रौतहट÷रौतहटको मौलापुर नगरपालिकाले गर्दै आएको मधानी महोत्सवको क्रममा छैटौं महोत्सवलाई अझ भव्य बनाउने भएको छ । महाशिवरात्रीको अवसरमा फागुन ११ देखि १५ गतेसम्म मौलापुर नगरपालिकाको पतौरा गाउँमा चल्ने मधानी महोत्सवलाई पहिलेका वर्षहरुभन्दा पनि भव्य बनाइने भएको छ ।
नेपाली तथा भारतीय कलाकारहरुको प्रस्तुति, विभिन्न खेल तमासा तथा धार्मिक सांस्कृतिक मनोरञ्जन र स्थानीय नाचको प्रस्तुतिले मधानी महोत्सव विशेष हुन थालेको हो । मौलापुर नगर प्रमुख रिनाकुमारी साहले पतौरास्थित पुरातात्विक महादेव मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै छैटौं मधानी महोत्सवलाई अझ विशेष बनाउन सबैतिरको सकारात्मक सहयोग आवश्यक रहेको बताएकी छन् । नगर प्रमुख साहले नगरपालिकाले सकेको उत्खनन र पुरातात्विक सम्पदाको संरक्षण गरिरहेको तर बाँकी काम पुरातत्व विभागले गर्नुपर्ने बताएकी छन् । पतौरामा रहेको ऐतिहासिक तथा पुरातात्विक दृष्टिकोणका संरचनाहरुको उत्खनन गरी पतौराको वास्तविकलाई पुरातत्व विभागले बाहिर ल्याउन पुरातत्व विभागले सहयोग गर्नुपर्ने नगर प्रमुख साहले स्पष्ट पारिन् ।
भारत उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाबाट चर्चामा आएकी मोनालिसा नेपाल आउँदै छिन् । रौतहटको मौलापुर नगरपालिकाको पतौरामा फागुन महिनामा हुन लागेको मधानी महोत्सवमा मोनालिसा आउने निश्चित भएको नगर प्रमुख रिनाकुमारी साहको भनाइ छ ।
२०७६ देखि हरेक वर्ष महाशिवरात्रीको अवसरमा मौलापुरको पतौरास्थित पुरातात्विक महादेव मन्दिरमा हुने मधानी महोत्सवमा चर्चित भारतीय तथा नेपाली कलाकारहरुको सहभागिता रहने गरेको छ । महाकुम्भ मेलामा आफ्नो आँखाको कारण चर्चामा आएकी र भारतीय चलचित्रमा अनुबन्धसमेत भइसकेकी मोनालिसा पहिलोपटक नेपाल आउन लागेको बुझिएको छ ।
कार्यक्रममा भारतीय भोजपुरी तथा हिन्दी सिनेमाका चर्चित कलाकार तथा साँसद रविकिशन, प्रसिद्ध गीतकार तथा पूर्वमन्त्री विनयबिहारी, गायक तथा अभिनेता रितेश पाण्डे पनि मधानी महोत्सवमा मौलापुर आउने निश्चित भएको नगर प्रमुख साहको भनाइ छ । यसै गरी नेपाली कलाकार र गायक–गायिकाहरुमा अनु चौधरी, सदाम हुसेन, रचना शिवाकोटी, रुद्रनारायण तिवारी, प्रीति आर्या पासवान, प्रीति सुहानी, रोसनी राज, सरिता साह, अर्जुन बिसी, मनीषा राईको पनि मधानी महोत्सवमा प्रस्तुति रहने नगर प्रमुख साहको भनाइ छ ।
शिव पार्थिव पूजन, महाहवन, शिव बारात यात्रा, मधानी विशेष समारोह, मधानी विशेष सांस्कृतिक समारोह, कुस्ती दंगलसहित स्थानीय नाचका साथै विभिन्न मनोरंजनात्मक कार्यक्रम गरी मनाइने मधानी महोत्सवको विशेष समारोहलाई मधेश प्रदेशका मुख्य मन्त्री सतिश सिंहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसै गरी मधानी विशेष सांस्कृतिक समारोहलाई पूर्वमन्त्री तथा संघीय साँसद प्रभु साहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
हरेक वर्ष मधानी महोत्सवमा लाखौँ दर्शकको सहभागिता हुने गरेको छ । शिवको विवाहको अवसरमा गरिने विशेष किसिमको लौकिक परम्परामा रहेको मधानीलाई मौलापुर नगरपालिकाले गत ६ वर्षदेखि प्रवर्धन गर्दै आएको छ । २०७६ मा गरिएको पहिलो मधानी महोत्सवमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता रहेको थियो ।
नगर उपप्रमुख नागेन्द्र यादवले भारत तथा नेपालका कलाकार र खेलाडीहरुले मधानी महोत्सवका साथै महादेव मन्दिरको माध्यमबाट अन्तरदेशीय सम्बन्ध विस्तार बताए ।
मधानी महोत्सवको लागि चालू आर्थिक वर्षको गत असारमा सम्पन्न नगर सभाबाट ७८ लाख रुपैया विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी गराएका छन् । गत वर्ष मधानी महोत्सवमा ७३ लाख रुपैया खर्च भएको थियो ।
मधानी महोत्स्वमा नेपाल र भारतबाट दर्शकहरु पुग्ने गरेका छन् । देशको सयओटा पर्यटकीय गन्तव्यमा सूचीकृत भइसकेको पुरातात्विक महादेव मन्दिर क्षेत्रको नजिक पुरातात्विक महत्वका विभिन्न संरचनाहरु फेला परेका छन् तर अध्ययन र उत्खनन हुन सकेको छैन । पुरातात्विक महादेव मन्दिरमा भेटिएको संरचना गुप्तकालको भएको अध्ययनबाट देखिएको कलाकार विजय यादव निर्बिजको भनाइ छ ।
मधानी महोत्सवले स्थानीय संस्कृतिलाई विस्तार गरेको, मधानी महोत्सवको अन्तर्राष्ट्रियकरण भएको, पर्यटनको महत्वलाई बढाएको, पुरातात्विक महादेव मन्दिरको बारेमा नेपाल र भारतमा लाखौँले जानकारी पाएको तथा बेपार प्रबर्धनमा सहयोग पुगिरहेको नगरपालिकाको भनाइ छ ।
प्रतिक्रिया