नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पाथिभारा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार गृह मन्त्रालयमा आयोजित गृहमन्त्री रमेश लेखक र कोशी प्रदेशका सांसदहरुबिच भएको छलफलपछि कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विकास निर्माणका काम कुनैपनि बहानामा कसैले रोक्न नमिल्ने बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेर निष्कर्ष निकाल्नु पर्नेमा जोड दिनुभयो ।
‘‘विकास निर्माणका कामहरु अवरुद्ध गर्न मिल्दैन जोसुकैले होस् । तर त्यहाँका स्थानीय जनताका मागहरु के के छन् स्थानीय लेभलमा सम्बोधन हुनुपर्छ । स्थानीय लेभलका मान्छेलाई बाहिरका मान्छेले उचालेर स्थानीय भन्दा बाहिरका मान्छेको उपस्थिति बढी हुने र राजनीतिकरण गर्ने पद्धतिको विरुद्ध जानुपर्छ चाहे जोसुकै होस् ।, उहाँले भन्नुभयो, ‘‘तर यसको मतलव सरकारले जबरजस्ती पेलेर जाने नीतिमा जानु हुँदैन । समस्याको समाधान भनेको वार्ता नै हो । स्थानीय तहका जनप्रतिनिधिहरु सबैसँग छलफल गरेर एउटा निष्कर्षमा पुग्नु पर्दछ ।’’
सांसद खतिवडाले केबुलकार निर्माणको अनुमति २०७५ सालमै दिएको तर अहिले स्थानीय जनताले नभइ बाहिरका व्यक्तिहरुले आन्दोलन चर्काएर राजनीतिकरण गर्न खोजेको आरोप लगाउनुभयो । सबै पार्टीका नेताहरुलाई छलफलका लागि बोलाइएकाले छिट्टै एउटा निष्कर्षमा पुग्ने उहाँको भनाइ छ।
बेद प्रसाद घिमिरे
प्रतिक्रिया