अमेरिकाले करिब ६० अर्ब रुपैयाँबराबरको अनुदान रकमको परियोजना हालका लागि रोकेको छ । नेपाल र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको सम्झौताअनुसार नेपालमा परियोजना सञ्चालनका लागि अमेरिकाले दिने भनिएको अनुदान स्थगित भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशअनुसार सो रकम रोकिएको अर्थ मन्त्रालयले जनाएको छ । ट्रम्पले कुनै पनि अमेरिकी विदेशी सहायता रकम ९० दिनका लागि स्थगित गर्ने कार्यकारी आदेश जारी गरेका थिए । त्यसअनुसार यूएसएडका कार्यक्रमहरू रोकिएको यसअघि नै अर्थ मन्त्रालयले जनाएको थियो । तर, एमसीसीबारे भने अन्योल कायम रहेका बेला मंगलबार अर्थ मन्त्रालयले एमसीसीको रकम पनि रोकिएको जनाएको हो ।
एमसीसी र नेपाल सरकारको रकमबाट अन्तरदेशीय प्रसारण लाइन र सडक स्तरोन्नति परियोजना अगाडि बढाइएको थियो । यो परियोजना पाँच वर्षभित्र सक्ने गरी कामहरू धमाधम भइरहेका थिए । जग्गा अधिकरणलगायतका कामहरू भइरहेका बेला अनुदान रोकिएसँगै नेपालको संसदले समेत ठूलो कसरतका साथ अनुमोदन गरेको यो परियोजनाको भविष्य नै अन्योलमा परेको छ।
प्रतिक्रिया