मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट दैनिक २९ जनाभन्दा बढी पीडित

रूद्रबहादुर खड्का २०८१ फागुन ८ गते ११:३० मा प्रकाशित

काठमाडौँ २०८१ फागुन ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ मा समावेश गरिएका विषयवस्तुमाथि प्रकाश पार्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ लाई वातावरणका सम्बन्धमा प्राथमिकता दिइएको स्मरण गर्दै देशका सात ओटै प्रदेशको अवस्था विश्लेषण गरिएको बताए ।

यस वर्ष मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १० हजार ७ सय ३४ जना पीडित भएको इन्सेकले अभिलेख गरेको बताए । गत वर्ष यो सङ्ख्या ९ हजार ३ सय ८८ थियो । यो सङ्ख्या गतवर्ष भन्दा १ हजार ३ सय ४६ ले बढी भएको उल्लेख गरे । यो वर्ष प्रहरीले प्रहार गरेको गोली लागेर एकजनाको मृत्यु भयो भने प्रहरी हिरासतमा पाँच जना मृत भेटिए । हिरासतमा भएका मृत्युका कतिपय घटनालाई आत्महत्या भनियो । प्रहरीको २४ घण्टा निगरानीमा रहने हिरासत कक्षमा हुने यस्ता घटनाको जबाफदेहिताको खोजी कसैबाट भएन गौतमले जानकारी दिए ।

२०८१ असोज १० देखि १३ गतेसम्मको बाढी पहिरो तथा विपद्का कारण भएको क्षतिको परिपुरणमा सकारका तीनवटै तह चुकेको गौतमले बताए ।

कार्यक्रममा इन्सेकका सात ओटा प्रदेशबाट उत्कृष्ट काम गर्ने सात जना जिल्ला प्रतिनिधिलाई पनि इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले नगद पुरस्कार सहित सम्मान गरेका थिए ।

पुरस्कृत हुनेमा कोशी प्रदेशबाट उदयपुरका राकेश नेपाली, मधेश प्रदेशबाट महोत्तरीकी ममता विश्वकर्मा, बागमती प्रदेशबाट काभ्रेकी सुमित्रा आचार्य, गण्डकी प्रदेशबाट गोरखाका हरेराम उप्रेती, लुम्बिनी प्रदेशबाट दाङका जयनारायण पुन, कर्णाली प्रदेशबाट सुर्खेतका जगतदल जनाला विक र सुदूरपश्चिम प्रदेशबाट बझाङका सत्यराजबहादुर सिंह हुन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशित गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ वातावरण अभियन्ता सुनिल यादव र लक्ष्मी कुमारी महतोले ०८१ फागुन ७ गते विमोचन गरे ।

वातावरण अभियन्ता सुनिल यादवले समानता, स्वतन्त्रता र सफल जीवन जिउनका लागि पर्यावरणीय अधिकारलाई ख्याल गर्नु पर्ने स्मरण गर्दै नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ ले नेपालको मानव अधिकार अवस्थासँगै वातावरणका सवालमा भएका अवसर, चुनौती र दायित्वलाई पनि खोज, अध्ययन गर्न वर्ष पुस्तक महत्वपूर्ण दस्तावेजकारुपमा रहने विश्वास व्यक्त गरे ।

उहाँले २०७४ सालदेखि चुरे बचाउ अभियानमा निरन्तर क्रियाशील हुँदा मधेस प्रदेश सरकारलाई चुरे र वनजङ्गल बचाउका लागि ध्यानाकर्षण गराउदा सरकारले गम्भीरता नदेखाएपछि काठमाडौंसम्म पैदल यात्रा गरेर सङ्घीय सरकारको ध्यानाकर्षणका लागि १ सय २ दिन दबाबमुलक अभियान अघि बढाउदा पनि सरकारले चासो नदिएको बताउनु भयो । यादवले शिक्षित वर्गबाट नै वातावरण बिगार्ने र प्राकृतिक दोहन गरी पर्यावरणमा खलल पुर्याउने काम भएकोले इन्सेकले ग्रामीण तहसम्ममा गएर सचेतना जगाउन आग्रह गरे ।

वातावरण अभियन्ता लक्ष्मी कुमारी महतोले दिलिप महतोले चुरे बचाउने र वातावरण संरक्षण गर्नु पर्छ भन्ने अभियान सञ्चालन गर्दै आएकोमा २०७६ पुस २५ गते औराही खोलामा बोलाएर ज्यादतीपूर्णरुपमा हत्या गरेको घटना बारे जानकारी सहित न्यायका लागि सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले इआइए नगरी खोलाबाट खनिज पदार्थ उत्खनन् गर्दै आएकोले चुरे दोहनलाई रोक्दै दिलिपलाई पर्यावरण शहिद घोषणा गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले वातावरण र मानव अधिकारका सवालमा अलग अलगरुपमा बोल्न नसकिने स्मरण गर्दै मानव अधिकार र वातावरणीय मानव अधिकारका विषयमा स्वच्छ हावा, खानेपानी, वनजङ्गल, नदी, हिमाल, स्वच्छ वातावरणलगायतका विषयवस्तुलाई एकीकृतरुपमा हेर्नु पर्ने बताइन् । उहाँले मानव अधिकार घोषणापत्रमा वातावरणीय अधिकारलाई मानव अधिकारकारुपमा लिइएको उल्लेख गर्दै स्वच्छ वातावरणमा बस्न, हुर्कन र बाँच्न पाउनु पर्ने अधिकार रहेको स्मरण गर्दै वायु प्रदुषणका कारण विश्वमा हरेक वर्ष ४२ लाख र नेपालमा ३५ हजार जनाको मृत्यु हुने गरेको उल्लेख गर्दै ती तथ्याङ्कले नसर्ने रोग मध्ये वायु प्रदुषणका कारण मानिसले ज्यान गुमाउनु परेको विषयलाई नजर अन्दाज गर्न नहुने धारणा राखिन् ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले इन्टरनेटको माध्यमबाट पनि भइरहेको हिंसा, जलवायु परिवर्तन र यसले पारेको असरका सवाललाई पनि समावेश गर्दै नागरिक तथा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारकासँगै जलवायु परिवर्तनलाई पनि समेटेर नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ सार्वजनिक गरेकोले त्यसको अध्ययन गरी सुझाव दिन आग्रह गरे ।

रूद्रबहादुर खड्का

प्रतिक्रिया