साँच्चै भन्ने हो भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले डायस्पोरामा नेपाल प्रज्ञाप्रतिष्ठानका रूपमा रहेर काम गर्दै आएको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको सम्वर्द्धन र प्रवर्तनमा अनेसास स्थापना काल देखि नै लागि परेको छ । बिभिन्न साहित्यिक गोष्ठीहरू गर्ने । पुस्तकहरू प्रकाशन गर्ने । नेपाली साहित्यका अग्रजहरूबाट लेखिएका कृतिहरूलाई अनुवाद गरेर बिभिन्न भाषामा नेपाली साहित्य पुर्याउने । अन्य भाषाभाषीका साहित्यकि पुस्तकहरूलाई नेपाली भाषामा अनुवाद गर्ने जस्ता कार्यहरू गर्दै आएको छ । त्यस्ता कार्यहरूका अतिरिक्त बर्तमानमा बनेको केन्द्रिय समितिको नेतृत्वले सँस्थामा भएका कमी कमजोरीहरू र बिसंगतिहरूलाई क्रमश सच्याउने कामको थालनी गरी सकेको छ ।
अन्य सङ्घसंस्थामा जस्तै पदमा आसीन हुने र छेउमा आएको माखो पनि नधपाउने प्रवृत्तिलाई निरूत्साहित बनाउँदै छ । नेपाली राजनीतिको हावाले प्रवासका संस्थाहरूलाई पनि चुर्लुम्मै भिजाएको छ । काममा भन्दा नाममा लागिपर्ने जमातले राजनीतिमा चासो नगर्ने मानिसहरूलाई वितृष्णा जन्माएको छ । कतै बिदेश पनि नेपाल जस्तै बनाउँन त हैनन् भन्ने चिन्ताले सताएको छ । यस्तो अवस्थामा अनेसासले संस्थालाई राजनीतिबाट मुक्त राख्नु पर्दछ भन्ने बाटो अवलम्बन गरेको देखिन्छ । अनेसासले नेपाली राष्ट्रिय पोशाक दिवस र हजुरबा हजुरआमा दिवस मनाउँन शुरु गरेको छ । नेपाल सरकारलाई ती दिवसहरूको घोषणा गर्नका लागि ज्ञापन पत्र बुझाइ सकेको छ । सम्पूर्ण नेपालीहरूको मूलथलो मूलजरो भनेको नेपाल भएको हुनाले नेपालमा अनेसासको सम्पर्क अफिस हुनु पर्छ भन्न सोच पनि अगाडि ल्याएको छ । आफ्नै भवन भएमा डायस्पोराका लेखकका कृतिहरू सङ्कलन गर्न र व्यवस्थित गर्न सहज हुनेकुरा विज्ञहरूले उठाउँदै आउनु भएको छ । अनेसासले बिभिन्न केन्द्रिय समितिहरूम बनाउँदै ती समितिहरूलाई सहज ढङ्गले काम गर्न प्रोत्साहन दिँदै आएको छ ।
हाम्रो पहिचान भनेको हाम्रो भाषा हो । हाम्रो साहित्य र संस्कृति हो भन्ने अनेसासले आत्मसात गरेको छ । यसै कुरालाई ध्यानमा राखेर नेपाली भाषा साहित्य र संस्कृतिलाई जोगाउने हो भने दोश्रो र तेश्रो पुस्तालाई नेपाली भाषासँग जोड्न सक्नु पर्दछ । ती पुस्तालेमात्र नेपाली भाषा साहित्य र संस्कृति जोगाउन सक्छन् । नत्र अहिलेको पुस्ता पछि डायस्पोरामा नेपालीको पहिचान गुमराह हुने निश्चित छ । यिनै कुरालाई आत्मसात् गरी अनेसासको बाल समितिले आगामी बैशाक नयाँ बर्षमा बालबालिकाहरूद्वारा लेखिएका कविताहरू राखेर कविता क्यालेण्डर निकाल्न लागेको छ । जहाँ जहाँ नेपालीहरू परिवार सहित बसोवास गरेका छन् ती ठाउँका अठार बर्षसम्मका बालबालिकाले नेपाली भाषामा लेखेका कविताहरू राखेर कविता क्यालेण्डर प्रकाशन गर्न लागेएको छ । यही फेब्रवरी २३ तारिकमा क्यानडामा रहेका नेपाली बालबालीकाहरूले आफ्ना कविताहरू जूमको माध्यमबाट सुनाइ सकेका छन् । ती संकलित कविताहरू राखेर क्यानडाका नेपाली घरघरमा कविता क्यालेण्डर पुर्याइने छ । त्यस्तै गरी अमेरिकाका बिभिन्न शहरमा रहेका नेपाली पाठशालाका बालबालिकाले यही फेव्रवरी २८ तारिकको पूर्विय समय अनुसार सातबजेदेखि कविता जूममार्फत सुनाउने छन् । सबै शहरका नेपाली बालबालिकाको कविता राखिएको नेपाली क्यालेण्डर नयाँबर्षको कार्यक्रममा विक्रिवितरण भएर अमेरिकाभरीका नेपाली घरभित्र अनेसास पुग्नेछ ।
त्यस्तै गरी अष्ट्रेलियामा मार्चको पहिलो हप्तामा कार्यक्रमगरी बालकविहरूका कविताको क्यालेण्डर निकालेर अष्ट्रेलियाका नेपालीघरमा अनेसासले प्रवेश गर्ने छ । त्यस्तै वेलायत बेल्जियम डेनमार्क जर्मनी फ्रान्स मध्यपूर्व जापान र अफ्रिकामा बालकविता क्यालेण्डर प्रकाशन गर्ने तयारी भैरहेको छ । यसरी डायस्पोराका नेपालीहरूका घरघरमा भाषा, साहित्य र संस्कृतिको जोगाउँ भन्ने सन्देस सहित अनेसास अगाडि बढ्दै छ । यसमा आआफ्ना ठाउँबाट सरिक होऔ । आफ्ना नानीबाबुहरूसँग नेपाली भाषामा कुरा गरौँ । नेपाली लेख्न सिकाऔँ । हाम्रो भाषा, साहित्य र संस्कृति रह्यो भने मात्र हाम्रो पहिचान रहनेछ । नत्र धागो चुँडिकएको चंगा जस्तै हुनेछौ । लटाई नेपालमा छुट्ने छ । चंगा बिभिन्न देशमा पहिचान गुमाएर अड्किनेछौँ ।
प्रतिक्रिया