फेब्रुअरी १६, २०२५ ।
भर्जिनिया । ग्रेटर वासिङ्गटन डी.सी. मेट्रो क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरूले स्थानीय सामुदायिक पुस्तकालयलाई करीब दुई सय नेपाली किताब प्रदान गरेका छन् । योसँगै स्थानीय तहमा सञ्चालन हुँदै आइरहेका बाह्र ओटा अमेरिकी पुस्तकालयमा अब नेपाली किताबहरू पनि पढ्न पाइने भएका छन् ।
प्रिन्स विलियम काउन्टी क्षेत्रमा सञ्चालित ‘हेमार्केट गेन्सभिल पब्लिक लाइब्रेरी’ लाई पुस्तकालयमै शनिबार (फेब्रुअरी १५ मा) आयोजित एक सङ्क्षिप्त कार्यक्रममा एक सय असी ओटा किताब हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै पुस्तकालयकी निर्देशक बेथ वाकरले यसरी नेपाली किताबहरू पुस्तकालयलाई डोनेशन प्राप्त भएकोमा अत्यन्त प्रसन्नता लागेको बताउँदै यी सबै किताबहरू समुचित तवरले विश्वभाषा खण्डमा सुरक्षित राखिने जानकारी दिइन् ।
पुस्तकालय सामग्री–व्यवस्थापन सेवा विभागका सहायक निर्देशक कर्क जोनसनले एकै पटक यति धेरै सङ्ख्यामा कुनै पनि भाषाका किताबहरू आफूहरूले नपाएकोले यसरी नेपाली भाषी किताब पाउँदा खुशी लागेको बताए । उनले भने, “गैर–अङ्ग्रेजी भाषी किताबहरू पुस्तकालयमा निकै थोरै मात्र भएको तर तिनलाई पर्याप्त ठाउँ दिँदै जाने हाम्रो नीतिलाई व्यवहारमा उतार्न यो डोनेशनले धेरै सहयोग पु¥याउने छ ।” उनले पाठकको रुचि हेरेर नेपाली पुस्तक विक्रेताहरूसित सम्पर्क गर्दै थप किताब पनि राख्न सकिने पनि बताए ।
नेपालीभाषी पुस्तकदाताहरूको तर्फबाट बोल्दै मन्जु थापाले हाल विश्वभर करीब चार करोड मानिसले नेपाली भाषा बोल्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै अहिले प्रिन्स विलियम काउन्टी मात्र नभएर डी.सी मेट्रो क्षेत्र र अमेरिकाभर नै नेपालीभाषीहरूको जनसङ्ख्या बढ्दै गएको बताइन् । थापाको भनाइ थियो, “हामीले पछिल्लो साढे चार महिनादेखि पुस्तकालय व्यवस्थापन पक्षसँग प्रत्यक्ष भेटघाट र ई–मेल वार्ता मार्फत यस पुस्तकालयलाई नेपाली किताब प्रदान गर्ने आग्रहपूर्ण प्रयास अगाडि बढाएका थियौं । अहिले त्यो प्रयास सफल भएको छ ।”
नेपाली भाषाका किताबहरू इच्छुक सबैका लागि उपलब्ध गराउने भएको पुस्तकालयलाई उपस्थित नेपालीहरूले धन्यवाद दिएका थिए । पुस्तकालयले अब आगामी समयमा पनि पुस्तक डोनेट गर्न चाहने पुस्तक र पुस्तकालयप्रेमी दाताहरूले यसरी नै नेपाली किताब प्रदान गर्न चाहेमा त्यस्तो भावनालाई हार्दिक स्वागत गरिने जनाएको थियो ।
पुस्तकलायलाई प्रदान गरिएका नेपाली किताबहरूमा नेपाली शब्दकोष, अङ्ग्रेजी–नेपाली शब्दकोष, धार्मिक–ग्रन्थ, सांस्कृतिक एवं ऐतिहासिक पुस्तक, उपन्यास, कथा, कविता, निबन्ध, आत्मकथा, संस्मरण, यात्रा–संस्मरण आदि सबै विधाका सिर्जनाहरू समेटिएका छन् ।
पुस्तकदाताहरूमा मन्जु थापा, रमेश खनाल, लेखनाथ भण्डारी, जयदेव गौतम, अनुभव नेपाल, प्लानेटरी पार्सल (विक्रान्त थापा गौतम), शिव तिमल्सिना (अमेरिका नेपाल शिक्षा सदन एकेडेमी), सन्तोष श्रेष्ठ, जगन्नाथ पौडेल, तनुजा पोख्रेल र खिम खतिवडा समेत एघार जना छन् ।
त्यस अवसरमा पुस्तकदाताहरूका साथै प्रतिमा भट्टराई, कमल भट्टराई, राजेन्द्र भूसाल, अग्नि नेपाल, दिनेश अधिकारी, सुलेखा भण्डारी, ऊर्जा खनाल, दीपिशा भूसाल, प्रत्युश अधिकारी समेतको उपस्थिति थियो ।
प्रतिक्रिया