“बाबा कतरामा आमा हतारमा” को पुस्तक समीक्षा

-विदुरप्रसाद पौडेल, गोकुलगङ्गा गाउँपालिका, नामडी, रामेछाप २०८१ फागुन १५ गते ११:४९ मा प्रकाशित

पुस्तक समीक्षा

सुरज उपाध्यायद्वारा लिखित बाल कविता सङ्ग्रह “बाबा कतारमा आमा हतारमा” बालबालिकाका मनमा उत्पन्न हुने बालसुलभ विचारहरूको उत्कृष्ट सङ्गालो हो । बालबालिकाको निस्वार्थ भावनाहरूलाई शब्दमार्फत उजागर गर्ने कार्य पक्कै पनि सहज छैन तर पनि कविले यसलाई सहासका साथ जुन आँट गरेका छन् त्यो पक्कै पनि सह्रानीय छ । बालबालिकाहरूको सरल मन, निस्वार्थ भावना, संवेदनशीलता तथा उनीहरूको निर्दोष संसारलाई कवितामार्फत प्रस्तुत गर्नसक्नु कविको विशेष क्षमता देखिन्छ । यस पुस्तकमा विभिन्न शीर्षकका २८ वटा बाल कविताहरू प्रकाशित छन् । ती प्रत्येक शीर्षकका कविताले छुट्टाछुट्टै विषयको प्रतिनिधित्व गरेका छन् ।

यस सङ्ग्रहमा प्रकाशति पहिलो कविता ‘आऊ चरी आऊ’ मा चराचुरुङ्गी र बालसुलभ केटाकेटी बिचको निकटतालाई देखाइएको छ भने ‘हेलो हेलो मामा’ मा बच्चाको बाल मस्तिष्कमा सवारी साधन मोटरसाइकलको अगाडि बस्ने रहरलाई देखाइएको छ । यसै गरी ‘डर’ कवितामा जङ्गली जनावर बाघभालुको बरु डर नभएको तर मानिसबाटै डराउनुपर्ने अवस्थाको बारेमा कवितामार्फत लेखकले आधुनिक समाजलाई सचेत गराएका छन् । आधुनिकताका नाममा डुल्न
जाऔं भन्ने, चक्लेट दिएर फकाउने, तर कुन आसयले यी काम गरिरहेको छ भन्ने कुरा छुट्टयाउन नसकिने र पछि समस्यामा पर्ने कुराको यथार्थ चित्रण गर्दै विशेषगरी समाजमा बालिकाहरू माथि हुने हिंसातर्फ सङ्केत गर्न खोजिएको छ ।

जस्तै,

बाघभालु वनमा बस्छन्, आउँदैनन् घर
हामीलाई त हुन थल्यो, मान्छेबाटै डर ।
लान सक्छन् फकाउँदै डुल्न लिएर
देखावटी माया गर्लान् चक्लेट दिएर ।
स्कुलमा हुँदा पनि घरमा हुँदा पनि
जोगिनु छ हामी सबै जहाँ हुँदा पनि (पृष्ठ–७) ।

त्यसैगरी चराको घर, क्यान्डी क्रस, धैरै राजा, रमाइलो गाउँ, साइकल, असिना, भट्टी भट्टी धाएर, बाबा कतारमा आमा हतारमा, पाले दाइ, बालाई चिठी, चञ्चले बाते, आऊ पोखरा, हामी भने सधैँ गरिब, असल मान्छे, हात धुनुपर्छ, आँधीखोला कुहिरो लाग्यो, सात तालको सहर, हामी बस्छौ डेरामा, नरोऊ, नरोऊ, चिल उड्यो आकाशमा, सधैँ दुःख हामीलाई, हामी नेपाली, पढ्न लेख्न पाए, काम गर्ने बा र छाता लग्यो चराले जस्ता उत्कृष्ट बाल कविताहरू मार्फत कविले बालबालिकाको कोमल भावना, निस्वार्थपन, संवेदनशीलता र बालसुलभ गतिविधिहरूलाई कवितामार्फत आधुनिक समाजलाई सुसूचित गराएका छन् ।
“बाबा कतारमा आमा हतारमा” कविता कै नामबाट यसको शीर्षक राखिएको छ । यस कवितामार्फत वैदेशिक रोजगारीले गर्दा परिवार छुट्टिएर बस्नु परेको पीडालाई मार्मिक रूपमा देखाइएको छ भने ‘हामी सधैँ गरिब’ मार्फत खानलाउन, पढ्नेलेख्ने, उज्यालोमा बस्ने लगायतका समस्या घरपरिवारको
आर्थिक अवस्थाका कारणले पूरा नभएकाले बालबालिकामा परेको असरलाई यथार्थ रूपले प्रस्तुत गरिएको छ ।

जस्तै,

टन्न खानु छैन कहिल्यै, सधैँ आधा पेट
बासित उज्यालोमा कहिल्यै हुन्न भेट ।
कलम छैन, कापी छैन रित्तै स्कुल जान्छु
कापी, कलम नभएर मिसको गाली खान्छु (पृष्ठ–२०) ।

यसैगरी ‘पढ्न लेख्न पाए’ मार्फत बालबालिकाको पढ्न लेख्न पाउने हकलाई गरिबीका कारणले ओझेलमा पारेको प्रसङ्गलाई उल्लेख गरिएको छ । जस्तै,

दाइले पढ्न छाडिसक्यो, नगर बसमा हिड्छ
कापी कलम किनी ल्याइदे भन्दाखेरी पिट्छ ।
छैन कापी, छैन कलम भन्छु सधैँ मिसलाई
किन पढ्नुपर्‍यो भन्छ दाइदले सधैँ मलाई ? (पृष्ठ–३०) ।

यसैगरी ‘काम गर्ने बा’ मार्फत धनी र गरिब बिचको खाडल तथा जति काम गरे पनि साहु नै धनी हुने, गरिबीका कारण शरीरमा न्यानो कपडा नहुनु लगायतका प्रसङ्गलाई उठान गरिएको छ ।

जस्तै,

हाम्रा बाले काम गर्ने, साहुले रैछ कमाउने
बाले झार्ने पसिनामा अर्कै रैछ रमाउने ।
हामी लाउने पुराना, फाटेका र नराम्रा
उनका छोराछोरीले राम्रा नाना लगाउने (पृष्ठ–३१) ।

कवि उपाध्यायले बालबालिकाको भावनाको कदर गर्दै यस सङ्ग्रहमा बालबालिकाप्रति न्याय गरेको देखिन्छ । पुस्तक आकर्षक छ, पढ्नमा मिठास छ, छोटा छोटा कविताका लाइनहरूले पढ्नमा कति पनि असजिलो बनाउने छैन । हामी सबैले एकपटक पढ्नैपर्ने उत्साह पुस्तकले बोकेको छ । लेखकबाट आगामी दिनमा पनि यस्तै प्रकारको ओजिलो र गहकिलो कृतिको अपेक्षा गर्न सकिन्छ ।

विधाः बालकविता
लेखकः सुरज उपाध्याय
संस्करणः पहिलो (२०८१)
प्रकाशनः बेला पब्लिकेसन, काठमाडौँ
पृष्ठः ३२
२५०/-

प्रतिक्रिया