सागर घिमिरे । बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (BANA) को आगामी निर्वाचन नजिकिँदै गर्दा, हामी सबैले सोच्नुपर्ने महत्त्वपूर्ण कुरा छ – निर्वाचन भनेको प्रतिस्पर्धा मात्र होइन, यो समुदायका लागि समर्पित नेतृत्व चयन गर्ने एउटा प्रक्रिया हो। हिजोका दिनहरूमा बानालाई निर्माण गर्न धेरैले आफ्नो समय, ऊर्जा, र व्यक्तिगत जीवनबाट बलिदान दिएका छन्। आज हामी जुन बानालाई देखिरहेका छौँ, त्यो सजिलै यहाँसम्म आइपुगेको होइन। यो सफलताको पछाडि २००५ देखि अहिलेसम्म निरन्तर लागिपरेका धेरै समर्पित व्यक्तिहरूको योगदान छ, जसले आफ्नो परिवार र व्यवसायबाट समय निकालेर बानालाई यहाँसम्म ल्याएका छन्।
आजको बाना, सुरुमा स्थापित बानाभन्दा धेरै फरक छ। यसले समुदायसँगको सम्बन्ध मजबुत बनाएको छ, स्थानीय सरकारसँग सहकार्य गर्दै आएको छ, र बिस्तारै नेपाली समुदायलाई एकताबद्ध बनाउने केन्द्रको रूपमा स्थापित हुँदै गएको छ। यस्तो अवस्थामा निर्वाचन केवल पद जित्ने खेल होइन, यो जिम्मेवारी बहन गर्ने अवसर हो।
हिजो बानामा आउने व्यक्तिहरूले निःस्वार्थ भावनाले सेवा गर्थे, तर आजभोलि बानालाई व्यक्तिगत व्यापार प्रवर्द्धन गर्ने थलो बनाउने प्रवृत्ति देखिन थालेको छ। कति उम्मेदवारहरू रियल इस्टेट, इन्सुरेन्स, होटल व्यवसाय, पारिवारीक स्वार्थ, बैचारिक स्वार्थ वा अन्य व्यावसायिक पृष्ठभूमिबाट आएका छन्, जसले बानालाई आफ्नो व्यवसाय फैलाउने अवसरका रूपमा हेरिरहेका छन्। सामाजिक कार्य गर्दा व्यक्तिगत समय र पैसा खर्च हुने नै हुन्छ, तर बानालाई केवल आफ्नो व्यक्तिगत नेटवर्क बढाउने साधन बनाउनु गलत हो। बाना कुनै व्यापारिक संस्था होइन, यो सामुदायिक सेवा गर्ने थलो हो। यदि नेतृत्व लिन चाहने व्यक्ति साँच्चै सेवा गर्न चाहन्छन् भने, उनीहरूले समय, लगनशीलता, र इमानदारीका साथ काम गर्नुपर्ने हुन्छ।
आजभोलि चुनावी माहोलमा बानालाई राजनीतिक रूपमा चलाइन्छ भन्ने हल्ला फैलाइएको छ। चुनावको बेला गरिने बहसमा अवश्य नेपालको राजनितीक बिचारको केही प्रभाव अबश्य रहन्छ त्यो स्विकार्नु पर्ने हुन्छ किन भने हामी नेपालको पहिलो पुस्ता हौ जो अहिले यहां आएर सस्था चलाएका छौ । तर बानामा निर्वाचन पछी पनी कुनै एउटा बिचार र ब्यक्तिको प्रभाव रहन्छ भन्ने कुरामा बिल्कुल सहमत छैन। म २०१४ देखि बानामा काम गर्दै आएको नाताले यो दाबी सत्य नभएको स्पष्ट रूपमा भन्न सक्छु। कसैले “यो मेरो टिम हो”, “यो मेरो संगठन हो” भन्न सक्छ, तर एकचोटि निर्वाचित भएपछि मात्र थाहा हुन्छ कि बाना कुनै व्यक्ति विशेषको होइन, यो समग्र समुदायको संस्था हो। राजनीतिक प्रभावको कुरा गर्नेहरूलाई म भन्न चाहन्छु— बानामा प्रवेश गरेपछि, जब तपाईं बानाका वास्तविक काममा संलग्न हुनुहुन्छ, तपाईंलाई थाहा हुनेछ कि यहाँ कोही व्यक्ति वा कुनै विशेष समूहको दबदबा छैन।
चुनाव जित्नु स्वाभाविक रूपमा खुशीको कुरा हो, तर चुनाव जित्नु मात्र पर्याप्त छैन, जितेपछि कर्तव्य पूरा गर्नु अझ ठूलो कुरा हो। यदि तपाईं जित्नुहुन्छ भने, तपाईंले सम्पूर्ण समुदायलाई समान रूपमा समेट्नुपर्छ। यदि तपाईं हार्नुहुन्छ भने, बानालाई अझ मजबुत बनाउन सहयोग गर्नुपर्छ। निर्वाचन केवल चुनावको दिन सकिंदैन, वास्तविक नेतृत्व चुनावपछिको कार्यकालभरि प्रमाणित हुन्छ। चुनावको समयमा अरू उम्मेदवारहरूको व्यक्तिगत जीवन, पारिवारिक कुरा, वा व्यक्तिगत आक्षेप लगाएर वातावरण बिगार्नु कदापि उचित होइन।
हामी सबैलाई बुझ्न जरुरी छ— यो अमेरिका हो, बाल्टिमोर हो, यहाँको निर्वाचन नेपालमा हुने राजनीति जस्तो हुँदैन। नेपालमा हुने राजनीतिक चलखेल, आर्थिक प्रभाव, र व्यक्तिगत अहंकारको राजनीति बानामा लागू गर्न सकिंदैन। यहाँ चुनाव गर्ने तरिका फरक छ, यहाँका मतदाता सचेत छन्। कोही सदस्यता शुल्क तिरेर मात्र चुनाव जित्न सक्दैन। मतदाताहरू संगठनका लागि साँच्चै काम गर्ने व्यक्तिलाई मतदान गर्छन्, पैसा खर्च गर्ने व्यक्तिलाई होइन। एकदिनको चुनावले मात्र नेतृत्व तय हुँदैन, चुनाव जितेपछि काम गरेर प्रमाणित गर्नुपर्छ।
चुनाव आउँछ-जाँछ, तर बाना रहन्छ। मतदाता हुनुको अर्थ केवल मतदान गर्न पाइने अधिकार मात्र होइन, यो आफ्नो समुदायको भविष्य निर्माण गर्ने अवसर पनि हो। कसले तपाईंलाई सदस्यता बनायो भनेर होइन, को साँच्चै काम गर्न सक्छ भनेर मतदान गर्नुहोस्। कसैले तपाईंको सदस्यता शुल्क तिरेको छ भन्दैमा, तपाईंले उनलाई मात्र मत दिनुपर्छ भन्ने छैन। निर्णय तपाईंको हो, तपाईंको विवेकले सही निर्णय लिनुस्।
हामी सबै मिलेर बानालाई अझ राम्रो बनाउन सक्छौं। त्यसैले, यस्तो उम्मेदवारलाई समर्थन गरौं, जसले समुदायलाई जोड्नेछ, विकास गर्नेछ, र निष्पक्ष रूपमा काम गर्नेछ। निर्वाचन सकिएपछि हामी सबै एउटै समुदायका हौं। जित्ने उम्मेदवारले हार्ने उम्मेदवारलाई पनि सम्मान गर्नुपर्छ, किनभने अन्ततः सबैजना समुदायका सदस्य हुन्। त्यसैले, म सबै उम्मेदवारहरूलाई अनुरोध गर्न चाहन्छु— बानालाई व्यक्तिगत स्वार्थको केन्द्र नबनाऔं। स्वच्छ र सम्मानजनक चुनावी अभियान चलाऔं। निर्वाचनपछिको एकता र सहकार्यलाई ध्यानमा राखौं।
अन्त्यमा : बानालाई नेता होइन, समर्पण चाहिन्छ
निर्वाचन केवल पद प्राप्त गर्ने खेल होइन, यो समुदायका लागि जिम्मेवारी बहन गर्ने अवसर हो। मतदान तपाईंको अधिकार हो, तर सही निर्णय लिनु तपाईंको कर्तव्य हो। कसले सदस्यता बनायो, कसले शुल्क तिरिदियो भन्ने होइन, कसले वास्तवमा बानाका लागि काम गर्न सक्छ, त्यसलाई हेरेर मतदान गर्नुहोस्। निर्वाचन सकिएपछि हामी सबै एउटै समुदायका हौं। जित्नेले सबैलाई साथ लिएर अघि बढ्नुपर्छ, र हार्नेले पनि समुदायको सेवामा निरन्तर लाग्नुपर्छ।
बानालाई व्यक्तिगत स्वार्थ होइन, समर्पण गर्ने हातहरू चाहिन्छ। अब निर्णय तपाईंको हातमा छ—तपाईंको भोट बानाको भविष्य हो!
प्रतिक्रिया