नेपाली सामाजिक र मनोवैज्ञानिक यथार्थको ऐना: “प्रतिरूप” उपन्यास

इनेप्लिज २०८१ फागुन १ गते ११:३२ मा प्रकाशित

शिक्षा, प्रशासन र साहित्यमा लामो समयदेखि क्रियाशील व्यक्तित्व हुन् डा. खगराज बराल ।उनको लेखन शिक्षासम्बन्धी पुस्तकहरूदेखि कथा, कविता, समालोचना र उपन्याससम्म फैलिएको छ। निजामती सेवातर्फको शिक्षा सेवाको विद्यालय निरीक्षक पदमा प्रवेश गरी विशिष्ट श्रेणीको सचिव पदमा पुगी विभिन्न मन्त्रालय, आयोग तथा कार्यालयको सफल नेतृत्व गरेका बराल नेपाली साहित्यमा श्रमिक बरालका नामले समेत परिचित छन्। निजामती सेवाबाट सेवा निवृत्त भएपछि हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानअन्तर्गतको प्रज्ञा-प्रतिष्ठान सेवा आयोगको अध्यक्षको पदमा कार्यरत बराल जहाँ कार्यरत रहे उनी अब्बल सावित हुँदैआएका छन्।

श्रमिक बरालका नामबाट ‘श्रमिक बरालका फुटकर रचनाहरू’ (कविता र कथा) २०७८, ‘आँगनीको फूल’ २०७६ आदि प्रकाशित भएका छन् ।उनको खगराज बरालका नामबाट ‘सिकाउने शैली’ (गैह्रआख्यान) २०७५, ‘सिकाइ र सहयोग’ (गैह्रआख्यान) २०७६, ‘स्यानी’ (उपन्यास) २०७७, ‘मालामा नउनिएका फूलहरू’ (गैह्रआख्यान) २०७८ र “प्रतिरूप” (उपन्यास) २०८१ प्रकाशित छन् । शिक्षक व्यवस्थापनमा विद्यावारिधि गरेका बरालका शिक्षा क्षेत्रसँग सम्बन्धित झण्डै एक दर्जन जति पुस्तक प्रकाशित छन् । श्रमिक बरालका नामबाट गीत, कविता, कथा, लघुकथा, समालोचनाजस्ता विधामा कलम चलाउने डा. खगराज बराल गैह्रआख्यान र आख्यान लगायत विभिन्न विषयमा उतिकै सशक्त रूपमा कलम चलाउँछन् ।

नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने श्रमिक बराल (डा. खगराज बराल) को लेखनी सदैव समसामयिक सामाजिक परिप्रेक्ष्यमा केन्द्रित रहँदै आएको छ। उनको पछिल्लो उपन्यास “प्रतिरूप” को मूल भाव ग्रामीण जनजीवनका सङ्घर्ष, नारी जीवनका यथार्थ, आर्थिक विषमता, शिक्षाको पहुँच, विधवा जीवनका चुनौती, सन्तानका लागि आमाले गर्ने त्याग तथा समाजका परम्परागत मान्यता र चुनौतीहरूको विविध पक्षलाई उजागर गर्नु हो।

लेखक डा. खगराज बरालको ‘प्रतिरूप’ (उपन्यास) पुस्तक २३८ पृष्ठमा संरचित छ । साङ्ग्रिला मिडिया ग्रुप प्रा. लि. ले २०८१ मा प्रकाशनमा ल्याएको यस उपन्यासलाई सर्सर्ती पृष्ठ १ देखि २३८ सम्म हेर्दा मूल कथावस्तुलाई ११ भागमा विभाजन गरी प्रस्तुत गरिएको पाइन्छ भने पृष्ठ २३६ र २३७ मा ‘र, अन्त्यमा’ शीर्षक राखी लेखकले विद्यार्थी कालदेखि हालसम्म देखेका, सुनेका र अनुभव गरेका विषयवस्तुलाई कसरी यो पुस्तकमा समेटियो र लेखन कार्यमा सहयोग गर्नेलाई धन्यवाद दिदै यस उपन्यासको विट मारिएको छ ।यस पुस्तकको मूल्य रु.४९५/-राखिएको छ ।

नेपाली समाजको परम्परागत सोच, आधुनिकतासँगको द्वन्द्व र व्यक्तिको मनोवैज्ञानिक अवस्थालाई सूक्ष्म रूपमा व्याख्या गर्ने यो कृति केवल कथा मात्रै होइन, समाजशास्त्रीय अध्ययनका लागि पनि सान्दर्भिक छ। यस समीक्षामा उपन्यासलाई बहुआयामिक रूपमा विश्लेषण गर्ने प्रयास गरिएको छ।

उपन्यासको कथा संरचना र मुख्य पात्रहरू
उपन्यासको कथा दुई स्तरमा अगाडि बढ्छ नवीनको कथा र कालीको जीवनगाथा’ । काली उपन्यासकी केन्द्रीय पात्र हुन्। उनकोजीवन सङ्घर्षपूर्ण छ, जुन नेपाली समाजमा महिलाले भोग्नुपर्ने कठोर यथार्थमा आधारित छ। नवीनको माध्यमबाट कालीको कथाखोलिन्छ, जसले उपन्यासलाई रोचक बनाएको छ। उपन्यासमा फ्ल्यासब्याक शैली प्रयोग गरिएको छ, जसले घटनाहरूलाई अझप्रभावशाली बनाउँछ।

    “प्रतिरूप” भन्ने शीर्षकले नै उपन्यासको मूल भावलाई झल्काउँछ। काली नेपाली समाजका हजारौं सङ्घर्षशील महिलाहरूको “प्रतिरूप” हुन्। नवीनको चरित्रले शिक्षित, सचेत नयाँ पुस्ताको प्रतिनिधित्व गर्छ, जसले सामाजिक सुधारको आशा दिलाउँछ। उपन्यासमा लेखक बरालले ग्रामीण पहाडी जीवनको यथार्थ उजागर गरेका छन्। विशेष गरी शिक्षादीक्षामा आउने चुनौतीहरूलाई नवीन पात्रमार्फत प्रस्तुत गरिएको छ। नवीनको जीवन यात्राले उपन्यासको प्रारम्भ गर्छ, जसमा उनले ग्रामीण पहाडी भेगमा शिक्षा हासिल गर्न गरेका सङ्घर्षहरू प्रस्तुत छन्। नवीन गाउँबाट उच्च शिक्षा हासिल गर्न सङ्घर्ष गर्ने, जागिरे जीवन सुरु गर्ने रविभिन्न परिस्थितिहरूको सामना गर्ने पात्र हो। नवीन सरल, परिश्रमी र सहृदयी पात्र हो। गाउँको कठिन भौगोलिक परिवेश, आर्थिक अभाव र सामाजिक सन्दर्भहरूले उनलाई अध्ययनमा अवरोध पुर्र्‍याउँछन्, तर उनको दृढ इच्छाशक्ति र परिवारको समर्थनले उनलाई अघि बढ्न मद्दत गर्छ।

    नवीनले चन्द्रावती प्राथमिक विद्यालय, लेखानी (उदयपुर) बाट प्रारम्भिक शिक्षा लिएर जनता कालिका निम्न माध्यमिक विद्यालय, छब्बिसेमा अध्ययन गरे।उच्च शिक्षा प्राप्त गर्न घरदेखि टाढा जानुपरे पनि परिवारको सहयोगले उनको यात्रा सहज बन्यो। त्रिवेणी माध्यमिक विद्यालय, कटारीबाट एसएलसी उत्तीर्ण गरेपछि पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा ओभरसियर अध्ययन पूरा गरे। त्यसपछि मर्चवार लिफ्ट इरिगेसन प्रोजेक्ट, भैरहवामा जागिरे जीवन सुरु गर्दासम्मको सङ्घर्ष उपन्यासमा स्पष्टरुपमा चित्रण गरिएको छ।नवीनले अध्ययनपछि भैरहवामा जागिरे जीवन सुरु गर्छन् । त्यहाँ एक दिन घुम्ने क्रममा उनले एउटा रिक्सा दुर्घटनामा घाइते भएकी महिलालाई अस्पताल पुर्‍याउँछन्। होस आएपछि काली नवीनलाई ‘प्रबिन’ भनेर बोलाउँछिन्, जसले उपन्यासलाई थप रहस्यमय बनाउँछ।उनले सामाजिक उत्तरदायित्व निभाउँदै एक अज्ञात महिलालाई दुर्घटनाबाट बचाउँछन्, जुन निस्वार्थ सहयोगको एउटा दृष्टान्त हो। यही घटनाबाट नवीन र कालीको सम्बन्ध गाँसिन्छ। कालीको जीवन कथा नवीनका लागि अकल्पनीय हुन्छ, किनकि उनको जीवनसाथी बन्ने पुरुषहरूले उनको यात्रालाई आधा बाटोमै छोडेका थिए। कालीलाई गहिरोसँग चिन्नु नै नवीनको जीवनको नयाँ मोड बन्छ। नवीन कालीका लागि मात्र होइन, पाठकहरूका लागि पनि एउटा प्रेरणादायी पात्र बनेका छन्।कालीको मानसिकता एक विधवा महिलाले समाजमा टिक्नका लागि भोग्ने मानसिक तनावको प्रतिबिम्ब हो। उनका निर्णय, सङ्घर्ष र अपेक्षाहरूले समाजमा महिलाहरूको मानसिक अवस्थालाई उजागर गर्छ। नवीनको मानसिकताले शिक्षित युवा पुस्ताको प्रतिनिधित्व गर्छ, जो परम्परागत मूल्यहरूसँग जुँध्दै परिवर्तन खोज्दैछन्।

    सामाजिक परिप्रेक्ष्य र यथार्थ चित्रण
    उपन्यासमा नेपाली समाजको यथार्थपरक चित्रण छ। खासगरी ग्रामीण क्षेत्रमा महिलाहरूलाई बिहेपछि आफ्नो अस्तित्व जोगाउन कठिन छ। विधवा महिलाका लागि त झन् समाज झनै कठोर देखिन्छ। कालीको चरित्रले एकल महिलाको अस्तित्व रक्षा गर्न उनले भोग्नुपर्ने सङ्घर्षलाई काली पात्रका माध्यमबाट दृष्टान्त प्रस्तुत गरिएको छ ।नेपालको समाजशास्त्रीय संरचनाले परम्परागत रूपमा नारीलाई पुरुषमा निर्भर बनाउन खोज्छ। महिलाहरूलाई स्वतन्त्र रूपमा बाँच्न दिँदैन। विशेष गरी काली जस्ता पात्रहरू समाजका लागि अपवाद हुन्, जसले सामाजिक मूल्य र मान्यता तोडेर आफ्नो अस्तित्व जोगाउने कोसिस गर्छन्। भैरहवामा जागिरका क्रममा नवीनले एक दिन दुर्घटनामा परेकी महिलालाई अस्पताल पुर्र्‍याउँछन्। होसमा आएपछि ती महिलाले उनलाई ‘प्रबिन’ भनेर सम्बोधन गर्छिन्, जसले नवीनलाई अचम्मित बनाउँछ। ती महिला काली रहिछन्, जो ‘जयकाली भोजनालय’ सञ्चालन गर्थिन्। नवीन त्यहाँ नियमित खान जान थाले, जहाँ उनले कालीलाई आमाको रूपमा र उनकी छोरी अस्मितालाई बहिनीको रूपमा अपनाए।

      इन्जिनियरिङ अध्ययनका लागि काठमाडौं जाने बेला नवीनले कालीसँग बिदाइ भेट गर्छन्।मन्दिरमा कालीको प्रार्थनाले नवीनमा उनको विगतबारे जिज्ञासा जगाउँछ।कालीले आफ्नो जीवन कथा सुनाउँदा उपन्यास नयाँ मोडमा प्रवेश गर्छ। कालीको विवाह प्रबिनसँग भएको थियो, जो भारतको मेघालयमा कोइलाखानीमा काम गर्थे। विवाहपछि उनी उतै फर्कने योजनामा थिए। प्रेम प्रगाढ थियो, तर एकपटक खोला तर्ने क्रममा प्रबिन कमजोर देखिएपछि कालीले मनमनै शङ्का गरिन्— जाबो खोला तर्न नसक्नेले जीवन कसरी सम्हाल्लान् ?” अन्ततः यो शङ्का सही साबित भयो। प्रबिन कोइलाखानी गएपछि कहिल्यै फर्किएनन्र कालीको जीवनले नयाँ दिशा लियो।लोग्ने गुमाएपछि माइतमै रहेकी काली भित्ताकोरेबाट गर्भवती हुन्छिन्।परिवारले बस ड्राइभरसँग उनको विवाह गराइदिन्छ, जसले गर्भको बच्चासहित उनलाई स्वीकार्छ।कालीका लागि ऊ भगवान्‍सरह बन्यो, तर वैवाहिक जीवन लामो समय टिक्न सकेन। ड्राइभर अलग भएपछि उनले शङ्करसँग विवाह गरिन्, तर उनले पनि छोरीको नागरिकता बनाउन वा पढाइमा सहयोग गर्न सकेनन्।

      निराश काली भन्छिन्, ‘मेरो जीवनमा धेरै लोग्नेमान्छे आए, तर कुनै पनि लोग्ने भएनन्। समाजको नजरबाट बच्न उनले सिन्दुर, चुरा, पोते लगाउने गर्थिन्।एक दिन गोरखनाथ मन्दिरमा उनले दुःख पोख्दै प्रार्थना गरिन्, ‘बाबु नभएकै कारण छोरी अस्मिताले नागरिकता पाइन, पढाइ रोकियो, जागिर खान सकिन। अब के गर्ने ?’ तर, उनका सपना अधुरै रहे।कालीको जीवन निरन्तर सङ्घर्षले भरिएको थियो। छोरीको भविष्यका लागि उनले धेरै प्रयत्न गरिन्, तर स्थायी समाधान कहिल्यै पाइनन्। उपन्यासमा कालीको मर्मस्पर्शी कथा गहिरो प्रभाव पार्छ।काली शङ्करसँग आशावादी थिइन्। उनले नागरिकता, विवाह दर्ता र छोरीको जन्मदर्ता गराइदेलान् भन्ने विश्वास गरेकी थिइन्, तर शङ्करले केही गर्न सकेनन्। उनी सोझा र हिम्मतविहीन थिए।कालीको सपना छोरीलाई शिक्षित बनाउने थियो तर परिस्थितिले उनलाई निराश बनायो।

      विवाहपछि लोग्ने गुमाएपछि उनले समाजको बाध्यताका कारण विभिन्न लोग्नेमान्छेसँग सम्बन्ध राख्नुपर्‍यो तर यसको कारण उनको चरित्र नभई समाजको कठोर यथार्थ थियो। कालीको वैवाहिक जीवनको असफलता समाजमा पुरुषहरूको गैरजिम्मेवारीपन दर्शाउँछ।समाजमा बाँच्न उनले यी सम्बन्धहरू स्वीकार्नुपर्‍यो । उपन्यासले पुराना चलन, संस्कृति, रीतिरिवाज, र सामाजिक समस्याहरूलाई उजागर गर्छ। गौना परम्परा, विधवा विवाह, सौतेनी व्यवहार र अन्धविश्वास जस्ता विषयहरूलाई समेटिएको छ। साथै, समाजशास्त्रीय र मनोवैज्ञानिक पक्षहरूलाई पनि उपन्यासमा उठाइएको छ।

      कालीका पति प्रबिन विवाहपश्चात् भारतको कोइलाखानीमा गएर कहिल्यै नफर्कने गरी हराउँछन्। यस घटनाले समाजका हजारौं महिलाको कथालाई उजागर गर्छ, जसका श्रीमान्‍हरू खाडी, भारत वा अन्य देशमा रोजगारीका लागि गएर बेपत्ता हुन्छन्।

      महिलाहरूले आफ्नो श्रीमान्‍को फर्कने प्रतीक्षा गर्दा पूरा जीवन बिताउँछन्, तर तिनीहरू फर्कँदैनन्।उपन्यासले महिलाको जीवनमा विवाहले सुरक्षित भविष्य सुनिश्चित गर्दैन भन्ने यथार्थलाई देखाएको छ। कालीको जीवनमा विभिन्न पुरुषहरू आए, तर कसैले पनि उनलाई स्थायी रूपमा स्विकार गर्न सकेनन्। समाजमा महिलालाई लोग्ने बिना एक्लै बाँच्न कति गाह्रो हुन्छ भन्ने कुरालाई उपन्यासले मार्मिक रूपमा उठाएको छ।कालीकी छोरी अस्मिताले नागरिकता पाउन सक्दिनन्, किनभने उनका बाबु कानुनी रूपमा प्रमाणित छैनन्। यो समस्या नेपाली समाजमा हजारौं महिलाहरूले भोगिरहेका छन्। उपन्यासले आमाको नामबाट नागरिकता दिन नसक्नेकानुनी अप्ठ्यारा देखाएर सामाजिक न्यायको प्रश्न उठाउँछ।

      “प्रतिरूप” उपन्यासले नेपाली समाजमा रहेको लैङ्गिक भेदभाव, नागरिकताको समस्या, गरिबी, परदेशी जीवन, विधवा पुनर्विवाह जस्ता विषयलाई समाजशास्त्रीय तथा मनोवैज्ञानिक रूपमा खोतलेको छ।यस उपन्यासमा ग्रामीण समाजका परम्परा, जातीय विविधता, मधेश र पहाडबीचको भिन्नता, आर्थिक असमानता, शिक्षा र अवसरहरूमा असमान पहुँच जस्ता महत्त्वपूर्ण समाजशास्त्रीय पक्ष समेटिएका छन्। डा. खगराज बरालद्वारा लिखित “प्रतिरूप” सामाजिक परिवेशमा आधारित उपन्यास हो ।

      नारीवाद र उपन्यासको स्त्रीपक्षीय दृष्टिकोण
      उपन्यासले कालीको जीवन सङ्घर्षमार्फत नारीवादको एउटा महत्त्वपूर्ण सन्देश दिन्छ। समाजमा महिलालाई मात्र असल चरित्रको प्रमाण दिनुपर्ने दबाब हुन्छ। पुरुषले जेसुकै गरे पनि समाजले स्वीकार्छ तर महिलाले आफ्नो अस्तित्व बचाउन सङ्घर्ष गर्दाउनलाई ‘चरित्रहीन’ को आरोप लगाइन्छ।

        कालीका सम्बन्धहरू सन्दर्भमा हेर्दा उनी कुनै पनि पुरुषसँग प्रेमी-प्रेमिका जस्तो सम्बन्ध गाँस्न चाहन्नन्। उनी केवल जीवनलाई सहज बनाउने माध्यमको रूपमा पुरुषहरूसँग जोडिन्छिन्। समाजले उनलाई बुझ्न सक्दैन जसका कारण उनको जीवन नै थप सङ्घर्षपूर्ण बन्छ।

        यसमा विधवा नारीको सङ्घर्ष, बाबुको पहिचान नपाएका सन्तानको नागरिकता समस्या, विद्यार्थी राजनीति, कोइला खानी मजदूरहरूको जीवन, मधेशको गरिबी, सिमानामा हुने कुशासन, परदेशी नेपालीहरूको मनोभाव, नारीको समायोजन क्षमता, मध्यम वर्गीय जनजीवन र राजमार्ग दुर्घटनाजस्ता विषय समेटिएका छन्। उपन्यासले समाजका विविध पक्षहरूलाई प्रभावशाली रूपमा प्रस्तुतगरेको छ।

        सबैभन्दा महत्त्वपूर्ण कुरा उपन्यासले महिलाहरूलाई विवाह मात्रै आधार होइन भन्ने देखाउन खोजेको छ। महिलाले आफ्नो अस्तित्व आफैं बनाउने हिम्मत गर्नुपर्छ भन्ने सन्देश उपन्यासको मूल मर्म हो। कालीले व्यावसायिक रूपमा ‘जयकाली भोजनालय’ सञ्चालन गरेर आत्मनिर्भर बन्न खोजेकी छिन्, जसले नेपाली समाजमा महिलाहरूले आत्मनिर्भर बन्ने दिशामा उठाएका कदमहरूको प्रतिनिधित्व गर्छ।

        मनोवैज्ञानिक पाटो र पात्रहरूको भावनात्मक उतारचढाव
        उपन्यासले नारी मनोविज्ञानलाई गहिरो रूपमा चित्रण गरेको छ। कालीको पात्रमा मनोवैज्ञानिक उतारचढाव प्रस्ट देख्न सकिन्छ। उनी कहिले निराश हुन्छिन्, कहिले आशावादी। आफ्नो छोरी अस्मिताको भविष्यका लागि उनी केही पनि गर्न तयार छिन्। छोरीको नागरिकता, शिक्षा र सुरक्षित भविष्यका लागि उनले बाबा गोरखनाथसँग प्रार्थना गर्दा पाठकको मन छोइदिन्छ।कालीको असहाय अवस्था दर्शाउँदा उपन्यास अत्यन्त कारुणिक बनेको छ। उनी निरन्तर संघर्षरत छिन्, तर समाज उनको पक्षमा उभिँदैन। नवीन पात्रको पनि मनोवैज्ञानिक पक्ष महत्त्वपूर्ण छ। उनले कालीको सङ्घर्ष बुझ्छन् र उनलाई आमा तथा उनकी छोरीअस्मितालाई बहिनी समान व्यवहार गर्छन्। नवीनको कालीप्रतिको दृष्टिकोणले उपन्यासलाई सहानुभूतिपूर्ण बनाएको छ।वर्गीय सङ्घर्ष र आर्थिक यथार्थ
        उपन्यासमा वर्गीय संघर्षको पनि चित्रण छ। ग्रामीण क्षेत्रका मानिसहरू शिक्षाका लागि सङ्घर्ष गर्छन्, तर सम्पन्न वर्गका लागि शिक्षा सहज हुन्छ। कालीले पनि आर्थिक अभावकै कारण समाजबाट निरन्तर तिरस्कृत हुनुपर्छ। समाजमा सम्पन्न व्यक्तिहरूले गरिब तथा कमजोर व्यक्तिहरूमाथि अन्याय गर्ने प्रवृत्ति उपन्यासमा देखिन्छ। उदाहरणका लागि कालीका पति प्रबिन भारतको कोइलाखानीमा गएपछि फर्किँदैनन्। यसको कारण श्रमिक वर्गका लागि कोइलाखानीजस्ता खतरनाक रोजगारी सुरक्षित नरहनु हो।भाषा, शैली र प्रस्तुतीकरणउपन्यासको भाषा सरल छ, जसले ग्रामीण तथा मध्यम वर्गीय जनजीवनलाई सजीव बनाउँछ। पात्रहरूको संवादहरू स्वाभाविक लाग्छन्। लेखकले कतै-कतै गहिरा दार्शनिक भावहरू प्रस्तुत गरेका छन्, जसले पाठकलाई सोच्न बाध्य बनाउँछ। कथावस्तु ग्रामीण जीवनसँग जोडिएकाले लेखकले तद्भव शब्दहरूको प्रयोग गरेका छन्, जसले कथालाई थप वास्तविकता प्रदान गर्छ। संवादहरू जीवन्त छन्, जसले पात्रहरूको भावनालाई प्रस्ट रूपमा व्यक्त गर्छ। उनले ग्रामीण र सहरी भाषाको मिश्रण गरी कथालाई जीवन्तबनाएका छन्।

          लेखकले यथार्थवादी शैली अपनाएका छन्। घटनाहरू काल्पनिक भए पनि नेपाली समाजसँग गहिरो रूपमा मेल खान्छन्। लेखकले पुराना मान्यता, संस्कार र रीतिरिवाजलाई चुनौती दिँदै समाजमा सुधारका लागि नयाँ विचार प्रवाहित गर्न खोजेका छन्।

          निष्कर्ष
          प्रतिरूप समाजको ऐना हो। उपन्यासले महिलाको अस्तित्व, सङ्घर्ष, ग्रामीण समाजका यथार्थ, आर्थिक समस्या, शिक्षा, कानुनी जटिलता र मनोवैज्ञानिक पक्षहरूलाई उजागर गर्छ। विधवा महिलाको सङ्घर्ष, नागरिकताको समस्या, परदेशी श्रमिकको दुःख, ग्रामीण जीवनका कठिनाइहरू र सामाजिक अन्याय उपन्यासका प्रमुख विषयहरू हुन्। कालीको जीवन–सङ्घर्षले नेपाली समाजमा महिलाले भोग्ने पीडा, कानुनी अन्याय र सामाजिक बेथितिहरूको यथार्थ चित्रण गर्छ। नवीन जस्तो सकारात्मक पात्र समाजमा परिवर्तनको आशा बोकेर आएको देखिन्छ। उपन्यासको मुख्य बल सामाजिक यथार्थवाद हो।

            कालीको जीवन हजारौं नेपाली महिलाको वास्तविकता हो। उपन्यासले समाजको कठोर यथार्थलाई पाठकमाझ प्रस्तुत गर्छ। नवीनले शिक्षित युवा पुस्ताको चेतनालाई प्रतिनिधित्व गर्दै सामाजिक न्यायको पक्षमा उभिने चाहना व्यक्त गर्छ। मेघालयको मातृसत्तात्मक खासी समुदायकी महिलाको सङ्घर्ष र आफ्ना प्रियजनका खातिर परिवार, समाज, संस्कार, धर्म, संस्कृति र अन्ततः देशसमेत त्यागेर नेपालको पहाडी भूभागमा आएर सङ्घर्ष गर्ने मैयाको कथा पनि मार्मिक रूपमा प्रस्तुत गरिएको छ।उनको जीवन यात्राले महिलाको आत्मनिर्भरताका लागि गर्ने सङ्घर्षलाई उजागर गर्छ।

            समग्रमा, “प्रतिरूप” नेपाली साहित्यमा सामाजिक र मनोवैज्ञानिक विश्लेषण गर्ने उत्कृष्ट कृतिका रूपमा स्थापित छ। यसको भाषा, शैली, कथानक संरचना, समाजशास्त्रीय विश्लेषण र मनोवैज्ञानिक पक्षहरू महत्त्वपूर्ण छन्। “प्रतिरूप” केवल मनोरञ्जनका लागि पढ्ने उपन्यास मात्र होइन, यो समाजलाई बुझ्न, विश्लेषण गर्दैसोच्न बाध्य पार्ने र परिवर्तनका लागि प्रेरित गर्ने कृति हो। उपन्यासकार बरालले सामाजिक तथा मनोवैज्ञानिक यथार्थलाईसूक्ष्म रूपमा प्रस्तुत गरेरपाठकलाई गम्भीर चिन्तन गर्न बाध्य बनाएका छन्। लेखक बरालबाट यस्तै रोचक, जानकारीमूलक र सिर्जनात्मककृतिहरूको अपेक्षा गर्न सकिन्छ।

            -प्रशान्त भट्टराई
            सभापोखरी-१,धुपू, संखुवासभा
            हाल-बुढानीलकण्ठ न.पा.-१०, कपन, काठमाण्डौ

            प्रतिक्रिया