाई पराल, गाईलाई मासु । ५५. कुकुरलाई प्यारो गरे आफ्नै मुख चाट्छ । ५६. कुकुरलाई प्यारो गरे गुहु ख्वाइदिन्छ । ५७. कुकुरलाई बेथा लाग्दा बाख्रो नमन्छनु । ५८. कुकुरलाई मासुभात खान दिए पनि गुहु खान छोड्दैन । ५९. कुकुरलाई मासु पैंचो ।
६०. कुकुरले कपास छरोस् न धोती लाओस् । ६१. कुकुरले कहाँ भुक्छ, कहाँ भुक्दैन । ६२. कुकुरले टोके पनि खराब, चाटे पनि खराब । ६३. कुकुरले दाइँ हुने भए गोरु केलाई चाहियो ? ६४. कुकुरले दौडने मान्छेलाई र पुलिसले डराउने मान्छेलाई लखेट्छन् । ६५. कुकुरलाई सुनकै थालमा भात खान दिए पनि त्यसलाई घोप्ट्याएर भुइँमै खान्छ । ६६. कुकुर सानो भए पनि ठूलो भए पनि बेहोरा उस्तै । ६७. सुघरी स्वास्नीको पोइ मोटाउँछ, फोहोरै स्वास्नीको कुकुर मोटाउँछ । ६८. कुकुरको घरमा बिरालो पाहुना । ६९. कुकुरको पुच्छरले इन्द्रिय पनि छोप्दैन, झिंगा पनि धपाउँदैन । ७०. कुकुरलाई पुराण सुनाएर के काम, गु खान छोड्दैन । ७१. धोबीको कुकुर न घरको न घाटको । ७२. कुकुरले मुत्न नपरे काशी पुग्थेँ भन्छ रे । ७३. कुकुरलाई पुराण सुनाएर के काम । ७४. कुकुरको पुच्छर न झिंगा धपाउँछ न लाज लुकाउँछ । ७५. कुकुर बिरालोजस्तो सधैँ झगडा गर्ने । ७६. कार्तिकको कुकुर जस्तो । ७७. आइमाईको ज्ञान र कुकुरको चिहान हुँदैन । ७८. सबेरै त कुकुरले पनि गु खान भ्या छैन । ७९. घामपानी घामपानी स्यालको बिहे कुकुर जन्ति बिरालो बाहुन ।
८०. कुकुरका बच्चा ग्याल्ग्याल्ती । ८१. उचालेको कुकुरले मृग मार्दैन । ८२. कुकुरको बाउ र जुवाको दाऊ कसैले चिन्दैन । ८३. कुकुर बिरालोजस्तै लगारा लगार । ८४. कुकुरले आगो ल्याओस् न फुकोस् । ८५. कुकुर जतिसुकै टोकाटोक गरे पनि भुक्ने बेलामा सब एक मुख लाग्छन् । ८६. कुकुरले लखेटे नभाग्नु, प्रतिरोध गरे कुकुर आफैं भाग्छ । ८७. कुकुरलाई हान्दा ढुकुरलाई लागेछ । ८८ कुकुर काटी बिरालो पोस्ने । ८९.कुकुरले खुट्टा टोक्यो भन्दैमा कुकुरको खुट्टा नटोक्नु ।
कुकुरहितका केही उखान
९०. कुकुर जस्तै बफादार हुनु । ९१. भुक्ने कुकुर भुकिरहन्छ, टोक्ने कुकुर सुतिरहन्छ । ९२. कस्तो कुकुरको जस्तो निद्रा । ९३. भुक्ने कुकुरभन्दा नभुक्नेदेखि डराउनु । ९४. नबोलाइकन त कुकुर पनि जाँदैन । ९५. भोटे कुकुर भुक्ला घरमा कुरा पुग्ला । ९६. कुकुरको पनि दिन आउँछ । ९७. कुकुरका छाउरा गन्न पठाए जस्तो । ९८. कुकुर कि टाँडामा बस्छ, कि डाँडामा बस्छ । ९९. कुकुर खुशी भए पुच्छर हल्लाउँछ । १००. कुकुरको जुठो खानु, छोराको नखानु । १०१. कुकुरको भाउ छ, मानिसको भाउ छैन । १०२. कुकुर खाने बाघले मान्छे पनि खान्छ । १०३. कुकुर जस्तो गुनी र ज्वाँइ जस्तो बैगुनी कोही हुँदैन । १०४. कुकुर बिरालोले जोगाएको सम्पत्ति, इष्टले जोगाएको धन ।
१०५. कुकुर भन्छ जहान बढून्, बिरालो भन्छ सबै मरून् । १०६.. कुकुर भुक्यो राती, जंगल भाग्यो हात्ती । १०७. कुकुरलाई एकै गाँस जूठोपुरो खान दिए पनि त्यो सधैं आफ्नो हुन्छ, ढुकुरलाई बाह्र वर्षसम्म चौरासी व्यन्जनले सत्कार गरे पनि कहिल्यै आफ्नो हुँदैन । १०८. कुकुरलाई जिस्क्याए टोक्छ, मूर्खलाई जिस्क्याए ठोक्छ । १०९. कुकुरलाई लागेको जाडो र पाहुनालाई लागेको भोकको कसले वास्ता गर्छ । ११०. कुकुरलाई हानेको तीर ढुकुरलाई गएर लाग्यो । १११. कुकुरले आफ्नो मालिकलाई जिन्दगीभर पर्खिरहन्छ । ११२. कुकुरले पनि पेट पाल्छ । ११३. कुकुरले पुच्छर हल्लाउनु पर्नेमा पुच्छरले कुकुर हल्लाएको । ११४.कुकुर र ड्राइभरले एकपटक हिँडेको बाटो कहिल्यै भुल्दैन । ११५. कुकुरले हाड छोडेझैं छोड्ने । ११६. बिना चालले कुकुर भुक्दैन, मुलाको ड्याङमा हात्ती लुक्दैन । ११७. माइती घरको कुकुर नि प्यारो हुन्छ । ११८. कुकुरको जस्तो निद्रा, बकुल्लाको जस्तो ध्यान होस् ! ११८. कुकुरको निद्रा छोटो हुन्छ । १२०. साहुको घरको कुकुर हुनु पो जाती रहेछ ।
शब्दकोसहरुमा कुकुर
नेपाली शब्दकोशहरुमा हाम्रा बारेमा दिएका अर्थ र परिभाषा त्यत्तिकै दिक्दारलाग्दो छ । स्याल, फ्याउरोको रखबारी गर्नेमात्र उल्लेख छ । जबकी हामीहरु मान्छे जातका चोर, डाँका, हत्याराको पनि उत्तिकै रखबारी र खबरदारी सूचना सम्प्रेषण गरिरहेका हुन्छौं । हत्यारा, ज्यानमाराको खोजी गर्न पनि हाम्रो घ्राण शक्तिको भरपुर उपयोग गरिरहेका हुन्छौं । तर त्यही शब्दकोसमा हाम्रो नाम जोडेर अनेक बिखालु जिव, झारपातसंग हामीलाई दरिएको छ । ‘कुकुर झिँगो’, ‘कुकुर डाइनो’ (काँडे लहरो), ‘कुकुर मुत्ते’ (खान नहुने रुखमा हुने च्याउ), आदि हाम्रै नाम राखेर न्वारान गरिएको छ । हामीले हाम्रा कान पाक्ने गरी यस्ता तुच्छ बचन सुन्दै आएका छौं । हाम्रा अंग प्रत्यगं पनि खिसीट्युरी गर्ने नाम भएका छन, जस्तो की ‘कुकुर दाँते’, ‘कुकुर पुच्छ्रे’ आदि ।
हाम्रा बानी बेहोरालाई पनि निको अर्थमा लिइन्न । ‘कुकुर डुलुवा’, ‘कुकुर भुकाइ’, ‘कुकुर मुखे’, ‘कुकुर मुत्ते’ भन्ने ननिको चलन छ । हाम्रो प्राकृतिक गुण अनुसार हामी वर्षमा एक पटक मैथुन क्रियाकर्म गर्छौं । मान्छे जस्तो बाह्रै महिना, बाह्रैमास, २४ सै प्रहर हैन । कात्तिक महिनामा हामीले गर्ने मैथुन क्रियालाई ‘कुकुर गाँठो’ भनेर अश्लिल र गिज्याउने अर्थ दिइएको छ । कसै मनुवाले रतिराग, रासलीला मच्चाए उसलाइ कात्तिके कुकुर भन्ने चलन छ । वर्षै दिन २४ सै प्रहर रासलीला गर्ने मान्छेले मैथुन गर्दा चैं रासलीला हुने हामीले वर्खमा एक दिन गर्दा चैं क्यारेक्टर ढिला हुने ?
छनलाई हाम्रो पनि चाडपर्व छ जसलाई कुकुर तिहार भनिन्छ । तर हेपेर त्यसलाई ‘कालो कात्तिक’ भनेर नामै विगारिएको छ । भित्ता मुतुवा भन्छन । तर भित्ता मुतेको रहस्य तिनलाइ के थाहा ? खुट्टा उचालेर भित्ता किन मुत्छौं त्यसको गुण रहस्य पनि कुनै दिन मौका परे बताउँला ।
हामीलाइ कात्तिके नाम जुराएका छन । चाडमा यसो माला लगाइ दिए जस्तो गरेर हड्डखुड्डी दिएर मन्साउँछन । मान्छेहरु चाडबाडमा रसरंग पिउँछन् । धेरै पिएभने कुकुरको मुत घिचेको भनेर हाम्रै मुत्रको हुर्मत लिन्छन् ।
पाँडेको कथामा घर पालुवाको बखान
एक जना पाँडे थरका लेखक नयराज पाँडेले कतै अनलाइन पोर्टलमा घर पालुवा कुकुरको खुबै बखान गरेर लेखेको पढेको थिएँ । ती पाँडे कुकुर विज्ञ भनेर चिनिएका रहेछन । हाम्रो प्राग ऐतिहासिककालदेखि अहिलेसम्मको भूमिकाको बारेमा नलेखी कसरी विज्ञ भए ? हामी पनि हेक्का राख्छौं । उनले घरपालुवा ‘घ’ कुकुरको बारेमा यस्तोसम्म लेख्न भ्याएका छन् :
झन्डै दुई सय पचास प्रजातिका कुकुरहरू घरमा पाल्नका लागि योग्य मानिन्छन् । अफगान हाउन्ड, अकिता, अलास्कन मलाउमट, अस्ट्रेलियन कैटल, अस्ट्रेलियन केल्पी, अस्ट्रेलियन सिल्की टेरियर, एल्सेसियन, बीगल, बेल्जियन सेर्फड, जर्मन सेर्फड, ब्लड हाउन्ड, बक्सर, ब्रिटिस बुलडग, शिहुआहुवा, जर्मन प्वाइन्टर, डोवरम्यान, ल्याबराडोर प्यापिलन, माल्टेज, पमेरियन, पुडल, साइबेरियन हस्की, तिब्बती स्पानियल, गोल्डन रिट्रिवर, ग्रेट डेन, आइरिस सेटर, आइरिस वुल्फहाउन्डजस्ता प्रजातिका कुकुरहरू विश्वका सर्वाधिक लोकप्रिय प्रजातिहरू मानिन्छन् । बोर्डर कोली, पुडल र गोल्डन रिट्रिवर सबैभन्दा समझदार कुकुर मानिन्छन् । अफगान हाउन्ड भने सबैभन्दा मूर्ख र ल्वाँदे कुकुर मानिन्छ ।
संसारको सबैभन्दा सानो र हलुङ्गो कुकुर शिहुआहुआ हो र सबैभन्दा ठूलो र गरुङ्गो कुकुर वुल्फहाउन्ड हो । कुकुर पाल्ने चलन हजारौं वर्ष पुरानो हो । पहिलापहिला कुकुरलाई स्वामीको मृत्युपछि स्वामीसँगै गाडिने चलन पनि थियो । ताकि परलोकमा पनि त्यसले स्वामीको रेखदेख गरोस् ।
एल्सेसियन, सेर्फडजस्ता सम्भ्रान्त कुकुरहरू पनि पाइन्छन् । बोर्डर कोली, पुडल र गोल्डन रिट्रिवरजस्ता समझदार कुकुरहरू पनि यहाँ पाइन्छन् । मूर्ख, ल्वाँदे र स्वामीको तलुवा निकै स्वाद लिएर चाट्ने अफगान हाउन्डजस्ता कुकुरहरू पनि यहाँ प्रशस्त पाइन्छन् । कुकुरहरूका क्लबहरू पनि छन् । त्यहाँ कुकुरको स्याहारसम्भार र प्रशिक्षणको विशेष व्यवस्था गरिएको हुन्छ ।
यसरी घर पालुवा कुकुरको उच्च मूल्याङ्कन पाँडेले गरे । हाम्रो हकमा हुँदै भएन । सभ्रान्त मान्छेहरुले सभ्रान्त कुकुरको कीर्ति गाथा गाउँदा रहेछन । भगवान रामको चरित्र तथा कीर्ति वर्णन गरिएको रामायण ग्रन्थ विभिन्न भाषामा लेखिए । संस्कृतमा वाल्मिकी मुनी, हिन्दीमा सन्त तुलसी दास, नेपालीमा भानुभक्तले उतार गरे । तर हाम्रा हकका कीर्ति गाथा कुकुरायण कसैले लेखेन ।
घर पालुवा कुकुर कुकुर्नीले पनि यति कुरा चैं थाहा पाउनु पर्छ कि तिनका पनि मरणका दिन भने निको हुने छैन । कुकुर मराई नै हुनेछ । नेपाल प्रहरीको केनाइन कुकुर शाखामा काम गर्ने कुकुरहरु टाइसन, टाइगर, रोज जो सुकै हुन । अहिले काम लिउन्जेल त पदक, पुरस्कार पाउँछन । तर अवकास पछि तिनले पनि व्यारेकको खान्की छोडेर जानु पर्छ । तिनको कुनै पेन्सन आदि हुँदैन । अर्कै मालिकको हातमा पुग्छन र तिनकै तलुवा चाट्दै पुच्छर हल्लाउनु पर्छ ।
जंगली कुकुरका अन्तर्राष्ट्रिय सम्मेलन
यता जंगली कुकुरका एक से बढकर एक सम्मेलन भएको सुनिन्छ । यो कस्तो विवेध हो ? आइयुसियन नामको डलरे संस्थाले बाघपछिको ‘अति संकटापन्न जाति’ भनेर सूचिकृत नै गरेको छ । अठार देशका वैज्ञानिक, अनुसन्धानकर्ता, वन्यजन्तुविद, वातावरणविद र अभियन्ताहरु ‘वन कुकुर संरक्षण अभियान’ चलाई रहेका छन् । तिनले गएको बर्ख चितवनमा वन कुकुरसम्बन्धि सात दिने सम्मेलन गरे । वन कुकुर अभियन्ताहरु डा. अम्बिकाप्रसाद खतिवडा, सुजन खनाल, किरन पौडेल, स्मृति लामाले त्यहाँ वन कुकुरको पक्षमा खोक्नुसम्म खोके । तृष्णा रायामाझी नामकी ठिटी वन कुकुरमा पिएचडी गर्न जंगल जंगल दौडेको खबर छ । सन् २०१९ मा थाइल्याण्डमा वन कुकुर अन्तराष्ट्रिय कार्यशाला नै भयो । सन् २०२३ मा अन्तराष्ट्रिय वन कुकुर सम्मेलन भयो । कार्यदिशा बन्यो । महिला नेचर गाइड विनिता भण्डारी वन कुकुर खोज्न केराको थाम जत्रो क्यामेरा बोकेर जंगल चाहर्छिन । ‘चुरे दोहन रोकौं वन कुकुरको वासस्थान जोगाऔं’ नारा ल्याका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोस की प्रमुख रचना शाह वन कुकुर जोगाउन उत्साहित छु भनेर अन्तरवार्ता पिट्छिन । वन कुकुरकै पछि लागेकी अस्मिता पाँडेले त ‘वन कुकुरलाई पपुलर बनाउन आवश्यक छ’ भनेर कागे अक्षरमा महानबाँणी नै तोप्न पछि परेकि छैनन् ।
पत्रकारिता र साहित्यको नजरमा कुकुर
साहित्य र पत्रकारिताको नजरमा भने हाम्रो अलिकति मान-मनितो भए जस्तो लाग्छ । साहित्यकारले हाम्रा बारेमा अनेक साहित्य, शायरी रचेका छन् । एक जना शायरले त यतिसम्म लेखेका छन्, ‘मोहब्बत और बफादारी सीखनी है तो इन्सान से नही कुत्तौं से सिखो ।’ प्रेम र बफादारी भन्ने चिजबस्तु सिक्न त हामीलाई नै गुरु थाप्नु पर्ने रहेछ । इन्सानीयत अर्थात मानवीयता सिक्न कुकुरबाट गुरु दीक्षा लिनु पर्ने अवस्था आएपछि मानव भन्ने चिजबस्तु नै कहाँ रह्यो र ? साहित्य लेखनमा यो त प्रतिनिधि उदाहरण मात्रै हो । खगेन्द्र लामिछानेले हाम्रो कथा जोडेर ‘फुर्के’ नामको उपन्यास लेखेका छन । महान साहित्यकार प्रेम चन्दले कल्लु, एउटा कुकुरको कथा शिर्षकमा हाम्रै गाथा लेखेका छन् ।
तर कतिपय साहित्यकारले हामीप्रति पूर्वाग्रह साँधेका छन् । विनयकुमार कसजु नामका प्रगतिशील भनाउँदा साहित्यकारले ‘स्याल र कुकुरको मितेरी’ शीर्षकको कथामा हामीलाई कुखुरा चोर बनाएका छन । राजनैतिक नेताहरुमा गिरीबन्धु कम्बेडियन ओली नामका नेताले हामी कुकुरहरुले चकलेट चोरेर खाएको मनगढन्ते कथा बनाएर केहि वर्ख अघि पोखराको आमसभामै सुनाएर हाम्रो गर्नु बेईज्जत गरे । उनले नै अर्को फोहोर खाने कुकुर नामको हावादारी कथा पनि सुनाउँदै आएका छन् ।
पत्रकारिता शिक्षाको परिभाषामा चैं ‘कुकुर दीक्षा’को मूल्याङ्कन पाइन्छ । समाचार उत्पादनकै परिभाषामा भनिएको छ, ‘कुकुरले मान्छेको खुट्टा टोक्यो भने समाचार हुँदैन, तर मान्छेले कुकुरको खुट्टा टोके समाचार हुन्छ ।’ रखबारी गर्ने क्रममा हामी मान्छेको मात्रै होइन अरु जिवजन्तुको पनि खुट्टा बाँकी राख्दैनौं । हाम्रो प्राकृतिक गुण नै टोक्ने, चिथोर्ने भएपछि कसरी समाचार बन्छ त ? यसरी नै पत्रकारिता जगतमा ‘वाच डग’को भूमिकालाई सिरोधार्य र अनिवार्य गरिएको छ । यसले पनि कुकुर जगतको भूमिकालाई दीक्षाको रुपमा पत्रकारिता शिक्षाले लिएको छ ।
यसबाहेकका क्षेत्र विधामा त हामीहरु गल्लीका भुस्याहा, खिच्चा, लावारिस र खाते कुकुर हौं । हाम्रो नामै पनि काले, पाङ्ग्रे, खैरे, भोटे आदि एकलख भिरेको न छ । उता बेलायती उपनिवेश भारतमा कायम हुँदा कुइरेहरुले हामी कुकुरहरुलाई अलिकति मानिससंग दाँजेका थिए । कलकत्ताको धरमतल्लामा रहेको भिक्टोरिया मेमोरियल हल अगाडिको पर्खालमा ‘इण्डियन एण्ड डग्स आर नट अलाउड’ लेखेर भारतीयहरुसंग कमसेकम हाम्रो तुलना गरेका थिए ।
उता नेपाल देशाँ ‘स्नेहाज केयर’ नामको संस्था खोलेर स्नेहाज श्रेष्ठले वेवारिसे कुकुरको हेरचाह गर्ने भनिकन राहत दिएकी छिन । बाँकी मान्छेहरु त साँप विच्छि पालनमा लागेका छन । यस्ता विखालु साँप विच्छी पालन गर्ने भनिकन करोडौं कुम्ल्याएका छन् । खैत राज्य स्तरमा हाम्रो लालनपालन कार्यक्रम ?
मृत्यु र मोक्ष
मृत्यु भनेको जीवका जीवनको समापन वा अंत हो । देहावसान, निधन र मरण हो । तर हाम्रो मरणको कुनै मूल्य छैन । मानिसको मृत्युमा स्वर्गवास, बैकुण्ठधाम अनेक नाम दिन्छन् । माक्र्सवादीहरुले मृत्युलाइ दूई चिराबाट व्याख्या गर्छन । पहिलो गर्व गर्न लायक मानिसको मृत्युलाइ ‘हिमाल भन्दा गरुङ्गो’ र नालायक मान्छेको मृत्युलाइ ‘प्वाँखभन्दा हलुङ्गो’ भनेर वर्गीकरण गरिएको छ । तर, हाम्रो मृत्युलाई शब्दकोसहरुले ‘कुकुर मराइ’ उल्लेख गरेको छ । हाम्रो मृत्युलाई कष्टपूणर् मृत्यु, सारै दुःखको मरण यस्तो परिभाषा गरिएको छ । हाम्रो मृत्युवरणको कुनै असल नाम छैन ।
हामी कुकुरको सबैभन्दा धेरै बेइज्जत नेपोलियन बोनापार्टले गरेका छन् । हाम्रा सन्दर्भमा उनले भनेका छन्, ‘यदि तपाई एकसय सिंहको सेना बनाउनु हुन्छ र त्यसको नेता कुकुर हुन्छ भने सिंह कुकुर जस्तै मृत्यु वरण गर्छ ।’
यतिमात्र हैन हाम्रो बंश वृद्धि रोक्न र हामीलाई कालान्तरमा निसन्तान र अपुताली बनाउन परिवार नियोजन (भ्याक्सोटोमी) कार्यक्रम नगरपालिकाले चलाउँछन । हाम्रो मृत्युको त कुनै ठेगान छैन । नगरपालिकाले बेला-कुबेला भुस्याहा कुकुर उन्मुलनको नाममा हाम्रो ‘जेनोसाइड’, ‘होलोकास्ट’ अर्थात कुकुर संहार गर्छन, गर्दै आएका छन् । रेविज फैलाएको आरोपमा उपचारको साटो सिधै मृत्युदण्ड दिइन्छ । तर अरु पशुको हकमा पशु बली निन्दनीय भने अनेक कार्यक्रम ल्याइन्छ । अदालतले बली नदिने परमादेश नै जारी गरेको छ । यसरी कानूनी विवेधमा समेत परेका छौं ।
मोक्ष धार्मिक सिद्धान्तमा संसारिक संघटनबाट मुक्ति प्राप्त गर्ने प्रक्रिया हो । जसले आत्मा वा जीवात्माको सर्वोत्तम लक्षमा पुर्याउँछ । यसले दुःख, पीडा, र संसारिक संकटबाट मुक्ति प्रदान गर्दछ । मोक्ष संसारिक दुःखबाट मुक्ति वा स्वतन्त्रता पाउने विधि हो । तर, हाम्रो मोक्षको कुनै मूल्य छैन । हाम्रा बाउ, बाजे, बराजुबाट सुनेको एक पटक सायद द्वापर युग तीर होला युधिष्ठिरसंग एउटा कुकुर रहेछ । एक दिन यमराज युधिष्ठिरलाई स्वर्ग लैजान आएछन । युधिष्ठिरले आफुसंग भएको कुकुरलाई पनि लैजान अनुरोध गरेछन । तर, यमराजले कुकुरलाई स्वर्गमा प्रवेश निषेध भएको जनाउ दिए रे । यसरी हामीले जति नै धर्मकर्म गरेपनि मरेपछि नर्ककुण्डमा जाने जबर्जस्त थिति बसालिएको छ । यो कुकुर विरोधी घोर अन्याय हो ।
रहलपहल
यसरी हामीमाथि अनन्त उत्पीडनका सृङ्खलाबाट आजित भएपछि संसारभरका कुकुरहरुको एउटा अन्तराष्ट्रिय सम्मेलन भयो । सम्मेलनले मुक्ति र स्वतन्त्रताको लागि आन्दोलन गर्ने निणर्य गर्यो । ‘संसार भरका खिच्चा कुकुरहरु एक हौं’ यस्तो गगनभेदी नारा लाग्यो । यसैक्रममा शसस्त्र (टोक-टाक) र निशस्त्र (भुक-भाक) आन्दोलन उत्कर्षमा पुग्यो । संसार थर्कियो । ब्रम्हाण्डका रचनाकार ब्रम्हा, विश्णु, महेशको सिंहासन हल्लियो । ब्रम्हा जी दूत बनेर वार्तामा आए । बाह्रबुँदे समझ्दारी भयो । समझदारीमा गोलमेच सम्मेलन, अन्तरिम सरकार, संविधानसभा, संविधानसभाबाट पहिचानसहीतको संघीय गणतन्त्र स्थापना गर्ने समझ्दारी पत्रको प्रस्तावनामा उल्लेख भयो । सहमति पत्रको ‘चिर्कटो’ एकप्रति कुकुर नेताले राखे ।
ब्रम्हाजीले समझ्दारी अनुसारको व्यवस्था कार्यान्वयन गर्न सहमति पत्र बोकेर स्वर्गमा आउन आन्दोलनकारी कुकुर नेतालाइ भने र अलप भए । यता कुकुर समूहमा कसले सहमति पत्र के गरी बोक्ने भन्नेमा सकस भयो । एक अर्कामा शंका उपशंका बढ्यो । यसर्थ सबैले पालैपालो बोक्ने निधो भयो । तर, कुकुरहरुसँग बोक्ने मान्छेको जस्तो कुनै झोला फाइल हुने कुरा भएन । सबैले पछाडि पट्टिको तिघ्रामा पालैपालो च्यापेर बोक्ने निणर्य भयो । यसरी असंख्य कुकुरहरुले पालैसंग बोक्दै लैजाँदा सहमति पत्र समयकालमा कहाँ हरायो पत्तै भएन । जब एकदिन ब्रम्हाजीकोमा जाने दिन आयो सहमति पत्रको खोजी गर्दा पत्रको खुटखबर आएन । यसर्थ अहिले पनि हामीहरु मुक्ति र स्वतन्त्रताको खातिर त्यहि सहमति पत्र खोजी रहेका छौं । यसैले कुकुर कुकुरको भेट हुँदा हामी पहिले भुक्ने खेद्ने गर्छौं ।
कतै सहमतिको चर्किटो बोकेको छ कि भनेर होहल्ला गर्छौं । अन्त्यमा कुकुरहरुको पछिल्तिरको भाग हेर्ने र सुँघ्ने गर्छौ । कतै सहमतिको चिर्कटो भेटिन्छ की भन्ने हाम्रो आश मरेको छैन । हाम्रो उत्पीडनको मुक्तिको सूत्र त्यही चिर्कटोमा छ । जुन दिन हात लाग्छ हाम्रो मुक्ति र मोक्ष हुनेछ ।
यति कथा पाङ्ग्रेले हालिसक्दा बारीको पारिलो घाममा छाउरा-छाउरीहरु उत्तानो टाङ सूर्य नारायणतर्फ फर्काएर मस्तसँग निदाइ सकेका थिए ।
टिप्पणीका लागि : [email protected]
शाभार:फित्कोली.कम
प्रतिक्रिया