धमिराले चुसेर सडेको शरीरमा
आत्मा क्रोधित भएर भक्कानिन्छ
एउटा भौतारिरहेको भूत
आफ्ना शरीरका अंग अवशेषहरू नियालेर
आफ्नो धड्कनको रफ्तार तेज पार्दै
हिंसाको मैदानमा उत्रिएको छ
म जिउँदो लास हुनबाट बचाइरहेछु आफूलाई
यो बेजान दुनियाँमा
आफ्नो शिर मुड्कीले ठोक्दै
आफ्नो शरीरको नसानसामा हावाको बहाव बढाउँदै
आफू भित्रको भक्कानिएको भूत लाई शान्त पार्न चाहन्छु।
मलाई आशा छ कि
एक दिन
म एउटा निर्जीव मान्छे
मानसिक पिन्जडाबाट मुक्त
भएर प्राकृतिक स्थलहरूको शयर गर्ने छु।
म चिल बनेर जिवनरुपी संसारलाई उचाइबाट नियाल्ने छु
आखिर चिलको जस्तो दूर दृष्टिले
अनन्त संसारलाई नियाल्नुको आनन्द नौलो होला कि?
प्रतिक्रिया