चेपाङ विद्यार्थीहरूको शिक्षाका लागि CCNC USA द्वारा पाँच लाख एक्काइस हजार सहयोग हस्तान्तरण

इनेप्लिज २०८१ माघ २१ गते २२:५९ मा प्रकाशित

धादिङ, माघ २१ – समाजसेवा र शिक्षाको प्रवर्द्धनमा अग्रसर हुँदै Coordination Committee of Nepali Communities USA (CCNC USA) द्वारा रु. ५,२१,००० (पाँच लाख एक्काइस हजार रुपैयाँ) सहयोग हस्तान्तरण गरिएको छ। धादिङ जिल्लामा आयोजित सप्ताहव्यापी श्रीमद्भागवत महायज्ञको अवसरमा चेपाङ समुदायका विपन्न विद्यार्थीहरूको शिक्षाका लागि संकलित उक्त रकम प्रदान गरिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रम

सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी वेदप्रसाद खरेलले CCNC USA को तर्फबाट मन्तव्य राख्दै, यो अभियान सफल बनाउन योगदान गर्ने संपूर्ण सहयोगी मनहरूलाई धन्यवाद व्यक्त गरे। उनले प्रवासी नेपाली समुदायको एकताले यस्ता परोपकारी कार्यलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गर्दै भने, “हामीले अहिले शिक्षा अभियानमा साथ दिएका छौँ, भोलि कुनै पनि दुःखद घडीमा CCNC USA सधैं सहयोग गर्न तत्पर रहनेछ।”

शिक्षाको लागि भिक्षा: परोपकारी अभियान

महायज्ञको मूल उद्देश्य “शिक्षाको लागि भिक्षा” भन्ने नारासहित शिक्षाबाट बञ्चित बालबालिकाहरूलाई सहयोग पुर्‍याउनु रहेको आयोजकहरूले बताएका छन्। धादिङका दुर्गम क्षेत्रमा अध्ययनरत चेपाङ विद्यार्थीहरू आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको थियो।

अवसरको लाभ उठाउँदै वेनी घाट रोरांग गाउँ पालिका, धादिङमा समाज द्वारा समाजका लागि जुटेको समाजको लागि उठेको शिक्षाको लागि भिक्षा अभियानको आयोजना गरिएको छ। श्रीमद्भागवत महायज्ञको आयोजनामा यहि माघ १७ देखि २३ सम्म संचालित गरिने यस अभियानको मुख्य उद्देश्य गरिब, असहाय, र सिमान्तकृत बालबालिकाको पोषण, स्वास्थ्य, र शैक्षिक उन्नयनका लागि अक्षयकोष निर्माण गरी सहयोग पुर्‍याउनु रहेको छ।

समाजसेवी होमनाथ थपलियाले प्रवासवाट सहयोगी एवं परोपकारी व्यक्तिहरूले आफूहरूको अभियानमा खुला मनले सहयोग गर्नु भएको देखेर थप उत्साह जागेको बताए।

यस सहयोग संकलन अभियानमा धादिङमा जन्मिएर हाल लङ आईल्यान्ड, न्यूयोर्कमा बसोबास गर्दै आएका समाजसेवी निर्मल थपलिया विशेष रूपमा सक्रिय रहे। उनले प्रवासी नेपाली समुदायलाई एकजुट गर्दै, CCNC USA को समन्वयमा उक्त रकम संकलन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे। CCNC USA का अध्यक्ष बाबुराम शर्मा, महासचिव शंकर भण्डारी, तथा अन्य समाजसेवीहरूको समेत यस अभियानमा महत्त्वपूर्ण भूमिका रह्यो।

समाजसेवा र परोपकारमा CCNC USA को प्रतिबद्धता

समाजसेवा र परोपकारी कार्यमा निरन्तर संलग्न रहँदै आएको CCNC USA ले भविष्यमा पनि शिक्षा, स्वास्थ्य, तथा विपन्न वर्गको उत्थानका लागि योगदान दिने प्रतिबद्धता जनाएको छ। वेदप्रसाद खरेलले महायज्ञमा मन्तव्य राख्दै, “विदेशमा रहेर पनि मातृभूमिप्रति हाम्रो जिम्मेवारी उत्तिकै छ। हामी सबै मिलेर असल कार्यमा लाग्ने हो भने समाजको मुहार फेर्न सकिन्छ,” भन्ने विश्वास व्यक्त गरे।

भविष्यका योजनाहरू

यस अभियानले चेपाङ समुदायका विद्यार्थीहरूलाई शिक्षाको अवसर उपलब्ध गराउने मात्र नभई, प्रवासी नेपाली समुदायलाई मातृभूमिप्रति दायित्व निर्वाह गर्न प्रेरित गरेको छ। आगामी दिनहरूमा यस्ता परोपकारी कार्यलाई अझ विस्तार गर्दै जाने CCNC USA तथा अभियन्ताहरूको प्रतिबद्धता रहेको छ।

यस सत्कर्ममा संलग्न सम्पूर्ण सहयोगी हातहरूलाई आयोजक समितिले विशेष धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया