सूर्योदय नगरपालिका वडा नं. ७, कन्याम, इलाममा जन्मनुभएका डा. गणेशप्रसाद भट्टराई नेपाली साहित्य र शिक्षाका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने व्यक्तित्व हुनुहुन्छ। निबन्ध, कथा, बालउपन्यास र पाठ्यपुस्तक लेखनमा विशेष रुचि राख्ने भट्टराईका प्रौढ तथा बालसाहित्यका दर्जनौँ कृतिहरू प्रकाशन भइसकेका छन्।
उहाँका चर्चित कृतिहरूमा ‘घमन्डको परिणाम’, ‘हाम्रो परिवार हाम्रा काम’, मोबाइलका पुर्खा, व्यापार मेला, न्यायको तराजु, मौली किनार,‘निबन्ध मुना’, ‘निबन्ध कोपिला’, ‘निबन्ध पुष्प’ (सहलेखन), ‘व्यावहारिक लेखन’, ‘शिक्षा परिचय’, ‘बालविकास र सिकाइ’, ‘शैक्षणिक विधि र मूल्याङ्कनलगायत विद्यालय तहका नेपाली भाषा र व्याकरणसम्बन्धी पुस्तक पर्छन्।
शिक्षाका क्षेत्रमा उहाँको योगदान उल्लेखनीय छ। विद्यालय तहका औपचारिक तथा अनौपचारिक शिक्षाका पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका विकास, बालसाहित्य सामग्री लेखन, रेडियो स्क्रिप्ट विकास, शिक्षण प्रशिक्षण तथा तालिम सामग्री निर्माणमा उहाँको विशिष्ट दक्षता छ।
उहाँका सिर्जनात्मक योगदानलाई कदर गर्दै विभिन्न प्रतिष्ठित सम्मान तथा पुरस्कारहरू प्रदान गरिएका छन्। उहाँले राष्ट्रव्यापी निबन्ध प्रतियोगिता प्रथम (२०७७), निजामती दिवस कविता लेखन प्रथम (२०७०), निजामती कर्मचारी दिवस कविता प्रतियोगिता प्रथम (२०६५), राष्ट्रिय शिक्षा पुरस्कार (२०६९), अर्जुन स्वर्ण पदक (२०४८), लारी पदक (२०५२), महेन्द्र विद्या भूषण (२०५२) तथा निबन्ध लेखनतर्फ दुई पटक (२०५०, २०५२) प्रथम स्थान प्राप्त गर्नुभएको छ।
साना विषयवस्तुलाई सरल, रोचक र प्रभावशाली शैलीमा प्रस्तुत गर्ने कला भट्टराईको लेखनीको विशेषता हो।
डा. गणेशप्रसाद भट्टराई नेपाली साहित्य र शिक्षामा विशिष्ट योगदान दिनुभएका व्यक्तित्व हुन्।उहाँका कृतिहरू बालसाहित्य, निबन्ध, पाठ्यपुस्तक
लेखनजस्ता विविध विधामा केन्द्रित छन्। बालबालिकाको मनोविज्ञान र सिकाइ प्रक्रियालाई ध्यानमा राखी उहाँले सिर्जना गर्ने कृतिहरू शिक्षाप्रद
र प्रेरणादायी हुन्छन्। उहाँद्वारा लिखित पछिल्लो बाल उपन्यास ‘झल्को’ पनि यस्तै एक महत्त्वपूर्ण कृति हो।
‘झल्को’ उपन्यासको परिचय
‘झल्को’ बालबालिकाको सिकाइ, पारिवारिक सम्बन्ध, संस्कार र व्यवहारिक शिक्षाको संयोजन हो। आजका बालबालिका सूचना प्रविधिको सहज पहुँचका कारण संसारका विभिन्न पक्षहरूसँग जोडिन थालेका छन्। तर, यसले हाम्रा मौलिक संस्कृति, परम्परा, खानपान, भाषा, विश्वास तथा रीतिरिवाजमा प्रभाव पार्दै गएको छ। आधुनिकतासँग सन्तुलन कायम राख्दै आफ्नै समाजका मौलिक विशेषता जोगाउनु आजको आवश्यकताको विषय बनेको छ। बालसाहित्यले अग्रजप्रति सम्मानभाव जगाउने, तीन पुस्ताबिच असल सम्बन्ध विकास गर्ने तथा अनौपचारिक शिक्षामार्फत बालबालिकाको सामाजिक सक्षमता अभिवृद्धि गर्ने उद्देश्य राख्नुपर्छ। यसले बालबालिकालाई हँसाउन, रुवाउन, सोच्न बाध्य पार्न, जिज्ञासा समाधान गर्न र ज्ञानका नयाँ आयामहरू प्रदान गर्न सक्नुपर्छ। यही उद्देश्यलाई आत्मसात् गर्दै डा. गणेशप्रसाद भट्टराईद्वारा लिखित पछिल्लो बाल उपन्यास ‘झल्को’ पाठक माझ आएको छ।
यो उपन्यास १३ भागमा विभाजित छ। प्रारम्भमा रहेका ६ पृष्ठमा लेखकका विचार तथा अन्य सन्दर्भहरू समेटिएका छन्भ ने पृष्ठ ७ देखि १४३ सम्म उपन्यासको मूल कथावस्तु प्रस्तुत गरिएको छ।यस उपन्यासमा मुख्य पात्रहरू जगदीश, उनकी छोरी ओजस्वी, हजुरआमा, जानुका (मामु) तथा अन्य सहायक पात्रहरू छन्। कथावस्तु जगदीशको परिवार वरिपरि घुम्छ, जहाँ बालबालिकाको जिज्ञासा, सिकाइ प्रक्रिया, समाज र संस्कारबीचको सम्बन्ध उजागर गरिएको छ।
पाठ्यक्रमसँग सम्बन्धित शिक्षा
डा. गणेशप्रसाद भट्टराईद्वारा लिखित ‘झल्को’ उपन्यासको प्रारम्भ “परेवा र भँगेरा” शीर्षकबाट गरिएको छ, भने समापन
“उघ्रेका आँखा” शीर्षकसँग जोडेर गरिएको छ। उपन्यासमा बालबालिकाको जिज्ञासालाई शान्त पार्न सान्दर्भिक चित्रहरू
समावेश गरिएका छन्, जसले कथावस्तुलाई अझ स्पष्ट र जीवन्त बनाएको छ। ‘झल्को’ मा परम्परागत शिक्षाको महत्त्व,
समाज र संस्कृतिसँग जोडिने तत्वहरूलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ।
पात्रहरूको विशेषता
जगदीश – शिक्षित र पारिवारिक सम्बन्धप्रति संवेदनशील पात्र।
ओजस्वी – जिज्ञासु बालिका, सिक्न चाहने र संस्कारमा रमाउने।
हजुरआमा – संस्कार र परम्परालाई सजीव रूपमा प्रस्तुत गर्ने।
जानुका (मामु) – सहरमा हुर्किएकी, आधुनिक सोच राख्ने।
सहायक पात्रहरू – परिवारका अन्य सदस्य, काका-काकी, टेम्पो चालक चन्द्र काका।
संस्कार र समाजप्रतिको दृष्टिकोण
‘झल्को’ मा बालबालिकालाई संस्कार सिकाउने परम्परागत तरिकालाई जीवन्त रूपमा चित्रण गरिएको छ।
भाषा र शब्दावली – पुस्तकमा अजाटियो, कराई, भड्डु, पिरा, मही, हर्पे, ठेकी, मदानी जस्ता परम्परागत शब्दहरूको
प्रयोग गरिएको छ, जसले बालबालिकालाई मौलिक शब्दावली बुझ्न सहज बनाउँछ।
गाउँ र सहरबीचको भिन्नता – ओजस्वीले गाउँमा सिक्ने कुराहरू, सिकाइ प्रक्रियामा ल्याइएका व्यावहारिक दृष्टान्तहरू
उपन्यासको मुख्य विशेषता हो।
पारिवारिक सम्बन्ध – उपन्यासमा आमाबुबा, हजुरबुबाआमा, छोरी र अन्य परिवार सदस्यबिचको सम्बन्धलाई
भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।
धार्मिक तथा नैतिक शिक्षा – भगवान्, संस्कार, परम्परा र मूल्यको महत्त्व बुझाउन सरल भाषामा व्याख्या गरिएको छ।
बालमनोविज्ञान र सिकाइको शैली ‘झल्को’ मा सिकाइ केवल किताबमा सीमित नराखी अनुभवजन्य बनाइएको छ। उदाहरणका लागि, चराले चारो खान्छभन्ने सन्दर्भमा छोरीले चारोको अर्थ सोध्दा, जगदीशले आफ्नो शिक्षा यात्रालाई सम्झन्छन्।
छोरीको जिज्ञासाको विश्लेषण गर्दै उनी आफ्नै शिक्षाको परिवेशतर्फ फर्किन्छन्। यसले पाठकलाई गहिरो रूपमा छुने
मात्र नभई, बालबालिकाको जिज्ञासा कसरी शिक्षामा रूपान्तरण गर्न सकिन्छ भन्ने सन्देश पनि दिन्छ।
“मकै खाने?” भन्ने प्रसङ्गमा बालबालिकाले पारिवारिक सम्बन्ध र आधुनिक संस्कृतिबिचको अन्तर बुझ्न सक्छन्।
हजुरआमाले मकै खाने भनी सोध्दा, ओजस्वीले ‘आहा! पपकर्न!भन्दै प्रतिक्रिया दिन्छिन्। त्यस्तै उनले ‘आमा ‘शब्दको
सट्टा मामु प्रयोग गर्न थालेकी छिन्। यसले सहरको जीवनशैलीले पारिवारिक सम्बन्ध र परम्परागत संस्कारमा
पारेको प्रभाव झल्काउँछ। यो देखेर जगदीश आत्मग्लानि महसुस गर्छन् र छोरीलाई संस्कार सिकाउन आफू चुकेको
अनुभूति गर्छन्।
हजुरआमाले नातिनीलाई सरल रूपमा धार्मिक अवधारणा बुझाउने प्रयास गर्छिन्। स्कुलको बेल र पूजाको घन्टीको
भिन्नता स्पष्ट पार्दै, भगवान् भनेको के हो? भन्ने प्रश्नमा, उनले ‘हामी सबैको भलो गर्ने ईश्वर भनी उत्तर दिन्छिन्। यससंवादमार्फत ओजस्वी अक्षता, फूल, पातीजस्ता धार्मिक शब्दहरूसँग परिचित हुन्छिन्। साथै, ईश्वर सर्वव्यापक छन् र भलो गर्ने सबै व्यक्ति भगवान् समान हुन् भन्ने धारणा स्थापित गरिन्छ।
एकदिन छोराले गल्तीबस गिलास फुटाउँदा आमा रिसाइन् र खाना नदिने धम्की दिइन्। डराएको छोरो भाग्यो, आमा
पनि पछ्याइन्। तर केही समयपछि उनले खाना तयार गरिन् र छोरोलाई खोज्न थालिन्। यस घटनाले आमाको माया
शब्दभन्दा पर रहेको प्रमाणित गर्छ।
उपन्यासको अर्को प्रसङ्ग झन् मार्मिक छ । छोराले कान्छी आमा पाउँछ । आफ्नी आमा सेतो लुगा ओढेर बिदा भइन्,
कान्छी आमा रातो मजेत्रोमा सजिएर भित्रिन्छिन्। यो घटनाले हाम्रो समाजमा नारी र पुरुषबिचको भेदभावलाई प्रस्ट
चित्रण गर्छ।बुबाले दोस्रो विवाह गरेपछि कान्छी आमाले सानो छोरामाथि देखाएको व्यवहारले उसको
बालमनोविज्ञानमा गहिरो असर पार्यो। उसको पीडा कथामा यति जीवन्त रूपमा उतारिएको छ कि पढ्दा कुनै पनि
पाठकको मन भारी हुन बाध्य हुन्छ।
हजुरबाले चौताराको दायाँतर्फ नातिनीलाई समीको बिरुवा रोप्न लगाए। उनले भने समीको बिरुवा बालबालिकाले
रोप्नुपर्छ। समय बित्दै गयो। त्यही समीको रुख विशाल भइसकेको देख्दा सबैको मन भावुक बनाइदिन्छ।जगदीशले
छोरी ओजस्वीको हात समाउँदै भने, बिस्तारै हिँड, जङ्गलका रमाइला कुरा हेर। यो जङ्गल देखिस्? सबै हजुरबाले
रोपेर हुर्काउनुभएको।ओजस्वी चकित हुँदै भनी, आम्मामा! यत्रो जङ्गल! बाको बर्थडेमा रोपेको रुख यत्रो भएको?
सानो ठाउँमा हुर्केकी ओजस्वीले यसभन्दा अघि गमलाका बिरुवा मात्रै देखेकी थिई। यो विशाल हरियाली देखेर ऊ
अचम्मित भई।जगदीशले अँजुलीमा जरुवाको पानी लिएर एक सिप खाए र छोरीलाई पनि खुवाए। सहरको
पानीभन्दा यो पानी फरक थियो। ओजस्वीलाई यो पानीमा हजुरबाको माया मिसिएको जस्तो लाग्यो। यदि भगवान्
छन् भने, हजुरबाजस्तै असल काम गर्ने मानिसहरू नै साँचो भगवान् हुन्। आज उसलाई आफ्नै हजुरबाजस्तो जीवन्त
भगवान्लाई श्रद्धा गर्न मन लाग्यो।छेउमै खोलो छङ्छङ गर्दै बगिरहेको थियो। मानौँ प्रकृति नै एउटा भव्य सङ्गीत
प्रस्तुत गरिरहेको थियो। रुखहरू, जनावरहरू, ढुङ्गा-माटो सबै दर्शक थिए। सिङ्गो प्रकृति नै एउटा नाट्यशाला
थियो।
चन्द्र काकाको अटो मेलातर्फ हुइँकियो। हरिया डाँडा, चियाबारीका थुम्का, अनि बगिरहेको सानो नदीले ओजस्वीलाई
मन्त्रमुग्ध बनायो। बाङ्गोटिङ्गो बाटो पार गर्दै तेस्रो सडक पुगे, जहाँ दुबै किनार सुन्दर चियाबारीले सजिएका थिए।
पारि क्षितिजमा हिमाल झल्किन्थ्यो। उनीहरू होमस्टे खोज्दै श्रीअन्तु पुगे, जहाँ सुगन्धित चियाबगान, रङ्गीचङ्गी
फूल, हरिया रूख, र चराहरूको चिरबिरले वातावरण मोहक बनेको थियो।
बिहान चार बजे उठेर उनीहरू अन्तु डाँडा पुगे। त्यहाँ सूर्योदय हेर्न बनाइएको टावरमा सबैभन्दा अगाडि उनीहरू
उभिए। पूर्वतिर आँखा लगाए। मेची नदी पारि भारत देखिन्थ्यो। केहीबेरपछि राताम्य बादलभित्र झोलुङ्गो झैँ देखिने
आकृतिले सूर्योदयको संकेत दियो। वरिपरिका डाँडाकाँडा, सल्लाका रूख, चराहरूको चिरबिर, अनि मधुर सूर्यकिरणले
वातावरणलाई अझै मनमोहक बनायो। बिहान चार बजे उनीहरू अन्तु डाँडा पुगे। सूर्योदय हेर्न टावरमा अगाडि
उभिए। पूर्वतिर मेची नदी पारि भारत देखिन्थ्यो। राताम्य बादलभित्र झल्किएको आकृतिले सूर्योदय सङ्केत गर्यो।
वरिपरिका डाँडाकाँडा, सल्लाका रूख, चराहरूको चिरबिर र मधुर सूर्यकिरणले वातावरण मनमोहक बनायो।
सहर आएपछि जगदीशले छोराछोरीलाई बाटुलेघरको डिजिटल लाइब्रेरी घुमाउन लगे। टकिङ बुक सेक्सनमा ओजेश
उत्साहित देखियो। अचानक म मानिस भएको भए? शीर्षकको किताब देखेर ऊ रोकियो।
उसले टकिङ पेन चलाउँदा किताबले बोल्न थाल्यो—मलाई खोजेको हो तिमीले? ओजेश छक्क पर्यो। दाजु-बहिनी
अचम्मित भए। किताबले रमाइला कथाहरू सुनायो र अन्त्यमा भन्यो, नानीहरू! मबाट कहिल्यै टाढा नहुनू है, म
तिमीहरूलाई नयाँ कुरा सिकाइरहन्छु।
बिहान भाइको फोन आयो—दाजु, आमा अस्वस्थ हुनुहुन्छ।जगदीश तुरुन्तै बाबुछोरासहित गाउँतर्फ लागे। गाउँ
पुग्नेबित्तिकै उनले आमालाई बोलाए, ओजस्वी छेउमा पुगिन्। हजुरआमाले सकिनसकी उसको टाउकामा हात राखिन्।
ओजस्वीले चित्र देखाउँदै भनिन्— आमा, म तपाईंलाई भगवान् बनाएर चित्र बनाएकी छु। हजुरआमाले मुस्कुराउने
प्रयास गर्नुभयो, तर एक्कासि उहाँको हात झर्यो। सबै राम राम भन्दै भावविह्वल भए।
शङ्खनादसँगै हजुरआमाको पार्थिव शरीर जंगलतर्फ लगियो र खोलाको किनारमा अन्तिम संस्कार गरियो।
ओजस्वी समीको रुखनिर गई भगवान्सँग प्रार्थना गर्न बसिन्।घर फर्केपछि, उनले हजुरआमाको फोटोको ठाउँमा
आफ्नो बनाएको चित्र राख्न आग्रह गरिन्। श्रद्धाका आँसु झरे। हजुरबाले ओजस्वीलाई अंगालो हाल्दै भने, ‘नातिनी,
तिमीले साँचो भगवान् भेट्यौ।ओजस्वीले समीको रुखतर्फ हेर्दै दुई हात जोडिन्—आमा! मेरो भगवान्! तपाईंको
सम्झनामा यो बिरुवा रोप्दैछु।त्यस दिनदेखि समीको रूखसँगै ओजस्वीको सम्झना पनि हराभरा रह्यो।
उपन्यासको महत्त्व
‘झल्को’ बालसाहित्यको क्षेत्रमा उल्लेखनीय योगदान हो, जसले बालबालिकालाई सिकाइ, संस्कार र पारिवारिक
सम्बन्धका विविध पक्षहरू बुझ्न सहयोग पुर्याउँछ।
शिक्षामूलक – बालबालिकाको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन व्यवहारिक दृष्टान्तहरू समावेश गरिएका
छन्।
संवेदनशील विषयवस्तु – पारिवारिक सम्बन्ध, संस्कारको संरक्षण, समाज र जीवनशैलीको भिन्नता दर्साइएको छ।
मनोरञ्जनात्मक – सरल भाषा, रोचक कथानक र बालबालिकाको जिज्ञासालाई उजागर गर्ने शैली अपनाइएको छ।
निष्कर्ष
डा. गणेशप्रसाद भट्टराईद्वारा लिखित ‘झल्को’ बालसाहित्यमा मौलिकता, आधुनिकता र शिक्षालाई जोड्ने उत्कृष्ट कृति हो। उपन्यासले बालबालिकालाई सिकाउने मात्र होइन, उनीहरूको अनुभवलाई जीवनसँग जोड्ने कार्य पनि गर्छ। साहित्य र शिक्षाका माध्यमबाट समाजलाई उज्यालो बनाउने उहाँको योगदान सधैँ प्रेरणादायी रहिरहने छ।सरल, रोचक र
शिक्षाप्रद शैलीमा लेखिएको “यो कृति बालसाहित्यको क्षेत्रलाई समृद्ध बनाउने एउटा महत्त्वपूर्ण साधन बनेको छ।”
पुस्तक विवरण:
प्रतिक्रिया