रौतहट÷नेपाल र भारत गरी दुई देशका पहलवानहरुको संलग्नतामा भएको कडा प्रतिस्पर्धात्मक कुस्तीसँगै पाँच दिवसीय मधानी महोत्सव सम्पन्न भएको छ । रौतहटको मौलापुर नगरपालिकास्थित पतौराधाममा आयोजित मधानी महायज्ञको अन्तिम दिन विहीवार प्राचीन खेल कुस्ती कार्यक्रमसंगै सम्पन्न भएको छ ।
कुस्तीमा नेपाल र भारतका पुरुष र महिला पहलवानहरुको सहभागितामा सम्पन्न भएको हो ।
नेपालको विभिन्न ठाउँका पहलवानहरु त्रिलोकी यादव, बाब हरिओम, नम्रता, मोकतार अली, अनुठा साह पतौराधामको कुस्तीमा सहभागी भएका छन् । यसै गरी भारतको केरलाबाट कटपा पहलवान, हलचल पहलवान, उतराखण्डबाट मेन्टल पहलवान, अजगर पहलवान, भुकम्प पहलवान, जम्मु कश्मीरबाट जावेद अली, यामिन पहलवान सहभागी थिए । साथै झारखण्डबाट एप्पल पहलवान, उत्तर प्रदेशको गोरखपुरबाट खुशी पहलवान, बिहारको गोपलगंजबाट पायल पहलवान, हरियाणाबाट काजल पहलवान, बंगालबाट हुकुम सिंह, धमाका पहलवान, बनारसबाट प्रिन्स पहलवानसहित कुस्तीमा स्थानीय पहलवानहरुको पनि ठुलो संख्यामा सहभागिता रहेको थियो ।
मौलापुर नगरपालिकाका उपमेयर नागेन्द्र यादवको अध्यक्षता तथा मेयर रिनाकुमारी साहको प्रमुख आतिथ्यमा भएको प्रतियोगितालाई हेर्न हजारौं सर्वसाधारण दर्शकको सहभागिता रहेको थियो ।
मौलापुर नगरपालिका पतौराधामस्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउने संकल्पसहित गत फागुन ११देखि सुरु भएको थियो ।
विहीवार भएको कुस्ती प्रतियोगितालाई हेर्न नेपाल र भारतबाट पनि दर्शकहरु आएका थिए । दर्शकहरुलाई कुस्तीको मनोरञ्जन प्राप्त हुनुका साथै मधानी महायज्ञलाई पनि बुझ्ने मौका पाएका थिए ।
भगवान शिवको विवाहसित सम्बन्धित स्थानीय पर्वको रुपमा रहेको मधानीलाई मौलापुर नगरपालिकाले सार्वजनिक आयोजन गरी प्रचार प्रसार गर्नुका साथै विश्वव्यापी बनाउनमा ठुलो भूमिका निर्वाह गरेको छ ।
मौलापुरको पतौराधाममा कम्तीमा गुप्तकालीन संरचनाको मन्दिर देखिएको छ । नेपालका साथै विदेशका पुरातत्वविदहरुले गुप्तकालीन संरचना रहेको मन्दिर शिव र पार्वतीको भएको बताइएको छ । सोही स्थानमा मधानी यज्ञलाई प्रबर्धन गर्ने प्रयास स्वरुप पाँच दिवसीय महोत्सवको आयोजन गरिएको थियो ।
मधानी महोत्सवको शिव बरियात तथा विशेष सांस्कृतिक कार्यक्रमलाई हेर्न नेपाल र भारतका लाखौँ दर्शक श्रद्धालुको सहभागिता रहेको थियो । मधानी महोत्सव विहीवार भव्यतापूर्वक सम्पन्न भएको नगर प्रमुख साहको भनाइ छ ।
प्रतिक्रिया