टुक्का साहित्य समाजकाे विशेष समाराेहमा पुस्तक विमोचन एवम् सम्मान कार्यक्रम हुने

इनेप्लिज २०८१ माघ १४ गते २२:२९ मा प्रकाशित

टुक्का साहित्य समाजले यही माघ १७ गते एक कार्यक्रमको आयोजना गरेर आधा दर्जन बढी पुस्तकको एकसाथ विमोचन गर्ने भएको छ । समाजका अध्यक्ष ताराप्रसाद चापागाईंका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाहलमा ११:३० बजे शुरु हुने उक्त कार्यक्रममा २ दर्जन बढी व्यक्ति तथा संस्थाहरूलाई विभिन्न सम्मान पत्रहरू समर्पण गरिनेछ ।

विमोचन हुने टुक्का कवितासङ्ग्रहहरू ‘छन्दाहार’ संयुक्त टुक्का कवितासङ्ग्रह, ताराप्रसाद चापागाईंको ‘आवाजका रेखाहरू’ , बाबुराम पाण्डेको ‘पत्थर’, दीपा गुरुङ समभावको ‘कल्पनाका छालहरू’, बेदु न्यौपानेको ‘मौन तरङ्गहरू’, पुष्पा राईको ‘बह’ र चूडा निर्भीकको ‘छन्द व्यञ्जना’ रहेका छन् ।

वर्ष उत्कृष्ट टुक्काकार सम्मान-२०८१ बाट एक पुरुष टुक्काकार र एक महिला टुक्काकारलाई समर्पण गरिनेछ । याे सम्मान हरेक वर्ष टुक्का कविता लेखनमा सक्रिय टुक्काकारहरू मध्ये पुरुष १ जना र महिला १ जनालाई समर्पण गर्ने गरिन्छ । याे वर्ष दाङका सुरेशकुमार पाण्डे र बाँकेकी पुष्पा सुवेदी आचार्य उत्कृष्ट वर्ष टुक्काकारमा पर्नु भएकाे छ।

त्यस्तै ऎतिहासिक रेकर्ड राख्ने ३ जना साहित्यकारलाई ऐतिहासिक प्रबल टुक्का साहित्य सम्मान २०८१ बाट सम्मानित गरिने भएको छ । टुक्का कविता विधामा ऐतिहासिक रेकर्ड रहने गरि देश विदेशका जुनसुकै सर्जकलाई यो सम्मान समपर्ण गर्ने गरिन्छ । याे वर्ष पुष्पा राई (खाेटाङ), इन्दु श्रेष्ठ (चितवन) र चूडा निर्भीक (गाेरखा) सम्मानित हुनुहनेछ ।

टुक्का साहित्य समृद्धि सम्मान २०८१ बाट ५ जना स्रष्टाहरूलाई सम्मान गरिने भएको छ । टुक्का कविताकाे एकल वा संयुक्त सङ्ग्रह प्रकाशन गर्ने स्वदेशी वा विदेशी व्यक्तित्वहरूलाई यो सम्मान समर्पण गर्ने गरिन्छ । सम्मानित हुनुहुनेमा रामशरण न्याैपाने (भक्तपुर), ज्ञान बहादुर छेत्री (अर्घाखाँची), बाबुराम पाण्डे (अर्घाखाँची) दीपा गुरुङ समभाव (खाेटाङ) र वेदु न्याैपाने (काठमाडाैँ) पर्नु भएकाे छ ।

त्यस्तै टुक्का साहित्य प्रवर्धन सम्मान २०८१, ३ जना साहित्यकारलाई समर्पण गरिने भएको छ । संस्थागत वा व्यक्तिगत अभियान चलाएर टुक्का कविता विधाकाे उन्नयनमा महत्वपूर्ण भूमिका निभाउने स्वदेशी वा विदेशी सर्जकहरूलाई यो सम्मान प्रदान गर्ने गरिन्छ । सम्मानित हुनेमा हन्नाह छेत्री (दार्जिलिङ), प्रेम थापा “मन” (बागलुङ) र अच्युत घिमिरे (भुटान) हुनुहुन्छ ।
साथै टुक्का साहित्य प्रवर्धन सम्मान २०८१ (संस्थागत) काेटगढी साप्ताहिकलाई प्रदान गरिने भएको छ । टुक्का कविता विधाकाे उन्नयनमा महत्वपूर्ण भूमिका निभाउने स्वदेशी तथा विदेशी संस्था वा पत्रपत्रिकालाई यो सम्मान समर्पण गर्ने गरिन्छ ।

त्यस्तै टुक्काश्री साहित्य सम्मान २०८१ बाट छन्दाहार संयुक्त टुक्का कवितासङ्ग्रहमा समावेश हुनुभएका १५ टुक्काकारहरूलाई समर्पण गरिने भएकाे छ । याे सम्मान संयुक्त टुक्का कविता प्रकाशनमा सहभागी टुक्काकारहरूलाई (नदाेहाेरिने गरि) समर्पण गर्ने गरिन्छ ।

प्रतिक्रिया